हलमा स्वदेशी चलचित्रको वर्चस्व : ‘जेरी अन टप’ले करिब १२ करोड कमाउँदा अन्यको कति?
काठमाडौं । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रहरूले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ को तथ्याङ्क सार्वजनिक गरिएको छ, जहाँ नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ । गएको शनिबार अर्थात् कात्तिक २२ गतेसम्मको सार्वजनिक तथ्याङ्कअनुसार सगरमाथाको विषयमा निर्माण गरिएको चलचित्र ‘जेरी अन टप’ ले सबैभन्दा बढी कमाई गरेको छ । उक्त चलचित्रलाई तीन लाख ७५ हजार ८१ दर्शकले हेर्दा रु ११ करोड ७१ लाख ४१ हजार ४९८ कमाई (ग्रस कलेक्सन) गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको विषयमा विदेशमा धेरै चलचित्र बने तापनि नेपालमा कमै बनेका छन् । उक्त चलचित्रमा सगरमाथा आरोहण र त्यस क्रमको प्रेमकथालाई देखाइएको छ । नेपालमा सुन्दर दृश्यलाई कैद गरिएको उक्त चलचित्रले पर्यटनमा समेत टेवा पु¥याउने विश्वास निर्माता सरोज न्यौपानेको छ । उक्त चलचित्रमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । गत असोज ३१ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् । यस्तै भाइटीकाका अवसर पारेर गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ ले सोही अवधि (शनिबार बेलुकी) सम्म रु दुई करोड ५६ लाख ५७ हजार ९२९ कमाएको छ । उक्त चलचित्रलाई ८५ हजार ३५६ दर्शकले हेरेका छन् । दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । यस्तै, कात्तिक ६ मै प्रदर्शन भएको चलचित्र ‘सोल्टिनी’ले भने अपेक्षाभन्दा निकै कमजोर कमाइ गरेको छ । उक्त चलचित्रलाई आठ हजार ९४५ दर्शकले हेर्दा रु २९ लाख पाँच हजार ९५६ मात्र कमाइ गरेको छ । प्रकाश सपूत, परीक्षा लिम्बू लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । निर्देशक सुवेदीले यसअघि निर्देशन गरेको ‘रङ्गेली’ पनि घरेलु बजारमा असफल भएको थियो । ‘तक्मे बुढा’ को उपनामले परिचित अभिनेता विल्सनविक्रम राईले निर्देशन गरेको ‘मैझारो’ ले पनि घरेलु बजारमा सफलता प्राप्त गर्न सकेन । अभिनेता राईको पहिलो निर्देशकीय चलचित्र नै असफल भयो । अभिनेता धिरज मगर, मिरुना मगर, दयाहाङ राई लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रले रु एक करोड चार लाख २९ हजार २८८ कमाएको छ । ३५ हजार १७६ दर्शकले मात्र उक्त चलचित्रलाई हेरेका थिए । यस्तै कात्तिक १४ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘परान’ ले दर्शकको राम्रो साथ पाएको छ । नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रमा बाउछोराको कथालाई देखाइएको छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्र दर्शकबाट प्राप्त प्रतिक्रिया कै कारण घरेलु बजारमा राम्रो कमाई गरिरहेको छ । उक्त चलचित्रले तीन करोड ७१ लाख ३६ हजार ५५३ कमाई गरेको छ । उक्त चलचित्रलाई एक लाख २८ हजार ६७९ जनाले हेरेका छन् । सुरुआती व्यापार कमजोर भए तापनि चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा दर्शकको चाप चलचित्र भवनमा बढेको निर्देशक आचार्यले बताए । उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै कात्तिक २१ मा प्रदर्शन भएका दुई चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन विनाको धन’ लाई दर्शकले प्रारम्भिक रूपमा साथ दिएका छन् । यद्यपि, यी दुईको व्यावसायिक रिपोर्ट अझै सार्वजनिक भइसकेको छैन । समग्रमा चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति बलियो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रप्रतिको आकर्षण बढेको देखिँदैछ । घरेलु बजारमा नेपाली चलचित्रले गरिरहेको कमाइले समग्र चलचित्र क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठले बताए। उनले दर्शकको विश्वास जित्ने चलचित्र आगामी दिनमा पनि तयार गर्न निर्माता तथा निर्देशकलाई आग्रह गरे । अघिल्लो वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ ले ऐतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रमा दर्शकको आकर्षण बढेको पाइन्छ । दशैं-तिहार, शिवरात्रि, नयाँवर्ष जस्ता बिदाको समयमा नेपाली चलचित्रको व्यापार उच्च हुने गरेको तथ्याङ्क बक्सअफिसमा देखिएको छ ।
अभिनय यात्राको १७ वर्षपछि मुख्य भूमिकामा चौरासिया
काठमाडौं । अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गरेको झण्डै १७ वर्षपछि मुख्य भूमिकामा देखिने भएका छन् । कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौं आएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाए । उक्त चलचित्रमा हरिया पात्रले उनको लोकप्रियता आम दर्शकसम्म पुर्यायो । उनै अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ आगामी मङ्सिर १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ । ‘मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छुे,’ अभिनेता चौरासियाले भने । पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा अभिनेता चौरासियाले बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गरेका छन् । तर, उनी कलाकारिताको यात्रा त्यति सहज भने थिएन । ‘अभिनय गर्ने लक्ष्य राखेपछि पढाइलाई मैले प्राथमिकतामा राखिन । काठमाडौं आएपछि भोकमरी र बेरोजगारीको कठोर अनुभव सहेँ । अभिनयप्रतिको मोहका कारण विदेश जाने दबाबका बीच आफ्नो शैक्षिक प्रमाणपत्र नष्ट गरेर नेपालमै बस्ने निर्णय गरे । त्यसपछि परिवारसँगको सम्बन्ध पनि टाढियो,’ उनले भने । अभिनय सिक्ने जोशमा उनले भारतको दिल्लीसम्म पुगेर प्रयास गर्नुभयो, तर सफल हुन सकेनन् । फलतः नेपालमै ‘एक्टर्स स्टुडियो’ बाट अभिनय सिक्ने र रङ्गमञ्चमा प्रस्तुती दिँदै कलाकारिता यात्राको सुरुआत गरे । ‘रेशम फिलिली’ मा ‘हरिया’ पात्रमार्फत दर्शकको ध्यान तान्न सफल भएपछि निर्देशकले उनलाई खोज्न थाले । तर, उनको सपना झै मुख्य भूमिका नभई सहायक र ‘हरिया’ जस्ता भूमिका प्रस्ताव भए । ‘म मुख्य भूमिकामा केही फरक गर्न चाहन्थेँ । त्यसकारण मैले केही प्रस्ताव स्वीकार गरिन । जब मैले केही प्रस्ताव अस्वीकार गरेँ, त्यसको असर मेरो करियरमा पर्यो, मलाई चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउनै छाड्यो,’ अभिनेता चौरासियाले भने । आफूले सोचे जस्तो चलचित्रमा भूमिका नपाएपछि उनले केही समय अभिनयदेखि टाढा रहँदै माछा बेच्ने काम गरे । तर, कोरोना महामारीका कारण त्यो सफल हुन सकेन । अभिनयबाहेकका काममा निरन्तर असफल भइरहँदा उनलाई चलचित्र ‘फेरि रेशम फिलिली’ मा अभिनय गर्ने प्रस्ताव आयो । पाँच वर्षपछि आफ्नै कर्ममा फर्किएका अभिनेता चौरासियालाई एकदिन निर्माता विनोद पौडेलले मुख्य अभिनेताको प्रस्ताव गरे । ‘मैले जीवनभर जसका लागि सङ्घर्ष गरेँ, त्यो मौका अब पाएको छु । त्यो क्षण शब्दमा वर्णन गर्न सक्दिन । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ,’ उनले भने । चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ मा उनले परिवारप्रति जिम्मेवार र सुरक्षात्मक पात्रको भूमिका निर्वाह गरेका छन् । मधेसको पृष्ठभूमिमा आधारित उक्त चलचित्रमा उनीसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रमा सुशान्त गौतमले निर्देशन, मुकेश खनालले लेखन, शरद महतोले छायाङ्कन र मदन घिमिरेले सम्पादन गरेका हुन् ।
