आज काठमाडौंमा यस वर्षकै बढी चिसो
काठमाडौं । उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो । अबको केही दिन देशभरको तापक्रम निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । “राति आकाश खुला भए बिहानको तापक्रम घट्ने र राति बदली भए तापक्रम बढ्ने हुन्छ”, उनले भने । यस वर्ष काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान रहेको छ । विभागले सूचना जारी गर्दै चिसो रहरिहने तथा तराई/पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोका कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ । विभागको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री र सबैभन्दा धेरै धनकुटाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।
पीडित तारा भन्छिन्- फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन् । डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसम खाएका थिए । मायापिरती बसेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए । तारालाई आफ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे । “गत वर्षको फागुन ११ गतेको कुरा हो”, ताराले भनिन्, ‘घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा बसे । भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्याउनुपर्छ भनेर कर गर्न थाले । नाइनास्ती गर्न सकिनँ । झलारी बजारसम्म गएँ ।’ ‘तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरिब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ’, रमेशको भनाइ उल्लेख गर्दै ताराले भनिन्, ‘वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला । राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरें, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौं ।’ त्यसपछि उनी डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्वानीमा रहेको घरमा गइन् । एक/दुई महिना राम्रैसँग बित्यो । रमेशले पनि निकै राम्रो व्यवहार गरे । ‘जब म गर्भवती भएँ, मेरो मञ्जुरीबिना जबर्जस्ती गर्भपतनको औषधि खुवाई गर्भपतन गराइयो ।’ असुरक्षित तरिकाले गर्भपतन गराउँदा रक्तस्राव हुन थाल्यो । ताराको रक्तस्राव हुने क्रम नरोकिएपछि कैलालीको धनगढीस्थित अस्पतालमा उपचारका लागि भर्ना गरियो । उपचारपछि तारा निको भइन् । दुबैजना माइती घरमा गए। झलारी बजारबाट फलफूल लिएर आउँछु भनी गएका रमेश माइतीमै छाडेर फर्केनन् । उनले गहँभरि आँशु खसाल्दै भनिन्, ‘माइतीमै छाडेर भाग्नुभयो । कता गएको खबर नै गर्नुभएन । यतिका दिन बिते भनेर तीन दिनपछि फोनमै सोधेँ, प्रत्युत्तरमा रमेशले ‘तारा भन्ने तिमी को हौं म चिन्दिनँ, तेरो मेरो कुनै सम्बन्ध छैन । मेरो घरमा आए पछि तेरो लाश हुन्छ’ भनेर धम्की दिन थाले ।’ उनले त्यसपछिका कुरा खोतल्दै भनिन्, ‘सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ । केही सहारा थिएन । भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन । मार्ने धम्की दिँदै आएकाले निकै मानसिक हिंसा सहनुपर्यो ।’ ताराले शुक्लाफाँटा नगरपालिकामा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजित अन्तर्क्रिया कार्यक्रममा यी कुरा बताएका हुन् । रमेशले छाडेर गएकामा तारालाई अहिले पनि विश्वास छैन । उनी भन्छिन्, ‘कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो । भेट गराइदिनुपर्यो । सम्झाएपछि अपनाउने अझै विश्वास छ । म ऊ बिना बाँच्न सक्दिनँ ।’ घर न घाटकी भएकी तारा न्याय माग्दै झलारीस्थित सामुदायिक सेवा केन्द्रको शरणमा पुगेकी छिन् । सेवा केन्द्रको सेफहाउसमा बस्दै आएकी तारालाई न्याय दिलाउनका लागि महिला अधिकारकर्मीको सहयोगमा इलाका प्रहरी कार्यालय झलारीमा उजुरीसमेत दिइएको छ । ‘प्रहरीले अहिलेसम्म उजुरीको सुनवाइ गरेको छैन । प्रहरीमा उजुरी दिएको छ महिना बितेको छ’, अधिकारकर्मी बिष्नादेवी पन्तले भने, ‘भगाएर अलपत्र छाडनेविरुद्धको उजुरी दिइए पनि प्रहरीले आजभोलि भन्दै आश्वासन मात्रै दिने गरेको छ । भगाएर लैजाने केटालाई यहाँ ल्याउन मानेकै छैन ।’ सेवा केन्द्रका पदाधिकारी महिलासहित नगरपालिकाका उपप्रमुखको नेतृत्वमा गएको टोलीले परशुराम नगरपालिकास्थित प्रहरीमा समेत उजुरी गरेपछि रमेश त्यहाँसमेत फेला नपरेको उनले बताए । प्रहरीमा उजुरी दिँदासमेत सुनुवाइ हुन नसकेपछि महिला अधिकारकर्मी तारालाई न्याय दिलाउनका लागि जुटेका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा दुवै पक्षलाई राखेर समस्याको समाधान गरिने बताउँछन् । अन्तर्क्रिया कार्यक्रममा सहभागी अधिवक्ता उद्धवराज भट्ट महिलामाथि हुने ज्यादतिका अधिकांश घटना विद्यमान कानूनको कार्यान्वयन नगरिँदा बढ्दो क्रममा रहेको बताउँछन् । कानूनको पूर्णरूपमा पालना गराउनका लागि स्थानीय सरकारले परिणाममुखी काम गर्नुपर्ने उनको भनाइ छ । ‘पुरुषको तुलनामा महिला अधिक हिंसामा पर्ने गरेका छन् । यसको मुख्य कारकका रुपमा जाँडरक्सीको अनियन्त्रितरूपमा बिक्री वितरण नै हो’, अधिवक्ता भट्टले भने, ‘केही नपाइने ठाउँमा मदिरा पाइन्छ । यसको नियन्त्रण जरुरी छ ।’ एकअर्काको भावना नबुझिकनै गरिने प्रेमविवाहसमेत असफल हुँदै गएको चर्चा गर्दै उनले यसरी गरिएका प्रेमविवाह एकअर्काप्रतिको अविश्वासका कारण बीचमै टुट्ने गरेकाले यसमा पनि महिला नै पीडित बन्ने गरेको बताए । उनका अनुसार देखासिखीमै गरिने प्रेमविवाहमा अधिकांश शिक्षित युवायुवती नै रहने गरेका छन् । ‘कानूनी उपचार नगरिकनै अधिकांश हिंसाका घटनालाई मिलापत्रमै टुङग्याइँदा यी घटनापछि विकराल रूपमा आउने गरेका छन्’, उनले भने, ‘सबैभन्दा बढी यौनजन्य हिंसाका घटना बढी छन् । त्यसपछि मानसिक प्रताडनाका घटना आउने गरेका छन् ।’ झलारी सामुदायिक सेवा केन्द्रमा गत साउन महिनादेखि हालसम्म घरेलु हिंसाका छ, गालीगलौजका १२, कुटपिटका २०, वादविवादका तीन, बालविवाहका पाँच, अलपत्र परेका महिला पाँच, बहुविवाहका चार गरी ५५ जनाले उजुरी गरेका छन् । तीमध्ये १५ जनालाई मनोपरामर्श र पाँच जनालाई मेलमिलापपछि घर फिर्ता गराइएको छ । रासस
बालबालिकाले असल सङ्गत कसरी थाहा पाउने ?
काठमाडाैं । जीवनमा धेरै मानिससँग भेटघाट र नजिक भइन्छ । भेटे जतिका सबै मानिस, साथीभाइ र आफन्त विश्वासिला हुँदैनन् । साथीभाइ धेरै हुन्छन् तर जसले आफ्ना भित्री मनका कुरा बुझ्न सक्छ र दुःखसुखमा साथ दिन्छ उही नै असल साथी हुने टीकापुरका विष्णु पाण्डे बताउँछन् । “साथीहरु धेरै हुन्छन्, हामीलाई कुन असल छ भन्ने थाहा हुँदैन”, पाण्डे भन्छन्, “जसले राम्रो कुरा सिकाउँछ, अगाडि बढ्न प्रेरणा दिन्छ त्यस्तो साथीसँग मात्र सङ्गत गर्नुपर्छ ।” परिवारमा पनि आमाबुबा, दाइ दिदीलगायतका धेरै सदस्य हुन्छन् । किशोर प्रायः दाजुभाइसँग नजिक हुन्छन् भने किशोरी दिदीबहिनीसँग नजिक हुन्छन् । परिवारमा जसले आफूलाई माया गर्छ, जसले आफूसँग साथीजस्तै व्यवहार गर्छन् उनैसँग नजिक हुने गरेको टीकापुर–३ की किशोरी अरुणा विक बताउँछिन् । “यो उमेरमा साथीजस्तै व्यवहार गर्ने आफन्त होस् भन्ने लाग्छ”, अरुणा भन्छिन्, “कुरा नबुझ्ने परिवारका सदस्यको नजिक जान मन लाग्दैन । अभिभावक पनि साथीजस्तै होस् भन्ने चाहना हुन्छ ।” घरमा किशोरावस्थामा पुगेका आफ्ना बालबालिकालाई सही बाटोमा हिँडाउन र उनीहरुलाई गलत बाटोमा जान नदिन उनीहरुसँग खुलेर कुरा गर्ने, उनीहरुका