भरतपुरका किसन मगरले दाजुबाट पाए दोस्रोपटक नयाँ जीवन

चितवन । चितवनका एक युवकको हकमा दाजु पनि आमाको रुपमा उदाएका छन् । पहिलोपटक आमाबाट जीवन पाएका किसन मगरले दोस्रोपटक दाजुबाट नयाँ जीवन पाए । दुवै मिर्गौला फेल भएर भौंतारिइरहेका क्षेत्रपुरका किसनलाई उनका दाजु चन्द्रबहादुर रिंजालीले मिर्गौला दिएका हुन् । चार वर्षअघि किसनको मिर्गौलामा समस्या पत्ता लागेको थियो । बिग्रेको मिर्गौला जोगाउन गरिएका प्रयासहरु असफल भएपछि उनी जीवन र मरणको दोसाँधमा पुगिसकेका थिए । यही बेला दाजु चन्द्रबहादुर भाइलाई मृत्युको मुखबाट फिर्ता ल्याउन अग्रसर भए । भाग्यले पनि साथ दिएकै मान्नुपर्छ- चन्द्रबहादुरको मिर्गौला किसनलाई ‘फिट’ भयो । प्रचलित कानुन अनुसार नातागोता बाहेकका मान्छेले चाहेर पनि मिर्गौला दान गर्न नपाउने अवस्थामा दाजुको मिर्गौला ‘फिट’ भएपछि किसनमा बाँच्ने आस पलायो । तर राजधानीको अस्पतालमा तोकिएको मितिमा प्रत्यारोपण हुन नसकेपछि उनी फेरि निराश भए । ‘त्यसपछि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएँ । त्यहाँ पनि तीन महिना त्यत्तिकै बित्यो,’ किसन भन्छन्, ‘स्वदेशमा केही सीप नलाग्ने देखेपछि भारतको एम्स अस्पतालमा प्रत्यारोपण गर्ने तयारी सुरु भयो ।’ भारत जानुअघि डायलासिस गर्ने सिलसिलामा चितवनको पुरानो मेडिकल कलेज पुगेका किसनले त्यहीँ मिर्गौला प्रत्यारोपण हुने कुरा थाहा पाएको उनले सुनाए । पुरानो मेडिकल कलेजका चिकित्सक र विशेषज्ञसँगको परामर्शपछि त्यहीँ नै प्रत्यारोपण गराएको उनको भनाइ छ । ‘सबैभन्दा पहिला पुरानो मेडिकल कलेजका डा. प्रविण जोशीलाई भेटेँ । उहाँको सल्लाहमा प्रत्यारोपण विशेषज्ञ डा. राकेश बर्माको बायोग्राफी हेरेपछि उहाँबाटै प्रत्यारोपण गराउने निष्कर्षमा पुग्यौं,’ किसनले सुनाए । दाजुको मिर्गौला सफल प्रत्यारोपणपछि किसनलाई अंगदान गर्ने मान्छे परिवारमा भए मिर्गौला प्रत्यारोपण ठूलो होइन रहेछ भन्ने लागेको छ । ‘पहिले त बाँच्ने आसै मारिसकेको थिएँ, अहिले भने दिने मान्छे घरमा छ भने मिर्गौला प्रत्यारोपण ठूलो समस्या होइन रहेछ भन्ने लाग्यो,’ उनले भने । उक्त मेडिकल कलेजका प्राध्यापक डा. राकेश बर्माको नेतृत्वमा १० जनाको टोलीले किसनको मिर्गौला प्रत्यारोपण गरेको थियो । प्रत्यारोपणपछि त्यहाँका डाक्टर र नर्सको राम्रो हेरचाहका कारण आफू चाँडै ठीक भएको किसनले सुनाए । ‘करिब १५ दिन अस्पताल बस्दा डाक्टर र नर्सले निकै राम्रोसँग उपचार गर्नुभयो, छिनछिनमा सोध्ने गर्नुभयो,’ उनले भने । भाइलाई मिर्गौला दान गरेका चन्द्रबहादुर अहिले आफू र भाइ दुवैजना तन्दुरुस्त रहेको बताउँछन् । ‘अहिले म पनि राम्रो छु, र भाइ पनि राम्रो छ, चन्द्रबहादुरले भने । कलेजका प्राध्यापक डा बर्मा मिर्गौला प्रत्यारोपणमा ठूलो टिम सहभागी हुने बताउँछन् । किसनको प्रत्यारोपणमा पनि १० जना भन्दा बढीको टिम सहभागी थियो । उक्त अस्पतालले हालसम्म चारवटा सफल मिर्गौला प्रत्यारोपण गरेको प्रा.डा. बर्माले जानकारी दिए । अंग प्रत्यारोपणमा ४० वर्षका अनुभवती प्रा.