पाँचखाललाई सुनको कचौंरा बनाउने नगर प्रमुखको योजना, ४० उद्योग खुल्दै
काभ्रेपलाञ्चोक । लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । यसका लागि तयारीसमेत थालिएको जनाइएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्भब नभएकामा हाल वित्तीय सस्ंथासँग सहकार्य गरी काम अघि बढाइएको छ । पाँचखालमा करिब ४० उद्योग स्थापनाको तयारीमा रहेको नगरप्रमुख महेश खरेलले बताए । “पाँचखाल सुनको कचौरा हो, यहाँ कृषि र अन्य उत्पादनका ४० उद्योग स्थापनाको तयारी थाल्दैछौँ ।” उनले भने, “उद्योग स्थापनाले स्थानीयस्तरको खाद्यान्नलगायत वस्तुको उत्पादन र उपभोग बढ्नाका साथै करिब चार हजार स्थानीयवासीले रोजगारी पनि पाउनेछन् ।’’ उद्योग स्थापनाका लागि नगरले स्थानीयवासीलाई नै प्राथमिकता दिने नगरको योजना छ । लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमले थाँती रहे पनि साझेदारीका लागि वैकल्पिक योजनाको खोजी भइरहेको नगरप्रमुख खरेलले बताए । “उद्योग स्थापना पछि स्थानीयवासीलाई प्राथमिकता दिइन्छ, सरल कर्जाका लागि वित्तीय संस्थासँग समन्वय भइरहेको छ” उनले भने । चालू आर्थिक वर्षदेखि एक दर्जन उद्योगबाट उत्पादन गराउने गरी तयारी थालिएको र उद्यमशीलताको विकास एवं प्रबद्र्धनका लागि वित्तीय संस्थासँग सम्झौतालाई प्राथमिकता दिइरहेको बताइएको छ । उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले यसअघि नविल बैंकसँग सम्झौता गरिएको बताइएको छ । सम्झौतामा उद्यम गर्न चाहनेलाई अभिमुखीकरण तालिम दिएर आकर्षण गर्ने उद्देश्य रहेकोे छ । नगर प्रमुख खरेलले भने, “नगर विकास, उद्यमशीलता र रोजगारीमा बैंकसँग हातेमालो गर्दै जानेछौँ । सामाजिक रुपान्तरणमा यस अभियानले सार्थकता पाउँदै जाने विश्वास गरिएको छ ।” बैंकले सरकारको दीगो विकासका लक्ष्यलाई सहयोग गर्न गत असारमा विपन्न वर्ग लक्षित किसान कर्जा र उद्यामशीलताका लागि दीगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको जनाएको छ । नगरपालिकाले नगरलाई ‘स्मार्ट सिटी’ बनाउन गत भदौमा काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेडसँग सात शर्त राखेर सम्झौता गरेको थियो । पूर्वाधारलगायत निजी–साझेदारीको माध्यमबाट नगरलाई स्मार्ट बनाउन सो सम्झौता गरिएको हो । नगर प्रमुख खरेलका अनुसार हालै सम्झौता गरिएको स्मार्ट सिटी लगानीको एउटा वैकल्पिक योजना हो । उनले भने, “लगानी सम्मेलनको अझै आशा त मरेको छैन, उपयुक्त वातावरण भए अझै यसै सालभित्र गर्ने योजनामै छौँ ।” आर्थिक वर्ष २०७६/७७ को अन्त्यतिर निर्णय गरी तयारीमा जुटेपछि लगानी सम्मेलनको योजना त्यतिबेला कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि योजनामै सीमित भएको थियो । गत आर्थिक वर्षमा सम्मेलन गर्ने कार्यतालिका बनाइए पनि पुनः कोरोना भाइरसको सङ्क्रमणको दोस्रो लहरका कारण अघि बढ्न सकेन । यसका लागि गत आर्थिक वर्षमै बजेटसमेत विनियोजन गरिएको थियो । यसअघि स्थानीय तहअन्तर्गत पहिलो पटक २०७६ असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरेकामा स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए । पाँचखाल पनि तिलोत्तमापश्चात् लगानी सम्मेलन गर्ने दोस्रो नगर बनिसक्थ्यो । पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालू आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न विगतका दुवै आर्थिक वर्षमा प्रारम्भिक बजेट छुट्याइएको थियो । पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरुभएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ । विशेषगरी कृषि र पशुपालनमा लगानकर्तालाई आकर्षण गराउने योजना बनाइएको थियो । लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका पाँचखालका स्थानमा सडक पुर्याइएको र पुर्याउने काम भइरहेकाले वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताइन्छ । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा तथा प्रविधि विस्तार, पर्यटकीयस्तरका ठूला होटल निर्माण र उद्योग स्थापनाका लागि सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको छ ।