कोरोना असरः एयर फ्रान्सले ७ हजार ५ सय कामदार हटाउने

पेरिस । कोरोना भाइरसका कारण हवाई उड्डयनका क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत ७ हजार ५ सय कामदार हटाउने निर्णय गरेको छ । तर एयर फ्रान्सको मुख्यालयमा ट्रेड युनियनले कम्पनीको घोषणाको विरोधमा प्रदर्शन गरेका छन् । कम्पनी र युनियनका प्रतिनिधिबीच एयर फ्रान्सको प्रस्तावका विषयमा वार्ता पनि शुरु भएको छ । फ्रान्स सरकारले गत मे महिनामा ल्याएको आर्थिक सहायता कार्यक्रमबाट एयर फ्रान्सले करिब ८ अर्ब डलर सरकारी कोष प्राप्त गरे पनि मजदूर निकाल्ने निर्णयमा पुगेको भन्दै मजदूर युनियन आक्रोशित भएका हुन् । मजदूर युनियनले एयर फ्रान्सको निर्णयले फ्रान्सेली अर्थतन्त्रमै असर पार्ने चेतावनी दिएका छन् । सरकारी सहायता रकमबाट कम्पनीमा सुधार गर्नुपर्नेमा उल्टै मानिसलाई बेरोजगार बनाएको युनियनका नेताहरुको गुनासो छ । एयर फ्रान्सका प्रतिनिधिसँग पहिलो चरणको वार्तापछि कम्पनी व्यवस्थापनले एयर फ्रान्सबाट ६ हजार ५ सयदेखि ४१ हजार कर्मचारी, कामदार हटाउने तथा एयर फ्रान्सको सहायक कम्पनी हपले १ हजारदेखि २ हजार ४ सय मजदूर सन् २०२२ सम्ममा हटाउने घोषणा गरेको थियो । एक अनुमान अनुसार विश्वभर यस वर्ष एयरलाइन्सहरुले करिब ८४ अर्ब डलर नोक्सानी व्यहोर्ने छन् । एयरलाइन्सको आम्दानीमा झण्डै आधा घट्ने छ । केही विमान कम्पनी बन्द हुनेक्रममा रहेका छन् । अधिकारीहरुले विश्वको एयरलाइन्स व्यवसायलाई बचाउन वा लयमा फर्किन केही वर्ष लाग्ने बताएका छन् । कोरोनाभाइरसका कारण एयर फ्रान्सले आफ्ना उडानमा विगत तीन महिनाभित्र करिब ९५ प्रतिशतले कमी आएको जनाएको छ । कम्पनीले प्रति दिन १ करोड ५० लाख युरो गुमाउनु परेको छ । सरकारले उपलब्ध गराएको वित्तीय सहायता ऋण र ऋणको प्रत्याभूतिका रुपमा दिइएको छ । उड्डयन क्षेत्रमा फ्रान्स सरकारले करिब १५ अर्ब युरोको आर्थिक सहयोगको व्यवस्था गरेको छ । फ्रान्समै रहेको युरोपेली बिमान निर्माता कम्पनी एयरबसले पनि शुक्रबार कम्पनी बचाउन करिब १५ हजार कामदार, कर्मचारी हटाउने घोषणा गरिसकेको छ ।   रासस–एपी

