खाली पेटमा औषधी खानु भनेको के हो ? औषधी कुन खानासँग नखाने ?
काठमाडौं। के तपाईंलाई थाहा छ खाली पेटमा औषधी खानु भनेको के हो ? तपाईं पक्कैपनि सोच्नुहुन्छ होला कि खाली पेटमा औषधी खानु भनेको केही पनि नखाइ बिहान भोको पेटमा औषधी खानु हो । यो साँचो हो तर यो आधा साँचो हो। हामी धेरैले यस कुरालाई अहिलेसम्म आधा मात्र बुझीरहेका छौं। खाली पेटमा औषधी खानु भनेको : १. औषधी खाएपछि करिब दुई घण्टा केही पनि नखाने । २. पहिला खाना खाइसकेको भए दुई घण्टा कुरेर मात्र औषधी खाने । कुनै औषधी खाली पेटमा खानु भनिन्छ किन भने खाना र केहि पेयहरूले औषधिको काम गर्ने तरिकालाई असर गर्न सक्छ। उदाहरणका लागि, केहि औषधीहरु खाना खाए लगत्तै खाँदा अथवा पछि खाँदा उक्त औषधी र खाना मिसिन गई औषधीको प्रभावलाई कम गराउन सक्छ। कुनै खानेकुरा वा पेय पदार्थहरूले औषधिको प्रभावलाई कम गराउँदछ। जस्तै: – अंगुरको जुस – क्रेनबेरीको रस – भिटामिन ई बढी पाईने खाने कुरा जस्तै हरियो सब्जिहरु – नुनिलो खानेकुरा वा उच्च मात्रामा पोटासियम पाईने खानेकुरा जस्तै केरा । त्यसैले, जहिले पनि डाक्टरले दिएको सुझावलाई राम्रोसँग पालना गर्नुहोस्।
रोग लुकाए ज्यान जान्छ : क्यान्सर विजेता
काठमाडौं। पाठेघरको मुखको क्यान्सर निको भएका बिरामीले रोग लुकाउन नहुने बताएका छन् । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बुधबार यहाँ आयोजना गरेको पाठेघरको मुखको क्यान्सर विजेताहरुको जमघटमा सहभागी महिलाले सो कुरा बताएका हुन् । माडी नगरपालिका–७ कीर्तनपुर निवासी ४६ वर्षीया गोमालक्ष्मी आचार्यलाई विसं २०७२ माघमा पाठेघरको मुखको क्यान्सर देखिएको थियो तर अहिले उनलाई यो रोग निको भएको चिकित्सकले बताएका छन् । आफूमा रोग देखिँदै गर्दा महीनावारी हुने समयभन्दा अगाडि नै रगत आउने, पेट दुख्ने, पिसाब गन्हाउने भएपछि अस्पताल आएको आचार्यले बताइन्। समयमै अस्पताल आएकाले रोग पत्ता लागेर नियमित चिकित्सकको सल्लाहअनुसार उपचार गर्दै जाँदा अहिले पूरै निको भएको भन्दैे नयाँ जीवन पाएकोमा उनी खुशी छिन्। उपचारका क्रममा बाहिरी सेकाइ २३ पटक र भित्री सेकाइ तीन पटक गरेको बताउँदै आचार्यले समस्या लुकाएर बस्नुभन्दा चाँडो समाधान गर्दा जितिने बताइन्। पहिला आफूलाई क्यान्सरका बारेमा केही जानकारी नभए पनि रोग देखिएपछि हरेश नखाइ उपचार गर्दा निको भएको जानकारी दिँदै उनले भनिन्, “रोग लागेपछि लुकाएर बसेको भए म आज यहाँ हुन्थे कि हुन्थिनँ तर अहिले सबैका अगाडि छु।” रोग लागेको थाहा भएपछि परीक्षण गरे क्यान्सरजस्तो रोग पनि निको हुने उनको भनाइ थियो । भरतपुर महानगरपालिकाको फूलबारी निवासी ७० वर्षीया खुमाया आले समयमै