शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मनसुनी न्युनचापीय रेखाको प्रभावले देशको अधिकांश भू-भागमा वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताए । “यो क्रम शनिबारसम्म कायम रहन्छ, यो अवधिमा आकाश खुल्ला भई घाम लाग्ने सम्भावना छैन, राति र बिहानीपख वर्षा हुनेछ, दिउँसोको समयमा वर्षा रोकिए पनि बदली नै रहनेछ”, उनले भने । मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ भए पनि यस वर्ष ढिलो गरी मनसुन बाहिरिने मौसमविद्को भनाइ छ । हाल देशभर सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १९ दशमलव छ र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम १६ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३३ दशमलव छ डिग्री सेल्सियस रहेको छ । रासस
अभिकर्ता बनेर जीवन बीमामा छिरेका ढुंगानाको अनुभवः बीमा गर्नुपर्छ भन्ने सोचेर सरकारी अधिकृत नै भागे
काठमाडौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका एजिएम हरिप्रसाद ढुंगाना २०६१ सालमा बीमा क्षेत्रमा प्रवेश गरे । उनले बीमा क्षेत्रमा अभिकर्ताको रुपमा प्रवेश गरेका हुन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा क्षेत्रमा पसेका ढुंगानाले यो बीचमा विभिन्न कम्पनीमा काम गर्ने अवसर पाए । बीमा क्षेत्रमा प्रवेश गर्नुअघि उनी यो क्षेत्रप्रति त्यति सकारात्मक थिएनन् । काम गर्दै जाँदा यस क्षेत्रको महत्व बुझ्दै गए । ‘बाहिरबाट हेर्दा र भित्री रुपमा भने बीमा व्यवसाय फरक रहेछ, पहिला मेरो पनि यो क्षेत्रप्रति त्यति सकारात्मक धारणा थिएन, जब बीमा क्षेत्रमा पसेर काम गर्न थाले, अनि मात्रै यसको महत्व बुझें,’ उनले भने । अहिले उनी बीमा क्षेत्रमा भित्रिन चाहनेलाई खुलेर स्वागत गर्ने बताउँछन् । जबकि यो क्षेत्रमा प्रवेश गर्नुअघि बीमा भनेको नेटवर्किङ व्यवसाय जस्तो मात्रै लाग्थ्यो उनलाई । आफ्नो भ्रम पनि बीमा क्षेत्रमा प्रवेश गरेपछि मात्रै चिरिएको उनको भनाइ छ । अभिकर्ता भन्ने थाहा पाएपछि जब साथी नै भागे अझै पनि बीमा अभिकर्ताको बारेमा समाजमा त्यति सकारात्मक धारणा छैन । बीमाको आवश्यकता र औचित्य बारे आमरुपमा बुझाउन नसक्दा यस्तो धारणा बन्ने गरेको हो । अभिकर्ता हुँदा एजिएम ढुंगानालाई सरकारी सेवामा रहेका एकजना अधिकृत साथीले बोलाए । तर उक्त साथीले ढुंगाना अभिकर्ता हुन भन्ने सुइको पाउँने बित्तीकै भागेका थिए । उलाई यो घट्ना जीवनकै अविष्मरणीय घटना लाग्छ । तर यो कहानी यतिमा मात्रै सिमीति छैन । उनले उक्त साथीकै पछि बीमा गराएका छन् । सुरुमा ५ लाख रुपैयाँ बराबरको बीमांक भएको बीमा गर्न नमानेर भागेका साथी उनका तिनै साथी केही समयपछि २५ लाख रुपैयाँ बीमांक बराबरको बीमा गराउन तयार भएका थिए । यसलाई आफ्नो ठूलो सफलताको रुपमा लिन्छन् ढुंगाना । राम्रो बानी उनी हत्तपत्त रिसाउँदैन् । यही बानी उनलाई औधी मन पर्छ । आफ्नो शान्त स्वभावको धेरैले कदर समेत गर्ने गरेको उनको अनुभव छ । उनी आफ्ना विभिन्न बानी मध्ये नरिसाउँने बानीलाई सबैभन्दा उत्तम बानी भन्न चाहन्छन् । उनी अरु सबैको प्रगति होस्, भलो होस