सिरहाका निःसहाय व्यक्तिले पाए न्यायो कपडा, सिटिजन्स बैंकले वितरण गर्यो १५० थान कम्बल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विपन्न निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । बैंकले चिसोका कारण जनजिवन प्रभावित हुँदेै गएपछी सो ठाउँका व्यक्तिलाई उक्त सहयोग गरेको हो । न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १५० थान कम्बल वितरण गरेको हो । केही दिनयता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउनेअवस्थाको अन्त्यगर्न यो कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ । चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारलाई बैंकले कम्बल वितरण गरेको हो । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकले जनाएको छ । बैंकले ८५ वटा शाखा, ८६ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

काठमाडौंमा थारुको माघीः यूट्यूब हेरेर घुँगी बनाउदै तामाङ महिला

काठमाडौं । माघी पर्व विशेष गरी तराई-मधेशका आदिवासी थारुहरुको पर्व हो । पर्व मात्रै होइन, नयाँ वर्ष सुरु हुने दिन पनि हो । माघी चाडको मुख्य विशेषता भनेको घुँगी हो । तर, माघी र घुँगी दुबैको पहिचान बदलियको छ । तराई-मधेशको माघी पर्व काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइन थालेको छ भने परम्परागत थारु परिकार घुँगी अन्य जातिले पनि बनाउन थालेका छन् । काठमाडौंकी संगिता लामा विगत २ वर्षदेखि काठमाडौंको टुडिखेलमा हुने माघी महोत्सवमा घुँगी बनाउ छिन् । यूट्यूबमा हेरेर विगत २ वर्षदेखि माघी महोत्सवमा थारु परिकार बनाएर विक्री गर्दै आएको तामाङले बताइन् । ‘थारु परिकार बनाउन मन लाग्यो, यूटुवमा हेरेर सिकेँ, २ वर्षदेखि टुडिखेलको माघी मेलामा व्यापार गर्दै थारु परिकार बनाएर बेच्दैछु, यी खाने कुराहरुको विशेषता के हो भन्ने मलाई थाहा छैन,’ तामाङले भनिन् । माघी पर्वको लागि काठमाडौं आउनेको संख्या बढ्दैछ । परापूर्वकालदेखि नै थारु समुदायले प्रमुख पर्वको रुपमा माघीलाई मनाउँदै आएका छन् । यसवर्ष थारु सम्वत २६४० सकिएर २६४१ सुरु भएको छ । २०५९ सालमा सरकारले माघीको अवसरमा थारु कर्मचारीलाई बिदा दिने निर्णयसँगै काठमाडौंमा माघी महोत्सव मनाउन थालियो । बहुजाति, बहुधर्म, बहुसंस्कृति, परम्परा तथा रहनसहन रहेको नेपालमा माघी पर्वको तयारी १ महिनादेखि हुने गर्छ । विशेषगरी दाङ, धनगढी, सप्तरी, नवलपरासी, रौतहट तथा तराईका अधिकांश जिल्लाबाट माघीकै लागि काठमाडौं आउनेको संख्या बढ्न लागेको छ । थारु समुदायका मानिसहरु एकै स्थानमा भेला भएर माघी मनाउने परम्परा छ । आफ्नो दिदी बहिनीसहित सुशिला चौधरी माघी महोत्सवका लागि यसपाली पनि काठमाडौं आइन् । योसहित माघीमा उनी काठमाडौं आएको ५ वर्ष भयो । गत सोमबार विहान काठमाडौं आइपुगेकी सुशिलाले मंगलबार अपरान्ह ४ वजे टुडिखेलमा स्टल राखेकी