यो रोगबार थाहा हुँदा आफू बच्न सकेको बताइन्। आलेलाई आजभन्दा चार वर्षअघि पाठेघरको मुखको क्यान्सर देखिएको थियो । शुरुमा त उनी डराइन्। अब मरिन्छ कि भन्ने पनि भयो तर उपचारका क्रममा निको हुँदै गएर अहिले आनन्द भएको उनले बताइन्। “रोग लुकाएको भए यो बूढी बाँच्थी की बाँच्थिन” उनले हाँस्दै भने, “समयमै उपचार पाएकाले मैले क्यान्सर जिते ।” शुरुमा सेतो पानी बग्ने, खानेकुरामा गन्ध आउने, आँखा तिरमिराउने, खुट्टा झमझमाउनेजस्ता लक्षण देखिए पनि अहिले त्यो नरहेको आलेले बताए। सुन्दा डर लाग्ने रोग भए पनि समयमै उपचार गरे निको हुँदोरहेछ भन्दै उनले आफ्नो समस्या लुकाएर नराख्न सबैलाई आग्रहसमेत गरिन्। गाउँ छिमेकमा पनि केही समस्या देखिए अस्पताल जान आफूले सुझाव दिँदै आएको जानकारी दिँदै उनले रोग लाग्यो भनेर चिन्ता लिने हो भने चितामा पुर्याउने हुँदा रोग लागेपछि उपचारमा लाग्नु उत्तम रहेको बताए। भरतपुर महानगरपालिका–१२ बसोबास गर्दै आउनुभएकी ४९ वर्षीया देवीकुमारी तामाङ अहिले पहिलेको जसरी नै घरमा काम गर्दै आएकी छिन्। उनलाई गत वर्ष भदौमा पाठेघरको मुखको क्यान्सर देखिएको थियो । अहिले रोग निको भएको छ । आफू बिरामी हुँदा गाउँलेले आश्वासन दिनुभन्दा पनि अब बाँचिदैन भन्ने गरेको सम्झिदै उनले भने, “समयमै रोग पहिचान भयो भने निको हुँदोरहेछ । कसैले पनि रोग लुकाएर नराख्नुस् । रोग लुकाएर राखे ज्यान गुमाउनुपर्छ ।” आफू बिरामी हुँदा घरपरिवारको सहयोग मिलेको बताउँदै उनले परिवार पनि सहयोगी भए जस्तोसुकै रोगबाट बच्न सकिने बताइन्। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले पाठेघरको मुखको क्यान्सर निको हुने रोग भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको जानकारी दिए। महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिए पनि समयमै उपचार गरे निको हुने उनको भनाइ थियो । समाजमा खतराको सम्भावना बोकेर बस्नु भएका दिदीबहिनीलाई चेतनाको खाँचो रहेको आचार्यले बताए। अस्पतालको क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख भोला सिवाकोटीले अस्पतालमा सन् २०१७ मा चार हजार ९७५ नयाँ क्यान्सरका बिरामी थपिएकामा ५४४ लाई पाठेघरको मुखको क्यान्सर देखिएको बताउनुभयो । उहाँका अनुसार सन् २०१६ मा चार हजार ७७५ मध्ये ६०५ मा यो समस्या देखिएको थियो भने सन् २०१५ मा चार हजार ५८१ बिरामीमध्ये ५४४ लाई क्यान्सर देखिएको थियो । विकासोन्मुख देशमा यो रोग बढ्दो छ । रासस
‘तीतो सत्य’मा पैसा नपाएपछि फिल्ममा जमेका दीपकराज गिरी, जसले छक्कापञ्जाकाे नाममा ४९ कराेड व्यापार गरे
