भ्यागुताको धार्नी पुर्याउनै गाह्रो (कविता)

आफ्नै हुन् भनो यस्सो फकायो ठुस्स पर्छन् ए आइदेओन भनो मान्दैनन् खाइदेओन भनो मान्दैनन् आफ्नैले धोका दिँदा छिमेकी गुहार्नै परो यताका बटुलो उताका बटुलो मलाई अलि धेरै चाहियो भन्दिछन् मलाई अलि राम्रो चाहियो भन्दिन्छन् फेरी यता मिलायो फेरी उता मिलायो अन्त्यमा घर मुलिसंग सोधेको मानेनन् भन्दिन्छन् बल्ल बल्ल पुगे पुगे जस्तो हुन्छ अब कोरम पुग्ला पुग्ला जस्तो भो भोज खाम न त भनो के मिल्दैन मिल्दैन आखिर सबै भ्यागुता न परियो बुरुक्क उफ्रिदिन्छन् सत्ता चलाउनै गाह्रो भ्यागुताको धार्नी पुर्याउनै गाह्रो

तिमी दलित भएकोले कोठा पाइनौ, म बाहुन भएर कोटा पाइनँ

प्रिय मित्र नमस्कार, यो हप्ता नेपाली छापा, डिजिटल अनलाइन खबरहरु र रेडियो तथा टेलिभिजनहरुमा तिम्रै सर्वाधिक चर्चा सुनियो । तिमीले दलित भएर कोठा नपाएको खबरहरु बारम्बार सुनियो । तिमी छाइरह्यौं यो हप्ता नेपाली मिडियामा, समाजिक सन्जालहरुमा । आजको एक्काइसौं शताब्दीमा पनि यस्ता मानवीय जातीय विभेदका समाचारहरु सुन्दा मलाई असाध्यै नरमाइलो लाग्छ । आजको एक्काइसौं शताब्दीमा पनि सामाजिक कुरितीले मान्छेलाई विभेद गर्न मान्छे नै अग्रसर हुनु मानव जातिकै लागि लज्जाको विषय हो भन्ने मलाई लाग्छ । म सुन्दछु साथी, बेलाबेलामा नेपाली समाजमा कहिले दलित भएकै कारणले मन्दिरमा छिर्न नपाएको, कथित उपल्लो जात भनाउदाहरुसँग मन परापर हँुदा पनि विवाह गर्न नपाएको, भोज बिहे बटुलोमा सामेल हुन नपाएको जस्ता समाचारहरु पनि म वारम्वार पढिरहेको हुन्छु । मलाई पनि दुःख लाग्छ, नरमाइलो लाग्छ । तर, यो पनि थाहा छ कि यस्ता सामाजिक कुरितीहरु विस्तारै हट्दै जाने छन् र पहिलेको तुलानामा हटिरहेका पनि छन् । पिडा आ–आफनै छन् साथी । दलितलाई समाजिक तिरस्कारको पिडा छ । महिलालाई महिलाकै पिडा छ । मधेशीलाई आफ्नै हिसावको चित्त दुखाई छ । गरिबलाई गरिबीकै पिडा छ । बेरोजगारलाई रोजगारीको तनाव छ । व्यापारीलाई व्यापारकै चिन्ता छ । देश आर्थिक रुपमा सवल र सक्षम नहुन्जेलसम्म यस्ता पिडा देखिरहन्छन् भन्ने लाग्छ साथी । के गर्छाैं ! यो समाज यस्तै छ । विस्तारै परिवर्तन हुदै पनि त छ । त्यसैले दुःख लाग्छ नै । तर, समाज परिवर्तनको लागि हामी सबैको संयुक्त प्रयास आवश्यक छ । परिवर्तन भनेको एक्कासी हुँदैन । हरेक जातजतिका आ–आफनै समस्याहरु छन् । कसैलाई भाषाको समस्या होला, मैले बुझ्ने भाषा वोलेन भनेर । मेरो जातले वोल्ने भाषा, स्कुल, कार्यालयमा लागू गरेन भन्ने होला कसैलाई । कसैलाई मेरो धर्म मानेन् भन्ने होला । कसैलाई मेरो संस्कृति लोप भयो भन्ने होला । विविधताको साझा मञ्चमा बसेपछि यस्ता समस्या कहिले काँही आउदा रहेछन् । कहिले ‘लोग्ने टोकेको’ नाउँमा जिउदै जलाइएको समाचार सुन्छु । कहिले दाइजोको नाउँमा हत्या गरेको समाचार सुन्छु । कहिले वोक्सीको नाममा यातना दिएको समाचारहरु सुन्छु । साह्रै दुःख लाग्छ । तर, के गर्नु आखिर यस्ता सामाजिक कुरितीहरु त छन् नै । ठूलो मेहेनत गरेर यस्ता सामाजिक कुरिती हटाउँदै जानु नै छ हामीले । हामीले धैर्य गर्नुपर्छ भन्ने मलाई लाग्छ । सजग हुनुपर्छ । यस्ता समस्या बेला बेलामा देखा परिरहेको छन्, नेपाली समाजमा । तर, हामीले विवेकपूर्ण काम गर्नुपर्छ । यस्ता सामाजिक कुरितीलाई जरैदेखि उखेलेर फाल्नुछ । त्यसको लागि समय, मेहेनत र प्रयास सानो गरेर हुँदैन । सानो अभियानले यो सामाजिक कुरिती उखेलेर मिल्काउन सकिन्न । कानुनभन्दा माथि जस्तै गरी रहेको सामाजिक कुरितीलाई परास्त गर्नु भनेको कुहिनोले पहाड भत्काउनु जस्तै हो । तर, निरन्तरको र सामुहिक लडाईले नै यस्ता कुसंस्कार हटाउन सकिन्छ । हामी त सयौं थुंगा फूलका एउटै माला नेपाली न हौं । त्यसैले विस्तारै नेपाली समाज परिवर्तन हुनेछ भन्ने अपेक्षा गर साथी । विचलित नहोऊँ । चित्त नदुखाउँ, डेरा पाइन भनेर । डेरा अवश्य पाउने छौं । फरक यत्ति हो, तिमीले कोठा नपाउँदा खबर बन्छ । देशको प्रमुख समाचार बन्छ र बजार तातिन्छ । तर, मैले जति गरे पनि समाचार बन्दैन । समस्या आ–आफ्नै छन् । तिमीलाई बस्नलाई समस्या, मलाई खान समस्या । तिमी दलित भएकोले कोठा पाइनौं । म गरिब भए पनि के गर्नु ? फगत बाहुन भएकोले कोटा पाइनँ ।