थिइन् । आफ्नो परम्परा र संस्कृतिलाई ध्यानमा राख्दै माघीकै लागि काठमाडौं आउने उनले थारु समुदायको परिकार घरबाटै तयार पारेर ल्याउने गरेको उनले बताइन् । उदयपुर घर भएकी सुमित्रा चौधरी भने पहिलो पटक काठमाडौंको माघी महोत्सवमा आइपुगेकी हुन् । उनले यस वर्ष पहिलो पटक माघी मेलामा स्टल राखेकी छन् । तर, टुडिखेलामा स्टल राख्न सजिलो छैन । एकदिने मेलाको लागि प्रतिस्टल ७ हजार रुपैयाँ भाडा तिर्नुपर्ने सुशिलाले वताइन् । भाडा महंगो भएपनि कमाइ पनि हुन्छ । गत वर्ष सुशिलाले ३५ हजार रुपैयाँ कमाएको सुनाइन् । माघी पर्वमा घुँगी र ढिकुरी अनिवार्य खानु पर्छ भन्ने प्रचलन छ । यही बेलामा बढी मात्रामा बिक्री हुने घुँगी थारु समुदायको प्रमुख परिकारभित्र पर्छ । धनगढीबाट माघी मेलाकै लागि भनेर काठमाडौं आएकी २७ वर्षीय दिपा चौधरीले विगत ४ वर्षदेखि यस मेलामा व्यापार गर्दै आएको छिन् । एक महिनासम्म तयारी गरी माघी मेला कै लागि काठमाडौं आउने गरेको उनले बताईन् । माघी पर्वमा विशेषता माघी पर्वको तयारी एक महिनादेखि सुरु हुन्छ । जसमा खानाका परिकारहरु पकाउनका लागि दाउरा अनदीको चामलको गुलियो जाँड, वनबाट मालु र सालको दुना/टपरी, तोरी पेल्ने जस्ता प्रमुख तयारी हुन् । माघीमा ढिकुरी र घुँगी अनिवार्य परिकार हो । यो खानै पर्छ । र, आफ्नो गच्छेअनुसार नयाँ वर्षका लागि नयाँ कपडा लगाउनै पर्ने चलन थारु समाजमा कायमै छ । यो पर्वलाई लक्षित गरि माछाबाट बन्ने विभिन्न परिकार बनाइन्छ । पुस महिनाको अन्तिम दिन थारु समुदायले ‘जिता मर्ना दिन’ को रुपमा लिने गर्छन् । नाच, गान तथा खानपिनलाई लक्षित गर्ने माघीको प्रमुख विशेषता यो पर्वको छ । माघीमा घाग्रामा, चन्नहार, हौसली, मन्टिका, पाउजु, कल्ली र वेल्ड जस्ता परम्पारगत पहिरनमा थारु महिला सजिएका हुन्छन् ।

ब्रेन हेमोरेजको नयाँ उपचार विधिः भारतमाभन्दा नेपालमा आधा सस्तो, यी अस्पतालले दिन्छन् सेवा

काठमाडौं । डडेलधुराका चेतराज भट्ट ब्रेन हेमोरेज भएकोले भारतमा उपचार गराइरहेका छन् । डडेलधुराबाट काठमाडौं आएर उपचार गरानुभन्दा भारत जान सजिलो भएकोले भारत लगिएको उनको परिवारले जानकारी दियो । र, भारतमा धेरै राम्रो उपचार पाइने विश्वास पनि उनको परिवारको छ । ब्रेन हेमोरेज मष्तिष्कको वरिपरि हुने रक्तस्राव हो । यो एक निकै नै जटिल स्वास्थ्य अवस्था भएको कारण नेपालमा राम्रो उपचार हुँदैन होला भन्ने अनुमान धेरै नेपालीकाे छ । तर, अहिले नेपालमा न्युरो सम्बन्धी अन्तराष्ट्रियस्तरका सबै उपचार हुने ग्राण्डी ईन्टरनेसनल अस्पतालका न्यूरो इन्टरभेन्सनिष्ट डा. सुवास फुयाँल बताउँछन् । के हो ब्रेन हेमोरेज ? ब्रेन हेमोरेज मष्तिष्कमा वा मस्तिष्क वरिपरि हुने रक्तस्राव हो । यो दुई प्रकारको हुन्छ । बाहिरी चोटपटक लागेर हुने हेमोरेजलाई ट्रमाटिक हेमोरेज भनिन्छ । यो एक प्रकारको हेमोरेज हो । दिमागभित्र रक्तस्राव