समायोजन रोजेका कर्मचारी खटाइँदै, २१ दिन भित्र कार्यालयमा पुग्नु पर्ने
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई समायोजनपत्र दिई सङ्घ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको छ । अहिलेसम्म समायोजन रोजेका करीब ४८ हजारलाई पत्र दिई खटाउने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । “समायोजन रोजेकालाई पत्र दिई खटाउने कार्य भइरहेको छ”, उनले भने, “समायोजनपत्र लिएका कर्मचारी ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार २१ दिनभित्र आफू समायोजन भएको कार्यालयम पुग्नुपर्ने छ । कर्मचारी समायोजन नहुँदा प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव भएको गुनासो आइरहेको छ ।” करीब ८७ कर्मचारीमध्ये कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए । समायोजन रोजेकालाई विस्तारै तीनै तहमा पठाइने प्रवक्ता अधिकारीको भनाइ थियो । यसअघि सरकारले सबै सचिव र २१५ सहसचिवलाई पदस्थापना गरिसकेको छ । मन्त्रालयले यही फागुन ३ गते समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको र प्राविधिकतर्फका कर्मचारीको समायोजन बाँकी रहेको उनले बताए । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।
कालिकोटको रास्कोट नगरमा श्रम बैंक, ५० वर्ष पुगेपछि पेन्सनसहित अवकाश
कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले मानवीय श्रम रोजगार बैंकको अवधारणा ल्याएको छ । ‘युवाको सान श्रमको सम्मान, नगर निर्माणको पहिचान’ भन्ने नाराका साथ नगरपालिकामा श्रम रोजगार बैंकको स्थापनासँगै औपचारिक रुपमा बुधबार उद्घाटन गरिएको छ । नगरपालिकामा वेरोजगार युवाहरुलाई रोजगार दिन आयोजित एक कार्यक्रमका बिच श्रम रोजगार बैंकको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालले नगरपालिकाबाट कामकै लागि भारत र खाँडी जाने दिनको अन्त्य गर्ने उद्देश्यसहित कार्यक्रम ल्याएको बताए । उनले युवा शक्ति विदेश पलायनले नकारात्मक प्रभाव परेको बताउँदै त्यसको अन्त्य गर्ने बताए । प्रमुख बरालले भने, “नगरपालिकाको बिकासको लागि आजकै दिनबाट दुई सय ६० जनालाई औपारिक रुपमा श्रममा लाग्नेछन् ।” स्थानीय तहको निर्वाचनभएको झण्डै दुई वर्ष पुग्नैलाग्दा नगरपालिकाको विकाशसँगै बेरोजगार युवाहरुलाई रोजगार दिन र नगरपालिकालाई समृद्धिको यात्रामा लैजान श्रम बैकको स्थापना गरिएको बरालले बताए । सुरुवातमा दुई सय ६० जनालाई १३ समूहमा विभाजन गरी काममा लगाउने कार्यविधि नगरपालिकाले बनाएको छ । प्रमुख बरालका अनुसार यो संख्यमा बिस्तारै सख्या बृद्धी गर्दै तीनहजार बनाउने लक्ष्य छ । “युवाहरुको समूहले नगरपालिकाभित्र जहाँ काम छ, त्यहाँ गएर काम गर्छन् । श्रम बैकमा रहेका युवाहरु ५० वर्ष पुगेको बेला प्यान्सेनसहित अवकास गर्ने कार्यबिधिमा उल्लेख गरिएको नगर प्रमुख बरालले जानकारी दिए । श्रम रोजगार बैकमा पुरुष–महिला दुबैको सहभागिता छ । नगरपालिकाभित्रको आय श्रोतमा निकै कमजोर मानियका घर परिवारका सदस्यले श्रम रोजगार बैकमा सहभागीता जनाएका छन् । बैकको अध्यक्षमा पदमवहादुर खड्कालाई जिम्मेवारी दिएको छ । यस्तै समुह व्यवस्थापकमा १२ जना खटिएका छन् । श्रम रोजगार बैकमा भाग लिने युवा तथा युवतीको छनोट प्रत्येक वडाबाट सिफारिस भइआएको आवेदक सदस्यहरुबाट छनोट गरिएको नगरपालिकाले जनाएको छ । धेरै जनसंख्या भएका वडाले ३२ जनासम्म छनोट गरेका छन् । नगरका वडा नं १ देखि ९ सम्म बढीमा ३२ र कम्तीमा २१ ज्ना छनोट गरेर श्रम रोजगार बैकमा समावेस गरिएको छ । श्रम रोजगार बैकमा भाग लिने युवाहरुको उमेर १८ वर्ष पुगेका र ४० वर्ष ननाघेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । उनिहरुले नगरका निर्माण,उत्पादन,सामाजिक विकृती, विपद व्यवस्थापन र सामाजिक सुरक्षाका बिभिन्न काममा भाग लिनेछन् । कुराकानीको क्रममा नगर प्रमुख बरालले साधारण लेखपढदेखि उच्च शिक्षा पढेका युवायुवतीलाई कामको सुनिश्चितता गरेर ५० वर्ष पुगेपछि अवकाश हुने गरी १० प्रतिशत रकम बचत गर्न लगाएर थप एक सय प्रतिशत नगरपालिकाले सहयोग गर्ने गरी कार्यविधि तयार पारिएको बताए । श्रम बैंकले काम दिने र मूल्यांकन पनि गर्ने र सोही आधारमा काम दिने कार्यविधिमा बनाइएको बरालले बताए । उनीहरुको श्रमको ज्याला बैंक खातामार्फत भुक्तानी गरिने बरालले बताए । श्रम बैंकमा काम गर्ने हरेक सदस्यको १० लाखको दुर्घटना बिमा नगरपालिकाले गर्ने र बिमाको प्रिमियम पनि नगरबाट भुक्तानी हुने छ । कुराकानीको क्रममा प्रमुख बरालले समाजवादी मोडेलको पहिलो खुट्किलो भएको बताए । उनले समाजवाद मुखले भनेर मात्रै हुँदैन अब योजनामा व्यक्त गर्नुपर्छ । “यो समाजवादी मोडेलको पहिलो खुड्किलो हो । यसलाई अझ परिस्कृत गर्दै लिन्छौं” बरालले भने । त्यसैगरी उपप्रमुख मिमसरा बमले श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्रै रोजगारी प्रदान गर्ने लक्ष्य लिएर श्रम रोजगार बैंकको स्थापना गरिएको बताइन् । पहिलो चरणमा नगरपालिकाभित्रका दुई सय साठी जना युवा तथा युवतीलाई श्रम बैंकमार्फत पहिलोपटक रोजगारी दिइएको छ । घोषणा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का नेता जगतबहादुर शाहीले यो ब्यवस्थापनमा सबैलाई सहयोग गर्न आग्रह गरे । समाजिक बिकास समितिका संयोजक दयाराम सिम्खाडाले गरिब परिवारमा जन्मेर बेरोजगार युवाहरुको मनोभावनालाई मध्यनजर गरी नगरपालिकाले श्रम बेंकको अवधारणा ल्याएको बताए । चुनावदेखि अहिलेसम्म जनप्रतिनिधिले समाजवादको नारा लगाएपनि रास्कोट नगरपालिकाले कार्यक्रम सुरु गरेको छ । मानवीय श्रम बैंकको अवधारणा लागु गर्ने रास्कोट नगरपालिका पहिलो नै हो । यो तत्कालिन माओवादीले जनयुद्धको क्रममा छलफलमा ल्याएको थियो ।
३ सय ६० जनाले पूरा गरे इञ्जिनियरिङको पढाई, कलेजले गर्यो बिदाई
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले कलेजमा इन्जिनियरिङ अध्ययन पूरा गरेका तीन सय ६० जना विद्यार्थीलाई राजधानीमा एक कार्यक्रम गरी विदाई गरेको छ । कलेजमा सिभिल, आर्किटेक्चर, कम्प्युटर, इलेक्टिकल, इलेक्टोनिक्समा पढाई पूरा गरेका विद्यार्थीको विदाई गरेको हो । कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष प्रा. दीपक भटराईले कलेजका अध्ययन पूरा गरेर कलेजले विदाई गर्नु भनेको समुद्रमा पौडन सक्ने गरी छोडनु जस्तै भएको बताए । विशाल समुद्रमा अव तपाईँहरुले समुद्रका अन्य जीवजन्तुसँंग संघर्ष गरेर अगाडि वढ्नुपर्छ, उनले भने, जुन संघर्ष कक्षाकोठाको संघर्ष भन्दा अझ वढी चुनौतीपूर्ण हुन्छ । कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले पढाईका साथै व्यवहार पनि उतिकै राम्रो हुनुपर्ने खाँंचो औंल्याए । नलेज इज समथिंग, आटिट्युट इज मोर थिंग (ज्ञान केही हो, व्यवहार धेरै ठूलो कुरा हों) उनले भने । कलेजका उपप्राचार्य दीपक धामीले एसईई, प्लस टु, स्नातक, स्नातकोतर तह जति चुनौतीपूर्ण छ त्यो भन्दा वढी चुनौतीपूर्ण जीवन संघर्ष भएको बताए । सम्वन्धित विभाग (सिभिल, आर्किटेक्चर, कम्प्युटर, इलेक्टिकल, इलेक्टोनिक्स)को संयुक्त आयोजनामा भएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । साथै विषयगत रुपमा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो ।