थप १५ दिन बीपी राजमार्गमा राति सवारीसाधन गुडाउन रोक

काठमाडौं । बीपी राजमार्गमा आज भदौ १६ गतेदेखि थप १५ दिन सवारीसाधन गुडाउन रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएकामा भदौ मसान्तसम्म राति १२ घण्टा सो कार्यमा रोक लगाइएको हो । जिल्ला सुरक्षा समितिको आज सम्पन्न बैठकले उक्त राजमार्गमा प्रत्येक दिन साँझ ५ बनेदेखि बिहान ५ बजेसम्म यात्रु वाहक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । कार्यालयले सो राजमार्ग अन्तर्गत जिल्लाको काभ्रे भञ्ज्याङदेखि सिन्धुली-सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाउने निर्णय गरेको हो । कार्यालयले उक्त निर्णय गर्दै सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बीपी राजमार्गमा बाढी पहिरोको सम्भावित जोखिम रहेकाले विपद् जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लिखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपीलसमेत गरेको छ ।  काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो । यस्तै काठमाडौंबाट जाने सवारीसाधनलाई काभ्रे भञ्ज्याङ र काठमाडौंतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ । गत साल असोजको बाढी पहिरोले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकी डाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको आठ किलोमिटर सडक खण्डमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । बाढी पहिरोले राजमार्गको कुल १६० किलो मिटरमध्ये तेस्रो खण्ड अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पु¥याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाएको छ ।