दीपकराज गिरी सुपरहिट कलाकार हुन् । टेलिफिल्म तथा फिल्ममा हास्यव्यङ्ग्य र अभिनय मार्फत सबै नेपालीका प्रिय कलाकार बन्न सफल गिरी पछिल्लो समय फिल्म उद्योगमा सर्वाधिक सफल उद्यमी पनि हुन् । उनको नेतृत्वमा बनेको छक्का पञ्जा र वडा नम्बर ६ फिल्म निकै सफल भएका छन् । सिनेमा क्षेत्रमा उद्यमीको रुपमा उभ्याउन कठिन छ । सिनेमा भनेको कलासँग सम्बन्धित कुरा हो । यो कुनै खरदारको जागिर वा अधिकृतको जागिर जस्तो होइन । जहाँ सामान्य ज्ञान सिकेर म जागिर खान्छु अनि आफ्नो भविश्य बनाउँछु भन्ने हुन्न । यो एकदमै विशेष क्षेत्र हो, जहाँ आफु भित्र रहेको खुबी, कला जुन सुरुमा थोरै भएपनि भगवानले दिएका हुन्छन् । आफुलाई पनि त्यसमा रुचि जाग्यो भने त्यसलाई सुधार्दै, परिस्कृत गर्दै, तालिमहरु लिंदै, आफ्नो कलालाई निखार्दै लैजान सकिन्छ । कलाको पनि थुप्रै विभागहरु छन् । गीत संगीत, अभिनय, निर्देशन, लेखन आदी । सबैभन्दा आफुलाई कुन विभागमा बढी रुचि छ त्यसलाई पत्ता लगाउन जरुरी छ । अरुले जे गर्यो त्यही गर्छु भन्दै दौडिन हुन्न । त्यसपछी आफ्नो विभागलाई समातेपछी त्यससम्बन्धी तालिमहरु लिनुहोस् । आजकल हरेक विभागको लागि एकदमै राम्रा तालिम केन्द्रहरु खोलिएका छन् । कलाकारिता र उद्यमशिलतामा फरक छ । व्यवसायमा तपाईंले लगानी गर्नु भयो भने तपाईँ उद्यमी हुनुहुन्छ । कलाकारिता र उद्यमशिलता फरक कुरा हुन् । कला साहित्य फरक कुरा हुन् । यसमा बिशेष क्षमता भएका मानिसहरु मात्र लाग्न सक्छन् । यसको लागि तपाईंलाई आफु फरक र बिशेष भएको अनुभुति हुनपर्छ । त्यसपछि मात्र तपाईंले आफ्नो सोख पूरा गर्नुहोस्, अनी त्यसलाई उद्यमशिलतातर्फ धकेल्दै जानुहोस् । आफ्नो भविष्य आफँैले निर्माण गर्ने हो । आफ्नो जागिर आफैंले पकाउने हो । यसमा सफल नै भईन्छ भनेर भन्न सक्दिन । त्यस्ता धेरै मानिस मैले देखेको छु, जो यहाँ आएर फर्किसकेका छन् । यहाँ क्षमताको मात्र होईन भाग्यको पनि खेल हुन्छ । तपाईंले आफूलाई कसरी परिष्कृत गर्नु हुन्छ, मानिसहरुसँग कस्तो सम्बन्ध राख्नुहुन्छ, त्यसले तपाईंको भोलिको दिनलाई आकार दिनेछ । फिल्मी क्षेत्रमा मलाई सफल व्यक्तिको रुपमा चित्रण गरिएको छ । फिल्म ६ एकान ६ ले ४ करोड रुपैयाँको कारोबार गर्यो । वडा नं ६ले ७ करोड रुपैयाँको कारोबार गर्यो । छक्का पन्जा १ मा १६ करोड कारोबार भयो । छक्का पन्जा २ मा १४ करोडको कारोबार भयो । छक्का पन्जा ३ मा १९ करोड रुपैयाँको कारोबार भयो । जुन बेला जुन फिल्म आयो, त्यो बेला त्यो दर्शकको माया र कारोबार दुबै हिसावले उत्कृष्ठ रहे । कारोबार सबै नाफा होइन । त्यसमा ३०/३५ प्रतिशत नाफा हुन्छ । यिनीहरुले एउटै फिल्ममा १६ करोड, १९ करोड कमायो भनेर मान्छेहरुले बुझ्छन् । फिल्म निर्माताको हातमा पर्ने करिब ३५ प्रतिशत मात्र हो । त्यो रकम हामी ६–७ जना निर्माताको हातमा पर्छ । यो कमाईपनि राम्रो हो किन भने म सानो उद्देश्य बोकेर हिडेको थिएँ । दर्शकहरुले हामीलाई यतिधेरै रुचाईदिनु हुन्छ भनेर हामीले सोचेका थिएनाैं। पैसा यति कमाएँ र उति कमाएँ भन्दापनि दर्शकहरुले हाम्रो फिल्मलाई धेरै मन पराईदिनु भयो, यो नै हाम्रो ठूलो सफलता हो । उद्यमशीलताको विकास स्वस्फूर्त हुँदैन । सबैभन्दा पहिला तपार्इँको काम प्रतिको लगाव, तपाईंको रुचि र तपाईँको सोचमा पनि फरक पर्छ । जस्तैः रेस्टुरेन्टहरुमा सबैले खाने कुरा दिने गर्छन्, एउटा रेस्टुरेन्ट यस मानेमा फरक हुन्छ कि उसले कस्तो वाताबरण सिर्जना गरेको छ । अरु फिल्मले ७/८ करोड कमाउँदा हाम्रा फिल्मले १७/१८ करोड कमाईरहेको छ । एउटा कारणले मात्र त यो पक्कै पनि हुँदैन । हामीले बिशेष गरेर हाम्रो स्क्रिप्टमा ध्यान दिइरहेका छौं । हामी यसमा उच्चस्तरको मिहेनत गर्छौँ । हामी यसलाई दर्शकको पाटोबाट पनि अध्ययन गर्न प्रयास गर्छौँ । एउटा स्क्रिप्ट राम्रो तयार भएपछि लगभग फिल्म ५० प्रतिशत सफल हुन्छ । त्यसपछि मार्केटिङको कुरा, ब्राडिङ लगायत सानो सानो कुरामा पनि ध्यान दिन्छौं । तीतो सत्यमा पैसा नपाउँदाको क्षण हामीले अभिनय गरेको टेलीसिरियल ‘तीतो सत्य’ पनि एकदम मन पराइएको सिरियल थियो । तर, निर्माता पक्षबाट व्यवस्थापन राम्रो नहुँदा त्यो बन्द भयो । तीतो सत्यले आफ्नो १२ वर्षसम्मको यात्रा तय गरेको थियो । यो नेपालको सबैभन्दा लामो टेलिसिरियलको इतिहासपनि बनाएको छ । मेरो पहिचान तीतो सत्यले नै बनायो । मैले अहिले जतिपनि फिल्महरु बनाएँ, त्यो सबै त्यसैको जग उभिएर बनेका छन् । त्यसबाट मैले धेरै कुरा पाएको छु । त्यो मेरो जिन्दगीमा एकदमै महत्वपूर्ण हिस्साको रुपमा रहेको छ । हो, तीतो सत्यमा अभिनय गरेको पैसा समेत हामीले पाउन सकेनौं । तर म त्यसमा बेखुश छैन । शुरुमा त्यहिबाट पाएको पैसाले मेरो आर्थिक अवस्था राम्रो भयो । पछि गएर उनीहरुको अवस्था कमजोर भएको बेलामा मैले पैसा पाईन भनेर म दुखी छुईन् । मैले यदि पैसा पाएर त्यही काम गरिरहेको हो भने त्यही काममा अड्केर बसेको हुन्थेँ । एउटा ढोका बन्द हुनु भनेको हजारौँ ढोका खोज्नु हो । पहिला हामी तीतोसत्य पनि बनाउथ्यौँ । फिल्मपनि बनाउथ्यौँ, कार्यक्रममा पनि जान्थ्यौं । हाम्रो लागि फिल्म पार्टटाईम काम जस्तो थियो । त्यसमा हामीले धेरै समयपनि दिन पाउँदैन थियौं, अनि फिल्म ठिकठाक चल्थ्यो । हामीले तितोसत्य छोडी सकेपछि धेरै समय फिल्मलाई दिन पायौँ र प्रतिफलपनि राम्रो निस्कियो । त्यसैले म त्यसलाई मेरो नयाँ बाटोको सुरुवातको रुपमा लिन्छु । म तितोसत्यप्रति सधैं आभारी हुनेछु ।