तिहारअघि नै झिलिमिली काठमाडौं फोटोफिचर
काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनीहरु लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन् । धनमाथि धन कमियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ । जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगीन छन् । बजारमा सामान किन्ने र बेच्नेको भीड देख्दा तिहार आइसकेको भान हुन्छ । तिहारका लागि आवश्यक पर्ने विभिन्न सामग्री खरिद गर्ने उपभोक्ताको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ ।
मेघगर्जनसहित वर्षाको सम्भावना, सबैलाई सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौमस विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्र्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी र गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । उक्त प्रदेशका भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव आठ डिग्री र अधिकतम तापक्रम २७ दशमलव आठ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव दुई डिग्री सेल्सियस छ । रासस
अपाङ्गता भएका महिलाहरुले यसरी मनाए तीज
सिन्धुली । ‘सुनको चुरा, औंठी नि सुनकै छ।।।।’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’ कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरु । श्रवण क्षमता कम भएका महिलाहरु घन्किरहेको गीतमा झुम्न सकेका थिएनन् । कारण थियो, गीत बजेको पत्तो नहुनु । हिँडाइसम्बन्धी समस्या भएका केही महिलाहरु ह्विलचियरबाट उठ्न सकेका थिएनन् । एकापट्टीको खुट्टा मात्र गुमाएकी दिपा कार्यक्रम हलको कुर्सीमा बसेर सबै साथीहरुलाई नचाउन उस्काइरहेका थिए। घन्किरहेको गीतको शब्द, सुनको चुरा औंठी नि सुनकै छ, माया जालमा परेकी क्या हो म, दिनरात झझल्को उनकै छ । ‘हे, मनको कुरा गा¥हो भो खोल्न, क्यारी भनु थाल्यो नि मन पोल्न, सुनको चुरा औंठी नि सुनकै छ । माया जालमा परेकी क्या हो म, दिनरात झझल्को उनकै छ ।’ यस गीतले तान्यो, कमलामाई नगरपालिका–७ माझिटारकी ह्विलचियर प्रयोगकर्ता गोमादेवी कार्की (चमलादेवी) लाई । गायत्री थापाको शब्द, उनकै सङ्गीत । राजमजी खाँण र देवी घर्तीको स्वर ठूलो आवाजमा बजिरहँदा उहाँलाई यो हरफले मन छोयो । आफ्नै कथा गीतमा भनिदिए झैँ लाग्यो । ‘शौचालय जाँदा लडेर मेरुदण्ड भाँचिएदेखि हास्न सकेको छैन । कम्मरमुनिको अङ्ग चल्दैन, नाच्नु कसरी ?’ आँखा आँसुले भरियो । उनी, निःशब्द भइन्। केही समयपछि तीजको रमझममा रमाउने उपाय बुन्न थालिन । दुःख, पीडालाई बेवास्ता गरेर हाँस्ने जाँगर बढाइन्। सुनको चुरा नभएपनि औँठी र रिङ सुनकै छ भनेर ठट्यौली गर्न थालिन् । ह्विलचियरमा बसेरै पाखुरा भाँचीभाँची नाच्न शुरु गरिन् । अन्य साथीसङ्गीले ताली पिटेर साथ दिए । कार्यक्रमस्थल हाँसोले भरियो । सबैको अनुहारमा उमङ्गता छायो । फराकिलो हृदय मात्र होइन् फरासिलो स्वभावले भरिपूर्ण भएकी चमलादेवीलार्ई गीतले भने झैँ मनको कुरा खोल्न गा¥हो भएपनि तीजको कुरा बोल्न केहिले छेकेन । उमेरले ६९ वर्ष पार गर्नै लाग्दा श्रीस्वस्थानीको महिनामा जन्मेको भएर आफ्नो नाम गोमा कार्की राखेदेखि ४० वर्ष कटेपछि रमाउन नपाएको तीजका कुरा खुलेर सुनाइन्। ‘नारी जातिको पर्व हो तीज । साथीसङ्गी जम्मा भएर रातो सारी लर्खाउँदै बारुले कम्मर मर्काएर पाउजु बजाउँदै छमछमी नाचिन्थ्यो,’ अपाङ्गता हुनुअघिको तीजलाई सम्झिनु भयो । झन्डै २५ वर्षपछि सार्थीसङ्गीसँग तीज मनाउन पाएको खुशियालीले उहाँलाई फेरी एक्छिन भावुक बनायो । ‘तीजको व्रत बस्ने अघिल्लो दिन रातको १२ बजेसम्म दर खाएर बस्थ्यौँ । भोलिपल्ट तीन सय जना महिला जम्मा भएर खोलामा नुहाउन जान्थ्यौ । बाटोबाटो नाँच्दै शिव मन्दिर पूजा गर्न पुग्थ्यौँ । नाच्दैनाच्दै घर फर्किन्थ्यौँ । गाउँमा सबैभन्दा फराकिलो आँगन जसको घरमा छ, उसैकोमा दिउँसो सामूहिक पूजा लगाइन्थ्यो । रातभर जाग्राम बस्थ्यौँ । त्यो बेलाको जस्तो रमाइलो अहिलेको तीजमा कहाँ छ र छोरी ?,’ उनले सुनाइन् । उबेला मनाइने तीज र यो बेला बनाउँदै गरिएको तीजबीचको फरक तुलना गर्दाका क्रममा चमलादेवीको अगाडि खीर, अचारलगायतका परिकार आयो । पहिलो चम्चा खीर निल्दै उहाँले भन्नुभयो, ‘मीठो रहेछ । यसरी पार्टी प्यालेसमा आएर दर खाएको आजै हो ।’ उनी मात्र कहाँ हो र ? उनकै छेउमा रहेका तथा अपाङ्गता भएका महिलाहले पनि आफूहरुको पहिलो अनुभव भएको सुनाए । यसरी, उस्तैउस्ता र पीडा मिल्दाजुल्दा भएका साथीसङ्गीसँग बसेर सुविधायुक्त ठाउँमा तीज मनाउन पाउनु आफूहरुका लागि हर्षको कुरा भएको सुस्त श्रवण शक्ति भएकी सुनिता दाहालले बताइन् । अपाङ्गता भएका महिलाको लागि शुभकामना आदाप्रदान तथा दर खाने कार्यक्रम सिन्धुली जिल्लामै पहिलोपटक भएको सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीकी अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) बताउछिन्। ‘महिलालाई वर्षेनी दर खान स्थानीय सरकारले सरकारी सम्पति छुट्याउने गर्दछ । अपाङ्गगता भएका महिलाहरुलाई समेटिँदैन । सपाङ्गता भएका महिलाहरु कार्यालय, गाउँ तथा पार्टी प्यालेसमा मनाउँछन्,’ उनले भनिन्, ‘सपाङ्गता भएका महिलालाई जस्तै अपाङ्गगता भएका महिलाहलाई पनि तीज मनाउने रहर हुन्छ । त्यसैले यस वर्ष अपाङ्गगता भएका महिलाका लागि छुट्टै कार्यक्रमको आयोजना गर्नु परेको हो ।’ अपाङ्गगता भएका महिलालाई सरकारी कार्यालयलेसम्म अपाङ्गगतासम्बन्धी बाहेकका कार्यक्रममा नसमेटेको उनको दुखेसो छ । कमलामाई नगरपालिकाले भने तीज मनाउन आर्थिक सहयोग गरेको आयोजकसमेत रहेका सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीले जनाएको छ । रासस ।