अब वीर अस्पतालले घर बहाल कर महानगरलाई तिर्ने
काठमाडौं । वीर अस्पतालले घरबहाल कर काठमाडौं महानगरलाई बुझाउने भएको छ ।यसअघि अस्पतालले महानगरलाई बुझाउनु पर्ने घरबहाल कर आन्तरिक राजस्व कार्यालयलाई बुझाउँदै आएको थियो । जसकारण महानगरले अस्पताललाई घरबहाल कर तिर्न तोकेत गरेको थियो । हाल महानगरले लामो समयदेखि कर नतिरेका करदाताहरुलाई ताकेत गर्दै आएको छ ।
भरतपुर महानगरमा बजार अनुगमन
भरतपुर । चाडपर्व नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाले संयुक्त बजार अनुगमन थालेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न महानगरले आफ्नो क्षेत्रभित्र हुने स्थानीय बजारमा अनुगमन थालेको हो । मङ्गलबार नारायणगढ क्षेत्र र बुधबार भरतपुरको बसपार्क क्षेत्रमा अनुगमन गरिएको छ । महानगरको नियमित कार्यक्रमअनुसार नै बजार अनुगमन गरिएको महानगरका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । मङ्गलबार उनकै नेतृत्वमा बजार अनुगमन गरिएको थियो । ‘हामीले दैनिक नियमित कार्यतालिकाअनुसार बजार अनुगमन गरेका छौँ’, कार्यवाहक नगरप्रमुख अधिकारीले भने, ‘एकपटकलाई सजग गराएर सुध्रिने मौका दिएका छौँ, अर्कोपटक आउँदा फेरि पनि यस्तै गल्ती दोहोरिएको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही हुन्छ ।’ बुधबार भरतपुरको केन्द्रीय बसपार्कमा रहेका पसलको अनुगमन गरियो । भरतपुर–९ केन्द्रीय बसपार्कमा रहेको न्यू सन्तोष हेयर कटिङ शैलुन, ज्योति कस्मेटिक एण्ड गिफ्ट सेन्टर, सिजन जनरल स्टोर्स, रचना किराना पसल, आर्जन स्टोर्स, बन्धु भेट फर्मा, विके फेन्सी एण्ड कस्मेटिक, सङ्कल्प फेसन कलेक्सन, एसके फेसन कलेक्सन, पशुपति दूध डेरी, रश्मी मासु पसल, लक्ष्मी प्रोभिजनल, गुरुङ मासु पसल, रोशनी फ्रेस हाउस र अपार कास्की स्टोर्स एण्ड दूध डेरी पसलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा दर्ता नवीकरण, बिलबिजक अद्यावधिक र सरसफाइमा ध्यान दिन व्यवसायीलाई सचेत गराइएको छ । यस्तै म्याद गुज्रेका सामान नष्ट र सम्बन्धित कम्पनीलाई फिर्ता गर्न निर्देशन दिइएको भरतपुर महानगर उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार एकाइ प्रमुख थानेश्वर सापकोटाले जानकारी दिए । उनले दुई दिनको अनुगमनका क्रममा गत वर्षभन्दा सुधार गरेको पाइएको बताए । ‘अधिकांश पसलले मूल्यसूची राखेको पाइयो, सरसफाइमा पनि तुलनात्मक सुधार भएको छ’, उनले भने । गत वर्ष माछा, मासु र खाद्य पदार्थ नष्ट नै गर्नुपरेको भन्दै उनले यस वर्ष त्यति धेरै समस्या नभेटिएको बताए । बुधबार महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख श्यामराज देवकोटाको नेतृत्वमा गरिएको अनुगमनमा महानगरपालिकाका सरोकारवाला निकायको सहभागिता रहेको थियो । मङ्गलबारको अनुगमनका क्रममा मासुमा अखाद्य रङ, आलु प्याजका बोरामा तौल कम, समयावधि सकिएको चामलका बोरा, बिनादर्ता पसल सञ्चालन, तिलको तेलमा मिसावट, बेकरी घिउमा अखाद्य वस्तु मिसाइएको भेटिएको थियो । अनुगमन टोलीले भरतपुर–२ बालकुमारी सब्जी मन्डीमा मुखिया मिट सप्लायर्स, राजकपुर श्रेष्ठको माछा पसल र नेपाल मिट सप्लायर्समा अनुगमन गरेको हो । यस्तै भरतपुर–३ को आलु मन्डीमा पनि टोलीले विभिन्न पसलमा अनुगमन तथा निरीक्षण गरेको थियो । साइराम सब्जी भण्डार, जगदम्बा आलु स्टोर्स, राजलक्ष्मी आलु स्टोर्स र न्यू पशुपति भण्डार तथा भरतपुर–३ आन्नद मार्गमा रहेको मन्जुश्री ट्रेडर्समा पनि अनुगमन गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बजार अनुगमनलाई थप कडाइका साथ प्रभावकारी बनाएर लैजानुपर्ने बताए । उनले भने, ‘अब महानगर एक्सनमा जान्छ, गल्ती गर्ने व्यवसायीलाइ एकपटक सुध्रिने मौका दिन्छौँ, तर पुनः अर्कोपटक अनुगमनमा आउँदा सुधार भएको नपाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्छौँ ।’ रासस
