तस्विरमा कैद भएका १२ नेवारी बस्ती र तिनका रहन-सहन
ललितपुरको बाँडेगाँउ ।काठमाडौं । बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन् । यस्तै २०७१ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाडौ उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन् । नेपालको इतिहाँसमा नेवारहरुको योगदान अतुलनीय छ । ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृति र मानव सृजित विभिन्न हन्डर-ठक्कर खाएर पनि उभिईरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तस्विरमा कैद गर्ने कोशिस गरेका छौं । यसैलाई केन्द्रमा राखेर उपत्यकाका खोकना, बुङमती, किर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु,भक्तपुर, पाटनका विभिन्न स्थानमा गएर खिचिएको तस्विरहरु । यी तस्विरहरुमा नेवार समुदायको रहन-सहन, दिनचर्या, कला-संस्कृतिलाई देखाउन खोजिएको छ । ललितपुरको सिद्धिपुरमा सुकुल बुन्दै महिला । यहाँको सुकुल देशभर प्रख्यात छ । च्यासलको लाक्षी रहेको एक फल्चामा बसेका स्थानीयहरु लुभुको परम्परागत नेवारी बस्ती । यो ऐतिहासिक बस्ती भत्काएर सरकारले सडक निर्माण गर्ने तयारी गरिरहेको छ । किर्तिपुरको नेवारी परम्परा झल्कने लहना भोजनालयमा ओखलमा मसला कुटदै । यहाँ नेवारी संस्कृती झल्कने भेषभुषा र परम्परागत सरसामान प्रयोग गरेर पाहुनालाई सत्कार गरिन्छ । किर्तिपुरको परम्परागत झयालबाट हेर्दै महिला । खोकनामा भुकम्पपछि पुरानै ढाचामा पुर्ननिर्माण गरिएको बस्ती । खोकनाका थकाली । टोलका सबैभन्दा बृद्धलाई थकालीको रुपमा मान्ने चलन छ । हरिसिद्धिको फल्चामा बसेका दौतरी बृद्धा । ठेचो हस्तकलाका परम्परागत सरसामान बनाउदै महिलाहरु । भक्तपुरको दरवार परिसर रहेको एक मन्दिरमा चित्र बनाउदै कलाकार । भक्तपुरको एक घरको झयालमा बसेकी महिला
नेपालीको रोजाइमा पनि पर्न थाल्यो साहसिक पर्यटन, महामारीकै अवस्थामा थपियो २ अर्ब लगानी
काठमाडौं । माउन्टेन साइक्लिङ, र्याफ्टिङ, क्यानोइङ, प्याराग्लाइडिङ तथा बन्जीमा मात्र सीमित बनेको नेपालको साहसिक पर्यटन पछिल्लो समय जिपलाइन, बन्जी तथा स्विङमा विस्तार हुँदै गएको छ । साहसिक पर्यटनको नयाँ क्षेत्रप्रति आकर्षण बढ्दा विगत ७ वर्षमा नेपालको साहसिक पर्यटन क्षेत्रमा मात्रै २ अर्ब रुपैयाँ लगानी थपिएको छ । कोरोना महामारीका कारण होटल तथा पर्यटन व्यवसाय करिब ठप्पजस्तै बन्दा साहसिक पर्यटनमा भने ठूलो मात्रामा लगानी थपिएको हो । साइक्लिङ तथा बन्जी सञ्चालन गर्दै आएको उद्योगले पछिल्लो समय क्षमता विस्तार गर्दै रिसोर्टदेखि स्विङ तथा साइकिलिङ थपेका छन् । पछिल्लो समय युवादेखि अन्य वर्गको रोजाइमा साहसिक पर्यटन पर्न थालेपछि यस क्षेत्रका लगानी थपिएको पर्यटन विभागले जनाएको छ । विदेशी पर्यटक आगमन कम भए पनि नेपालीले पनि साहसिक पर्यटनमा आकर्षण देखाएपछि लगानी थप हुने वातावरण सिर्जना भएको हो । विभागको तथ्यांक अनुसार पछिल्लो समय नयाँ दर्तासँगै पुराना व्यवसायले लगानी विस्तार गर्न थालेका छन् । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसी साहसिक व्यवसायमा २ अर्ब बढी लगानी रहेको बताउँछन् । एउटा जिपलाइन तथा बन्जी व्यवसाय सञ्चालन गर्दा न्यूनतम १ करोडदेखि डेढ करोडसम्म लगानी लाग्ने गरेको उनको भनाइ छ । नेपालमा कोरोना महामारीपछि साहसिक पर्यटन क्षेत्रमा उल्लेख्य मात्रामा लगानी थपिएको छ । पर्यटन विभागले २०७१ सालदेखि हालसम्म साहसिक गतिविधिका व्यवसाय सञ्चालन गर्नका लागि विभिन्न ३४ वटा कम्पनीलाई अनुमति दिएको छ । विभागले २०७१ सालदेखि साहसिक तथा मनारेञ्जनात्मक व्यवसायलाई अनुमति दिएको दिन थालेको हो । सात वर्षको अवधिमा विभागले विभिन्न ३४ वटा कम्पनीलाई अनुमति दिएको छ । विभागले साहसिक व्यवसायको रुपमा पहिलो पटक हाईग्राउण्ड एडभेन्चर प्रालि पोखरालाई बन्जी जम्पिङका लागि अनुमति दिएको थियो । त्यसपछि तेन्जिङ हिलारी एभरेष्ट म्याराथन नाम्चेलाई म्याराथन, अल्टिटयुड इनोभेसन प्रालि चोभारलाई मनारेञ्जन, हिमालयन क्वाईम्विङ एण्ड माउनटेनेरिङ स्कुल प्रालिलाई रक क्वाईमिङ एण्ड माउन्टेनेरिङका लागि अनुमति दिएको छ । यस्तै, अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसनलाई एभरेष्ट ट्रेल रेस, बतासे ट्रेल्स प्रालिलाई अल्ट्रा ट्रेल रेस, ड्रिमल्यान्ड ल्वाङ क्यानोनिङ एण्ड मल्ट्रि ईन्भेष्टमेन्ट प्रालि कास्कीलाई क्यानोनिङ, हिडन ट्रेडर्स एड्भेन्चर प्रालिलाई ट्रेल रेस, दरबार एड्भेन्चर जीप लाईन नुवाकोटलाई जीप फ्लाईङ, ड्रिमस् डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसन, शेर्पा फोटिन पिक एण्सपिडिसन प्रालि र काइट एक्सपिडिसन प्रालिले ट्रेल रेसको अनुमति पाएका हुन् । वर्ल्ड वाइड एड्भेन्चर प्रालि धुलिखेलले जीन फ्लाइङ, नेपाल याक प्रालिले ट्रेल रेस, कोशी एड्भेन्चर्स प्रालि सुनसरीले स्पिडबोट सञ्चालन, रंगमहल रिकरल्यान्ड प्रालि उदयपुरले जेटस्की र प्यारासाईडिङ, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट प्रालि सुनसरीले जलयात्रा, होटलगढी भ्यू एण्ड एडभेन्चर्स प्रालि मकवानपुर र द लास्ट रिसोट एड्भेन्चर्स प्रालि सिन्धुपाल्चोकले साहसिक/मनोरञ्जनात्मक व्यवसाय सञ्चालनको अनुमति पाएका छन् । द किल्फ प्रालि पर्वतले बन्जी जम्प, स्विङ, स्काई साइकिलिङ र स्काई क्याफे, आयुष्मा मोटरबोट प्रालि भक्तपुरलाई मोटरबोट/जेट स्की, योयो जीपलाईन भक्तपुरले स्काई, साइकिलिङ र जीपलाईन, बेट एण्ड डाईनो एमुज्मेन्ट एण्ड वाटरपार्क प्रालि सुनसरीले वाटरपार्क, जीपलाईन, बन्जी नेपाल एडभेन्चर्स प्रालि कास्कीले बन्जी र साहसिक खेल, बोटेबोरा प्रालि, इक्वेटर एक्सपिडिसन नेपाल टोखा, जेट स्की, नेपाल सिप एण्ड बोट बिल्डिङ नवलपरासी, अल्टिमेट वाटर एड्भेन्चर्स चितवन, एमटिएस मोटरबोट प्रालि भरतपुर र श्री निता जलयात्रा भरतपुरले मोटरबोट÷जेट स्की खेलको अनुमति पाएका छन् । यस्तै, हाईग्राउण्ड एडभेन्चर नेपाल प्रालिले पोखरामा बन्जी जम्प तथा स्विङ खेलको अनुमति पाएको छ । कम्पनीमा दर्ता भएको उद्योग अनुसार विभागले फर्मका लागि न्यूनतम २० लाख र कम्पनीका लागि ५० लाख रुपैयाँ चुक्ता पुँजी भएपछि स्थलगत अनुगमन गरेर इजाजत दिने गरेको छ । ‘कुन कम्पनीमा कति लगानी छ भन्ने कुरा कम्पनीमा जानकारी होला, हामीलाई तोकिएका न्यूनतम शुल्क र चुक्ता पुँजी भए हुन्छ’, विभागको प्रशासन तथा सहसिक पर्यटन शाखाका अधिकृत दिपेन्द्र रेग्मीले भने । छैन अनुगमन विभागको प्रशासन तथा सहसिक पर्यटन शाखाका अधिकृत दिपेन्द्र रेग्मी इजाजत अनुमति (लाइसेन्स) दिए