'मन्त्री बन्न मिडिया ट्रायल र बिचौलियाकोमा नधाउनू, अनुशासन नमान्नेलाई राइट टु रिकल हुन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरुलाई मन्त्री बन्नका लागि मिडिया ट्रायल र बिचौलियाकहाँ नधाउन आग्रह गरेका छन् । निर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  लामिछानेले सरकार बनेको बेलुकादेखि नै सरकार ढाल्न एउटा समूह लाग्ने गरेको बताउँदै आफूहरूभित्र फाटो ल्याउन खोज्नेहरूको बिगबिगी भएको बताएका हुन् ।  ‘हामी मिल्न सकेनौं भने र स्वार्थको बन्दी बन्यौं भने मात्रै समस्या हुन्छ, कसैले पनि मन्त्री बन्नका लागि मिडिया ट्रायल नगर्दा हुन्छ, बिचौलियाकहाँ नधाउँदा हुन्छ,’ उनले भने, ‘हामीलाई सबै साथीहरूको योग्यता र क्षमता राम्रोसँग थाहा छ ।’ उनले निर्वाचित सबैलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन पनि आग्रह गरे । उनले भने, ‘पार्टी जन्मेदेखि यसमा प्रहार भयो । पार्टीको नाममा मुद्दा चल्यो । पार्टीको चुनाव चिन्हमा मुद्दा भयो । विभिन्न स्वार्थ समूह र पुराना दलबाट पार्टी जोगाएर ल्यायौं । देशका सबै शक्ति एकै ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौं ।’ लामिछानेले पार्टीका सबैलाई अनुशासनमा राख्नु पार्टीको काम भएको र यसमा कडाइ र कारबाही गरिने, साथै ‘राइट टु रि कल’को व्यवस्था समेत लागू गरिने बताए । 

मिडिया ट्रायल नगर्न सभापति लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई मन्त्री बन्न मिडिया ट्रायल नगर्न सुझाव दिएका छन् ।  पछिल्लो समय केही सांसदहरूले आफूलाई मन्त्री बनाउन दवाव दिनेगरी सञ्चारमाध्यममा बोलेकोमा लामिछानेले असन्तुष्टि पोखेका छन् । उनले अहिलेसम्म मन्त्रीहरूका बारेमा छलफल नगरेको बताएका छन् ।  छलफल नै नभएको विषयमा बाहिर बोल्नु पार्टी र मत दिने जनताको आशा विपरीत भएको लामिछानेले बताए । त्यसैगरी, उनले आफ्नो दलका सांसदहरूले सरकारी अस्पतालमा उपचार गर्नुपर्ने बताएका छन् ।  सरकारको डेलिभरीलाई चुस्तदुरुस्त बनाउन हामीले यो अभियान चलाउनु आवश्यक रहेको लामिछानेले जोड दिए । त्यस्तै, उनले पुराना नेताहरूले इतिहास लेखेको र आफ्नो दलले भविष्य लेख्ने दावीसमेत गरे ।। रास्वपा संविधान र इतिहासप्रति प्रतिबद्ध रहेको समेत उनको दावी छ । ‘यो जित रास्वपाको मात्रै होइन, यो जित त देशको जित हो ।  हामी पाँच वर्ष अत्यन्तै लगावका साथ काम गर्न तयार भएर आएका हौं,’ लामिछानेले भने । लामिछानेले राई, लिम्बुहरूको प्रतिनिधित्व गराउन नसकेकोमा माफीसमेत गरे । 

शवलाई गाडीमा पठाएर हेलिकप्टरमा उडेका थिए आफन्त

काठमाडौं । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटनामा परेको हो । खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको परेको जानकारी दिइन् ।  ‘एक जना व्यक्तिको खुट्टा भाँचिएको खबर प्राप्त भएको छ,’ उनले भनिन् ।  युकेमा मृत्यु भएको वृद्ध महिलाको शव वाहनमा लगिएको स्थानीय विद्यालयका प्रधानाध्यापक डिकमान राईले जानकारी दिए ।  उनका अनुसार हेलिकोप्टरमा पाइलट सविन थापासहित श्रीमान डाकमणी राई, छोरी लक्की राई, छोरा बालकुमार राई र काजीबहादुर राईलगायत अन्य दुई जना मानिस सवार थिए । राईको खुट्टा भाँचिएकाले काठमाडौंमा उपचारका लगिएको उनले जानकारी दिए । उनलाई एयर डाइनेष्टीकै अर्को हेलिकप्टर मगाएर उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। चालक थापासहित अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।