बेलायतको विश्वविद्यालयबाट डाक्टर बनीन् अभिनेत्री मनिषा कोइराला

काठमाडौं । लोकप्रिय अभिनेत्री मनिषा कोइरालाले मानार्थ डाक्टरको उपाधि हासिल गरेकी छन् । उनलाई बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डले उक्त उपाधि प्रदान गरेको हो । नेपाली राजनीतिमा चर्चित कोइराला परिवारबाट सिने क्षेत्रमा प्रवेश गरेकी मनिषा पछिल्लो समय विभिन्न कारणले चर्चामा रहेकी छन् । मनिषा भारतीय सिने क्षेत्रकी लिजेन्ड अभिनेत्री हुन् । त्यसैले होला, धेरै भारतीय सञ्चारमाध्यमहरूले मनिषाको उक्त उपलब्धिलाई महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । मनिषालाई दीक्षित गरिएको तस्वीरलाई इन्डिया टुडे ले विशेष रूपमा छापेको छ । यस्तै, टाइम्स नाउ ले मनिषाको एउटा पुरानो तस्वीर र दीक्षित भएर गाउन लगाएको अर्को तस्वीर प्रकाशित गर्दै 'बधाई लिजेन्ड्री नायिका' लेखेको छ । बोल्लीवुड हंगामा, दैनिक जागरण लगायत धेरै भारतीय सञ्चारमाध्यममा आज मनिषा छाएकी छन् ।

नेपालमै फर्किएर काम गर्ने रहर थियो : अभिनेत्री मिरुना मगर

काठमाडौं । अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने रहर रहेको बताएकी छन् । हालै आयोजित अन्तर्क्रियामा अभिनेत्री मगरले आफ्नो आमा नेपाली रङ्गमञ्चसँग जोडिएकाले आफू कलाप्रति बाल्यकालमै आकर्षित भएको बताइन् । उनले भनिन्, ‘म हङकङमा जन्मिए पनि १२ वर्षसम्म नेपालमा हुर्किएकी हुँ । यद्यपि त्यसपछि बेलायत गएर त्यही शिक्षा लि एँ। तर, मलाई नेपालमै आएर केही काम गर्ने इच्छा थियो । आमा नाटकमा काम गर्ने हुनुभएकाले मैले नेपाल आएर अनुप बरालसँग अभिनयको प्रशिक्षण लिएर चलचित्रमा काम गर्न सुरु गरेकी हुँ ।’ बेलायतमा हुर्किएकाले पनि अभिनयसम्बन्धी औपचारिक शिक्षा नलिएता पनि काम गर्न सुरु गरेपछि निर्देशक, छायाँकार र कलाकारसँग सिक्ने अवसर पाएको मगरले बताइन् । पछिल्लो समय चलचित्रको छायाङ्कन स्थलमा चलचित्र अध्ययन गरेका विद्यार्थीहरू विभिन्न विभागमा भेटिएता पनि अध्ययन र वास्तविक काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव रहेको अभिनेत्री मगरको बुझाइ छ । ‘अध्ययन गरेर आउनुभएका अहिले छायाङ्कन स्थलमा धेरै भेटिनुहुन्छ । तर, उहाँहरूको अध्ययनको सिकाइ र हामीले काम गर्ने शैली भिन्न हुँदा कतिपय अवस्थामा सहजता नभएको महसुस गरेकी छु। त्यस कारण शिक्षा लिइसकेपछि काम गर्नु अगाडि बुझ्ने मौका पाउनुपर्छ जस्तो मलाई लाग्छ,’ अभिनेत्री मगरले भनिन् । चलचित्रका विभिन्न विधाको अध्ययन गरिरहेका विद्यार्थीले छायाङ्कन स्थलमा पुगेर त्यसलाई प्रत्यक्ष हेरेर बुझ्ने वातारण बन्नुपर्नेमा अभिनेत्री मगरले जोड दिइन् । उनले आफूले पर्दामा निर्वाह गर्ने पात्रले एउटा वर्ग र समुदायलाई भिन्न रूपमा प्रस्तुत गरेको बताइन् । ‘मैले बेलायतमा बाँचेको भन्दा चलचित्रमा बाँचेको जीवन भिन्न छ । यद्यपि म प्रवासमा हुर्किएर शिक्षा लिएता पनि मैले चलचित्रमा निर्वाह गरेका पात्रले लिने निर्णय र उनीहरूको जस्तो विद्रोह गर्न सक्ने क्षमता छैन । सोही कारण पनि मेरा पात्र दर्शकको रोजाइमा परेको हुन सक्छ,’ अभिनेत्री मगरले भनिन् । ‘लालपूर्जा’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गरेकी अभिनेत्री मगरले अभिनय गरेको ‘कबड्डी ४’, ‘जारी’, ‘ऊनको स्वीटर’ लगायतका चलचित्र नेपालमा व्यावसायिक रूपमा सफल भएका छन् ।

डिशहोमले ल्यायो नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड, ग्राहकलाई २५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपालका इन्टरनेट तथा टिभी ग्राहकहरूको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले डिशहोमले नेपालमै पहिलोपटक भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्ने भएको छ। डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यो कार्ड 'माइ डिशहोम एप' मार्फत उपलब्ध हुनेछ र सक्रिय सदस्यताका ग्राहकहरूले स्वचालित रूपमा प्राप्त गर्नेछन् । कार्डमार्फत ग्राहकले होटल, क्याफे, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाइल एक्सेसोरिज, इलेक्ट्रोनिक्स, अटोमोबाइल शोरूम लगायतका थुप्रै सेवा तथा पसलमा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।  मानन्धरले डिजिटल मनोरञ्जन र इन्टरनेट सेवा मात्र नभई ग्राहकको दैनिक जीवनशैलीमा समेत डिशहोमले अर्थपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार डिजिटल कार्ड प्रणालीले सुरक्षित, सजिलो र डिजिटल जीवनशैलीलाई प्रवर्द्धन गर्नेछ । डिशहोमले प्ले स्टोर वा एप स्टोरबाट माइ डिशहोम एप डाउनलोड वा अपडेट गर्न ग्राहकलाई आग्रह गरेको छ ।