पश्चात अनुगमन नहुने बताउँछन् । उनका अनुसार विभागले अनुमतिका लागि आएका माग अनुसार कम्पनीलाई अनुमति दिए पनि सञ्चालन पश्चात अनुगमन हुँदैन । ‘हामीले इजाजतपत्र दिनुअघि विभिन्न तीन चरणमा स्थलगत अनुगमन गरेर अनुमति दिने गछौँ, सञ्चालन पश्चात खासै अनुगमन हुँदैन’, उनले भने । उनका अनुसार कम्पनीले पहिलो चरणमा मनोरञ्जन व्यवसाय सञ्चालन गर्ने स्थानको प्राविधिकसहित अनुगमन गर्ने गरेको छ । विभागका होटल शाखाको निर्देशकको संयोजकत्वमा प्राविधिक सहित वन तथा वातावरण मन्त्रालयका उपसचिवको टोलीले अनुगमन गर्ने गरेको छ । पहिलो चरणमा निर्माण हुने स्थलको अनुगमन गर्ने विभागले दोस्रो चरणमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका अनुसार अनुगमन गर्ने गरेको छ । यस्तै, विभागले अन्तिम अनुगमन स्वरुप इजाजत दिनुभन्दा अगाडि निर्माणस्थलको स्थलगत रुपमा अनुगमन गरेर मात्र इजाजत दिने गरेको छ ।
शिवपुरीको लालिगुराँस र राइडर कोरियन चन्द्रबहादुरको नेपाली भाषा
काठमाडौं । शनिबार साप्ताहिक विदा हुने गर्छ । तर, पत्रकारिता पेशामा के विदा, के कार्यालय दिन । शनिबारकै लागि मोटरहेड बाइकको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले एउटा निम्ता पाठाएको थियो । राइडरलाई सहभागी गराएर एड्भेन्चर राइड गर्ने कार्यक्रम मोटरहेडको रहेछ । एडभेन्चर राइडमा सहभागी हुने मौका पाएको थिइनँ । त्यसैले साप्ताहिक विदाको दिन भए पनि जान्छु भन्ने लाग्यो । र, गत शनिबार मोटरहेडको एडभेन्चर राइडमा सहभागी हुने भइयो । शनिबार विहान ७ बजेतिर मोटरहेडको शोरुम धोविघाटमा पुगें । म पुग्दा केही राइडरहरू आइपुगेका थिए, केही आउने क्रममा । मोटरहेडका महाप्रबन्धक उज्ज्वल जोशीसँग र केही राइडरसँग परिचय भयो । केहीबेरमा सबै राइडरहरु आइपुगे । राइडर आइपुगेपछि यात्राको बारेमा जेनेसिस एड्भेन्चर टुरका प्रबन्धक रूपक रोक्काले ‘ब्रिफिङ’ गरे । उनी पनि राइडर नै रहेछन् । म राइडर लेखनाथ पौडेलको बाइकमा बसें । बिहान ८ बजे धोविघाटदेखि मेलम्चीको चिसापानीसम्मको हाम्रो यात्रा सुरु भयो । यो रोमाञ्चक मोटरसाइकल यात्रामा ८ जना राइडर र म सहित ११ जना निस्क्यौं । बिहानीको खाजा जेनेसिस क्याफेमा खाने योजना थियो । उक्त क्याफेमा हामी पुग्यौं । सो क्याफेले राइडको व्यवस्थापन गरेको रहेछ । विहानीको खाजा खाएर हामी गन्तव्यतिर लाग्यौं । राइडर लेखनाथ पौडेल र मेरो दोस्ती जम्यो । यात्रामा रमाइला–रमाइला गफ हान्दै अघि बढ्यौं । हामी अघि परेछौं । अरू राइडरहरू पनि पछिपछि आउँदै थिए । हामी दुईको गफगाफको क्रममा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पुग्यौं । शिवपुरी क्षेत्र हाइकिङको लागि प्रसिद्ध छ । त्यसैले हाइकिङ जानेहरूको पनि सो क्षेत्रमा निकै भिड थियो । सायद शनिबारको दिन भएकोले होला, भीड अलि बढी नै देखिन्थ्यो । निकुन्ज क्षेत्रमा पस्न टिकट लिनुपर्छ । आयोजकले टिकट लिउन्जेल हामी एकापसमा गफियौं । एकजना राइडर कोरियन रहेछन् । २५ वर्षदेखि नेपालमा बसेका ती कोरियन साथीको नेपाली नाउ पनि रहेछ । उनलाई सबैले चन्द्रबहादुर लिम्बु भनेर चिन्दा रहेछन् । उनले बोलेको नेपाली भाषामा बेग्लै मिठास थियो । खासमा भन्ने हो भने म उनको फ्यान भइसकेको थिएँ, उनको नेपाली बोल्ने