बालेनलको एक्सनपछि ८४ लाख रुपैयाँ कर संकलन, ५० करोड रुपैयाँ उठाउने लक्ष्य
काठमाडौं । काठमाडौं महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन् । कामपाले गत भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो । पत्राचार र कामपाको पटकपटकको ताकेताका आधारमा अहिलेसम्म ८४ लाख ३४ हजार रुपैयाँ असुल भएको कामपा राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए । ‘अहिलेसम्म जति पनि असुल भएको छ त्यो सबै मनोरञ्जन कर हो, अन्य कर तिर्नका लागि केहीले विवरण लिएर आएका छन् भने केही सम्पर्कमा समेत आएका छैनन्’, उनले भने । कस्ले तिरे मनोरञ्जन कर मनोरञ्जन करबापत काठमाडौं फन पार्कले १७ लाख ३६ हजार रुपैयाँ, डेन्टिन क्यासिनो होटल म्यारिटले २१ लाख ४२ हजार रुपैयाँ, क्यासिनो प्यालेस अन्नपूर्ण होटलले ११ लाख ८५ हजार रुपैयाँ, प्राइट इन्टरटेनमेन्ट एन्ड सिक्रिएशन हयात होटलले ९ लाख ८९ हजार रुपैयाँ, माजोङ्ग इन्टरटेनमेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार रुपैयाँ र बेलिज क्यासिनो मल्ल होटलले १३ लाख ८८ हजार रकम बुझाएको महानगरले जनाएकाे छ । मनोरञ्जन कर तिर्नका लागि अन्य केहीले विवरण बुझाएर आगामी मिति तय गरेका छन् । नगरप्रमुख बालेन्द्र साह निर्वाचित भएर आएसँगै कामपाको विगत २९ वर्षदेखि असुल हुन नसकेको सम्पत्ति कर, बहाल कर र मनोरञ्जन करका ताकेता गरिँदै आएको छ । सो अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूलाठूला व्यवसायी र सार्वजनिक संस्थान बढी छन् । ‘उक्त शीर्षकको करस्वरूप कामपाले ५० करोड रुपैयाँ बक्यौता असुल गर्नुपर्ने छ’, अधिकारीले भने, ‘७० करोड रुपैयाँ असुल गर्नुपर्ने थियो, गत वर्ष २० करोड रुपैयाँ असुल गरियो, अब ५० करोड रुपैयाँ बाँकी छ ।’ गत वर्ष पनि कामपाले बक्यौता रकम असुलको सम्बन्धमा सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई पटक-पटक जानकारी गराएको थियो । उक्त सूचनाका आधारमा केही संस्थाले सम्पर्कमा आएर कर तिरे पनि अझै धेरै करदाता सम्पर्क गर्नसम्म नआएको कामपाले जनाएको छ । बक्यौता असुल गर्नका लागि कामपाले पहिलो चरणमा पत्राचार गरेको छ । पत्रका आधारमा विवरणसहित कर बुझाउन आनाकानी गरे दोस्रो पटक माइकिङ गरेर जानकारी दिने तथा त्यसको पनि बेवास्ता गरे महानगरबाट प्रवाह हुने सेवा रोक्ने र तालाबन्दी गर्ने तयारीमा कामपा छ । सम्पर्कमा आउन थाले सरकारी निकाय विगत २९ वर्षदेखिको करस्वरूपको बक्यौता नतिर्नेमा सबैभन्दा बढी सार्वजनिक संस्थान रहे पनि पछिल्लो समय विवरणसहित सम्पर्कमा आउने क्रम बढेको छ । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरण, वीर अस्पताल र अन्य केही पनि कामपाको सम्पर्कमा आएका छन् । यसरी कर नतिर्नेमा साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, कृषि सामग्री कम्पनी, नेपाल शेयर मार्केटलगायत छन् । त्यसैगरी ह्वाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, त्रिवेणी कम्प्लेक्स, डेन्टल अस्पताललगायतले हालसम्म आफ्नो विवरणसमेत विभागमा नबुझाएको कामपाले जनाएको छ । समयमै कर नतिरे प्रत्येक वर्ष १० प्रतिशतका दरले जरिवाना स्वरूप रकम वृद्धि हुँदै जान्छ । कामपाले अघिल्लो दुई वर्षमा भने कोरोनाका कारण करदाता समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको थियो । लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले ५० करोड रुपैयाँ असुल गर्ने तयारीस्वरूप अहिले अभियानका रूपमा नै कर सङ्कलन थालेको छ । डा अधिकारी भन्छन्,’सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असुली गर्ने प्रक्रिया अगाडि बढाएका छौँ ।’ रासस