रसुवा र तातोपानी नाका तत्काल खोल्न चेम्बरको सरकारलाई आग्रह

काठमाडौं । गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा र तातोपानी नाकालाई यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ ।  निकटिँदै गरेका चाडपर्वका बेला यी दुई नाका बन्द रहँदा व्यापार, व्यवसाय र वस्तु आयात–निर्यात प्रणालीमा गम्भीर समस्या देखिएको भन्दै चेम्बरले तत्काल पुनर्निर्माण गर्न आग्रह गरेको हो ।  यसले मूल्यवृद्धिमा समेत असर गर्ने भएकाले परराष्ट्र, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात, र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ध्यानाकर्षण गराइएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चेम्बरका अनुसार लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तुको बजारमा अभाव सिर्जना हुने जोखिम बढेको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘दशैं, तिहार र छठजस्ता ठूला पर्वहरू नजिकिँदै छन्। अवरुद्ध तातोपानी र रसुवा नाका समयमा पुनर्निर्माण नहुँदा आयात प्रत्यक्ष प्रभावित भएको छ, जसका कारण उपभोक्तामाथि अतिरिक्त आर्थिक बोझ पर्न सक्ने देखिन्छ । ’ चीनसँग जोडिएका यी महत्त्वपूर्ण नाका लामो समयदेखि बन्द हुँदा वैदेशिक व्यापार मात्र नभई साना उद्योग र व्यावसायिक प्रतिष्ठानहरू पनि सङ्कटमा परेका चेम्बरको भनाइ छ । 

गण्डकी विश्वविद्यालयमा नयाँ संरचना बन्दै

गण्डकी । गण्डकी विश्वविद्यालयले चार करोड १५ लाख २४ हजार रुपैयाँको लागतमा परीक्षा नियन्त्रण कार्यालयको भवन निर्माण कार्य सुरु गरेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा पोखरा महानगरपालिका–३२ मालेपाटनमा परीक्षा नियन्त्रण कार्यालय निर्माण गर्न लागिएको हो ।  निर्माणाधीन सो भवनको एक कार्यक्रमबीच गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले आज शिलान्यास गरे । समयमा नै गुणस्तरीय भवन निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै उनले गण्डकी विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाएर आधुनिक प्रविधियुक्त शैक्षिक थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयको जग्गा प्राप्त गर्न स्थानीयवासी र वडाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री थापाले निर्माणाधीन भवन गुणस्तरयुक्त र अपाङ्गतामैत्री हुनुपर्ने आवश्यकता औँल्याए । विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले विश्वविद्यालयले शिक्षा, स्वास्थ्य, रोजगार र समाजिक उत्तरदायित्वमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । स्रोत जुटाउँदै विश्वविद्यालयलाई अगाडि बढाउन आफू सदैव प्रयत्नशील रहेको उनको भनाइ थियो । भवन निर्माणसँगै परीक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने उनले धारणा राखे । पोखरा महानगरपालिका–३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्कीले विश्वविद्यालयको उन्नयनका लागि स्थानीय तहबाट गर्नुपर्ने साथ सहयोग निरन्तर गर्दै आएको उल्लेख गर्दै आपसी सहयोग र समन्वयबाट अघि बढ्नुपर्नेमा जोड दिए ।   

विद्युत् आपूर्ति व्यवस्थित बनाउन म्याग्दीमा १० करोडको योजना सुरु

म्याग्दी । जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले विद्युतीय दुर्घटनाको जोखिम घटाउने, विद्युत् आपूर्ति र वितरणलाई व्यवस्थित तथा गुणस्तरीय बनाउनका लागि चालु आर्थिक वर्षमा योजना सुरु हुने जानकारी दिए ।  'जोखिमयुक्त ठाउँमा नाङ्गो तार हटाएर एबिसी केबुल राख्ने, ट्रान्सफर्मरको क्षमता बढाउने, फिडर थप्ने र ट्रिपिङ हुन नदिने उपकरण जडान गरिनेछ', उनले भने, 'ट्रिपिङका कारण विद्युत् आपूर्ति अनियमित हुने समस्यालाई हटाउन यो योजनाले मद्दत गर्नेछ ।' मिलनचोक, रातोढुङ्गा र घराप सबस्टेसनमार्फत म्याग्दीमा वितरण हुने केन्द्रीय प्रसारणलाइनको कुनैएक ठाउँमा समस्या हुँदा सबै ठाउँमा विद्युत् आपूर्ति  बन्द हुने (ट्रिपिङ) को समस्या भएकाले सो समस्या अन्त्यका लागि उक्त योजना सहयोगी हुने म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले विश्वास व्यक्त गरे ।  विद्युत् वितरण प्रणाली सुदृढीकरणका लागि जिल्लामा पहिलोपटक पर्याप्त बजेट विनियोजन गरेर योजना भित्र्याइएको राज्यमन्त्री गर्बुजाले बताए । यहाँको राहुघाट र म्याग्दी नदी ‘बेसिन’का जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारणलाइनलाई पूर्णताः दिन मन्त्रालयबाट पहल भएको उनले उल्लेख गरे । जिल्लाका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि २२ करोड रुपैयाँ बजेटको योजना सञ्चालन गरेको प्रमुख गामीले जानकारी दिए । उनका अनुसार ‘उज्यालो म्याग्दी कार्यक्रम’मार्फत धौलागिरि गाउँपालिका–१ गुर्जाबाहेकका बस्तीहरूमा यो वर्ष केन्द्रीय प्रसारणलाइनको विद्युतीकरण गर्ने तयारी भएको छ ।   उक्त कार्यक्रममार्फत आर्थिक वर्ष २०८१/८२ मा ८७४ र आव २०८०/८१ मा एक हजार ४३८ घरमा विद्युतीकरण भएको गामीले बताए । उनका अनुसार म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार ८६९ सेवाग्राही छन् । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बारीबेनी क्षेत्रमा पनि केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेसनमार्फत विद्युत् वितरण हुँदै आएको छ ।