साढे तीन लाख घरधनीसँग अनुदान सम्झौता, पुनःनिर्माणमा पहिलो किस्ता उपलब्ध गराउन विशेष अभियान
काठमाडौं, ३१ साउन । सोमबारसम्म तीन लाख ३९ हजार ४६२ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यस्तै ४९ हजार ७४९ घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ पुगेको छ । नयाँ आव सुरु भएपछि यही साउन २८ गतेदेखि अनुदान सहयोग रकम निकासा गरिएको थियो । भूकम्प अति प्रभावित काठमाडौँ उपत्यका बाहिरका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवा जिल्लामा अनुदान सम्झौताको काम अगाडि बढेको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ मध्यसम्म सर्वेक्षण सम्पन्न हुने जनाइएको छ । गाविसमा अनुदान सम्झौता भएपछि त्यसको विवरण जिविसमा पुग्नेछ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था छ । प्राधिकरण, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र त्यस अन्तर्गतका निकाय एवम् महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतका निकाय भूकम्पपीडित जनताको बैंक खातामा रकम उपलब्ध गराउने काममा लागेका छन् । अनुदान सम्झौता र अनुदान वितरणको कार्य स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र महालेखा नियन्त्रकको कार्यालयसँगको सहकार्यमा हुन्छ । घर बनाउनका लागि प्राविधिक सहयोग सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र सो अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत उपलब्ध हुने व्यवस्था मिलाइएको छ । यसका लागि गाविस तथा नगरपालिकामा इन्जिनियर परिचालन भएका छन् । पुनःनिर्माणमा पहिलो किस्ता उपलब्ध गराउन विशेष अभियान भूकम्प गएको १६ महिनापछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पीडितलाई पुःनिर्माण रकम उपलब्ध गराउन एकमहिने विशेष अभियान सुरु गरेको छ । सरकारले डेढ महिनामा भूकम्प प्रभावित जिल्लाका जनतालाई अनुदान रकम उपलब्ध गराउने घोषणा गरेपछि प्राधिकरणले विशेष अभियान सुरु गरेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । “सरकारको घोषणा र प्राधिकरणको कार्ययोजनालाई पूरा गर्न हामीले आजदेखि एक महिनासम्म विशेष अभियान सुरु गरेका छौंँ, यो अभियान अन्तर्गत सम्झौता सम्पन्न भएका घरधनीका लागि अनुदानको पहिलो किस्ता रकम बैंँक खातामा पु¥याउने, अनुदान सम्झौताको काम सम्पन्न गर्ने र अहिलेसम्म दर्ता भएका गुनासोको सुनुवाइ गरिनेछ”–उनले भने । विशेष अभियान सफल पार्न प्राधिकरणले आवश्यकता अनुसार साँझ, बिहान र सार्वजनिक बिदाका दिनमा पनि काम गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । अभियानका क्रममा प्राधिकरणको उपक्षेत्रीय कार्यालयमा रहेको जनशक्तिलाई सहयोग गर्न जिल्लामै बसेर काम गर्ने गरी ११ वटै जिल्लामा प्राधिकरणको केन्द्रीय कार्यालयबाट आवश्यकतानुसार थप कर्मचारी खटाइने भएको छ । प्रभावित जिल्लामा भएका काम र गतिविधिको अनुगमन गर्न कार्यकारी समितिका सदस्य, सम्बन्धित उपक्षेत्रीय कार्यालयका प्रमुख एवम् अन्य कर्मचारी सहितको घुम्ती टोली बनाएर जिल्ला जिल्लामा पठाइने ज्ञवालीले बताए । भूकम्प अतिप्रभावित जिल्लामा हुने काम र गतिविधिलाई समन्वय, सहजीकरण र अनुगमन गर्नका लागि प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा सम्बद्ध मन्त्रालयका सचिव एवम् केन्द्रीय आयोजना कार्यान्वयन एकाइ प्रमुखहरु सहितको केन्द्रीय अनुगमन समिति समेत गठन गरिएको छ । विशेष अभियान सञ्चालनमा समस्या देखा परेमा उपक्षेत्रीय कार्यालय र जिल्लास्थित सम्बन्धित कार्यालयले केन्द्रमा गठित अनुगमन समितिलाई जानकारी गराउनुपर्नेछ । समस्यालाई केन्द्रबाट तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । रासस
