बिओकेद्धारा धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५ लाख सहयोग
काठमाडौं, २८ असार । बैँक अफ काठमाण्डू (बिओके)ले भूकम्प पीडितहरुको आवास निर्माणमा सक्रिय रहेको धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम मंगलबार बैंकको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई हस्तान्तरण गरेका छन् । हास्य कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची गिरान्चौरमा भूकम्प पीडितहरुकालागि एकिकृत नमूनाबस्ती पुन निर्माण अन्तर्गत ६५ वटा घर बनाउने उद्देश्यले धुर्मुस–सुन्तली फाउण्डेसनको नाममा सहयोग संकलन गर्दै आएको छ । फाउण्डेसनले यसअघि काभ्रेमा २० वटा घर निर्माण गरी भूकम्प पीडितहरुलाई उपलब्ध गराएको थियो । सहायता उपलब्ध गराउदैँ प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले बैकिङ्ग सेवाका अतिरिक्त बिओकेले अन्य उपयोगी सामाजिक काममा पनि सहयोग पुर्याउदै आएको र यसलाई भविष्यमा पनि निरन्तर्ता दिनु पर्नेमा जोड दिए । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले उदार सहयोगका लागि बैंकप्रति आभार व्यक्त गरेका छन् ।
धरहरा पुनःनिर्माण कोषमा रकम हस्तान्तरण
काठमाडौं, २८ असार । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा आज एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिमिटेडका अध्यक्ष महेशकुमार गुरागाईंले प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हन्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले जनताले आफैँ बनाउने घोषणा भएको धरहरा पुनःनिर्माणमा बढ्दो सहभागिताप्रति आभार व्यक्त गर्नुभयो । उनले पुनःनिर्माणमा करिब रु तीन अर्ब लाग्ने भएकाले त्यस प्रकारको लगानी कुनै व्यक्ति वा कम्पनीले मात्र गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनःनिर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिना बराबरको तलब सहयोग गरी सो कोष प्रारम्भ भएको थियो । हस्तान्तरण कार्यक्रममा अर्थराज्यमन्त्री दामोदर भण्डारी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको पनि उपस्थिति रहेको थियो । रासस
तीस हजार भूकम्प पीडितले पाए घर बनाउन ५० हजार
काठमाडौं, २७ असार । ३० हजार भूकम्प पीडितले घर बनाउन सरकारले उपलब्ध गराउने पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका अनुसार असार २६ गतेसम्ममा ३० हजार २ सय ६५ परिवारले निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्राप्त गरेका हुन् । उनीहरुको बैंक खातामा जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले सो रकम राखिदिएको हो । त्यसै गरि हालसम्म २ लाख ३३ हजार ९ सय ८४ घरधुरीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले साउन मसान्तभित्रै सबै भूकम्प पीडितलाई पहिलो किस्ताको रकम उपलब्ध गराईसक्ने योजनासहित काम गरिरहेको जनाएको छ ।