पाँचखालमा विभिन्न ऐतिहासिकस्थल समेत रहेकाले पर्यटन र स्थानीय साँस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ । पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माण कार्य सुरु गरिएको, मदन भण्डारी विश्वविद्यालयका लागि बजेट विनियोजन गरी प्रक्रिया अघि बढाइएको बृहत सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’का साथै एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याइएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक भएको छ । विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएकामा दुई वर्षअघि पनि दुई गाविस थपेर यसलाई अझ वृहत बनाइएको छ । तेह्र वडामा विभाजित यस नगरपालिकाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर छ भने ३७ हजार ७९७ जनसङ्ख्या छ । ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्धक बनाउन नगरपालिकाले पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउनका साथै खेतीयोग्य जमिन मास्न नदिने निर्णय गरेको छ । रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमिन जोगाएर मानवबस्ती तथा औद्योगिक ग्राम स्थापनाकोे योजना नगरको योजना छ । रासस
व्यावसायिक पशुपालनमा अग्रणी ‘माछापुच्छ्रे गाउँपालिका’
पाेखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमूखी कृषि गर्दै आएका कृषकहरुले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा बाख्रापाल्न सुरु गरेपछि व्यावसायिकता विकास भएको हो । गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् । सङ्घ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोगलगायतका कार्यक्रम ल्याएपछि कृषकहरु उत्पादनमार्फत् आयआर्जनमा प्रेरित भएका हुन् । गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी कृषि तथा पशु बीमा निःशुल्क गरिएको छ । सङ्घ सरकारले बीमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ । यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । यसैगरी प्रदेश सरकारबाट ‘मोडल फार्म’, डेरी सुधार लगायतका कार्यक्रमबाट कृषकलाई दुई÷तीन वर्षदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएपछि कृषकमा उत्साह बढेको पाइन्छ । नौ वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध बिक्रीका लागि पोखरा बजारमा आउने गरेको तथ्याङ्क गाउँपालिकासँग छ । मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध बिक्री गरेपनि ठूला कृषकहरुले आफैँ बजार खोज्ने गरेका छन् । गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ भने निजी फार्मबाट २० लाख आठ हजार ५०० लिटर बजारमा बिक्री भएको बताइन्छ । पशु शाखा प्रमुख पौडेलले भने, “हाम्रो गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । गाउँपालिकाको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ । सहकारीबाट दूध बिक्री गर्ने कृषकहरु बढी छन्” नौ वटा वडा रहेको गाउँपालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ । लाहाचोकबाट मात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ । वडा नं ३ को घाचोकबाट दैनिक तीन हजार ५०० लिटर र धितालबाट दैनिक एक हजार लिटर दूध बजारमा बिक्री हुने गरेको बताइन्छ । रिभान, माछापुच्छ्रे« र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्याङ्क छ । त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ । समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रु सात लाख ३५ हजार तथा मासिक रु दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको जनाइएको छ । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेपनि कृषकले उचित मुल्य पाउन नसकेको घाचोकका व्यावसायिक कृषक गोपाल पोखरेल बताए । भने,“गाई भैँसी पाल्न हामीले सहज भएको छ तर उत्पादन लागत बढेको तथा दूधको मूल्य लामो समय बढ्न नसक्दा कृषक मर्कामा छन् । वर्षेनी मुल्य समायोजन हुने व्यवस्था भए सहज हुन्थ्यो ।” लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म सुरु गरेपछि गाउँपालिकामा व्यावसायिक पशुपालनमा सुरु भएको थियो । गुरुङको फार्ममा अहिले ३०० भैँसी छन् । विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । व्यावसायिक कृषकलाई गाउँपालिकाले सहयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुतर्फ रु एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए। उनका अनुसार दूध उत्पादक कृषकलाई सहकारीमार्फत बिक्रीका आधारमा अनुदान, अनुदानमा पावर टेलर, च्याप कटर, बोका र निःशुल्क घाँसका बिउ तथा सिड विन वितरण, वडा नं २ र ९ मा स्थानीय भैँसी संरक्षण कार्यक्रम, एक वटा गाई/भैँसी पकेट क्षेत्रलगायतका कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको छ । रासस
बेनी नगरपालिकामा १०३ घर परिवारलाई एउटै मात्र धारो, बिहान उठेदेखि रातिसम्म पानीको मात्रै चिन्ता
गलेश्वर । देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँवासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ । जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको बसोबास छ । ती परिवारका चारसय भन्दा बढी सदस्यले गाँउका बीचमा रहेको एउटा मात्र धारोबाट गुजारा चलाउँदै आएको वर्षौ बितिसकेको छ । सो गाउँमा दलितको मात्रै वस्ती रहेको छ । सो गाउँमा बिहान उठेदेखि रातिसम्म पानीको मात्रै चिन्ता हुनेगरेको बताइएको छ । अन्य समयमा भन्दा बिहानको समयमा यहाँका गृहिणीहरुलाई सास्ती हुनेगरेको ६८ वर्षिया कालिका दर्जीले गुनासो गरिन् । ‘बिहान ४ बजेदेखि नै यहाँ भीड लाग्छ’, बुधबार दिउँसो धारामा पानी भर्न आएकी उनले भनिन्, ‘११ वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ, त्यतिबेलादेखि नै खानेपानीको समस्या जस्ताको यस्तै छ ।’ उनको जस्तै समस्या यस गाउँका सबै गृहिणीले भोग्दै आएका छन् । एक गाग्री पानी भर्नको लागि एक घण्टा नै लाइनमा बस्नु पर्ने बाध्यता भएको स्थानीय महिला पार्वती दर्जीले गुनासो गरिन् । ‘घरको अरु काम गर्नै भ्याइदैन, बिहान धारामै वित्छ,काममा जाने लोग्नेमान्छे र विद्यालय जाने केटाकेटीहरुलाई खाना पकाएर खुवाउन ढिला हुन्छ,अनि गाली आफूले खानुपर्छ, उनले भनिन्, ‘अरु गाउँका घरघरमा धारा छन्,हाम्रो गाउँमा गाउँभरीकै मान्छेका लागि जम्मा एउटा धारो छ ।’ यस गाउँमा पानीकै कारण झगडा समेत हुने गरेको पुलाचौरका बुद्धिजीवि शव बानियाँले जानकारी दिए । ‘एउटा मात्रै धारो,१०३ घर परिवार,पानी भर्नका लागि तछाँडमछाड त हुने नै भयो, अनि शुरु हुन्छ झगडा,मेरो पालो भन्दै एक जना अघि बढे पछि अर्को पछि हट्ने कुरै भएन,सबैलाई छिटो पानी भरेर घरको काम सक्ने हतारो हुन्छ । यहाँ पानीकै कारण दैनिक झगडा समेत हुने गरेको छ,’ उनले भने । बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा यामबहादुर दर्जीले बताए । ‘हामी जहिल्यै पनि राजनीतिक दलहरुका लागि भोट बैंकको रुपमा प्रयोग भयौं,दलित भएकै कारण सवै राजनीतिक दलहरुबाट हेपिदै आएका छौं,अहिलेसम्म चुनावको बेला आश्वासन बाहेक अरु केही पाउन सकेनौं,’ उनले भने ‘चुनाव सकियो भने यो गाउँमा नेताहरुले नाकमुखै देखाउँदैनन् ।’ जिल्ला स्थित राजनीतिक दलहरुले मात्रै होइन स्थानीय तहका जनप्रतिनिधिहरुले समेत यस गाउँलाई वेवास्ता गर्ने गरेको उनीहरुको आरोप रहेको छ । ‘हाम्रो भोटले नै जितेर गएका जनप्रतिनिधिले चुनावको बेला बाहेक अरु समयमा हामीलाई फर्केर पनि हेर्दैनन्,खानेपानी र मोटरबाटोको मर्मतका लागि कति पटक यहाँका जनप्रतिनिधिलाई भन्यौं तर सुनेको नसुन्यै गरे’ स्थानीयवासी लालबहादुर परियारले भने । बेनी नगरपालिकाले खानपानी समस्या समाधान गर्न उच्च प्राथमिकता दिएको जनाएको छ । वडा नंका ५ का वडाध्यक्ष लक्ष्मण बानियाँले भने,’पुरण्यमा खानेपानीको समस्या छ, तर खानेपानीको स्रोतका अभावमा त्यो समस्यालाई सम्बोधन गर्न सकिएको छैन उहाँहरुलाई वेवास्ता गरेको भन्ने कुरै आउँदैन,श्रोतको खोजी भैरहेको छ, केही समय पछि उहाँको समस्या समाधानका लागि प्रयास शुरु हुने छ ।’ रासस