हुने अर्काे प्रकारको हेमोरेज हो । यसलाई ननट्रमाटिक हेमोरेज भनिन्छ । ननट्रमाटिम ब्रेन हेमोरेज बसिरहेको समयमा अचानक रक्तचाप उच्च भएर हुने गर्दछ । यो अवस्थामा बिरामीमा दिमागमा रगत निर्यात गर्न नशाको भित्ता बेलुन जस्तो फुल्छ । यसरी फुलेको नसा फुटेपछि बिरामीलाई हेमोरेज हुने गर्दछ । यसरी नशा फुल्नुलाई ब्रेनयेन्युरिजम भनिन्छ भने फुटेपछि हुने अवस्थालाइ ब्रेन हेमोरेज भनिन्छ । स्पोनटेनियस ब्रेन हेमोरेज विभिन्न प्रकारका चोटपटक लागेर हुने बे्रन हेमोरेजभन्दा पनि आफै हुने ब्रेन हेमोरेजको बारेमा कम जानकारी प्राप्त हुन्छ । उच्च रक्तस्रावको कारण उमेर बढ्दै गएको मानिसमा मस्तिष्कका नशाको भित्ता पातलो भएर जान्छ । यसरी पातलो भएको नसा फुलेर फुट्छ र ब्रेन हेमोरेज हुने गर्दछ । यस्तो बिरामीलाई तत्काल उपचारको आवश्यक हुन्छ । किनभने एक पटक मस्तिसकको नशाको भित्ता फुटिसकेपछि दोस्रो पटक पनि फुट्ने सम्भावना बढी हुने डा. फुयाँल बताउँछन् । एक पटक फुटेपछि उक्त भित्ता आफैं केही समय वा दिनको लागि बन्द भईदिन्छ । यसरी बन्द भएको नसाको भित्ता खुलेको अवस्थामा मान्छेको ज्यानै पनि जान सक्छ । स्पोन्टेनियस ब्रेन हेमोरेजको उपचार पद्धति स्पोन्टेनियस ब्रेन हेमोरेजको उपचार दुई तरिकाले हुन्छ । यसको पहिलो र सबैभन्दा पुरानो उपचार भनेको टाउको खोलेर गरिने उपचार हो । यस्तो उपचार सेवा नेपालका क्रिटिकल केयरको उपचार सेवा दिने धेरै अस्पतालमा धेरै वर्ष पहिलादेखि नै हुँदै आएको छ । यसको दोस्रो र सबैभन्दा नयाँ उपचार विधि भनेको टाउको नखोली गरिने उपचार हो । यो उपचार पद्धतिबाट हाल नेपालका दुई अस्पतालमा मात्र उपचार गरिन्छ । हालसम्म १ सय ३० वटा केसहरु हेरिसकेका डा. फुयाल धापासीमा रहेको ग्राण्डी ईन्टरनेसनल अस्पतालमा कार्यरत रहेका छन् । कसरी हुन्छ टाउको नखोली उपचार ? यो उपचार पद्धतिमा खुट्टा वा हातको नशाबाट तार लिएर त्यसलाई एक्स–रेको माध्यमबाट हेरेर दिमागमा फुटेको भागमा लगेर जोडिन्छ । संसारभर अहिले यो सबैभन्दा चलेको बे्रन हेमोरेजको उपचार पद्धति रहेको हो । डाक्टरहरुका अनुसार यो पद्धतिमा जोखिम पनि कम हुन्छ र बिरामी पनि ६/७ दिनमै घर जान सक्छन् । टाउको खोलेर गरिने उपचार पद्धतिमा बिरामीको अस्पताल बसाई पनि लामो हुने डा. फुयालले बताए । कति लाग्छ खर्च ? उपचार खर्चको मात्रै कुरा गर्ने हो टाउको नखोली गर्ने उपचार विधि टाउको खोलेर गरिने उपचारको दाँजोमा धेरै नै महँगो हुन्छ । तर, टाउको खोलेर उपचार गर्दा अस्पताल बसाई, अस्पतालमा लामो बसाईबाट पाइने तनाव जस्ता विषयको तुलना गर्दा भने टाउको नखोली गरिने उपचार विधि नै सस्तो भएको महसुस हुने गर्छ । टाउको नखोली गरिने उपचारमा प्रयोग हुने मेसिन पनि विदेशबाट आयात हुन्छ । यस्तो उपचारका लागि ३ लाखदेखि ७ लाख रुपैयाँसम्म लाग्न सक्ने डा. फुयाल बताउँछन् । डा. फुयाँलले ६ वर्ष लामो अध्ययनपछि नेपालमा पहिलोपल्ट गत बैशाखमा ग्राण्डी ईन्टरनेसनलबाट यो उपचार पद्धतिबाट सेवा सुरु गरेका हुन् । यस्तै, टाउको खोलेर गरिने उपचारमा बिरामीलाई लामो समय अस्पतालमा राख्नुपर्ने हुनाले यसको उपचार खर्च पनि धेरै लाग्ने टिचिङ अस्पतालका न्युरो सर्जन डा.