एक महिनादेखि दोलखाको सिंगटीमा के गर्दैछ पुननिर्माण प्राधिकरण ?
काठमाडौं, २५ चैत । राष्ट्रिय पुननिर्माण प्राधिकरणले फागुन ३० गते दोलखाको सिंगटीबाट नीजि आवास पुननिर्माणको काम सुरु गरेका थियो तर अझै पनि प्राधिकरण सिंगटीबाट बाहिर निस्कन सकेको छैन् । प्राधिकरणले सिंगटीलाई पाइलट प्रोजेक्टका रुपमा लिएको थियो । सिंगटी श्रोत केन्द्र अन्तर्गत पर्ने लामिडाडा र लाकुकका ६४१ भूकम्प पीडितसँग अनुदान सम्झौता गरेको छ । लामो प्रक्रिया र अंशबण्डा लगायतका समस्या देखिएपछि प्राधिकरणले पाईलट प्रोजेक्ट कस्तो भयो ? के के कमजोरी देखिए ? र कसरी अघि बढ्नु पर्ने रहेछ ? अनि किन ढिला भयो सिंगटी छिचोल्न ? प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया भन्छन्–‘सिंगटी पाइलट प्रोजेक्ट थियो, त्यहाँबाट पाठ सिकेर अघि बढ्ने योजना हो, सोही अनुसार चैत २८ गतेबाट आठ जिल्लाका आठ गाबिसमा अनुदान सम्झौता सुरु हुन्छ ।’ चार लाख ९८ हजार ५ सय ९७ घर भत्किएका थिए भने दुई लाख ५६ हजार ६ सय ९७ घर आंशिक रुपमा क्षति पुगेको थियो । हाल तीमध्ये पाँच लाख घरको सर्वेक्षण कार्य सम्पन्न भैसकेको छ । चैत २८ गतेबाट अनुदान सम्झौता भएका पीडितले बैशाखको पहिलो हप्ता भित्रै पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ पाउनेछन् । दोलखाको सिंगटीबाट सुरु गरिएको निजी आवास पुननिर्माण अभियानमा अंश बण्डाको लफडाले सताएको छ । एउटै परिवार छुट्टिएर धेरै बनेको तर अंश बण्डा गरेर कानुनी आधार कायम नगरेकाले पनि समस्या उत्पन्न गराएको छ । अर्कातिर स्थानिय निकायको अभावमा समन्वयको चरम अभाव छ । स्थानिय राजनीतिक नेतृत्वले खासै सहयोग गरिरहेको छैन् । थपलिया भन्छन–‘यो एकै पटक सम्पन्न हुने काम होइन, काम गर्दै सिक्दै जाने हो, हामी काम गरिरहेका छौं, दोलखामै हरायौं भन्ने आरोपमा तर्क छैन ।’ भूकम्प पीडितको डिजिटल तथ्यांक संकलनका लागि एक हजार ६ सय इञ्जिनियर १० १४ वटा जिल्लामा खटिएका छन् । हालसम्म ७५ प्रतिशत तथ्यांक संकलन भैसकेको पनि उनले जानकारी दिए । पहिलो किस्ता वापतको रकमले घर निर्माणको प्रक्रिया आरम्भ गरेपछि मात्रै दोश्रो किस्ताको ८० हजार प्राप्त हुनेछ । पहिलो किस्ताको रकम लिएपछि प्राधिकरणका बिशेषज्ञहरुले भवन निर्माणको अवलोकन गर्नेछन् । त्यसका लागि बिशेषज्ञ टोली समेत खटिईसकेको प्रवक्ता थपलियाले बताए ।
५५०२ भूकम्प पीडितलाई बैशाख पहिलो हप्ता २७ करोड ५१ लाख
काठमाडौं, २२ चैत । आठ जिल्लाका पाँच हजार पाँच सय दुई जना भूकम्प पीडितले बैशाखको पहिलो हप्ता ५० हजार रुपैंयाँ पाउने भएका छन् । पुननिर्माण प्राधिकरणले बिभिन्न ८ जिल्लाका आठ वटा गाबिसका भूकम्प पीडितलाई बैशाख पहिलो हप्ता भित्रै घर बनाउन पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराउने तयारी गरेको हो । त्यसका लागि ती जिल्लाका गाबिस कार्यालयहरु मार्फत भूकम्प पीडित परिवारसँग चैत २८ गते अनुदान जसम्झौता हुँदैछ । त्यसका लागि प्राधिकरणले सबै तयारी सम्पन्न भैसकेको जनाएको छ । पीडितसँग अनुदान सम्झौता भएको एक हप्ता भित्रै बैंक खातामा पहिलो किस्ता वापतको ५० हजार जम्मा हुने व्यवस्था रहेको छ । पाँच हजार पाँच सय दुई घरधुरी भूकम्प पीडितलाई पहिलो किस्ता पावत ५० हजार उपलब्ध गराउँदा २७ करोड ५१ लख रुपैंयाँ आवश्यक पर्छ । चैत २१ गते ८ जिल्लाका जिल्ला विकास समितिहरुले एक एक वटा गाबिसका भूकम्प पीडितहरुको नाम सर्वजनिक गरे । ती गाबिसका भूकम्प पीडितहरुसँग गाबिस कार्यालयहरुले चैत २८ गतेदेखि अनुदान सम्झौता गर्नेछ । अनुदान सम्झौतामा हस्ताक्षर गरेको एक हप्ता भित्रै पीडितको बैंक खातामा पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ जम्मा