शैलीले गर्दा । भित्र पस्ने पास आयो । मख्ख पर्दै राइडर पौडेलको पछाडि बसेँ । निकुञ्जभित्रको बन र फुलेका लालिगुराँसले मन लोभ्यायो । किन हो किन फुलेको लालिगुराँस देखेपछि मेरो मन बेग्लै किसिमले पुलकित हुने गर्छ । यो यात्रामा पनि त्यस्तै भयो । ठाउँ ठाउँमा बस्दै, रमाइलो गर्दै अघि बढ्यौं । निकुञ्ज क्षेत्रको त्यो रमाइलो यात्रा कत्ति चाढै सकियो जस्तो लाग्यो । दिउँसोको साढे १२ बजे मेलम्ची नगरपालिकाको चिसापानीमा पुग्यौं । त्यहीको एउटा होटेलमा खाना खाइयो । चिसापानी पुग्दा थकित भइसकेका थियौं । धुलाम्मे कच्ची बाटो । मोटरसाइकलको यात्रा । यात्रा त वास्तवमै अविष्मरणीय भइसकेको थियो । कोरियन राइडरले त एक ठाउँमा बाइक पल्टाए पनि । उनलाई चोट नलागेकोले उनी लडे पनि हाम्रो लागि रमाइलै गरेजस्तै माहोल सिर्जना भयो । चिसापानीको होटल पुग्दा धुलोले अनुहार नदेखिने जस्तो भएको थियो धेरै जनाको । कच्ची बाटोमा बाइकको यात्रामा जे जे हुने गर्छ, सबै भयो । आफ्नो त जन्मस्थान भोजपुर । मेलम्ची पुगेको थिइनँ । त्यसमा पनि मोटरसाइकल राइडरसँगको पहिलो यात्रा थियो मेरो । त्यसैले बढी रोमान्चित थिएँ । नयाँ ठाउँ भएकाले उत्साहित थिएँ । होटलकी दिदीलाई सोध्दै होटेलको छतबाट देखिने दृश्यको अवलोकन गर्न चुकिनँ । खाना खाइसक्दा दिउँसोको १ बजिसकेको थियो । खाना खाएर केही समयपछि साथीहरू फोटा खिच्न व्यस्त भए । दिउसोको २ बजेपछि हामी काठमाडौं फर्किन लाग्यौं । चैतको घाममा चिसो हावा, पहाडि भेगको धुलौटे बाटोमा मोटरसाइकलको यात्रा, यात्रामा आइपर्ने रोमाञ्चक चुनौती, शिवपुरी राष्ट्रिय निकुन्जभित्रको लालिगुराँस । मेरो मनमा यस्तै यस्तै मात्रै घुमिरहेको थियो । बेलुकाको ५ बजे काठमाडौंको जेनेसिस क्याफेमा आइपुग्यौं । उक्त क्याफेमा आएर बेलुकीको खाजा खायौं । खाजा खादै यात्राको बारेमा गफ हुन थाल्यो । खाजा खाएर यात्राका अनुभव सुनाउँदै प्रबन्धक सुरेन्द्र कार्की भने – हामीलाई आशा छ, यो यात्राले राइडरलाई लाईफ टाइम एक्सपिरियन्स दिनेछ र आफूहरूबीच अद्वितीय भातृत्वको विकास गराउने छ, सडक र रमणीय स्थानहरूले निश्चित रूपमा मोटरहेड मोटरसाइकलको आकर्षण र सम्भाव्यतालाई अझ बढाउन सक्छ । राइडर विकास केसी आफ्नो अनुभव सुनाउन तम्सिए । मुसुक हास्दै भने– आजको यात्रा अविस्मरणीय रह्यो, यस्तो यात्रा तय गर्नाले विभिन्न ठाउँको अवलोकन गर्न सकिनेछ, बेला बखतको यो रमाइलो यात्राले मन पनि हर्षित भएको छ । कोरोनाकालमा दैनिक जीवनयापन, व्यावसायिक गतिशीलताका विषयमा अन्तरक्रिया, आन्तरिक पर्यटन प्रवर्द्धन र सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रवाह गर्ने उद्देश्यका साथ शनिबार उक्त राइड कार्यक्रम आयोजना गरिएको मोटरहेड कम्पनीका प्रतिनिधि सुनाउँदै थिए । र, कार्यक्रम पनि करिब टुंगिदै थियो । कार्यक्रम सकियो । छुट्यौं । यात्राको बारेमा मनमा धेरै कुरा खेल्दै थिए । र, मोटरसाइकलका बारेमा पनि कुरा खेले मनमा । फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स । मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुने देखियो । मोटरहेडका बिक्री प्रबन्धक सुरेन्द्र कार्कीले मोटरसाइकलको बारेमा बताएको सम्झदा मलाई पनि यही मोटरसाइकल किनौं किनौं लाग्यो ।