ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राट घोषणा गर्ने तयारी, विराट हिन्दू सम्मेलनमा राजधानीमै

काठमाडौं ४, कात्तिक । पशुपतिको वनकालीमा बिहीबारदेखि विराट हिन्दु सम्मेलन सुरु हुने भएको छ । आयोजक हिन्दु अधिराज्य राजनीतिक समितिका अनुसार यही कात्तिक ४, ५ र ६ गतेसम्म चल्ने सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्नेछन् । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरेर हिन्दुराज्य प्रजातन्त्र पार्टीका महासचिव रविन्द्र पौडेलले राजाबिनाको देश र आँखा बिनाको मान्छे एउटै हुने तर्क गरे । यस्तै लिक नेपाल शान्ति एकता पार्टीका अध्यक्ष धनेन्द्र बस्नेतले वर्तमान शासनसत्ताले देशलाई विखण्डनको मार्गमा लिएको बताउँदै राजसंस्था बाहेक देशमा अरु कुनै शक्तिले शान्ति र स्थायित्व कायम गर्न नसक्ने दावी गरे । ३५ दलीय मोर्चाको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ । समाचार नयाँ पत्रिका दैनिकबाट ।

उपभोक्ताको घरमा अब नपड्कने सिलिण्डर, विश्वमै सुरक्षित मानिएको ‘कम्पोजिट सिलिन्डर’ प्रयोगमा ल्याउने तयारी

काठमाडौं ३, कात्तिक । उपभोक्ताको भान्सामा प्रयोग हुने फलामे सिलिन्डरको विकल्पमा नेपाल आयल निगमले कम्पोजिट सिलिन्डर प्रयोगमा ल्याउने तयारी गरेको छ। फमाले सिलिन्डर पटकपटक पड्किएर उपभोक्ताको ज्यान गएपछि विश्वमै सुरक्षित मानिएको ‘कम्पोजिट सिलिन्डर’ प्रयोगमा ल्याउन लागेको निगमले जनाएको छ। आगो लागे पनि नपड्किने कम्पोजिट सिलिन्डरलाई उपभोक्ताको छनोट अनुसार उद्योगमार्फत वितरण गर्ने निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले बताए । ‘विभिन्न कारणले ग्यास सिलिन्डर बिस्फोट भएर नागरिकको ज्यान गयो,’ खड्काले भने, ‘उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर कम्पोजिट सिलिन्डर ल्याउन लागेका हौं ।’ प्लास्टिक र फाइबर प्रयोग गरेर कम्पोजिट सिलिन्डर बनाइने भएकाले यसमा आगो लाग्दा नपड्किने र दुर्घटना भए पनि मानवीय क्षति नहुने निगमको दाबी छ । यो सिलिन्डर अहिले प्रयोग भएको फलामको सिलिन्डरभन्दा हलुका हुन्छ । सिलिन्डरको कुल तौल २२ किलोको हुने खड्काले बताए । ‘१४।२ किलो ग्याससहित सिलिन्डर २२ किलोमात्र भएकोले हलुका हुन्छ,’ खड्काले भने, ‘नयाँ सिलिन्डर प्रयोगमा ल्याएर क्रमशः पुराना बिस्थापित गर्दै जाने योजना छ । समाचार स्रोत नागरिक दैनिक

राष्ट्रपति र पूर्वराष्ट्रपतिबीच नाता जोडिँदै, राष्ट्रपतिको छोरी र पूर्व राष्ट्रपतिको नातिबीच टिकाटालो

काठमाडौं १, कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डाक्टर रामवरण यादववीत नाता जोडिने भएको समाचार सोमबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी डाक्टर निशाकुसुम र पूर्वराष्ट्रपतिका यादवकी भतिजी किरणका छोरा अभिषेकबीच विहेको टिकाटालो भएको छ। अब दुई राष्ट्रपतिबीच सम्धी सम्धिनीको नाता हुनेछ। राष्ट्रपति निवासमा आइतबार टिकाटालो भएको हो। उनीहरुको विहे आगामी माघ महिनाका लागि तय गरिएको छ।