पार्टनरले समय नदिँदा झगडा नगर्नुहोस्, यी टिप्स अपनाउनुहोस्

एजेन्सी । सम्बन्धमा एकअर्कालाई समय दिनुपर्छ तर काममा व्यस्त हुँदा मानिससँग समयको कमि हुन्छ । यस्तो अवस्थामा जब जोडीले एकअर्कालाई समय दिँदैनन्, तब धेरै दूरी बढ्ने सम्भावना हुन्छ । यदि तपाइँको पार्टनर प्रायः व्यस्त हुन्छ, तपाइँको लागि समय दिँदैन भने तब एकआपसमा झगडा पर्ने सम्भावना रहन्छ । श्रीमान अथवा श्रीमतीले एक अर्कालाई समय नदिएमा दिनहुँजसो गुनासो गर्ने वातावरण बन्छ । जसले गर्दा दुवै वीचमा झगडा हुन्छ । बिस्तारै दम्पतीबीच झगडा बढ्दै गएर कुरा ब्रेकअपसम्म पुग्छ । धेरै पटक तपाईं आफ्नो पार्टनरलाई डिस्टर्ब गर्न चाहनुहुन्न समयको अपेक्षा गर्नुहुन्छ, यस्तो अवस्थामा यदि पार्टनर धेरै व्यस्त छ भने उसलाई चिन्तित पार्नु र झगडा गर्नुको सट्टा यी टिप्सहरू लिएर उहाँसँग समय बिताउनुहोस्। पार्टनरसँग कुरा गर्नुहोस् कुनै पनि समस्या छलफलबाट समाधान गर्न सकिन्छ। यदी तपाईंको पार्टनर अफिसको काममा धेरै व्यस्त छ र तपाईंलाई समय दिन सक्दैन भने उसँग गुनासो वा भावनालाई राम्रोसँग भन्नुहोस । तपाईंले पनि उसको कुरा राम्रोसँग सुन्नुहोस र समस्या अथवा समय अभावको बारेमा राम्रोसँग बुझ्ने प्रयत्न गर्नुहोस । पार्टनरको कामसँग सम्बन्धित कुराहरु बुझेपछि यसले स्पष्ट पार्छ कि पार्टनरले तपाईंलाई कामको कारणले समय दिँदैन वा उसले तपाईंलाई बेवास्ता गर्छ। यसो गर्दा पार्टनरले पनि तपाईको भावना बुझ्न सक्नेछन्। खुशी हुनुहोस सुखी सम्बन्धको लागि तपाई आफैं खुसी हुनु आवश्यक छ। यदि पार्टनरले समय दिइरहेको छैन भने दुखी नहुनुहोस् र खुसी हुने प्रयास गर्नुहोस्। जब तपाईं खुसी हुनुहुन्छ पार्टनरले व्यस्तताको बीचमा पनि राहत महसुस गर्नेछ। घरको भेटघाटलाई आनन्दित बनाउनुहोस धेरै कामका कारण पार्टनर तपाईसँग कतै जान नसकेको वा धेरै समय बिताउन नसक्ने हुनसक्छ । त्यस्तो अवस्थमा समयको सदुपयोग गर्न सकिन्छ । यदि तपाइँ आफ्नो पार्टनरसँग समय बिताउन चाहनुहुन्छ भने उनीहरूसँग बाहिर जाने बारेमा नसोच्नु राम्रो हुन्छ । बरु घरमा नै बस्ने रमाइलो गर्ने र खुसी हुने वातावरण बनाउँदा उत्तम हुन्छ । जब पार्टनर कामबाट घर फर्कन्छ, आफ्नो मनपर्ने डिनर तयार गरेर सँगै खाने, फिल्म हेर्ने, छलफल गर्ने, करेसाबारीमा काम गर्ने जस्ता कुराहरु गरेर आफ्नो पार्टनरसँग खुसी हुन सकिन्छ । सरप्राइज गिफ्ट दिनुहोस थोरै समयको प्रयोग गरेर पनि सम्बन्धमा खुसी राख्न सकिन्छ । तपाईं आफ्नो पार्टनरलाई समय समयमा सरप्राइज दिएर हरेक समयलाई विशेष बनाउन सक्नुहुन्छ। आफ्नो पार्टनरलाई उपहार दिएर तपाईं आफ्नो सम्बन्धको लागि व्यस्त क्षणहरूबाट केही समय निकाल्न सक्नुहुन्छ। जसले गर्दा दुबै पक्ष एकआपसमा खुसी हुन सकिन्छ ।

चन्द्रग्रहणबाट ६ राशीलाई हानी, के गर्दा फलदायी हुन्छ ?