गोपाल सेडाई बताउँछन् । कहाँ हुन्छ ब्रेन हेमोरेजको उपचार ? ब्रेन हेमोरेजको उपचार सरकारी अस्पतालहरु काठमाडौंको टिचिङ, वीर र चितवनको भरतपुर अस्पतालमा हुने गरेको छ । यस्तै, बानेश्वरको सिभिल अस्पतालमा यसको सर्जरी नभए पनि चिकित्सकको प्रबन्ध भने हुने टिचिङ अस्पतालका न्युरो सर्जन डा. सेडाईले जानकारी दिए । निजी लगानीद्धारा संचालित काठमाडौंको ग्राण्डी इन्टरनेसनल, मेडिसिटी, न्युरो, नर्भिक र ह्याम्स अस्पतालमा पनि यसको उपचार हुन्छ । उपत्यका बाहिरमा चितवनको चितवन मेडिकल कलेज, पोखराको मणिपाल, बिराटनगरको नोबल मेडिकल अस्पताल, बिराट मेडिकल कलेज तथा अन्य धेरै प्राईभेट अस्पतालहरुमा यसको उपचार हुने डा. फुयाँलले जानकारी दिए । ब्रेन हेमोरेजको लक्षण सामान्य पेनकिलरले ठीक नहुने गरी अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु ब्रेन हेमोरेजको लक्षण हो । रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीररको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी महसुस हुन बे्रन हेमोरेजका लक्षण हुन् । भारतभन्दा ५० प्रतिशत सस्तो टाउको नखोली गरिने उपचार पद्धतिमा प्रयोग हुने मेसिनको भारत र नेपालमा करिब उस्तै शुल्क लाग्ने डा. फुयाँल बताउँछन् । नेपालमा एउटा डाक्टरले यस्ता केस गरेको २० हजारदेखि ६० हजार रुपैयाँ शुल्क लिने गरेका छन् भने भारतीय डाक्टरले १ लाख रुपैंयाभन्दा बढी लिने फुयाँल बताउँछन् । भारतमा उपचार गर्दा बसाई खर्च, हवाई भाँडा र नयाँ सहरले दिने तनाव जस्ता विषयले नेपालको दाँजोमा भारतमा हुने सबै उपचार खर्च धेरै हुने गरेको छ । किन जान्छन् नेपाली भारतमा ? नेपालका अस्पताल उद्योगले गर्न नसकेको काम नै ब्रान्डिङको हो । नेपालमा ब्रेन हेमोरेजको सफल उपचार हुन्छ भन्ने पर्याप्त जानकारी नपाएका कारण पनि धेरै नेपाली भारत धाउने गरेको ग्राण्डी ईन्टरनेसनल अस्पतालका न्युरो सर्जन डा. फुयाल बताउँछन् । अहिलेको अवस्थामा अन्तराष्ट्रिय जगतमा हुने प्रायः सबै उपचार पद्धती नेपालमा प्राप्त हुने उनको भनाइ छ । उपचारको लागि भारत धाउने नेपालीमा भट्ट त एक उदाहरण पात्र मात्र हुन् । उनी जस्ता सयौं नेपालीहरु उपचारको लागि दिनहूँ भारत जाने गरेका छन् । नेपाली उपचार पद्धतिप्रतिको अविश्वास र विशेषज्ञता सेवाको लागि काठमाडौं नै धाउनुपर्न हुनाले भारतसँग नजिकका सिमानामा रहेका धेरै मानिस उपचार गन्तव्य भारत नै रोज्ने बनाउने गरेका छन् । नेपालमा कुन कुन अस्पतालमा कस्तो उपचार हुन्छ भन्ने जानकारी नभएको कारण पनि धेरैले भारतका अस्पताललाई रोज्ने गरेका छन् ।