कोरिया जान चाहनेको संख्या बढ्यो, भाषा परीक्षाका लागि ८१ हजारको आवेदन
काठमाडौँ । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि बुधबार अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ५५ हजार ९९७ र कृषि क्षेत्रतर्फ २५ हजार ८० जनाले आवेदन फारम भरेका इपिएस कोरिया शाखाले जनाएको छ । यही चैत १७ गते राति १२ बजेसम्म आवेदन फारम भर्न सकिने छ । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । त्यस्तै, सन् १०१७ मा ६८ हजार ३८३ र सन् २०१६ मा ६० हजार ६२६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएका छन् । दक्षिण कोरियाले सन् २०२० का लागि उत्पादनमूलक क्षेत्रका लागि सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने घोषणा गरेको छ । सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद खनाल सुरक्षित रोजगारी, आकर्षक सेवा सुविधा, काम गर्ने समयावधिको सुनिश्चितालगायत कारणबाट नेपाली युवाको कोरिया मोह बढेको हुनसक्ने बताउँछन् । उनका अनुसार इपिएस अन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महिनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै, सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५÷२५ गरी ५० मिनेटको परीक्षा हुनेछ । भाषा परीक्षा उतीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउने छन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ । भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ ।
नेपाल वायुसेवा निगमले ५० पाइलट माग गर्दा २६ जनाको मात्रै आवेदन
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना मा गरेकोमा २६ जनाको मात्रै आवेदन परेको छ । निगमले क्याप्टेन, जुनियर क्याप्टेन, सिनियर को पाइलट र जुनियर को–पाइलट फागुन १० गते विज्ञापन खुलाएको थियो । आवदेनको अन्तिम मितिसम्ममा मागको ५२ प्रतिशत मात्रै आवेदन परेको निगमले जानकारी दिएको छ । निगममा भन्दा निजी एअरलान्स कम्पनीमा राम्रो सुविधा पाइने भएकाले आवेदन कम परेको हुन सक्ने अनुमान गरिएको छ । निगम सहप्रवक्ता नवराज कोइरालाका अनुसार निगमले १३ जना सिनियर क्याप्टेन माग गरेको थियो । यो पदमा मागको तुलनामा अत्यन्तै कम संख्याले मात्रै आवेदन दिएका छन् । माग १३ जना गरिए पनि आवदेन एक जनाले मात्रै दिएको कोइरालाले जानकारी दिए । आजको नागरिक दैनिकमा समाचार छ ।
रोजगार संयोजकः २६८ रिक्त, १० हजारको आवेदन
काठमाडौँ । रिक्त २६८ रोजगार संयोजकका लागि नौ हजार ८७४ दर्खास्त परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो । आज अपराह्न ५ बजेसम्म प्रदेश नं १ बाट दुई हजार २५९, प्रदेश नं २ बाट एक हजार ४२२, प्रदेश नं ३ बाट दुई हजार १२०, गण्डकी प्रदेशबाट ६३२, कर्णाली प्रदेशबाट एक हजार ८९७ र सुदूरपश्चिमबाट एक हजार ५४४ जनाको दर्खास्त परेको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ । श्रम मन्त्रालयले १० दिनभित्र प्राप्त दर्खास्तमध्येबाट स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पद सङ्ख्याको तीनगुणा बराबर आवेदकको योग्यताक्रमको प्रारम्भिक सूची प्रकाशन गरिने जनाएको छ । प्रारम्भिक छनोटमा परेको व्यक्तिबाट कम्प्युटर प्रणालीबाट परीक्षा लिइनेछ । परीक्षा उत्तीर्ण हुने रोजगार संयोजकले स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रबाट बेरोजगार व्यक्तिको सूची सङ्कलन गरी उनीहरुलाई रोजगारीको अवसरसँग जोड्ने छन् ।