११ महिनादेखि बन्द मलेसियाको श्रम स्वीकृति सुरु

काठमाडौँ । मलेसियाको ‘कलिङ भिसा’ आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आइसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहचलस्थित श्रम रोजगार कार्यालयले सोमबार दुई र मङ्गलबार १७ जना गरी १९ जनालाई अन्तिम श्रम स्वीकृति दिएको जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही चैत १७ गतेदेखि मलेसियाको कलिङ भिसा आएका व्यक्तिका लागि श्रम स्वीकृति दिने गरी खुला गरेको थियो । यसका लागि कलिङ भिसा आएकाको नेपालस्थित मलेसियाली दूतावासबाट राहदानीमा छाप हान्नुपर्ने भएकाले हिजो सोमबार अबेरबाट मात्रै कलिङ भिसा आएकाले श्रम स्वीकृतिका लागि आउन थालेको ताहचलस्थित श्रम कार्यालयका प्रमुख तेजेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार झण्डै ११ महिनादेखि बन्द मलेसियाको रोजगारी सोमबारदेखि श्रम स्वीकृति खुलेको हो । पहिलो चरणमा कलिङ भिसा आएकाको श्रम स्वीकृति दिन थालिएको हो । मलेसियाका रोजगारदाताबाट दुई महिनाअघि कलिङ भिसा पठाएकालाई विभागले भिसा दिन श्रम कार्यालय ताहचललाई पत्राचार गरेको छ । विभागले मलेसियन दूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी सङ्घलाई जिम्मा दिएको छ । सङ्घले अन्तिम श्रम स्वीकृति लिनुपर्ने व्यवसायीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । मलेसियाले स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड पठाएपछि झण्डै ११ महिनादेखि बन्द मलेसियाको रोजगारी खुल्न लागेको छ । सङ्घका अनुसार झण्डै सात हजार जना कलिङ भिसा लिएर अन्तिम श्रम स्वीकृतिको पर्खाइमा छन् । कलिङ भिसा लागेकाले अन्तिम श्रम स्वीकृति पाउने भए पनि नयाँका लागि भने मलेसियाको रोजगारी खुल्न अझै केही दिन लाग्ने बताइएको छ । श्रम सहसचिव रामप्रसाद घिमिरेले कलिङ भिसा आएकालाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन सुरु गरेको र नयाँका लागि पनि प्रक्रिया सुरु भएको जानकारी दिए । श्रम मन्त्री गोकर्णराज विष्टले मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा हुँदै आएको आर्थिक शोषण अन्त्य गर्न गत जेठ २ गते कठोर निर्णय गरेका थिए । मन्त्री विष्ट आफ्नो निर्णयमा अडिग रहेर मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारबाही गरेपछि गएको मलेसियाको रोजगारी बन्द भएको थियो । त्यसयता नेपाली युवा मलेसिया जान पाएका थिएनन् । गत कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन । मलेसियाले स्वास्थ्य परीक्षण मापदण्ड पठाएसँगै मलेसिया जान चाहने नेपाली श्रमिकका लागि रोजगारी खुल्ने भएको छ । आजको गोरखापत्र दैनिकमा समचार छ ।

राष्ट्रिय बाणिज्य बैंकले ६६१ जना कर्मचारी माग्यो, बैशाख १२ गतेसम्म आवदेन दिन सकिने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतियोगिताद्वारा ६६१ जना कर्मचारी स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले शुक्रबार पदपूर्ति सम्बन्धी दरखास्त फारम भर्न सूचना प्रकाशित गरेको छ । वरिष्ठ प्रबन्धक देखि सहायक स्तरसम्मको पदपूर्ति गर्ने बैंकले जनाएको छ । नवौं तहको बरिष्ठ प्रबन्धक २ जना, आठौँ तहको प्रबन्धक ७ जना, सातौ तहको उपप्रबन्धक ११ जना, छैठाँै तहको सहायक प्रबन्धक १४२ जना, पाँचौँ तहको वरिष्ठ सहायक(प्रशासन) १०५ जना, वरिष्ठ सहायक(कानून) १० जना, वरिष्ठ सहायक(नगद) ३२ जना, वरिष्ठ सहायक (सूचना प्रविधि) ४३, चौथो तहको सहायक(प्रशासन) २३९ र सहायक(नगद) ७० जना कर्मचारी माग गरिएको हो । बरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक र सहायक प्रबन्धक पदको आवेदन दिनका लागि स्नातकोत्तर उत्तीर्ण हुनु पर्नेछ । त्यसैगरी बरिष्ठ सहायकको लागि स्नातक र सहायक पदका लागि प्लस टु उत्तीण गरेको हुनु पर्नेछ । आवेदकले बैशाख १२ गतेसम्म आवदेन दिन सक्नेछन्, यो अवधिमा आवेदन नदिए दोब्बर दस्तुर तिरेर बैशाख १९ गतेसम्म आवदेन दिन सकिने बैंकले जनाएको छ । अनलाइनबाट फारम भर्न सकिने जनाइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले तानेन युवा, विदेश मोह बढ्यो

काठमाडौं । चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधामन्त्री रोजगारी कार्यक्रमको सुरु गर्यो । उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक पटक सोच्नेछन् । किनकि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले समेत उक्त कार्यक्रमका उद्घाटन सत्रमा नयाँ युगको सुरुवात भएको घोषण गरेका थिए । अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गरेको बजेट भाषणमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्वदेशमा रोजगारी सिर्जना गर्त तीन अर्ब १० करोड रुपैयाँ विनियोजन पनि गरिएको छ । अर्को आर्थिक वर्षको बजेट भाषण आउन करिब दुई महिना बाँकी रहँदा स्वदेशमा कति रोजगार सिर्जना भए भन्ने यकिन हुन नसके पनि युवाको विदेश मोह भने बढेको पाइएको छ । युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना हुन अपेक्षा गरिएको बेला कोरिया जान हालसम्मकै ठुलो संख्याले फारम भरेका छन् । सरकारले युवालाई स्वेदशमा रोजगारी उपलब्ध गराउने बताइरहेको बेला युवाको मोह वैदेशिक रोजगारीमा बढ्दा अब गम्भीर रुपमा सोच्ने पर्ने बेला आएको विज्ञहरुको ठहर छ । ‘रोजगारका लागि कोरिया जान जसरी ठूलो संख्यामा युवाको चासो देखियो, समधानका लागि सरकारले ठूलै हस्तक्षेप गर्नुपर्ने देखिन्छ,’ श्रमविज्ञ केशव बस्यालले भने । आजको नागरिक दैनिकमा समाचार छ ।