छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (फाेटाेफिचर सहित)
काठमाडौं । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोली बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ । उपत्यकाको बागमती किनारमा बनाइएको छठघाटमा सयौँको संख्यामा सहभागि भक्तजनहरुले अस्पताउदो सूर्यलाई अघ्र्य दिएका छन् । यो वर्ष कोरोना भाइरस (कोभिड-१९) का कारण ठूलो संख्यामा मान्छेहरु भेला नहुन सरकारले आग्रह गरेको थियो । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा जाने गर्छन् । आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ । बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोली उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
‘दशैंले त मन जोड्थ्यो, अहिले ती मनहरु टाढिए छन्’
बलेवा । “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैं आएजस्तो हुन्थ्यो”, बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराका वासुदेव आचार्यले पुराना दिन सम्झिए। आफ्नो बाल्यावस्थाका दिन सम्झँदा उनलाई अहिले पनि त्यस्तै दशैँ आए हुन्थ्यो भन्ने लाग्छ तर अहिले त बाबियो भीरमै सुक्यो, पिङ बनाउने बाँस सुके । एक त पहिले जस्तो युवाहरुको जमात गाउँमा छैन । अर्कोतर्फ महामारीका कारण गाउँ फर्केका युवासमेत क्वारेन्टिनमा बसेपछि यो वर्ष बागलुङमा पिङ बिरलै देखिए । रोटेपिङ र चमच्चा बनाउने सिप कसैसँग छैन । लठ्ठेपिङसमेत यो वर्ष देख्न नपाएको उनले गुनासो गरे । “टीका र दक्षिणा संस्कार मात्रै हो, दशैंले त मन जोड्थ्यो”, उनले भने, “अहिले त मनहरु टाढिएका छन्, चौरीहरु खाली छन् ।” भीरमा हुने बाबियो बूढाबूढी र केटाकेटीले काट्न सक्दैनन् । बाँस काटेर ठड्याउनका लागि पनि बलिया मान्छे चाहिन्छन् । रोजगारीको सिलसिलामा बाहिर रहेकाले दशैंमा घर फर्किँदा पनि खुलेर रम्न नपाएको सोही ठाउँका जीवन शर्मा बताउछन् । “पहिले पहिले दशैंमा घर आउँदा बाटैमा पिङ हुन्थ्यो, गाडी रोकेरै भए पनि खेलिन्थ्यो, अहिले त बाटोमा देख्नेहरु पनि टाढैबाट बोले”, उनले भने ‘कति निरसिलो दशैँ, तारेभीरको बाबियो सुके होला, रोहोटेका बाँस नुघे होलान्, बाहिर निस्किएको छैन ।” साना केटाकेटीका लागि यहाँका स्थानीयवासीले आफ्नै घर छेउमा स-साना पिङ बनाइदिएका छन् । वयस्कहरुले भने यस वर्ष कोरोनाका कारण पिङ खेल्न त के देख्न पनि पाएनन् । पहिलेजस्तो जाँगर अहिलेका युवा पुस्तामा छैन । बूढापाकाले करकाप गरेर बनाइने लठ्ठेपिङसमेत बन्न छोडेको काठेखोला गाउँपालिका–७ का वडाअध्यक्ष प्रेम लामिछानेले बताए । “व्यावसायिकरूपमा बनाएका तिनै लठ्ठेपिङमा युवाहरुको ठूलो आकर्षण देख्छु तर आफ्नो पर्वमा आफ्नै आँगनमा पिङ बनाउन युवाहरुले जाँगर देखाउँदैनन्”, लामिछानेले भने, “खर्च भएमात्रै सन्तुष्टि मिल्ने विश्वास विकास हुँदा, संस्कारी बन्न सकिएन ।” लठ्ठेपिङ बनाउन कम खर्चिलो र सीपसमेत सामान्य भए पुग्छ । लठ्ठो बाट्नका लागि केही सिपालुले सिकाएकै आधारमा सकिन्छ भने झुण्ड्याउन मुटु भएका युवा चाहिन्छन् । महामारी र गाउँ खाली भएका कारण यस वर्ष बागलुङमा पिङले ल्याउने रौनक दशैँमा देख्न सकिएन । रासस