भन्ने सकारात्मक सोचका व्यक्ति भएका सहकर्मी तथा उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । नराम्रो बानी उनको अरुलाई चाँडै पत्याउने नराम्रो बानी छ । अरुलाई चाँडै पत्याउँदा असल मानिसको फेला पर्दा त केही हुन्न । तर खराबको फेला पर्यो धोका पाउँने सम्भावना प्रवल रहन्छ । यस्तो समस्या उनले बेलाबेला भोगेका पनि छन् । उनको स्थाई घर गण्डकी प्रदेशस्थित दमौलीको व्यास नगरपालिका हो । हाल उनी राजधानी काठमाडौंको शंखमुलमा बस्छन् । यसकारण जीवन बीमा अमूल्य छ जीवन बीमा गर्ने भनेको एउटा बचतको लागि हो भने अर्को भविष्यको सुरक्षा तथाका लागि । यो बालबच्चाको हकमा उच्च शिक्षाका लागि लाभदायी हुन्छ भने अरुलाई बुढेसकालको साहारा बन्छ । कोही अपांगतामा परे भने बीमाले साथ दिन्छ । जीवन बीमा हुने खानेदेखि हुँदा खानेसम्मको लागि जरुरी छ भन्ने उनको मान्यता छ । बीमा नबुझ्दा यसको महत्व थाहा नहुन सक्छ । तर, बिमित, बिमकलगायत सबैलाई फाइदा पुग्ने भएकोले बीमा सबैका लागि हो भन्ने उनलाई लाग्ने गरेको छ । स्कुल पढ्दादेखि नै सामाजिक सेवामा युनियन लाईफका एजिएम ढुंगाना विद्यालयस्तरदेखि नै सामाजिक काममा सक्रिय थिए । उनले गाउँकै स्कूलमा अध्ययन गरेका हुन् । त्यस बेलामा पूजापाठ हेर्न रातिराति जाने गरेको उनले बताएका छन् । स्कूलमा उनले धेरै काम गर्न रुचाउनेमा पर्छन् । उनले पढेको विद्यालयले उनलाई केही कुरामा सम्झिने गरेकोे छ । तनहुँको महेन्द्र ज्योति उच्चमाध्यमिक विद्यालयमा अध्ययन गरेका उनले ४ सयवटा विद्यालयका बीच आफ्नो नाम कायम हुने किसिमले सामाजिक सम्बन्ध बिस्तार गरेको दाबी गरेका छन् । उनी महेन्द्रज्योती उच्चमाध्यमिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष बन्ने अवसर पाएका थिए । उनले सो स्थानमा अभिकर्ता बनेर गरेको विगतका कामले अहिले सबैले सकारात्मक रुपमा सम्झिने गरेका छन् । अहिले उनी लायन्स, लियो, रोटरी, जेसिसलगायतका सामाजिक संघ संस्थामा संलग्न छन् । युनियन लाइफका २ चुनौति नयाँ कम्पनी भएपनि बजारमा आक्रामक रुपमा अघि बढेको युनियन लाइफ इन्स्योरेन्स अहिले केही परिसूचकमा समग्र जीवन बीमा बजारमा तेस्रो अवस्थामा पुगेको छ । पाएको अवसरलाई सदुपयोग गर्दै १ नम्बर बन्ने चुनौति सो कम्पनीको रहेको उनको बुझाइ छ । यस्तै, बजारीकरणमा ब्राण्ड बनाएको युनियन लाइफलाई आगामी दिनमा सो कुरा कायम राख्न पनि केही चुनौति रहेको एजिएम ढुंगाना बताउँछन् ।
विचारले जन्मियो अचार, अवसर बन्यो लकडाउन
काठमाडौं । चैतको महिना । देशभर लकडाउन थियो । सडकमा मानिसको आवत-जावतदेखि व्यापार व्यवसाय सबै ठप्प । त्यो बेला महिनौं घरभित्रै कैदी जस्तै बनेर बस्नु परेको अनुभव कसैमा थिएन । त्यही बाध्यता आइलाग्यो ललितपुरकी पूजा जोशीलाई पनि । लकडाउनको समय । न बाहिर हिड्न मिल्ने, न त कुनै व्यापार व्यवसाय गर्न नै पाइने भएपछि पूजालाई आलश्य मात्र होइन दिन प्रतिदिन चिन्ताले पनि स्थान लिन थाल्यो । पूजा होस्टेल व्यवसायी हुन् । उमेरले परिपक्व पूजा दिमागमा पनि परिपक्व छिन् । लकडाउनकै समयमा कसरी आत्मनिर्भर बन्ने ? कामलाई कसरी