डा. सुधन लम्सालले पाए वर्ल्ड बुक अफ रेकर्डबाट ‘इमिनेन्स अवार्ड’
काठमाडौं । वर्ल्ड बुक अफ रेकर्डले नेपालका डा. सुधन लम्साललाई 'इमिनेन्स अवार्ड' प्रदान गरेको छ । कजाकिस्तानको अल्माटीमा आयोजित विशेष समारोहमा सो अवार्ड प्रदान गर्दै लम्साललाई सम्मान गरेको हो । उनलाई यो सम्मान ज्ञान प्रवर्द्धन, आलोचनात्मक सोचको विकास, र समग्र व्यक्तित्व विकासमा पुर्याएको उल्लेखनीय योगदानको आधारमा प्रदान गरिएको हो । उक्त समारोहमा विभिन्न राष्ट्रका विशिष्ट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । जसले कार्यक्रमको अन्तर्राष्ट्रिय महत्वलाई झल्काउने गर्दछ । लण्डन, बेलायतमा मुख्यालय रहेको वर्ल्ड बुक अफ रेकड्र्सले विश्वभर असाधारण उपलब्धी हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । 'इमिनेन्स अवार्ड' उत्कृष्टता प्रदर्शन गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल व्यक्तिहरूलाई प्रदान गरिन्छ । विश्वस्तरको प्रतिष्ठित व्यक्तित्वहरुले पाउने सम्मान नेपालबाट आफुलाई पदान गरेकोमा उनले खुशी व्यक्त गरे । नेपालको शिक्षाक्षेत्र तथा युवा विकासमा रहेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न पाउनु नै गर्वको कुरा रहेको उनी बताउँछन् । जापान, इजिप्ट, दुवै, टर्की, सिंगापुर, मलेसिया, थाइल्याण्ड, चीन, काजकिस्तान लगायतका देशहरुमा गएर उनले थुप्रै तालिम र कार्यशालाहरू सञ्चालन गरिसकेका छन्, जसमा शिक्षा, कर्पोरेट, र अन्तर्राष्ट्रिय संस्थाहरू समावेश छन् । लम्साल एक प्रतिष्ठित कार्यक्रम, तालिम र संचार निर्देशक पनि हुन् । उनले इमोशनल इंटेलिजेन्स, एप्रिसिएटिव इन्क्वायरी, पर्सनालिटी डेवलपमेन्ट, क्यारियर काउन्सिलिङ, र जीवनको दृष्टिकोण व्यवस्थापनसम्बन्धी युवा प्रोत्साहन कार्यक्रमहरू गर्दै आएका छन् । उनी विभिन्न प्रवृत्तिका कार्यक्रमहरू डिजाइन गर्दै सामुदायिक विद्यालय र नेतृत्व प्रशिक्षण कार्यशालाहरू, जसले आधुनिक शिक्षा प्रणालीलाई प्रवर्द्धन गर्दै युवा सशक्तिकरणको लागि नयाँ दृष्टिकोण ल्याउनको लागि काम गर्दैछन् । डा. लम्सालको उपलब्धि समर्पण, सृजनशीलता र उत्कृष्टताको प्रेरणादायी प्रतीक बन्न पुगेको छ ।
प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै
काठमाडौंं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘झिल्को द स्पार्क’ आजदेखि देशभर प्रदर्शनमा आउँदैछ । बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक र नीतिनिर्मातालाई पनि सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ । यसअघि काठमाडौंको आईएनआई सिनेमा, एनबी सेन्टरमा आयोजित भव्य प्रिमियर समारोहमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्य रहेको थियो । उनले चलचित्रले उठाएको विषय सामाजिक दृष्टिले अत्यन्तै सान्दर्भिक रहेको बताउँदै ‘झिल्को’ जस्ता फिल्म बालबालिकाको मनोविज्ञान बुझ्न आवश्यक रहेको धारणा राखेकी थिइन् । फिल्ममा सुनिल पोख्रेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, आयुषी ढकाल, जेभिन जेभिस र जान्वी बस्नेतको अभिनय देख्न सकिन्छ । विशेषगरी आयुषी ढकालले निर्वाह गरेको बाल पात्रको भूमिकालाई दर्शकले अत्यन्त मन पराएका छन् । ‘मिडिया फर कल्चर प्रालि’ को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्देशन यादवकुमार भट्टराईले गरेका हुन् । कथा तथा पटकथा उनले अरुण देव जोशी र देव व्रतसँग सहकार्यमा तयार पारेका हुन् । निर्माण टिममा कार्यकारी निर्माता उमेश पौडेल तथा निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड मिक्सिङ श्याम कुँवर र उत्तम न्यौपानेले गरेका छन् ।
मण्डला थियटरमा ‘कथा-एक’ नाटकमार्फत सम्बन्धका विविध आयामहरूको खोज
काठमाडौं । कथा-एक, मानवीय सम्बन्धका जटिलताहरूमा आधारित नाटक हाल काठमाडौंको मण्डला थियटरमा मञ्चन भइरहेको छ । नवनिर्देशक अनुप न्यौपानेको निर्देशनमा तयार पारिएको यस नाटकले एक जोडीको सम्बन्धमा आउने अन्यौल, त्याग, सम्झौता र बोधको भावनात्मक यात्रालाई चित्रण गरेको छ । अनुप न्यौपाने र प्रेम शिलवाल विश्वकर्माले संयुक्त रूपमा लेखेको र दुबैको लेखनमा डेब्यू रहेको कथा-एक ले घनिष्ठ सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गर्छ । यस नाटकका सहनिर्देशक मिलन कार्की हुन् । नाटकमा बेदना राई, प्रेम शिलवाल विश्वकर्मा, मिलन कार्की, संयोग गुरागाईं, सनम श्रेष्ठ, क्रिस्टिना बस्नेत र अजय कार्कीले अभिनय गरेका छन् । साथै नाटकमा सागर खाती कामी र पुरण दियालीले प्रत्यक्ष संगीत प्रस्तुत गरेका छन् भने सुमित्रा पेहिम प्रकाश व्यवस्थापन सम्हालेकी छन् । नाटक वैशाख २८ सम्म प्रत्येक दिन (सोमबार बाहेक) बेलुकी ६ः३० बजे मञ्चन हुनेछ । हरेक शुक्रबार र आइतबार दिउँसो ४ः०० बजे तथा शनिबार दिउँसो ३ः०० बजे अतिरिक्त शोहरू हुनेछन् ।