विदेशमा अलपत्र परेकाको उद्धार जारी

काठमाडौं । दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि छवटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले चार्टर्ड उडान गरी उनीहरुलाई स्वदेश फर्काइरहेका हुन् । नेपाल एयरलाइन्सले दैनिक तीनदेखि चार र हिमालयले दैनिक दुईदेखि तीन उडान भर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यी उडानमा कहिलेकाहीँ गन्तव्य तथा उडान सङ्ख्यामा पनि तलमाथि हुने गरेको छ । दुवै एयरलाइन्सले जुलाई महिनामा हुने उडान तालिका बनाएर धमाधम चार्टर्ड उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले जुलाई ११ तारिखसम्मको उडान तालिका सार्वजनिक गरेको छ । यसैगरी हिमालयले जुलाई दुईदेखि १० सम्मको उद्धार उडान तालिका निर्धारण गरेको छ । नेपाल एयरलाइन्सले यसअघि जुन पहिलो सातादेखि महिनाभर विभिन्न मुलुकमा चार्टर्ड उडान गरी नेपालीलाई स्वदेश ल्याएको थियो । त्यस्तै हिमालयले जुन १६ देखि अन्तिमसम्म उद्धार उडान गरेको थियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जुलाई महिनाको १२ तारिखसम्म मात्रै उद्धार उडान हुने जानकारी दिए । यसपछि एक/दुई साता चार्टर्ड उडान नहुने उनले जानकारी दिए । उनका अनुसार जुन महिनामा छुटेकासहित उद्धार उडान जुलाईको ११ देखि १२ तारिखसम्म हुनेछ । यसपछि दुई साता उडान हुनेछैन । सरकारले निर्णय गरेमा थप उडान हुनसक्ने जनाइएको छ । नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले निगमको पूर्वनिर्धारित तालिकाअनुसार दैनिक तीनदेखि चार उडान भइरहेको जानकारी दिए । पछिल्लो पटक निगमको एक वाइड बडी जहाज ग्राउन्डेड भएकाले अहिले दैनिक सरदर तीन उडान भइरहेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारोबडी जहाज छन् । हिमालयसँग तीन न्यारो बडी जहाज छन् । पर्यटन मन्त्रालयले जुलाई महिनामा विभिन्न मुलुकबाट गरिने उद्धार उडानका लागि नेपाल एयरलाइन्सलाई तीन र हिमालयलाई दुई उडान अनुमति दिएको छ । अन्य विदेशी एयरलाइन्सले पनि नेपालीको उद्धार उडानका लागि अनुमति पाएका छन् । हिमालयले औसतमा दैनिक दुईदेखि तीन चार्टर्ड उडान गरिरहेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । अहिलेलाई पूर्वनिर्धारित तालिकामा उडान भर्ने र थप उडानका लागि सरकारले निर्णय गरेमा उडानका लागि तयारी अवस्थामा रहेको उनले बताए । उनले यात्रु चार्टर्ड र केही कार्गो उडानबाहेक अहिलेलाई कुनै योजना नभएको जानकारी दिए । एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरी चार्टर्ड उडान गरिरहेको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् । यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक नौदेखि १६ वटा चार्टर्ड उडान हुँदै आएका छन् । असार महिनामा धेरै सङ्ख्यामा उडान भएको विमानस्थलको विवरण छ । यही असार १२ गते एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो । यसअघि असार १० र ११ मा दैनिक १५ उडान भए । शनिबार र आइतबार दैनिक ११ उडान भएको विमानस्थलले जनाएको छ । सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सरकारद्वारा गठित कोभिड–१९ सङ्क्रमण व्यवस्थापन सेन्टर (सिसिएमसी) को निर्णयअनुरुप पहिलो चरणमा २५ हजार नेपालीलाई स्वदेश फर्काइने जनाइएको छ । १६ हजारभन्दा बढी फर्किए विभिन्न मुलुकबाट भइरहेका उद्धार उडानमार्फत १६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को विवरणअनुसार यही असार १८ गतेसम्म विभिन्न मुलुकबाट १६ हजार २ सय ९४ यात्रु फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै कुवेतबाट ३ हजार ५ सय २७, युएईबाट २ हजार ७ सय ३७, साउदी अरेबियाबाट २ हजार २, कतारबाट १ हजार ८ सय १७ र मलेसियाबाट १ हजार ५ सय ३७ स्वदेश फर्किएका छन् । प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका ५ हजार ३ सय ५८, प्रदेश नं १ का ३ हजार ८९, प्रदेश नं ५ का २ हजार ५ सय ८१, प्रदेश नं २ का २ हजार ४ सय ९८, गण्डकी प्रदेशका २ हजार २१, कर्णाली प्रदेशका ३ सय ९४ र सुदूरपश्चिम प्रदेशका ३ सय ५३ स्वदेश फर्किएका छन् ।  रासस

