लघुचलचित्र ‘दृश्य’ निर्माण सम्पन्न, पोष्टर सार्वजनिक
काठमाडौं । ऐना आर्टस् र आश्री इमिग्रेशनको सहकार्यमा निर्माण गरिएको लघुचलचित्र ‘दृश्य’ (द लाईट अफ आई) को निर्माण कार्य सम्पन्न भएको छ । निर्माण टिमले चलचित्रको आधिकारिक पोष्टर सार्वजनिक गर्दै यसको पहिलो झलक दर्शकमाझ प्रस्तुत गरेको छ । पोस्टरमा एउटा आँखाभित्र दुई पात्र देख्न सकिन्छ – एउटा दृष्टिविहीन व्यक्ति र अर्को सामान्य मानिस । यसले बाहिरी आँखाले देखिने संसार र हृदयले अनुभूति गर्ने दुनियाँबीचको अन्तर झल्काउने संकेत गरेको छ । पोष्टर रसिकराजले तयार गरेका हुन् । ‘दृश्य’को निर्माण नितु घिमिरे को प्रस्तुति र रामेश्वर भट्टराई को प्रमुख निर्माण संयोजनमा भएको हो । आश्री इमिग्रेशन, आश्री इन्भेष्टमेन्ट, र आश्री ट्राभल्सका सञ्चालकसमेत रहेका भट्टराई कथावस्तु मन परेकाले लघुचलचित्र निर्माणमा संलग्न भएको बताउँछन् । चलचित्रमा नारायणराज चौलागाईं, सुवास प्रसाद गजुरेल, राकेश श्रेष्ठ, आरुष मगर, युनिसा कार्की, बिदुर प्रसाद सिग्देल, सन्तोष सुवेदी, नरेन भट्टराई, रमेश बज्राचार्य लगायतका कलाकारको अभिनय छ । संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको चलचित्रमा बाँसुरी वादन नगेन्द्र राई ले गरेका छन् । सिनेमाटोग्राफी नारायण जिसी, सम्पादन तथा रंग संयोजन अनिल कुमार महर्जन, सहायक निर्देशन करण साउद, र कला निर्देशन सुमित राई ले गरेका छन् । मुख्य पात्र नारायणराज चौलागाईं (नारायण काइँलो) ले चलचित्रको भूमिकाका लागि ६ महिनासम्म तयारी गरेका थिए । गजलकार तथा गीतकारसमेत रहेका चौलागाईंले यसै चलचित्रमार्फत् डेब्यु गरेका हुन् । निर्माण व्यवस्थापन सुरेन्द्र क्षेत्री को जिम्मामा रहेको छ । क्षेत्रीले सबैको अथक प्रयासले चलचित्र उत्कृष्ट बनाउन गरिएको प्रयास दर्शकमाझ प्रभाव पार्ने विश्वास व्यक्त गरे । लेखन तथा निर्देशन मोहन अभिलाषी ले गरेका छन् । अभिलाषीका अनुसार चलचित्रले बाहिरी आँखाले देखिने भौतिक संसार र हृदयको आँखाले महसुस गरिने आन्तरिक संसारबीचको भिन्नता चित्रण गर्नेछ । चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी गराइने योजना छ । त्यसपछि, ‘दृश्य’लाई विभिन्न ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक गरिने निर्देशक अभिलाषीले बताए । यसअघि ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’, र ‘द स्कूल वाल’ जस्ता चलचित्र बनाएर अन्तर्राष्ट्रिय महोत्सवहरूमा सफल भएका निर्देशक अभिलाषी नयाँ चलचित्र निर्माणको तयारीमा रहेका छन् ।
डिशहोमले ईजभीजको वाइफाइ आईपी क्यामेरा बिक्री गर्ने
काठमाडौं । डिशहोम इन्टरनेटले अब ग्राहकहरूको सुरक्षा आवश्यकतालाई ध्यानमा राख्दै वाइफाइ आईपी क्यामेरा पनि उपलब्ध गराउने भएको छ । यसका लागि ईजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम इन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको छ । कम्पनीका अनुसार घर तथा कार्यालय निगरानीका लागि ईजभीजद्वारा निर्मित वाइफाइ आईपी क्यामेरा विश्वभर अग्रणी स्थानमा रहेको छ । डिशहोम इन्टरनेट र क्यामेरा उत्पादक ईजभीजबीचको सहकार्यले शहरी तथा अर्ध-शहरी क्षेत्रमा सुरक्षा निगरानी आवश्यक पर्ने ग्राहकहरूलाई भरपर्दो र स्मार्ट सुरक्षा समाधान उपलब्ध गराउने लक्ष्य राखेको छ । नेपालभर उच्च ब्यान्डविथ इन्टरनेटको पहुँच विस्तार भएसँगै, नेपाली उपभोक्ताहरू पनि इन्टरनेटमा आधारित स्मार्ट उपकरणहरू प्रयोग