विश्वकै तीब्र गतिको रेल चीनमा कुद्ने, एक घन्टामा ३८० किलोमिटर दुरी पार
काठमाडौं २९ साउन । विश्वकै तीब्र गतिमा गुड्ने रेल आउँदो महिनाबाट लिकमा उत्रने भएको छ। चीनले तयार पारेको प्रतिघन्टा ३ सय ८० किलोमिटर स्पिडमा कुद्ने रेल तयार भएको पिपुल्स डेलीले जनाएको छ। ज्याङ्जावोबाट छुझाउसम्म रेलले यात्रा गर्नेछ। यो रेलले २ घन्टा ३३ मिनेट समय लगाएर पार गर्ने हेनानको ज्याङ्जावोदेखि पूर्वी चीनको जियानसु प्रान्तको छुझाउसम्मको दुरी ८० मिनेटमै पार हुनेछ।पछिल्लो पुस्ताको बुलेट ट्रेनभन्दा ५० किलोमिटर प्रतिघन्टा बढी दुरी तय गर्ने यो रेलको परीक्षण गर्दा ४ सय किलोमिटर प्रतिघन्टाको रेकर्ड कायम भएको थियो। बेइजिङ-साङ्घाइ लगायतका सहरहरुलाई यस्तै हाइ स्पिड रेलबाट जोड्न चीनले १६ हजार किलोमिटर ट्र्याक बनाइसकेको छ। बेइजिङ-साङ्घाइ रेलले गत वर्ष एक अर्ब डलर नाफा कमाएको थियो।उदयमान अर्थतन्त्रको बलमा चीनमा यस्ता रेलवे लाइनहरु तीब्र गतिमा बनिरहेका छन्। यसले चीनमा यात्रालाई हदै सहज बनाएको छ।
एनआरएनले बनाउने लाप्राक उदाहरणिय बन्छः प्रधानमन्त्री
काठमाडौं, २८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकमा बनाउनलागेको नमुना वस्ती नेपालको पुनःनिर्माण अभियानका लागि उदाहरणीय र अनुकरणीय हुने विश्वास ब्यक्त गरेका छन् । संघका अध्यक्ष शेष घलेसँगको भेटमा प्रधानमन्त्री दाहालले भूकम्पका बेला प्रभावकारी राहत बितरण कार्यबाटै एनआरएनको क्षमता प्रष्ट भएको भन्दै पुनःनिर्माण अभियानपनित्यस्तै अनुकरणीय हुने बिश्वास ब्यक्त गरेका हुन । सो अबसरमा प्रधानमन्त्री दाहालले पुनःनिर्माण अभियानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै यस क्रममा देखिएका गतिरोधलाई अन्त्य गरी एनआरएन जस्तो निस्वार्थ भावनाबाट सहयोग गर्न खोज्ने संस्थालाई मद्दत गर्न सरकार तयार रहेको बताएका थिए । सो अबसरमा अध्यक्ष घलेले संघले लाप्राकमा निर्माण गर्न लागेको नमूना बस्तीको अवधारणा प्रधानमन्त्री समक्ष प्रस्तुत गर्दै यसको कार्यान्वयन त्रिपक्षिय सम्झौता मुताविक गर्न संघ कटिवद्ध रहेको र गुरुयोजना बनाउने काम भईरहेको जानकारी गराएका थिए । भेटमा अध्यक्ष घलेले नेपाल सरकारसँग हातेमालो गरेर अगाडी बढ्न गैरआवासीय नेपाली तत्पर रहेको बताएका थिए । यसैवीच राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संघसँग भएको त्रिपक्षीय सम्झौता अनुसार नै लाप्राक पुनःनिर्माण अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् । संघका अध्यक्ष शेष घलेसँगको हालैको भेटमा सीइओ ज्ञवालीले अन्य गैरसरकारी संस्थालाई जस्तै एनआरएनलाई पनि रकम सेवाग्राहीको खातामा जम्मा गर्न लगाउने बिषयमा छलफल भएपनि सम्झौता अनुसार काम गर्न प्राधिकरण तयार रहेको बताएका थिए । गैरआवासीय नेपाली संघको अगुवाईमा लाप्राकमा ६ सय बढी घर भएको नमुना वस्ती बनाउन भएको सम्झौता अनुसार संघले हाल त्यसको गुरुयोजना निर्माण गरिरहेको छ ।