डिशहोम र द ट्राङक्विलिटी स्पाबीच सहकार्य, देशभरका स्पामा २५ प्रतिशतसम्म छुट
काठमाडौं । डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा द ट्राङक्विलिटी स्पा सँग सहकार्य गरी आफ्नो भर्चुअल विशेषाधिकार कार्ड (प्रिभिलेज कार्ड) मार्फत ग्राहकहरूका लागि नयाँ सुविधा सुरु गरेको छ । डिशहोमले सुरु गरेको यो सहकार्य कार्यक्रमले ग्राहकहरूको जीवनशैलीलाई अझ सहज र समृद्ध बनाउनका साथै उनीहरूलाई देशभर स्वास्थ्य र वेलनेस (आरामदायी स्वास्थ्य सेवा) का विशेष लाभ प्रदान गर्ने लक्ष्य राखेको छ । यस योजनाअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सबै स्पा र सलोन सेवामा २५ प्रतिशत छुट, सबै सलोन सेवामा २० प्रतिशत छुट, र ट्राङक्विलिटी अन्तर्राष्ट्रिय सौन्दर्य तथा स्पा प्रतिष्ठान (टिब्सा) मा सञ्चालन हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । लक्जरी वातावरण, अनुभवी उपचारकर्मी (थेरापिस्ट) तथा विश्वस्तरीय सेवाका लागि परिचित ट्राङक्विलिटी स्पा नेपालमा वेलनेस र विश्रामको पर्यायका रूपमा स्थापित छ । देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस संस्थाले अब डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्य दुवै क्षेत्रमा उत्कृष्ट सुविधा एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ । काठमाडौंमा अवस्थित ट्राङक्विलिटी अन्तर्राष्ट्रिय सौन्दर्य तथा स्पा प्रतिष्ठान (टिब्सा) ले सौन्दर्य उपचार, स्पा सेवा, मालिस उपचार तथा समग्र स्वास्थ्य र वेलनेस सम्बन्धी व्यावसायिक पाठ्यक्रम सञ्चालन गर्दै आएको छ । व्यावहारिक तालिम र विज्ञ प्रशिक्षकद्वारा संचालित यो संस्थाले नेपालको आगामी पुस्ताका वेलनेस व्यवसायीहरू तयार पार्ने लक्ष्य राखेको छ । ग्राहकहरूले छुट प्राप्त गर्नका लागि आफ्नो माई डिशहोम एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक परिचय नम्बर प्रयोग गरेर लगइन गर्नुपर्नेछ । त्यसपछि एपको गृहपृष्ठ वा व्यक्तिगत विवरण भागमा रहेको भर्चुअल विशेषाधिकार कार्ड खोल्न सकिनेछ । उक्त कार्ड कुनै पनि ट्राङक्विलिटी स्पा शाखामा देखाएर तुरुन्तै छुट प्राप्त गर्न सकिन्छ । यो सहकार्यलाई औपचारिकता दिन ट्राङक्विलिटी स्पा एण्ड सर्भिसेसका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका नयाँ उत्पादन विकास प्रमुख सबिन महर्जनबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भनिन्, 'यो सहकार्यले नेपालको अग्रणी स्पा र सौन्दर्य ब्रान्डलाई हाम्रो ग्राहकहरूका लागि थप मूल्य, सहजता र सन्तुष्टि प्रदान गर्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ ।' डिशहोमको भर्चुअल विशेषाधिकार कार्ड कम्पनीको ग्राहक सन्तुष्टि र जीवनशैली सुधार गर्ने दीर्घकालीन दृष्टिकोणको हिस्सा हो । यस पहलमार्फत डिशहोमले भोजन, आतिथ्य, यात्रा, स्वास्थ्य, मनोरञ्जन तथा खुद्रा क्षेत्रमा विभिन्न ब्रान्डहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई देशभर विशेष छुट, सुविधा र प्रिमियम (उच्चस्तरीय) अनुभव प्रदान गर्दै आएको छ । कम्पनीले आगामी महिनाहरूमा आफ्नो सहकार्य सञ्जाललाई अझ विस्तार गर्दै ग्राहकहरूका लागि थप आकर्षक सुविधा र जीवनशैलीसँग सम्बन्धित लाभहरू ल्याउने तयारी गरेको जनाएको छ ।