काठमाडौं ।  कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । कात्तिक २२ गते बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ । औँसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाइन्छ । साहित्य श्रष्टा दानस मल्ल भाइटीकाको अवसरमा दिदीलाई समर्पण गरेर आफ्ना सिर्जनालाई यसरी पोख्छन्, सयपत्री र मखमली, घरको दायाँबायाँ । पवित्र होस् सधँैभरि, दिदीभाइको माया ।। यी माथि व्यक्त गरिएका साहित्य हरफले तिहार पर्वमा गलामा सयपत्री, मखमली फूलको माला र दिदीको न्यानो स्नेह, ममता पाउँदाको भाव र ती क्षणलाई सम्झदै उहाँले आफ्ना शब्दमार्फत दर्शाउन खोजेका हुन् । तिमै्र साथमा रहन पाऊँ, बनी तिम्रो छाया । पवित्र होस् सधैँभरि, दिदीभाइको माया ।। तिहार पर्वले दिदीभाइ र दाजुबिहिनीबीचको सम्बन्ध अझै पवित्र प्रगाढ स्नेही र पुनर्मिलन गराउनमा महत्वपूर्ण भूमिका खेलेको उहाँको बुझाइ छ । ‘दाजुभाइ पनि आफ्नो कार्यव्यस्तताले जहाँ रहे पनि वर्ष दिनमा एक पटक आउने चाड तिहारमा जस्तोसुकै काम भए पनि थाती राखेर दिदीबहिनीसँग पुनर्मिलन हुन पुग्ने गर्दछन्’, उनले भने, ‘मलाई सबैभन्दा बढी मनपर्ने चाड तिहार हो, यस पर्वले सबैलाई उमङ्ग, उज्यालो र आत्मीयता बढाएको हुन्छ ।’ निधारमा सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलले सजिएका ती गला, दिदीबहिनीको माया, स्नेह र आशीर्वाद लिने पर्व भाइटीकाले सबै उमेर समूहमा उत्तिकै आत्मीयता र महत्व राख्दछ । साहित्यकार मित्रलाल गौतम कवितामार्फत भाइटीकालाई यसरी व्यक्त गर्नुहुन्छ, बल्छन् बत्तीहरु झिलीमिली गरी सबैका घर । दुःखी हुन् अथवा गरिब पनि सुखी देखिने तर ।। आफ्ना जो घरका दिदी र बहिनी छन् जसका जहाँ जति । आशीर्वाद लिनेदिने समयको मौका मिलेको कति ।। सबका घरमा बलेका ती झिलीमिली बत्तीले को धनीको गरिब छुट्याउँदैनन्, धनी गरिब सबैलाई समानरुपमा जोड्ने पर्व तिहार अर्थात् भाइटीकालाई लिनुहुन्छ, साहित्यकार गौतम । उनका कविताले दिदीभाइ, दाजुबहिनीले एकापसमा भाइटीका ग्रहण गरी आशीर्वाद दिने र लिने एक महत्वपूर्ण अवसर, उत्सवका रुपमा लिने गरेको गौतम बताउँछन् । ‘अन्य पर्वका तुलनामा यो पर्वले फरक भूमिका खेलेको छ, दाजुभाइ दिदीबहिनीले एकले अर्कोलाई गर्ने माया प्रेम, हेरचाह, प्रेमिल सम्बन्धलाई फराकिलो बनाएको पाइन्छ, दिदीभाइ, दाजुबहिनीबीचको माया, प्रेम, आशीर्वाद लिने र दिने गर्दा अझ बढी तिहारको महत्व बढेको पाइन्छ’, उनले भने। रामपुर साहित्यिक प्रतिष्ठानको आयोजनामा भएको तिहारको सन्दर्भ पारेर आयोजना गरिएको रचनावाचन कार्यक्रममा लक्ष्मीपूजा, देउसीभैलो, भाइटीकाको महत्व समेटिएका आफ्ना सिर्जना साहित्य श्रष्टाले अभिव्यक्त गरेका छन् । करिब दुई दर्जन श्रष्टाले तिहार विशेष आफ्ना साहित्य सिर्जनामार्फत दिदीभाइ, दाजुबहिनीबीचको सम्बन्धलाई जोड्ने, मखमली फूल, सप्तरङ्गी टीकाको महत्वलाई उजागर गरेका छन् । दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । मखमली फूलको तिहारमा धेरै महत्व छ । यो फूल कहिले न ओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् । नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । विभिन्न समयमा पर्व विशेष, मोती जयन्ती, भानु जयन्ती, लक्ष्मी जयन्ती, मेला पर्व, विभिन्न मठ मन्दिरमा हुने पूजाका अवसरमा विभिन्न क्लब संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भई रचनावाचन कार्यले कला, संस्कृति, सिर्जना, साहित्यको विकासका निम्ति महत्वपूर्ण योगदान रहेको बताउँछन्, रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष वासुदेव ढकाल । ‘रामपुर नगरपालिका मात्रै नभई कालीगण्डकीबेँसी आसपासका साहित्यकारले नियमित रचनावाचनका अलवा चाडपर्व विशेष र समय सान्दर्भिक बिशेष कार्यक्रमलाई असाध्यै चासो दिनुुहुन्छ, बेला बेलामा रचनावाचन कार्यक्रम आयोजना हुने गरेपछि साहित्य श्रष्टा जुर्मुराउन थालेको पाइएको छ’, उनले भने । प्रतिष्ठानले साहित्यिक रचनावाचन कार्यक्रमलाई नियमितरुपमा हरेक महिना गर्न थालेपछि लुकेर रहेका प्रतिभाको उजागर गर्ने अवसर मिलेको छ । कला र गला भएका श्रष्टाले आफ्ना सिर्जना, भावनालाई बेला बखत पोख्ने माध्यम बनेको छ । प्रतिष्ठानले घुम्तीरुपमा रामपुरका विभिन्न स्थानमा साहित्यिक गतिविधि गर्दै आइरहेको छ । रासस ।