गोपालबहादुर खड्का मन्त्रालय तानिए
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई मन्त्रालय तानिएको छ। अनियमितताको आरोप लागेका खड्कालाई व्यवस्थापिका सांसद-सुशासन समितिको निर्देशन अनुसार मन्त्रालय झिकाइएको मन्त्रालयले जनाएको छ । सुशासन समितिले खड्कालाई जिम्मवारी नदिन निर्देशन दिएको थियो । त्यसैको आधारमा मन्त्रालय तानिएको प्रवक्ता मुकुन्द प्रसाद पौडेलले बताए । निगमको भण्डारण क्षमता बढाउनका लागि जग्गा खरिदमा भ्रष्टचार भएको भन्दै मन्त्रालय झिकाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता मुकुन्द पौड्यालका अनुसार निर्वाचन आयोगले खड्कालाई मन्त्रालय झिकाउनका लागि सहमती प्रदान गरेको थियो । मंगलबार निर्वाचन आयोगले आपूर्ति मन्त्रालयले माग गरेअनुसार नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई उक्त मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ । गत असोज २२ गते सर्वोच्च अदालतले गोपालबहादुर खड्कालाई नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकबाट वर्खास्त नगर्न अन्तरिम आदेश दिएको थियो । न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश दिएको थियो । मन्त्रीपरिषध कार्यालयले खड्कालाई बर्खास्त गरेपछि उनी सर्वोच्च पुगेका थिए । आपूर्ति मन्त्रालयले असोज २६ गतेको पत्रबाट कार्यकारी निर्देशक खड्कालाई तोकिएको कार्य शर्तअनुसार कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्ने कार्यका लागि मन्त्रालयमा झिकाई काममा लगाउन भनी सहमति माग गरेको थियो । आयोगको आचारसंहितासँग सम्बन्धित मिति ३० गते बसेको बैठकले सहमति प्रदान गर्ने निर्णय गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
नियमविपरित घर बनाउँदै हुनुहुन्छ ? काठमाडौं महानगरपालिका अनुगमनमा आउँदैछ
काठमाडाैं । काठमाडौँ महानगरपालिकाले घरघरमा इञ्जिनियर अवधारणा ल्याएपछि नियमविपरीत घर निर्माण गर्नेको सङ्ख्यामा कमी आएको छ । कामपाका इञ्जिनियर राम थापाका अनुसार गत साउन महिनाबाट महानगरभित्र निर्माण हुने सबै घरमा अनिवार्यरुपमा कामपाका इञ्जिनियरले अप्रत्यक्ष रुपमा अनुगमन गरिरहेका छन् । यसरी अनुगमन नियमित हुन थालेसँगै नक्साविपरीत भवन निर्माण गर्नेको सङ्ख्यामा कमी आएको हो । कामपाको ३५ वटै वडामा गरी दैनिक रुपमा तीस जना इञ्जिनियरले निर्माणाधीन घरको अप्रत्यक्ष रुपमा अनुगमन गरिरहेका छन् । निर्माण धनीले कामपाबाट नक्सा पास गरिसकेपछि निर्माणको समयमा आफ्नो इच्छाअनुसारको इञ्जिनियर राखे पनि नियमअनुसार घर निर्माण नक्साअनुरुप अनिवार्य गराउन यो किसिमको अवधारणा ल्याएको कामपाले बताएको छ । खटिएका इञ्जिनियरले दैनिक १० देखि १५ वटासम्म घरको अनुगमन गर्ने गरेका थापाले जानकारी दिनुभयो । अनुगमनका क्रममा नक्सा विपरीत घर निर्माण भएको पाएमा घरधनीलाई बीचमा नै काम रोक्न लगाई थप कारबाहीको प्रक्रियासमेत कामपाले गर्नेछ । अघिल्लो आर्थिक वर्षमा नियम विपरीत घर बनाउनेको सङ्ख्या अत्यन्तै रहेको पाए पनि अहिले भने २० वटा घर निर्माण हुँदा मुस्किलले एक दुईवटाले मात्र नियम विपरीत कार्य गर्ने गरेको पाइन्छ । यसरी निर्माणको शुरुको समयदेखि नै नियमित अनुगमनले गर्दा नियम विपरीत घर निर्माण कमी आएको कामपाको भनाइ छ । गत साउन महिनाभन्दा पहिले निर्माण हुने घरमध्ये ५० प्रतिशत नियम विपरीत हुने गरेको थियो । रासस
हिमालय एयरलाइन्स ‘एशियाकै प्रभावशाली’ वायु सेवा कम्पनी, १५ विमान थप्ने तयारी
काठमाडौं । नेपालको निजी अन्तराष्ट्रिय वायु सेवा कम्पनी हिमालय एयरलाइन्स दक्षिण एशियाकै प्रभावशाली नयाँ अन्तराष्ट्रिय एयरलाइन्स अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) ले शनिबार मलेशियाको इक्वेटर भिलेजमा आयोजित साटा २०१७ कार्यक्रममा एयरलाइन्सलाई सम्मान गरिएको हो । उक्त समारोहमा गान अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक इब्तिशामा अह्मद साइदले स्वर्ण श्रेणी अन्तरगत ब्राण्ड एण्ड सर्भिस डिपार्टमेन्टका प्रमुख उज्ज्वल डालीलाई सम्मान गरेका थिए । यसले उडानका क्षेत्रमा हिमालयन एयरलाइन्सलाई अघि बढ्न प्रत्साहित बनाएको एयरलाइन्सले बताएको छ । साटा दक्षिण एसियाको पर्यटन क्षेत्रमा पहिलो रिजनल ट्राभल अवार्ड समारोह हो । गत अगष्ट ३१ सम्म अनलाइनमार्फत मतदानको व्यवस्था गरिएको थियो । अवार्ड प्राप्त गर्दै डालीले भनिन्, ‘यो अवार्ड प्राप्त गर्न पाउँदा हामी एकदमै गर्वान्वित भएका छौं । यसले हामीलाई सेवा र सुविधा विकासलाई बढाउन उर्जा प्रदान गरेको छ । हामी यात्रुको सेवाका लागि अहोरात तल्लिन भएर लाग्नेछौं ।’ सन् २०१३ मा स्थापना भएको यो एयरलाइन्समा नेपाल र चीनको संयुक्त लगानी रहेको छ । दोहा, कोलालम्पुर, दुबई र दम्माममा सेवा दिइरहेको यो एयरलाइन्सले ढाका, हङकङ र ब्यांकक् मा पनि सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । आगामी केही महिनामा यो एयरलाइनले चीनको बेइजीङ र छेङडुलाई पनि अन्य शहरहरुसँग जोड्ने योजना बनाएको छ । हाल तीवटा एयरबस रहेको यो एयरलाइन्सले आगामी दिनमा १५ विमान थप्ने योजना तयारी गरेको छ ।