निरन्तरता दिने ? घर परिवार कसरी चलाउने ? लगायतका विषयहरुमा आफुले धेरै सोच्न बाध्य भएको उनी बताउँछिन् । व्यवसाय गरौं, होस्टेल बन्द छन् । अब कसरी गुजारा चलाउने ? होस्टेलमा लाखौं लगानी छ । लामो समयसम्म लकडाउन भयो भने त धेरै क्षति हुन्छ होला । आफुले यस्ता यस्तै नानाथरी कुराहरु मनमा सोचेर बसेको उनी बताउँछिन् । बिचमै उनले एउटा योजना बनाइन् । त्यो योजना थियो अचार बनाउने । ‘हुन त मैले अचार बनाउने सम्बन्धी तालिम सिकेको १६ वर्ष भयो, होस्टेल खुला हुँदाको समयमा होस्टेलमा बस्ने र आफ्नो परिवारको लागि मात्र अचार बनाउँथेँ ।’ उनी भन्छिन्, ‘लकडाउन भएपछि त्यसलाई व्यवसायिक रुपले अगाडि बढाउने बिचार आयो । यसैलाई अहिले निरन्तरता दिइरहेको छु ।’ पूजाको होस्टल ठप्प छ । व्यापार शून्य छ । होस्टलमा बस्नेहरु गाउँ फर्किसकेका छन् । तर, पनि पूजा अहिले खुसी छिन् । उनलाई लकडाउनले दुःखी नबनाएको उनी बताउँछिन् । ‘हुनत कोरोना भाइरसले सबैलाई डर र त्रास उत्पन्न अझै पनि गराइरहेको छ, तर डर त्रासमा रहेर केही पनि हुने रहेनछ, म आफ्नै काममा व्यस्त भएँ, आफु सुरक्षित रहेर कोरोनाको बारेमा धेरै कुरा सोच्न छोडेपछि त्यो त्रास हटेर जाने रहेछ,’ उनले आफ्नो अनुभव सुनाइन् । अहिले पूजा अचार बनाउनमै व्यस्त छिन् । उनलाई होस्टलमा काम गर्ने अन्य दुई जनाले पनि अचार बनाउन साथ दिइरहेका छन् । ती दुई जना पनि लकडाउनको कारण घर जान नपाएपछि यतै रोकिएका छन् । आजभोलि उनीहरुको दैनिकी पनि पूजासँगै अचार बनाउनमै बित्छ । ललितपूरको कुपण्डोल घर भएकी पूजा व्यवसाय गर्नकै लागि सानेपा पुगेकी छिन् । उनको आम्दानी होस्टलबाटै हुन्थ्यो । घरमा श्रीमान, दुइवटी छोरी र पूजा आफु । सानो खुसीको परिवार छ पूजाको । आजभोलि होस्टलका दुई जना स्टाफ पनि उनीसँग नै बस्छन् । लकडाउनमा पूजाको परिवार अचार बनाउमै व्यस्त छन् । १६ वर्ष अगाडि अचार बनाउन सिकेको, व्यवसायचाहिँ अहिले किन ? पूजा यसको सरल उत्तर दिन्छन् । पहिले होस्टल व्यवसाय थियो । लकडाउनले त्यसलाई ठप्प बनायो । होस्टलमा बस्ने बहिनीहरुले मैले बनाएको अचार खुबै मिठो भन्थे । सानैदेखि अचार बनाउन रहर लाग्ने मलाई त्यसपछि झन् जाँगर लाग्थ्यो । होस्टलको समयमा दुई व्यवसाय सँगै सञ्चालन गर्ने समय पनि भएन । अहिले होस्टेल बन्द भएपछि अचार बनाउन सुरु गरेकी हुँ ।’ पूजा जोशी होस्टेलमा बस्ने बहिनीहरुप्रति आभार प्रकट गर्छिन् । उनी भन्छिन्, ‘उनीहरुले अचार मिठो छ भनेर काम गर्न उत्प्रेरणा नदिएको भए मलाई अहिले अचार बनाउन जाँगर चल्थेन ।’ उनले अहिले ‘डटर्स होम अचार’को नाम दिएर व्यवसाय गरिरहेकी छिन् । सुरुवातमा आफुले पूर्ण रुपमा व्यावसायिक भन्दापनि जानेको कुरा सिक्दै जाने र वरपरकै मान्छेलाई दिने सोचले अचार बनाउन शुरु गरेकी उनी बताउँछिन् । तर, अहिले उनको सोच विपरित उनको व्यवसाय र आम्दानी भइरहेको छ । होस्टल व्यवसायीसँगको निकटता, अरुसँग चाँडै घुलमिल हुन सक्ने उनको बानीले व्यवसाय गर्न थप उर्जा र हौसला मिलेको उनी बताउँछिन् । पूजाले सुरूसुरूमा अचार बनाएर आफन्तलाई चखाइन् र बनाएका अचारका फोटो समाजिक सञ्जालमा राखिन् । त्यसपछि दिनप्रतिदिन अचारको अर्डर आउन थाल्यो । उनको होस्टल भित्रको अचारको बयान अब आफन्त हुँदै बजारसम्म पुग्यो । सामाजिक सञ्जालमा उनीसँग अचारको बयान गर्नेहरुको जमात हुन थाल्यो । जसले उनलाई थप काम गर्न प्रोत्साहन मिल्यो । भनिन्छ नि,‘ जहाँ इच्छा त्यहाँ उपाय ।’ हुनत उनीसंग पनि अरुले जस्तै बन्दले सबै चौपट पार्यो भनेर पिरोलिएर बस्ने अवस्था नभएको होइन । तर उनले यसलाई अवसरको रुपमा लिएर आफ्नो पुरानो सीप र कलालाई सम्झिइन् । सीप ज्ञान पुरानै भए पनि यो कदम भने उनको लागि नयाँ नै थियो । ‘त्यसपछि उनको यो घरेलु सुरुवातले थप बढी चर्चा बटुल्यो । बिस्तारै सामाजिक संजालमा समेत अर्डरहरु आउन थाले, अचार चाखिसकेपछि सबैले खुलेर तारिफ गरे, जसले उनको मनोबल थप बढाइदिएसँगै उनमा थप उर्जा थपियो । अहिले आफन्तबाट मात्र होइन विभिन्न माध्यमबाट नयाँनयाँ ठाउँबाट अचार माग भइरहेको उनी बताउँछिन् । ‘अहिले आफन्त मात्र होइन स्वदेश विदेशबाट समेत अचारको माग आइरहेको छ, लकडाउनकाे कारणले गर्दा माग अनुसारको आपुर्ति गर्न मैले सकेको छैन,’ उनले भनिन् । अब अवस्था सामान्य भइसकेपछि यसलाई विस्तार गरेर लैजाने सोच बनाएको उनी बताउँछिन् । पूजा अहिले भेज र नन भेज गरी करिब १६ प्रकारका अचार बनाउँछिन् । बिना मेसिन पूर्ण रुपमा हातैबाट बन्ने भएकाले पनि उनको अचारमा विशेष घरेलु स्वाद आउने गर्छ । त्यसैले त सबैको जिब्रोमा अचार मात्र होइन स्वादिलो ‘डटर्स होम अचार’ परिसकेको छ । ‘अहिले व्यवसायिक रुपमा शुरु गरेर धेरै नाफा त गरेको छैन, थोरै मात्रामा उत्पादन र थोरै नाफा राखेर काम गरिरहेकका छौं, ग्राहकको प्रतिक्रिया पनि राम्रै आइरहेको छ, विस्तारै यसलाई नै बढी प्राथमिकता दिएर काम गर्छौं’, उनले भनिन् । पूजाले सुरुमा अचार बनाउनमा करिब ५० हजार रुपैयाँ लगानी गरेको बताउँछिन् । अहिले उनको दैनिक कारोबार ५ सयदेखि २५ सय रुपैयाँसम्म हुने गरेको छ । ‘अहिले अचारको माग पनि राम्रै छ, अब हामी केहि विशेषज्ञ राखेर विशेष अचार बनाउने तर्फ केन्द्रित हुँदैछौं, उनी भन्छिन्, ‘अहिले हाम्रो मुख्य विशेषता भनेको ताजा, स्वच्छ अनि स्वादिष्ट अचार प्रधान गर्नु हो ।’ अहिले निषेधाज्ञाको समयमा पनि एकदम सुरक्षित तरिकाले काठमाडौं उपत्यका भित्र मात्र सेवा दिइरहेको उनले बताइन् । जनजीवन सामान्य अवस्थामा फर्किएपछि माग अनुसार देशभरी तथा बाहिर पनि पुर्याउने उनको सोच छ । होष्टल व्यवसायसँगसँगै अब विस्तारै अचार व्यवसाय विस्तारमा पनि समय दिने उनको योजना छ । उनी भन्छिन्,‘ हुनत धेरैले लकडाउन भन्दै घरभित्रै बसे तर घरभित्रै पनि इच्छा छ भने धेरै सीप सिक्न सकिन्छ, जसले आत्मर्निभर बनाउन मद्दत गर्छ ।’ अहिले नेपालमा मात्र होइन विश्वभर कोरोना भाइरसको त्रास छ । सर्वसाधारणदेखि उद्योगी व्यवसायीको दैनिकी फेरिएको छ भने व्यवसाय ठप्प छ । कोरोना हट्ला र आफ्नो काम गरौंला भन्ने मनसाय धेरैले बनाएका छन् । तर कोरोनाको असर कति र कहिलेसम्म रहन्छ कसैलाई थाहा छैन । त्यसैले यही अवस्थामा पनि आफुले आत्मनिर्भर हुन सक्ने योजना बनाएर काम गर्नु पर्ने पूजा सल्लाह दिन्छिन् ।