डा. बर्माले राजधानीको वीर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरी ६५० भन्दा बढी प्रत्यारोपण गरेका गरिसकेका छन् । प्रविधि र मानवीय स्रोतका हिसाबले मिर्गौला प्रत्यारोपणमा नेपाल विदेशभन्दा कम नभएको प्रा.डा. बर्माको दाबी छ । सेवाग्राहीले विश्वास गरे पुग्छ,’ हामी सक्षम छौं । वरिष्ठ अगं प्रत्यारोपण विशेषज्ञ प्रा.डा. राकेश वर्मा, प्रत्यारोपण फिजिशियन डा. माधव घिमिरे, प्रत्यारोपण एनेस्थेसियोलोजिष्ट डा. किरण अधिकारी, वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. राजेश कुमार यादव, वरिष्ठ युरोलोजिष्ट डा. सुदिप राज के.सी.,डा. प्रबिण जोशी, प्रत्यारोपण फिजिशियन डा. सन्तोष गुरुङ्ग, डा. सृजु वैद्य, डा. अनुराग सिंह लगायत चिकित्सकहरुको प्रत्यारोपणमा संलग्नता रहेको थियो । नेपालमा मृगौला कसरी बचाउन सकिन्छ भन्ने सचेतना न्युन रहेको र दिनदिनै मृगौला रोगीको संख्या बढिरहेको अवस्थामा यसको भरपर्दो उपचार प्रत्यारोपण नै हो, डाइलासिस होइन । तर नेपालमा वर्षेनी डायलाइसिस गराउनेको संख्या बढ्दो छ । काठमाडौं बाहिर यस अस्पतालमा सफल मृगौला प्रत्यारोपण भएको छ र यो चौथो पटक हो । त्यसैले, अब धेरै खर्च गरेर विदेश तथा काठमाडौं जानुपर्ने बाध्यता छैन मात्र सेवाग्राहीहरुले बुझ्नु र विश्वास गर्नु जरुरी छ, वरिष्ठ प्रत्यारोपण फिजिशियन डा. माधव घिमिरेले बताए ।

कीर्तिमानी आरोही कामीरिताको जीवनमा खड्केको शिक्षा

काठमाडौं । अनकन्टर हिमपहिरो ओहोर–दोहोर गर्नु आरोही कामीरिताका लागि पानीको पधेरोझैँ लाग्छ । साहसिक आरोहण गरेर चुनौतीको पहाड छिचोल्नु कम जोखिमयुक्त काम होइन । तर, हिम्मत र साहस भएका शेर्पा आरोहीलाई त्यस्ता कुनै अफठ्याराको प्रवाह हुँदैन, तब न पुग्छन्, विश्वको अग्लो चुचुरो अनि कीर्तिमान थप्दै जान्छन् । तिनै साहसी आरोही हुन् कामीरिता शेर्पा, जसले सर्वोच्च शिखर सगरमाथाको २४ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरे । आरोहणमै जीवन बिताउने यी आरोहीको अझै जोश, जाँगर घटेको छैन । उमेरले ५० टेकेका कामीरिता यसपटक सगरमाथाको २५औँ पटकको सगरआरोहण योजनामा छन् । ‘‘सगरमाथा आरोहणको तयारीमा छु कोरोना भाइरसले असर गरेन भने म २५औँ पटक सगरमाथाको चुुचुरोमा पुग्छु”, कामीरिताले भने, ‘‘मेरो सगरमाथा आरोहण निरन्तर हो, कुनै कीर्तिमानका लागि होइन । सिनियर गाइडको भूमिकामा जाँदैछु ।” यस वर्षको वसन्त ऋतुका सबै आरोहण रोक्ने पर्यटन विभागको निर्णय भएसँगै कामीरिताको आरोहणयात्रामा पूर्णविराम लाग्ने हो कि भन्ने चिन्ता सर्वत्र छ । कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी सङ्क्रमण बढेसँगै सरकारले गत फागुन २९ गते यस यामका आरोहण बन्द गर्ने निर्णय गरेको थियो । कारोनाको प्रभावले अन्य क्षेत्रजस्तै नेपालको समग्र पर्यटन क्षेत्रलाई आक्रान्त तुल्याएको छ । ठूलो लगानी भएका होटल, एयरलाइन्सलगायतको पर्यटन व्यवसाय उल्लेख्य रुपमा खस्केको छ । यसपटकको याममा सगरमाथा आरोहण नभए पनि आगामी याममा आरोहण गर्ने कामीरिताको योजना छ । जीवनको ४९औँ वसन्त पार गरेका कामीरितालाई २४ पटक सगरमाथाको चुुचुरोमा पुग्दा पनि एउटै चिजको अभाव