दशैँमा भाडा नबढाउन मन्त्री र सचिवको निर्देशन, बुकिङ नखोल्ने व्यवसायीको चेतावनी

काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैं आउन अब एक महिना मात्रै बाँकी छ । अहिले देशका विभिन्न सहरमा बसेकाहरू आफ्नो गाउँघर फर्किने तरखरमा छन् । हरेक वर्ष दशैंको समयमा लाखाैं यात्रुहरूले काठमाडाैं उपत्यका छाड्छन् ।  दशैंको बेला हरेक वर्ष सवारी व्यवस्थापनमा समस्या हुने गरेको छ । यस वर्ष पनि विगतमा जस्तै दशैं नजाकिँदै गर्दा सार्वजनिक यातायातको भाडा दर र टिकट बुकिङलाई लिएर सर्वसाधारणमा अन्योलता सिर्जना भएको छ ।  सरकारले यसवर्ष दशैंमा सार्वजनिक यातायातको भाडा नबढाउने निर्णय गरेको छ भने यातायात व्यवसायीहरूले लामो समयदेखि हुन नसकेको भाडा समायोजन हुनुपर्ने माग राखेका छन् ।  भाडा समायोजनमा सरकार र यातायात व्यवसायीबीच तालमेल मिल्दैन । हालसम्म गाडीको टिकट खुलाउनेबारे सरकार र व्यवसायीहरूबीच कुनै छलफल भएको छैन । सरकार र व्यवसायीबीच भाडा समायोजनको विषयलाई लिएर आ-आफ्ना अडान राख्दा अग्रिम टिकट बुकिङ कहिले खुल्छ भन्ने विषय अनिश्चित बनेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेश भट्टराईका अनुसार भाडा दर नबढाउने मन्त्रीस्तरीय निर्णय भइसकेको छ । ‘भाडा नबढ्ने भनेर मन्त्रीज्यू र सचिवज्यूबाट निर्देशन आएको छ, दशैं र चाडपर्वपछि मात्रै यसबारे थप छलफल होला,’ उनले भने ।  दशैंका लागि टिकट बुकिङ खुला तथा यसबारे यातायात व्यवसायीहरूसँग निर्णय गर्ने तयारी भइरहेको उनको भनाइ छ । तर, यातायात व्यवसायीहरू भने सरकारको भाडा दर नबढाउने निर्णयप्रति असन्तुष्ट देखिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले ऐन, नियम र कानुन अनुसार नै भाडा समायोजन हुनुपर्ने बताए । ‘भाडा समायोजन गर्नुपर्ने समय भएको धेरै भइसक्यो । सरकार दशैंको बेलामा मात्र तात्ने तर अरू बेला वास्ता नगर्ने प्रवृत्ति छ,’ उनले भने, ‘हामीले आफै भाडा बढाउने होइन, तर सरकारले नीतिगत रूपमा समायोजन गर्नुपर्छ । टिकट बुकिङ कहिले ? भाडा दरको टुंगो नलाग्नु र तयारी पूरा नहुनुले अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।’ व्यवसायीहरूका अनुसार सडकको अवस्था, सवारी साधनको व्यवस्थापन र भाडा दरबारे सरकारसँग निर्णायक छलफलपछि मात्र बुकिङ खुला गरिनेछ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अग्रिम टिकट खोल्नुभन्दा मुख्य कुरा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु रहेको बताउँछन् । उनका अनुसार सरकारसँग छलफल नभई बुकिङ खुल्दैन। सिटौलाका अनुसार सवारीसाधन पर्याप्त छन्, तर सडकको अवस्था खराब छ । तर दशैंमा यात्रुको चाप थेग्न सवारीसाधन पर्याप्त छन् वा छैनन् भन्नेमा व्यवसायीको मत बाझिएको छ ।  सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष डा. डोलनाथ खनालले देशभर करिब साढे चार लाख सार्वजनिक सवारीसाधन रहेको र यात्रुका लागि पर्याप्त हुने दाबी गर्छन् । यद्यपि अन्य व्यवसायीहरू भने दशैंको चापलाई धान्न जहिले पनि सवारीसाधन अपुग हुने गरेको बताउँदै आएका छन् ।  अध्यक्ष खनालका अनुसार सवारीसाधनको संख्याभन्दा पनि सडकको दुरावस्था मुख्य चुनौती छ । उनले हाल देशभरको सडक सञ्जालको अवस्था भद्रगोल भएको बताए । ‘गाडी पर्याप्त भए पनि बाटो सहज नहुँदा समयमा आवतजावत हुन सक्दैन, जसले गर्दा व्यवस्थापनमा समस्या आउँछ,’ उनले भने, ‘सरकारले समयमै सडक मर्मत र सुधार गर्नुपर्छ ।’  दशैंको समयमा व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको गुनासो हरेक वर्ष आउने गर्छ । तर, व्यवसायीहरू यस आरोपको खण्डन गर्छन् ।  ‘सरकारले तोकेको भन्दा एक रुपैयाँ बढी भाडा लिने काम हुँदैन । यो एउटा आरोप मात्र हो,’ अध्यक्ष डोलनाथ खनालले भने ।  सरकार र यातायात व्यवसायीबीच भाडा दरमा सहमति जुट्न नसक्दा र सडकको अवस्थाबारे स्पष्ट नहुँदा यो वर्षको दशैं यात्रा पनि अन्यौलपूर्ण बन्ने देखिन्छ ।

तल्लो अरुण जलविद्युत् परियोजनाको अनुमतिपत्र जारी गर्न अख्तियारी

काठमाडौं । लगानी बोर्डको ६६औँ बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना अनुमतिपत्रको मस्यौदा स्वीकृत गर्दै उक्त परियोजनाको अनुमतिपत्र जारी गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको बैठकले उक्त निर्णय गरेको लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । बैठकले सङ्खुवासभामा निर्माणाधिन अरुण–३ जलविद्युत् परियोजनाको प्रत्यक्ष लगानीसम्बन्धी मस्यौदा स्वीकृत गरी आवश्यक निर्णयका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेस गर्न सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी, बैठकले लगानी बोर्डको कार्यालयमा आह्वान नगरिएको प्रस्तावका रुपमा प्राप्त ‘अटो सर्भिस इको-इन्डष्ट्रियल पार्क’ परियोजनाको सम्बन्धमा प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको जनाइएको छ । शुक्रबारको बैठकबाट लगानी बोर्डको कार्यालयका लागि चालू आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न सेवा, समूह तथा श्रेणीका विभिन्न पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने प्रयोजनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णय भएको छ ।