खर्च कम गर्न बैंकहरूले थाले उपाय, शाखा मर्जदेखि कर्मचारी कटौतिसम्मको प्रयास

काठमाडौं । कोभिड–१९ को असर लामो समय देखिने आकलनसहित बैंकहरुले खर्च कटौतिलाई जोड दिन लागेका छन् । बैंकहरुले एक्लाएक्लै खर्च कटौतिको प्रयास गर्दा चौतर्फि आलोचना हुन थालेपछि सामूहिक रुपमा नै खर्च कटौतिको प्रयास थालेका छन् । नेपाल बैंकर्स संघले कोभिड–१९ का कारण परेको असर र खर्च कटौतिको उपायबारे सामूहिक धारणा बनाउन एउटा कमिटि बनाएर नै काम थालेको छ । संघको उपाध्यक्ष तथा नेपाल एसविआई बैंकको प्रबन्ध सञ्चालक अनूकल भट्नाकरको संयोजकत्वमा गठित समितिले यसै साता संघमा आफ्नो प्रतिवदेन बुझाउँदैछ । चैत मसान्तमा उठ्नु पर्ने कर्जाको ४५ प्रतिशत मात्र किस्ता उठेको र असार मसान्तमा पनि कर्जा उठ्ने झन् कम देखिएको भन्दै बैंकर्सहरु बढी नै चिन्तित देखिएका छन् । खर्च घटाउने बैंकर्सहरुले कर्मचारी कटौति गर्नेदेखि एटीएम तथा शाखा मर्जसम्मको अभ्यास थालेको जानकारी राष्ट्र बैंकमा आएको राष्ट्र बैंकको कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । ‘३/४ वटा बैंकले विभिन्न समस्या देखाउँदै शाखा मर्जको प्रस्ताव ल्याएका छन् । कोही मौखिक रुपमा सोध्न आएका छन्, कोही लिखित रुपमा आएका छन्, राष्ट्र बैंकको स्वीकृतविना कुनै पनि शाखा गाभ्न वा बन्द गर्न पाइदैन । हामीले स्वीकृत दिएका पनि छैनौं,’ उनले भने । पछिल्लो समय कारोबार कम भएको, शाखामा सेवाग्राही नआएको, राष्ट्र बैंकले खोल्नै पर्छ भनेर खोलिएका शाखाहरुमा लामो समयसम्म नोक्सानमा गएको लगायतको समस्या लिएर बैंकहरु राष्ट्र बैंकमा शाखा बन्द वा मर्जको लागि लबिङ गरिरहेको बताइएको छ । बैंकहरुले खर्च कटौतिको प्रयास स्वारुप निक्षेपको व्याज सरदर ३ प्रतिशतले घटाइसकेका छन् । मुद्दतिको व्याजदर १० प्रतिशतबाट करिव ८ प्रतिशतमा झारिएको छ भने बचतको व्याजदर सरदर ७ प्रतिशतबाट ४ प्रतिशतमा झारेका छन् । त्यस्तै, कर्मचारी खर्च कटौतिमा पनि बैंकहरुले विभिन्न प्रयास थालेका छन् । धेरै बैंकहरुले प्रोत्साहन स्वरुप दिइने केही भत्ताहरु कटौति गरेका छन् भने केही बैंकहरुले कर्मचारी कटौति गरेका छन् । करार नविकरण नभएको भन्दै केही कर्मचारीले राष्ट्र बैंकमा गुनासो गरेको गुनासो सुनुवाई इकाइको जिम्मेवारी समेत हेरिरहेका ढकालले बताए । ‘हामीले कर्मचारी नहटाउनुहोस् भनेका छौं तर कर्मचारी र बैंकबीच भएको करारमा राष्ट्र बैंकले हस्तक्षेप गर्नु स्वभाविक हुन्न,’ उनले भने । बैंकहरुले नयाँ कर्मचारी लिँदा शुरुमा ३ महिना वा ६ महिना करारमा राख्ने गरेका छन् । त्यस्तै केही प्राविधिक कामका लागि करारमा कर्मचारी राख्ने गरेको छन् । केही कामदार व्यवस्थापन कम्पनीबाट आउटसोर्स गरिएका हुन्छन् । केही कर्मचारी लामो समय अस्थायी रुपमा काम गर्दै आएका हुन्छन् । यस्ता कर्मचारीहरुको जागिर यतिबेला जोखिममा परेका जानकारहरु बताउँछन् । सकेसम्म कर्मचारी कटौति नगर्ने बैंकर्सहरुको प्रयास भएका नेपाल बैंकर्स संघको अध्यक्ष भुवन दाहाल बताउँछन् । ‘कर्मचारी कटौतिबाट एउटा बैंकले वर्षमा बढीमा ५र७ करोड बचत होला, त्यति रकमका लागि कर्मचारी कटौति नगरौं भन्ने संघको धारणा हो, खास समय अवधिको लागि लिइएका कर्मचारीको करार नविकरण नहुनुलाई ठूलो समस्याको रुपमा लिनु भएन,’ उनले भने । एउटै सपिङ महलमा ३/४ वटा बैंकको एटीएम भएको अवस्थामा एउटा मात्र राख्ने, एउटै इलाकामा धेरै शाखा छन् भने आपसमा शाखा मर्ज गर्न सकिन्छ कि भन्ने लाईनमा छलफल भईरहेको तर शाखा बन्द गर्ने कुरा नभएको उनले बताए । आम्दानी घट्दा खर्च कटौतिको प्रयास हुनुलाई व्यवस्थापनको स्वभाविक अभ्यासको रुपमा लिनुपर्ने जानकारहरु बताउँछन् । यसमा राष्ट्र बैंक पनि सकारात्मक हुनुपर्ने व्यवस्थापन विज्ञहरु बताउँछन् ।