सम्बोधन (कबिता)

महोदय ! उमङ्ग साँचेर सुने, पढेँ राष्ट्रको नाममा भनिएको सम्बोधन तर अनुत्तरित रहे थुप्रै प्रश्नहरु आफैँसँग ।। बेला बेला फरक ढाँचामा सुनिन्छन् सम्बोधनहरु जब समेट्नै पर्ने विषय छुट्छन् त्यो व्यर्थ बन्दैन र ? हुन त समेटिएका कतिपय कुरा पनि त तुहिन्छन् गर्भमै ।। जनको दुःखै नदेख्ने कस्तो सत्ता हुन्छ ? न कुनै कुराले छुन्छ जनजनका पीडा, अभावको सम्बोधन कहिले हुन्छ ?? सीमा मिचिइरहे, ऋणको भारले थिचिइरहे शोषण र अन्यायले हुँदा खानेहरु किचिइरहे निरर्थक बन्दैन र सरकार ! राष्ट्रकै लागि मारिएका र बेपत्ता पारिएका परिवारले सङ्घ, प्रदेश र स्थानीय तहका नाममा मञ्चित लज्जास्पद नाटक कति हेर्ने ? सस्तो लोकप्रियताका लागि सिलिन्डर र चामलका बोरामा चित्र टाँसिएछ अनि गाँसिएछ अवैध सम्बन्ध । चित्र होइन अब बदल्नुस् चरित्र हुन त कसैको सामथ्र्यभन्दा बढी अपेक्षा गर्नु पनि घातक नै हुन्छ क्यारे ! आखिर जोसँग जे छ त्यही दिने न हो ।। यसरी नै न्यायको अपहरण भ्रष्टको संरक्षण भइरहे नुनको अभावमा पिरोल्नेलाई के सुनाउनुहुन्छ सुनको कथा छोड्नुस् झूठ समृद्धिको वर्णन ।। खै, सम्बोधनमा निर्मला, सम्झनाको न्याय अट्न सकेको ? देखिएन विपत्तिमा सरकार खट्न सकेको ।। न छ पीडित उखु किसानको मागको सम्बोधन हुन सकेको छैन आधारभूत आवश्यकताकै परिपूर्ति सामान्य उपचार अभावमा मर्नुपर्छ निमुखाहरु ।। सत्ता स्वार्थमा जनता भुलाउने उही ढर्राको नामको सम्बोधन सुनेको त वर्षौ भइसक्यो ।। तारकेश्वर गापा १ दाङसिङ नुवाकोट, हालः पोखरा–११ [email protected]