भूकम्प पीडितलाई एक लाख थप्ने प्रस्ताव अघि बढ्यो, भोली निर्णय हुँदै

काठमाडौं, ९ असोज । सरकारले भूकम्प पीडित जनतालाई थप एक लाख नगद अनुदान दिने प्रस्ताव अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा आइतबार बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समिति बैठकमा थप एक लाख अनुदान दिने प्रस्ताव पेश भएको हो । आइतबारको बैठकमा पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पुननिर्माणको प्रगति प्रतिवेदन पेश गरेका थिए । प्राधिकरणका विज्ञ सदस्यहरुले पुननिर्माणको अवस्थाबारे आफ्नो धारणा राखेका थिए । भोली बस्ने गरि बैठक स्थगित भएको छ । सोमबारको बैठकमा प्राधिकरण उपाध्यक्ष, अध्यक्ष लगायतले आफ्नो धारणा राखेपछि नगद अनुदान एक लाख रुपैंयाँ थप्ने निर्णय हुने प्राधिकरण श्रोतले बतायो । हाल सरकारले भूकम्प पीडित जनालाई निजी आवास निर्माणका लागि तीन किस्तामा दुई लाख नगद अनुदान दिने व्यवस्था रहेको छ । अब सरकारले दोश्रो किस्तामा एक लाख ५० हजार र तेश्रो किस्तामा एक लाख रुपैंयाँ उपलब्ध गराउनेछ । त्यसको पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ धमाधम वितरण भैरहेको छ । अब सरकारले दोश्रो किस्तामा एक लाख ५० हजार र तेश्रो किस्तामा एक लाख रुपैंयाँ उपलब्ध गराउनेछ । असोज ६ गतेसम्म ४ लाख ५१ हजार २ सय ४४ भूकम्प पीडित घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको र ३ लाख ९१ हजार ८८ घरधनीको बैंक खातामा पहिलो किस्ता उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

राजधानीका ९० प्रतिशत घर भवनसंहिता विपरित, मापदण्ड पालनामा कडाइ भएन

काठामाडौं ९, असोज । सरकारले घर निर्माणका लागि राष्ट्रिय भवनसंहिता लागू गरे पनि राजधानी काठमाडौंमा नै ९० प्रतिशत घर मापदण्ड विपरीत पाइएका छन्। भूकम्प गएको १७ महिनाको अवधिमा पनि भवनसंहिता प्रधावकारी रुपमा कार्यान्वयन हुन नसकेको शहरी विकास तथा भवन निर्माण विभागले बताएको समाचार आइतबारको नेपाल समाचार पत्रले छापेको छ। स्थानीय निकायमा दक्ष प्राविधिक जनशक्तिको अभाव र नागरिकहरुमा चेतनाको कमीका कारण अहिले पनि मापदण्ड विपरित घर निर्माणको क्रम रोकिएको छैन। शहरी विकास तथा भवन नपर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंहले राष्ट्रिय भवनसंहिता लागू गर्नका लागि स्थानीय तहमा दक्ष प्राविधिक जनशक्ति नहुनु र नागरिकमा चेतानाको कमिका कारण प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए।

भारतको सहयोगमा उच्च माध्यमिक विद्यालय र क्याम्पस भवन बन्ने

पोखरा, ७ असोज । भारत सरकारको सहयोगमा पोखरा उपमहानगरपालिका–१७ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस र लेखनाथ नगरपालिका–१७ स्थित सरस्वती टीका उच्च माविमा पक्की भवन बन्ने भएको छ । भारतीय सहयोगमा जिल्ला विकास समिति कास्कीद्वारा निर्माण गरिने गुप्तेश्वर बहुमुखी क्याम्पसको २१ कक्षा कोठा १० शौचालयसहितको तीनतल्ले भवन तीन करोड ८९ लाख २९ हजार ६८३ रुपैयाँमा बन्ने जिविस कास्कीका इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरस्वती टीका उच्च माविको दुईतल्ले भवन कम्पाउन्ड वाल, पाँच कक्षा कोठा, सभा कक्ष, विज्ञान प्रयोगशाला, स्टाफ कोठा र फर्निचरसहित तीन करोड ३६ लाख ३२ हजार ५३७ रुपैयाँमा निर्माण हुनेछ । गुप्तेश्वर बहुमुखी क्याम्पसको भवन आगामी सन् २०१७ को अक्टोबर २८ मा र सरस्वती टीका उच्च माविको भवन सन् २०१७ को अक्टोबर २९ भित्रमा सम्पन्न गरिसकिने लक्ष्य रहेको श्रेष्ठले बताए । क्याम्पस एवम् विद्यालय भवनको बिहीबार छुट्टाछुट्टै आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायले शिलान्यास गरेका हुन्। नेपाल र भारतबीच युगौँदेखिको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उनले शान्ति, स्थिरता र समृद्धिको लक्ष्यमा दुवै देश लागिरहेको बताए । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भारत सरकारले नेपाल सरकारलाई सहयोग गर्दै आएको बताउँदै उनले पछिल्ला समयमा भएका नेपालका गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताए । आगामी दीपावलीपछि भारतका राष्ट्रपतिको नेपाल भ्रमण हुने सम्भावना रहेको जानकारी दिँदै उनले त्यसपछि नेपालका राष्ट्रपतिको भारत भ्रमण हुने बताए। सांसद विन्दा राना मगरले भारत सरकारबाट जिल्लाका क्याम्पस एवम् विद्यालयमा अत्यावश्यकीय भवन निर्माणमा सहयोग गर्नु सराहनीय भएको बताउँदै यसले गुणस्तरीय शिक्षा प्राप्तिमा पनि महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले पछिल्ला दिन पोखरामा परेको अविरल पानीका कारण कटान गरी क्षति पु¥याएको पोखरा–१७ दोविल्ला र पोखर–२३ निर्मलपोखरी जोड्ने पुल तथा आसपासको बस्ती तत्काल संरक्षण गर्नका लागि आफूले सम्बन्धित निकायमा पहल गरिहेको जानकारी दिए । सांसद दिलबहादुर नेपालीले भारत सरकारबाट भएको यस किसिमको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने विश्वास व्यक्त गरे । स्थानीय विकास अधिकारी दामोदर भण्डारीले निर्माणाधीन क्याम्पस एवम् विद्यालय भवन निर्धारित समयमा नै निर्माण सम्पन्न गरिने बताए । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भौतिक पूर्वाधारको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ शैक्षिक संस्था अग्रसर बन्नुपर्नेमा जोड दिए । गुप्तेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख घनश्याम तिवारी, सरस्वती टीका उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य, लेखनाथ नगरपालिका कार्यालयका कानुन अधिकृत राममणि अधिकारी लगायतले भौतिक पूर्वाधार निर्माणले विद्यालयमा अध्ययन अध्यापन कार्य सहज बन्नुका साथै यसले शैक्षिक गुणस्तरियता कायम गर्न पनि सहयोग पुग्ने बताए। रासस