गर्न बढी रुचि राख्न थालेका छन् । डिशहोमले आफ्ना ग्राहकहरूलाई सहज रूपमा देशभरि फैलिएको डिलर नेटवर्कमार्फत वाइफाइ आईपी क्यामेरा उपलब्ध गराउनेछ । यस सहकार्यले डिशहोमका प्रयोगकर्ताहरूलाई झन्झटमुक्त सुरक्षा निगरानी प्रणाली उपलब्ध गराउनेछ । कम्पनीका अनुसार यी सुविधाहरूले आधुनिक घरधनीहरूका लागि ईजभीजको उत्पादनलाई सुरक्षा निगरानीका लागि उत्कृष्ट समाधान बनाउनेछ । डिशहोम इन्टरनेटको बलियो पूर्वाधार र ईजभीजको विश्वसनीय सुरक्षा प्रविधि एकसाथ आएपछि ग्राहकहरूले आफ्नो घर तथा व्यवसायलाई अझ सुरक्षित वातावरण दिन सक्नेछन् । यस सहकार्यले डिशहोम इन्टरनेटका ग्राहकहरूलाई स्मार्ट सुरक्षाका साथ भरपर्दो सेवा प्रदान गर्न थप मद्दत गर्नेछ ।
उत्कृष्ट अभिनेताको अवार्ड जितेका आर के मेहताको संघर्ष र सफलताको यात्रा
काठमाडौं । नेपालका चर्चित अभिनेता आर के मेहता, जसले चलचित्र ‘आँखा’ मार्फत उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । उनले आफ्नो संघर्ष र समर्पणको यात्रा जारी राख्दै नेपाली फिल्म उद्योगमा नयाँ उचाइ थपेका छन् । हालै काठमाडौंमा आयोजित एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदिप खड्का, आर्यन सिग्देल र पल शाह जस्ता चर्चित कलाकारलाई पछि पार्दै मेहताले यो अवार्ड जितेका थिए । ‘आँखा’ चलचित्रले यस महोत्सवमा उत्कृष्ट राष्ट्रिय फिचर चलचित्रको अवार्ड पनि प्राप्त गरेको थियो । यस चलचित्रबाट निर्देशक जौन यौंजनले उत्कृष्ट स्क्रिनराइटरको अवार्ड जितेपछि महोत्सव ‘आँखा’ मय बनेको थियो । आर के मेहता, विराटनगरको भट्टाचोकमा जन्मिएका, थिएटरको माध्यमबाट अभिनय क्षेत्रमा आएका थिए । उनले रंगमञ्चको अभ्यास गर्दै इटालीको ‘एकाडेमिया डेल आर्टे’मा भौतिक थिएटर अध्ययन गरेका थिए । नेपाली फिल्म ‘रंगेलीु’बाट अभिनय यात्रा सुरु गरेपछि, उनले विभिन्न नाटक र फिल्ममा काम गर्दै आफ्नो अभिनयको गहिराइ बढाएका थिए । उनको प्रमुख फिल्म ‘आँखा’ मा उनले १५ किलो तौल घटाएर, ६ महिना काठमाडौंको सुकुम्बासी बस्तीमा बिताएर, पात्रको वास्तविकता बुझ्न निकै कठोर मेहनत गरेका थिए । उनले आफ्नो अभिनयका लागि कडा डाइट र जीवनशैली अपनाएका थिए । आर के मेहता अब नेपाली सिनेमा उद्योगका लागि एक प्रेरणा बनिसकेका छन् । उनको संघर्ष, समर्पण र कडा परिश्रमले उनलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाएको छ, र नेपाली चलचित्र क्षेत्रलाई नयाँ दिशा र ऊर्जा दिएको छ । को हुन् आर के मेहता ? विराटनगरको भट्टाचोकमा जन्मिएका आर के मेहता ती कलाकार हुन्, जसले अभिनयलाई केवल पेशा होइन, आफ्नो जीवनको अटुट अंश बनाए । बाल्यकालदेखि नै कराँते, नृत्य, र अभिनयमा रुचि राख्ने उनले कराँतेमा ब्ल्याक बेल्ट हासिल गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाए । अभिनयप्रतिको गहिरो मोहले उनी रंगमञ्चतर्फ आकर्षित भए, जहाँ उनले विराट मैथिल नाट्य कला परिषद, विराटनगर गुरुकुल हुँदै शिल्पी थिएटरमा प्रशिक्षण लिएका थिए । शिल्पी थिएटरमा उनी दुई वर्ष होस्टल बसेर काम गरे । अन्तर्राष्ट्रिय अवार्डः निफको ‘उत्कृष्ट पुरुष अभिनेता’ विजेता उनको कठोर मेहनतले रंग ल्यायो । ‘आँखा’ फिल्ममा उनको दमदार अभिनयले उनलाई नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२५ मा उत्कृष्ट पुरुष अभिनेता को अवार्ड दिलायो । यो अवार्डले उनको संघर्षको पहिचान मात्र दिएन, नेपाली सिने उद्योगका लागि पनि एक नयाँ उचाइ थप्यो ।