तीनदिन देशभर आंशिकदेखि सामान्य बदली हुने, हिमपातको सम्भावना

फाइल फोटो काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । “यस वायुको प्रभावले वर्षा हुने सम्भावना भने रहेको छैन ।” उनले भने । हाल देशको सुदूरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु/कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ८ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव चार डिग्री सेल्सियस रहेको छ । रासस

५६ लाखकाे लगानीमा सहकारीले खोल्यो सुपथ मूल्यका पसल, अन्त्य भयाे बिचौलियाले खाने कमिसन

चन्द्रौटा । कपिलवस्तुको बुद्धभूमि-४ बुड्डीस्थित सूर्य बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । सहकारीले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा सुपथ पसल सञ्चालन गरेको हो । सुपथ पसल नाम दिएर सञ्चालनमा ल्याएको उक्त पसलले सुपर मार्केटको झल्को दिने गरी सञ्चालनमा आएको छ । सोमबारदेखि औपचारिक रुपमा शुरु भएको सो पसलका लागि लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थालाई २१ लाख रूपैयाँ अनुदान दिएको थियो । अनुदान रकममध्ये १६ लाख रुपैयाँ भवन निर्माणमा र सात लाख रुपैयाँ पसल सञ्चालनमा लगानी गरिएको छ । सुपथ पसल सञ्चालनका लागि संस्थाले थप ३५ लाख रुपैयाँ लगानी गरेको छ । पसल सञ्चालन भएपछि स्थानीयस्तरमा उत्पादन सामग्री बिक्री वितरणमा सहज भएको सूर्य बहुउद्देशीय सहकारी संस्थाका व्यवस्थापक लेखनाथ खनालले बताए । पसलमा स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्न, मरमसला, दैनिक उपभोग्य हुने सामग्री खरीद बिक्री हुनेछ । सुपथ पसल सञ्चालनमा आएपछि कालोबजारी निरुत्साहित भई सहुलियत दरमा सामग्री खरीद गर्न पाउने स्थानीय रुपेशकुमार श्रेष्ठले बताए । स्थानीय कृषकले उत्पादन गरेका तरकारी, सहकारीका सदस्यले उत्पादन गरेका सामग्री सिधैँ ग्राहकसँग पुग्ने भएपछि बिचौलियाले खाने कमिसनसमेत अन्त्य हुने विश्वास गरिएको छ । अहिले स्थानीय बजारमा बिक्री गर्ने योजना रहे पनि आगामी वर्षदेखि अन्य सुपथ पसलसँग समन्वय गरी बाह्य जिल्लामा स्थानीय उत्पादन बिक्री गर्ने लक्ष्य लिएको सहकारीका अध्यक्ष मुरलीधर घिमिरेले बताए । सहकारीमा ८०० बढी सेयर सदस्य रहेका छन् । सेयर सदस्यका लागि विशेष छुटकोसमेत व्यवस्था गरिएको बताइएको छ ।

सहकारीबाट आत्मनिर्भर बन्दै जुम्लाका महिला, भन्छन्ः घर चलाउन मुस्किल पर्थ्याे, अहिले निकै सजिलाे भएकाे छ

जुम्ला । आर्थिक अवस्था कमजोर भएका जुम्लाका महिला पछिल्लो समयमा सहकारीबाट आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय तहमै सहकारी सञ्चालनमा आएपछि यहाँका महिलालाई सहकारीले आत्मनिर्भर बनाएको हो । जिल्लाको सिंजा गाउँपालिका-६ जोडुमा रहेको महादेव जनसेवा कृषि उत्पादक कृषक समूहबाट न्यूनतम ब्याजदरमा ऋण लिएर महिलाले आयआर्जनका काम गरेरका संस्था अध्यक्ष दलबहादुर बुढाले जानकारी दिए । उनले भने, “महिलाहरु सहकारीले बनाएका समूहमा आबद्ध भइ मासिक रूपमा बचत गरी ऋण लिएर आयआर्जनका काम गर्न थालेका छन् । आबद्धमध्ये १५ देखि २० महिलाले तरकारी खेती, व्यापार, भेडा बाख्रापालनलगायतका उत्पादनशील काम गर्दै आएका छन् ।” पहिला सहकारीमा आबद्ध नहुँदा घर चलाउन मुस्किल हुने यहाँका महिलालाई अहिले सरकारीले विभिन्न प्रकार सीपमूलक तालिम दिएपछि उनीहरुका जीवनशैली विस्तारै परिर्वतन हुँदै गएको संस्थाका उपाध्यक्ष बेलकौरा बुढाले बताए । सहकारीबाट सिकेको सीपमूलकबाट तालिमले अहिले यहाँका महिलाले मासिक १० रूपैयाँदेखि १५ हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेका स्थानीयवासी धर्मकली बुढाले जानकारी दिए । सहकारीबाटै ४० हजार रूपैयाँ ऋण लिएर तरकारी खेती र व्यापार शुरु गरेको स्थानीयवासी मुनबहादुर बुढाले बताए । उनले भने, “आजभोलि मासिक पाँच हजार रूपैयाँ कमाउने गरेको छु । सहकारीले बचत गर्न र कमाउन सिकाएको छ ।” विसं २०७३ वैशाख १ गते स्थापना भएको सो संस्थाले कृषितर्फ पशुपालन, तरकारी खेती, राडीपाखी व्यापार र वैदेशिक रोजगारीका लागि पनि आफ्ना सेयर सदस्यलाई ऋण लगानी गर्दै आएको छ । महिलालाई सङ्गठित गर्दै उनीहरुको विकासका लागि महिलाले नै सञ्चालन गरेको सो कृषि उत्पादक कृषक समूहले साविकको शनिगाउँ गाविसका सहकारी मध्यनमूना सहकारीको रूपमा विकास भइरहेको सचिव जोबना बुढाले बताए । सो संस्थामा अहिले २४८ सेयर सदस्यमध्ये अधिकांश विपन्न परिवार रहेका छन् । ती मध्ये ६८ पुरुष, ६७ महिला, ५८ बालिका र अन्य ५५ ले बालबचत गर्ने गरेका छन। । पुरुष र महिलाले रु १०० बचत गर्ने गरेका छन् भने बालबचत मासिक रु ५० उठाउने गरिएको उनले जानकारी दिए । आफूले नै समूहमार्फत बचत गरेको पैसा सरकारीमा जम्मा गरेर सेयर सदस्यहरुले त्यहीँबाट ऋण सहयोग लिएर आयआर्जनको काम गरिरहेका छन् । ऋण प्रवाह गर्दा समूहले सस्तो दिने गरेको सो संस्थाले जनाएको छ । स्थानीय तहमा सञ्चालनमा आएका संस्थाले किसानको मागलाई ध्यानमा राख्दै कृषि सहकारी संस्थाले अग्र्यानिक अन्न बालीको बीउ उत्पादनमा जोड दिएको तिला गाउँपालिका-१ मा रहेको समावेशी महिला सहकारी संस्थाका सचिव वसन्ती बस्नेतले जानकारी दिए । अन्यत्रबाट बीउ ल्याएर खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि यहाँका संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको यहाँका सहकारी बताउँछन् । रासस