खड्किरहेको छ, त्यो हो शिक्षा । समयमा राम्रोसँग शिक्षादिक्षा नपाउँदा विश्व कीर्तिमानको उपाधिले पनि उनको जीवनमा खुशी छर्न सकेको छैन । उनले भने, ‘‘मेरो ४९ वर्षे यात्रामा २४ पटक सगरमाथाको चुचुरोमा पुगेर विश्व कीतिर्मान बनाए तर जीवनमा एउटै खड्केको विषय भनेको पढाइ हो । पढाइ लेखाइ नभएपछि अलि गाह्रो हुँदोरहेछ । जोखिमयुक्त हिमालमा मात्र काम पाइने ।” विश्व कीर्तिमान पाउँदा पनि पढाइ लेखाइलाई नै जीवनको कमजोरी ठान्ने कामीरितालाई यसमा पछुतो भने छैन, ‘‘सायद पढेलेखेको भए म २४ पटक सगरमाथा आरोहण गर्दिनथे होला”, उनले भने । सगरमाथाको विश्व कीर्तिमान कायम गरी नेपाललाई विश्वसामु चिनाउन पाउनु कामीरिताका लागि सबैभन्दा ठूलो खुशीको विषय हो । हिमाल आरोहणलाई पनि खेलको रुपमा राज्यले लिइदिए यसको विकास र आरोहीको संरक्षण हुने उनको बुझाइ छ । त्यसैले आरोहणलाई अन्तर्राष्ट्रिय खेलको रुपमै स्थापित गरिनुपर्नेमा कामीरिताको जोड छ । “सगराथा आरोहण विश्वको साहसिक मुख्य खेलको एक नम्बरमा पर्छ । हैन भने सन् २००८ मा चीन सरकारले विश्वकप आयोजना गर्दा किन सगरमाथाको चुचुरोबाट बत्ती बाल्यो त ? त्यसैले आरोहणलाई अन्तरराष्ट्रिय खेलको रुपमा लिनुपर्छ, सरकारले पनि आरोहीलाई राष्ट्रिय खेलाडीको रूपमा व्यवहार गरिदिए राम्रो हुन्थ्यो ।” आरोहीको भविष्यलाई मध्यनजर गर्दै सरकारले विशेष व्यवस्था गरेको खण्डमा नेपालको आरोहणको भविष्य सुनौलो रहेको उनको भनाइ छ । शेर्पाले भने, “सरकारले आरोहणलाई बलियो बनाएर आरोहीको हेरचाह गर्नुपर्ने अवस्था छ । किनकि नेपालमा पर्यटन भित्र्याउने मुख्य भूमिका शेर्पा र हिमाल हो यिनलाई सुरक्षित गर्नैपर्छ । कामको विशेषज्ञताले विश्वले आरोहणमा शेर्पालाई विश्वास गर्छन्, त्यसैले शेर्पा सम्पत्ति हुन् भनेर राज्यले संरक्षण गर्नुपर्छ ।” उनबाहेक सगरमाथा आरोहणको रेकर्डमा २२ पटक आरोहण गरेको एक जना र २१ पटक आरोहण गरेका तीन आरोही छन् । आरोही कामीरिताले २४ पटकको सगरमाथा यात्रामा कहिल्यै बिना अक्सिजन गएन। किनकि रेकर्ड मात्रै राख्न बिनाअक्सिजन आरोहण गर्नु जीवनको सबैभन्दा जोखिमपूर्ण काम मात्रै होइन, देशका लागि पनि नराम्रो सन्देश दिए। करोडौं खर्च गरेर आउने विदेशीलाई सगरमाथाको चुचुरोमा पुर्याएर सकुशल ल्याउनसके उनीहरुले बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने शेर्पाको भनाइ छ । त्यसैले सकारात्मक सन्देशका लागि पनि सुरक्षित आरोहणलाई ध्यान दिनुपर्ने बताए । पछिल्लो पुस्ताका आरोही हिमालका लागि अनुभवी र योग्य गाइड छन् । मौसमले साथ दिएमा आरोहणलाई सफल तुल्याउन उनीहरुको महत्वपूर्ण भूमिका हुनेछ । कामीरिताको अनुभवमा आरोहीलाई नेपालमा त्यति सम्मान छैन, विदेशमा धेरै इज्जत गर्छन् । “हामी काम गर्नेले के कमाउँछ, त्यही गिनिजबुकको रेकर्ड कमायो त्यहीँ हो । विदेशमा धेरै सम्मान छ । विमानस्थलदेखिनै सेक्युरिटी कार्ड दिन्छन् विदेशीले” चीन, भारत, दुबई, रसिया, अमेरिकालगायत धेरै मुलुकको भ्रमण गरिसकेका कामीरिताले भने । सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिता शेर्पाले यसअघिको आफ्नै २३औं पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका थिए । बाबुआमाको अभिभावकत्वमा काठमाडौँको पारिवारिक जीवन गुजारिरहेका कामीरिताको श्रीमतीसहित एक छोरा र एक छोरी छन् । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने यसअघि नै बताए । शेर्पाले चार पटकसम्म एकै याममा दुई–दुई पटक सगरमाथा चढेको रेकर्ड छ । कामीरितापछि हालसम्म आप्पा शेपा, ङिमनुरु शेर्पा र फुर्वाटासी शेर्पाले समान २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाले समान १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेका थिए । रासस

आज विश्व सुत्ने दिवस, यस्ता छन् सुत्नुको फाईदा

काठमाडौं । आज विश्व सुत्ने दिवस निन्द्राको महत्वको बारेमा कुरा गर्नलाई विश्वभर हरेक वर्ष विश्व सुत्ने दिवस मनाईन्छ । यो दिनको आयोजना वर्ल्ड सिल्प डे सोसाईटीको कमिटीले गर्न गरेको छ । यो वार्षिक कार्यक्रम स्प्रिङ्ग भर्नल ईक्युनोक्स आउनु भन्दा अगाडिको शुक्रबार मनाईन्छ । हाम्रो जीवनको सबैभन्दा महत्वपुर्ण गतिविधि मध्ये पनि निन्द्रा पनि एक हो । एक सामान्य मानिस दैनिक ७ देखि ८ घण्टा सुत्नुपर्दछ तर हामी धेरै जसो व्यस्त तालिकाको कारण एकदमै कम समय सुतिरहेका हुन्छौं । आसिन जीवनशैलीसँगै जोडिएको हाम्रो कामको प्रेसरले हामीलाई लामो समयसम्म जगाउने गर्दछ । तर निन्द्रा निकै नै महत्वपुर्ण छ । के तपाइलाई थाहा छ कि सामान्यत एक मानिसले औसतमा एक तिहाई समय सुतेर बिताउँछ ? यद्यपी यो उमेर अनुसार फरक पर्न सक्दछ । यदि तपाईलाई बिहान आफ्नो ओच्छ्यानबाट उठ्न गाह्रो हुन्छ भने यसलाई डाईसानिया भनिन्छ । यो बढी थकानको कारण हुने गर्दछ । निन्द्रा हाम्रो शारिरक स्वास्थ्य र भावनात्मक सुस्वास्थयको लागि निकै नै महत्वपुर्ण छ । १. पर्याप्त निन्द्राले तनाव कम गर्दछ यदि तपाइको शरीरले पर्याप्त निन्द्रा प्राप्त गरेन भने यसले तनाव वृद्धि गराउँदछ जुन आजका धेरै मानिसहरुमा जिवनशैलीमा परेका प्रभाव हो । हरेकादिन गहिरो र पर्याप्त निन्द«ाले मात्र यसबाट बच्न मद्धत गर्दछ । २. पर्याप्त निन्द्राले तपाईको स्मरण शक्ति बढाउँदछ के तपाइले कहिले याद गर्नुभएको छ जब तपाई धेरै थकित हुनुहुन्छ तपाईलाई केही पनि कुरा सम्झनको लागि गाह्रो पर्दछ । साधरणतय यो तपाईको दिमागले तपाइलाई निन्द्रा पुगेन भनेर भनेको हो । जब तपाई पर्याप्त र राम्रोसँग सुत्नुहुन्छ, तपाइको शरीर आराम अवस्थामा भएपनि तपाईको दिमाग कुराहरुलाई भण्डारण र संगठित गर्दछ । त्यसैले पर्याप्त र राम्रो निन्द्राले तपाइलाई कुराहरु प्रकृयावद्ध रुपमा समझन मद्धत गर्दछ । ३. शरीरको तौल सन्तुलन राख्दछ निन्द्राले तपाईलाई तौललाई प्रत्यक्ष रुपमा घटाउँदैन तर यसले तपाईको शरीरको हर्मानलाई नियमन गर्दै तपाईको भोकलाई कम गर्न मद्धत गनुको साथै धेरै क्यालोरी युक्त खाना प्रतिको तपाईको मोह कम गर्दछ । ४. पर्याप्त छालामा चमक ल्याउँछ तपाई मान्नस् वा नमान्नुस् तर पर्याप्त निन्द्राले तपाईको छालामा चमक ल्याउन मद्धत गर्दछ । जब तपाई सुत्न जानुहुन्छ तब तपाईको छाला मर्मत भई भोलीको दिनको लागि तयार हुन्छ ।