कोरोनाको कारण रोकियो आउटबाउण्ड टुर प्याकेज, स्वदेशी पर्यटकीय स्थल प्राथमिकतामा
काठमाडौं । नेपाली ट्राभल एण्ड टुर एजेन्सीहरुले यो वर्ष आउबाउण्ड टुर प्याकेज नल्याएको बताएका छन् । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसले आक्रान्त पारिरहेको बेला ट्राभल एण्ड टुर एजेन्सीहरुले पनि दशैंमा विदेश घुम्नका लागि टुर प्याकेज नल्याएको बताएका हुन् । नेपालबाट पर्यटक बनेर विदेश घुम्न जाने (आउटबाउण्ड) टुरका नेपालीको संख्या बढ्दै जान थालेसँगै व्यवसायीले पनि आकर्षक प्याकेज सार्वजनिक गर्न थालेका थिए । पर्यटन व्यवसायीले नेपालबाट दशैंको समयमा विदेश घुम्न चाहने नेपालीको लागि आकर्षक प्याकेज सार्वजनिक गर्ने र बजारीकरणलाई पनि बढाउन थालेका थिए । दशैंमा नेपालीहरुले लामो छुट्टी पाउँने र यही मौका छोपेर विदेश घुमघाम गर्ने शैंली बढ्दै गएको भएपनि यस पटक भने कोरोना भाइरसको कारण विदेश जाने मानिसहरुक कमी भएकोले टुर एण्ड ट्राभल्स एजेन्सीहहरुले प्याकममेज नल्याएको बताएका हुन् । विगत ५/६ वर्षदेखि विदेश घुम्न जाने नेपाली संस्कृति हरके वर्ष बढिरहेको पर्यटन व्यवसायीको भनाई छ । तर, यो वर्ष भने मानिसहरुल्े विदेश घुम्न जान चाहिरहेका छैनन् । दशैंको समयमा नेपालीले लामो बिदा पाउने र चाडपर्वको समय भएकोले पनि विदेश घुमेर रमाउने संस्कृति बढिरहेको भएपनि यो वर्ष विदेश जानेहरु नभएको नेपाल टुर एण्ड ट्राभल्स एजेन्टसका अध्यक्ष अच्युत गुरागाईंले बताए । त्यसै कारण व्यवसायीले टुर प्याकेज नल्याएकोे उनको भनाई छ । हालसम्म नेपाल सरकारले विदेश घुम्न जाने पर्यटकको तथ्यांक राख्ने गरेको छैन । तर, दशैं तिहारको समयमा धरै नेपाली विदेश घुम्नको लागि जाने गरेका छन् । विशेषगरी बाहिर घुमिरहने उच्च र मध्यम वर्गका परिवारका सदस्यको दशैं मनाउन विदेशतिर जाने संस्कृति बढेको गुरागार्इँ बताउँछन् । ‘विगत केही वर्षयता नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएका कारण आउटबाउण्डको प्याकेज पनि सार्वजनिक हुन्थे तर, यो वर्ष कोरोना भाइरसको कारण कोही पनि विदेश जान पाएका छैनन्, त्यसैले पनि व्यवसायीले प्याकेज नल्याएका हुन्,’ उनले भने । आफन्त विदेशमा बस्नेसँगको भेटघाटको माहोल दशैंकै समयमा मिलाउने र परिवारका सदस्य छुट्टी मनाउन विदेशीले संस्कृति नेपालमा बढेको उनको भनाई छ । यो वर्ष दशैंको समयमा विदेश घुमघाममा गर्ने र रमाइलो गर्ने नेपाली नभएपछि एजेन्सीहरुले प्याकेजहहरु पनि ल्याउन छोडेका छन् । अघिल्ला वर्षहरुमा नेपालीहरुले आउटबाउण्ड टुरका लागि १ लाखदेखि २÷३ लाख रुपैयाँ शुल्क तिर्नु पर्थयो । नेपाली टुर एण्ड ट्राभल कम्पनीहरुले विभिन्न देशहरुका लागि प्याकेज ल्याउने गर्दछन् । कम्पनीहरुले विशेष गरेर थाइल्याण्ड, मलेसिया सिंगापुर, इन्डोनेसियालगायतका देशहरुका लागि प्याकेज ल्याउने गरेका छन् । यस्तै, जापान, कोरिया, बेलायत, स्कटल्याड, अमेरिका देशहरु नेपालीक लागि आर्कषक गन्तव्य हुन् । नेपालबाट विदेशमा घुम्न जानु भनेको नेपालीले वर्षैंदेखि कमाएर बचाएको रकममा रमाइलो गर्न गर्ने घुमघाम नै भएको व्यवसायीहरु बताउँछन् । विदेश जान नपाएपछि यसपाली भने स्वदेशी पर्यटकीय स्थल भ्रमण प्राथमिकतामा पर्ने व्यवसायीहरुको भनाइ छ ।