कुरा गम्भीर भएर सुन्ने काम गर्नुपर्ने अभिभावक जवालसिंह तिरुवाले बताए । “हरेक अभिभावकले छोराछोरीको सङ्गतका बारेमा ध्यान दिने र साथीभाइजस्तो व्यवहार गर्ने हो भने किशोरावस्थाका बालबालिकालाई गलत बाटोमा जानबाट जोगाउन सकिन्छ”, अभिभावक तिरुवा भन्छन्, “अधिकांश आमाबुबाले छोराछोरीलाई त्रासमा राख्ने तथा साना साना गल्तीमा गाली गर्ने गर्दा उनीहरुमा झन गलत धारण आउन सक्छन् ।” किशोरावस्थाका बालबालिकालाई सही मार्गनिर्देशन गर्न विद्यालयको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । विद्यालयमा शिक्षक शिक्षिकाले किशोरावस्थाका बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण गर्ने, उनीहरुलाई राम्रा नागरिकको उदाहरण दिएर शिक्षण गर्ने र राम्रो काम गर्न उत्प्रेरणा प्रदान गर्नुपर्ने त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायतको भनाइ छ । “बालबालिकाका ससाना कुरालाई पनि नियालेर ध्यान दिने र साथीजस्तै व्यवहार गर्ने हो भने यो अवस्थाका बालबालिका शिक्षकसँग नजिक हुन्छन् । अनि सबै कुरा शिक्षकसँग आदानप्रदान गर्ने गर्छन्”, प्रधानाध्यापक कठायतले भने, “किशोरावस्था एक संवेदनशील र परिवर्तनको अवस्था भएकाले पनि उनीहरु हरेक गोप्य कुरा अरुसँग बाँड्न चाहँदैनन्, त्यसैले उनीहरु यस्तो अवस्थामा एक सही र विश्वासिलो साथीको खोजीमा हुन्छन् जो तपाइँ, हामी हुन सक्छौँ ।” दशदेखि १९ वर्षको उमेरलाई किशोरावस्था भनिन्छ । यो उमेर समूहका व्यक्ति धेरै जिज्ञासु र चञ्चले हुन्छन् । उनीहरू कुनै पनि विषयमा सजिलै निर्णय गर्न सक्दैनन् । “बालबालिका सही मार्गमा हिँडे जीवन सुन्दर र सफल हुन्छ । किशोरावस्थामा बालबालिकालाई सही, गलतको पहिचान नभए जीवन दुःखदायी हुनसक्छ”, टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता धनराज विक भन्छन्, “किशोरकिशोरीले यो समयमा गलत सही थाह नपाउने हुन्छ, जसलाई पनि विश्वास गर्न सक्छन् । उनीहरुमा विभिन्न मानसिक समस्या देखिन सक्छन् ।” विकका अनुसार किशोरावस्थामा बालबालिकालाई विभिन्न खाले तनाव हुनसक्छ । कम उमेरमा देखिने मानसिक समस्याले उसको भविष्य अन्धकारतर्फ जानसक्छ । तनाव व्यवस्थापनका लागि उनीहरुले मनको कुरा खोल्ने वातावरण घर र विद्यालयमा हुनुपर्ने मनोसामाजिक परामर्शकर्ता विकको भनाइ छ । किशोरकिशोरी गलत सङ्गतजस्ता कारणले गलत बाटोमा लाग्ने जोखिम हुन्छ । उनीहरुलाई गलत कार्यमा लाग्नबाट जोगाउन सबभन्दा बढी सचेत अभिभावक हुनुपर्छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने लागुऔषध सेवन, बलात्कार, चोरीजस्ता अपराधमा समेत बालबालिकाको प्रयोग बढेको बताउँछन् । “बालबालिका गलत होस् या सही दुवै काम जिज्ञासु भएर गर्छन्, उनीहरुलाई सही गलतको पहिचान हुँदैन”, न्यौपाने भन्छन्, “यस्तो बेला उनीहरुलाई सुरक्षित स्थानसमेत थाहा हुँदैन । अभिभावक सचेत हुने हो अनि विद्यालयले पनि बालबालिकाको हरेक आनीबानीको निगरानी गर्नुपर्छ । उनीहरुका लागि घरमा पनि बालमैत्री वातावरण भएमा व्यस्त राख्न सकिन्छ ।” बालबालिकामा विभिन्न थरिका भावना गुम्सिएर रहेका हुन्छन् । ती भावना सही समयमा सही व्यक्तिसँग पोख्न पाइएन वा सही सञ्चार हुन सकिएन भने उनीहरुमा विकराल अवस्था सिर्जना हुन सक्ने समाजशास्त्री शिवचरण चौधरी बताउँछन् । “मनमै कुरा खेलाउने वा गुम्साएर राख्ने बालबालिका नकारात्मक बाटोमा हिँड्न सक्छन्”, समाजशास्त्री चौधरी भन्छन्, “बालबालिका गलत बाटोमा लागे घर, समाज र देशको विकासमा बाधा पुग्छ । घर संसार सुन्दर बनाउन सन्तान असल हुनुपर्छ, त्यसैले बालबालिकालाई सही सूचना दिने, सही मार्ग देखाउने जिम्मा सबैको हो ।” रासस