‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’
काठमाडौं । नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ । प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ । हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न उनीहरूले काम गरिरहे तापनि दर्शकले भिलेनमा रुचाए । ‘अहिले सहजै कलाकार मान्छन् । नत्र हिरोजस्तो मान्छे भिलेन किन बनेको भन्ने प्रतिक्रिया पाउने गर्थे’, अभिनेता अनुप विक्रम शाहीले भने । ‘हँसिया’ फिल्ममा उनले निर्वाह गरेको भिलेनको भूमिकाले दर्शकमाझ प्रभाव छाड्न सफल भएको थियो । त्यसयता उनले सकारात्मक भूमिका कमै निर्वाह गरेका छन् । मोडलिङ हुँदै अभिनेता बनेका प्रशान्त ताम्राकार पनि भिलेनमा खोजिने अनुहारमै पर्छन् । ‘ऐश्वर्य’ मा निर्वाह गरेका भूमिकापश्चात् उनलाई त्यस्तै अफर भइरहेको छ । ‘मैले भूमिकालाई सकारात्मक वा नकारात्मक रुपमा कहिले हेरिन । आइरहेको भूमिकालाई सुहाउँदो हेरेर अभिनय गरे । यद्यपि ह्यान्डसम भिलेनभन्दा रमाइलो लाग्छ’, अभिनेता ताम्राकारले भने । काठमाडौंमा आयोजित उनी अनुप, प्रशान्त अभिनित फिल्म ‘लाखे’ को पत्रकार सम्मेलनमा आर्यन अधिकारीले सोचाइमा आएको परिवर्तन बारे बताए । ‘हिरोकै रुपमा काम गरिरहेको छु । अब भने सुहाउँदो भूमिका आएमा अभिनय गर्छु । म कलाकार हुँ । सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्न तयार छु’, अभिनेता अधिकारीले भने । दर्शकको हेराइमा आएको परिवर्तनसँगै कलाकार पनि परिवर्तन भएका छन् । सस्पेन्स थ्रीलर जनराको कात्तिक १८ गतेबाट प्रदर्शनमा आउँदैछ । सम्राट बस्नेतको निर्देशनमा तयार फिल्ममा अर्पण थापा, सौगात मल्ल, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् । रासस
तिहार गीत ‘झिलीमिली तिहार’ बजारमा
काठमाडौं । ‘आयो हजुर देउसी र भैलो’ ‘यही घरमा गर्नलाई रमाइलो’ ‘यही घरमा आएऔँ ज्यान फालेर’ ‘अँध्यारोमा लालटिन बालेर’ नेपालीहरूको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा लोकदोहोरी गायक–गायिका पुरुषोत्तम पौडेल, सुनिता बुढामगर, प्रिन्स मल्ल ठकुरी र पूजा देवकोटाले गाएको ‘झिलीमिली तिहार’ देउसी–भैलो गीत बजारमा आएको छ । गायक पौडेलको लय र शब्द सङ्कलन रहेको सो गीतलाई रमेश सेन्टीको म्युजिक एरेन्जर रहेको छ । सो गीतलाई गायक पौडेलले आफ्नै युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरेका हुन्। गीतलाई कपिल लामाले निर्देशन गरेका छन् । गीतमा आउँदै गरेको नेपालीको दोस्रो महान चाडका समयमा देउसीभैलो खेल्दै देउसो भट्याउँदै घरबेटीलाई आशिष पनि दिइएको छ । भैलोसँगै भैलोको बीच–बीचमा लोकगीतका टुक्का प्रस्तुत गरिएको गायक पौडेलले जानकारी दिए।
‘प्रेमगीत ३’ ले दुई सातामा कमायाे ३४ करोड १३ लाख रुपैयाँ
काठमाडौं । ‘प्रेमगीत ३’ ले दुई सातामा ३४ करोड १३ लाख नेपाली रुपैयाँ ग्रस कमाइ गरेको छ ।निर्माण कम्पनी आशुसेन फिल्म्सका अनुसार प्रेमगीत ३’ ले दुई सातामा विश्वव्यापी रुपमा ३४ करोड १३ लाख नेपाली रुपैयाँ ग्रस कमाइ गरेको हो । फिल्मले नेपालबाट मात्रै ११ करोड ८१ लाख रुपैयाँ र भारतबाट ५ करोड ३२ लाख भारु कमाएको छ । यस्तै फिल्मले नेपाल र भारत बाहेक अन्य देशहरुबाट दुई सातामा ९ करोड १४ लाख भारु कमाएको छ । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित यो फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य कलाकारको रुपमा रहेका छन् । हिन्दी र नेपाली संस्करणमा रहेको यस फिल्मले सुरुवाती चरण देखि नै निकै चर्चा कमाइरहेको छ ।