हुनेछ । यसरी २८ गते नै सम्झौता पत्रमा हस्ताक्षर गर्न पाउने भूकम्प पीडितले बैशाखको पहिलो हप्ता ५० हजार रुपैंयाँ हात पार्नेछन् । क–कसले पाउँदैछन् ५० हजार ? सिन्धुलीको झाँगाझोलाी गाबिसका ११७८ धरधुरी, काभ्रेका रविओपी गाबिसका ९७०, नुवाकोटको खरानीटारका ४०८, रामेछापको ओख्रेनीका ७५९, ओखलढुंगाको रुम्झाटारका ४७ घरधुरसँग चैत २८ गतेदेखि अनुदा सम्झौतामा हस्ताक्षर सुरु हुनेछ । त्यस्तै, रसुवाको ब्रिदिम गाबिसका १९३ घरधुरी, धादिङको मार्पाकका १००३ घरधुरी र गोर्खाको हंसपुरका ९४४ घरधुरीसँग चैत २८ गतेदेखि अनुदान सम्झौतामा हस्ताक्षर हुनेछ । अनुदान सम्झौताका क्रममा पीडितले गाबिसलाई सर्भेक्षणको निस्सा, लालपुर्जा र नागरिकताको प्रमाण पत्र देखाउनु पर्नेछ । सहयोगका लागि खटियो विज्ञ टोली पुननिर्माणको काममा सहयोग गर्न भन्दै प्राधिकरणले केन्द्रबाट विज्ञ टोली परिचालन गरेको छ । त्यसका लागि रसुवा, धादिङ र नुवाकोटमा ध्रुव शर्मालाई खटाईएको छ । रामेछाप, ओखलढुंगा र सिन्धुलीका लागि डा. चन्द्र बहादुर श्रेष्ठ, गोरखा र मकवानपुरका लागि डा. हरिराम पराजुली र काभ्रे र सिन्धुपाल्चोकका लागि बिष्णु बहादुर भण्डारी खटिएको पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।
याद गर्नाेस, यत्ति गरेपछि मात्रै पाइन्छ घर बनाउन ५० हजार
काठमाडौं, १८ चैत । सरकारले चैत २१ गतेदेखि भूकम्प प्रभावित १० वटा जिल्लाहरुमा घर बनाउन पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ वितरण गर्दैछ । त्यसका लागि पुननिर्माण प्राधिकरणले तयारी अन्तिम चरणमा पुगिसकेको जनाएको छ । तर अझै पनि पीडितले रकम पाउने प्रक्रियाबारे अन्यौल कायमै छ । आखिर कसरी पाउँछन त पीडितले रकम ? पुननिर्माण प्राधिकरणका प्रवक्ता राम थपलिया भन्छन् : १) २१ गतेदेखि डिजिटल तथ्यांक संकलन भैसकेका क्षेत्रका वडा कार्यालय(नगरपालिकामा) तथा गाबिस कार्यालयहरुले पीडितको नामावली टास्नेछन् । त्यसमा नाम भएका सर्वसाधारणलाई मात्रै भूकम्प पीडित मानिनेछ । २) सो सूचिमा नामवली रहेका पीडितहरुलाई वडा तथा गाबिस कार्यालयहरुले १७ वटा नक्सा मध्ये एउटा नक्सा अनुसारको घर छान्न लगाउनेछन् । आफ्नै डिजाईनको घर बनाउनु परेमा पुननिर्माण प्राधिकरणले उपलब्ध गराएको सर्त समेटिएको संरचनाको प्रारम्भिक रिपोर्ट पेश गर्नु पर्नेछ । ३) वडा वा गाबिस कार्यालयहरुले नागरिकता र जग्गाको लालपुर्जाको फोटोकपी लिएर पीडितसँग वडा वा गाबिसका कर्मचारीले सम्झौता गर्नेछन् । ४) सम्झौता लगत्तै पीडितले नजिकै रहेको बैंकमा खाता खोल्नुपर्नेछ । पुराना खातावालका हकमा भने सोही खाता मान्य हुनेछ । नयाँका सन्दर्भमा भने लाभग्राही(भूकम्प पीडित)कै नाममा खाता खोल्नु पर्नेछ । त्यसका लागि बिकट क्षेत्रमा शाखारहित बैंकिङ प्रणाली स्थापना गरिएको हुनेछ । ५) यसरी पीडितसँग गरिएको सम्झौताको एक/एक प्रति वडा, गाबिस र जिबिसमा पठाईनेछ । ६) जिल्ला विकास समितिले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई भुक्तानी आदेश दिनेछ । सो आदेशसँगै लाभग्राहीको सूचि तथा बैंकको खाता नम्बर समेत उपलब्ध गराउनेछ । ७) यसरी वडा कार्यालय वा गाबिससँग सम्झौता भएको एक हप्ता भित्र पीडितको बैंक खातामा ५० हजार रुपैंयाँ जम्मा हुनेछ । रकम जम्मा भएकै दिनदेखि सो रकम झिक्न सकिनेछ । घर नबनाए दोश्रो किस्ता नपाइने पहिलो किस्ता वापत प्राप्त ५० हजार रुपैंयाँ घर निर्माणमा खर्च नगरेको प्रमाणित भएमा दोश्रो किस्ताको रकम पाइने छैन् । त्यसका लागि प्राधिकरणले सुक्ष्म अनुगमन गरिरहेको हुनेछ । पुननिर्माणको काम सुरुवात भएसँगै इन्जिनियरहरुको टोलीसमेत निर्माण प्रक्रिया र त्यसको गुणस्तर अध्ययनका लागि निरन्तर फिल्डमै रहनेछ ।