वैदेशिक रोजगार सम्बन्धि ठगीको मुद्दा अब प्रहरी कार्यालयमा उजुरी दिन पाइने
काठमाडौं । वैदेशिक रोजगार सम्बन्धि आएका मुद्दालाई आगामी दिनमा प्रहरी कार्यालयमा उजुरी दिन पाइने भएको छ । वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीचको सहकार्यमा अब ठगीका उजुरीहरु प्रहरी कार्यालयबाट दिन मिल्ने व्यवस्था लागू भएको हो । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषण रहित वनाउन तथा वैदेशिक रोजगारको नाममा हुन सक्ने मानव वेचविखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न, त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापना गर्न विभाग र नेपाल प्रहरीवीच समझदारी गरेको जानकारी दिएको छ । वैदेशिक रोजगार विभाग र प्रहरीबीच भएको सम्झौतापत्रमा वैदेशिक रोजगारको क्रममा हुने मानव वेचविखन निवारणका तथा आफ्ना क्षेत्राधिकारका विषयहरु सुक्ष्म रुपमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न एक अर्कालाई सहयोग पुर्यारउने तथा एकापसमा सहकार्य गर्ने भएको छ । वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट वैदेशिक रोजगार सम्बन्ध कार्य गर्ने वा वैदेशिक रोजगार सम्बन्धी ठगीमा संलग्न हुनेलाई कानूनको दायरामा ल्याउने छ । मानव वेचविखन सम्वन्धी मुद्दाका विषयमा नेपाल प्रहरीको अपराध अनुसन्धान विभागरमानव वेचविखन अनुसन्धान व्युरोको अनुसन्धान अधिकृतको सहयोग लिन सक्नेछ। श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिको संलग्नतामा वा कार्यालयका प्रतिनिधि उपलब्ध हुन नसकेको अवस्थामा विभागको सूचनाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको समेत प्रतिनिधित्व रहनेछ । यस क्षेत्रमा नेपाल प्रहरीले त्यस्ता व्यक्ति वा संस्थाहरूको क्रियाकलापहरूको निगरानी गर्ने, सूचना सङ्कलन गर्ने तथा अनुसन्धान गरी स्पष्ट रुपले वैदेशिक रोजगार विभागको क्षेत्राधिकारमा पर्ने भएमा कागजात सहित विभागमा पठाउने छ। आफ्नो क्षेत्राधिकारको अवस्थामा नेपाल प्रहरीले अनुसन्धान तहकिकात गर्दा विभागको सहयोग चाहिने अवस्थामा विभागले संयुक्त अनुसन्धान गर्ने गरी अधिकृत कर्मचारी तोकी पठाउने छ ।
बागलुङमा दुई औद्योगिक ग्राम बन्ने, २५ करोडसम्मको पूर्वाधार निर्माण गर्ने सरकारकाे याेजना
बागलुङ । स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँका दुई स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको हो । दुवै ठाउँमा गरिएको प्रारम्भिक सम्भाव्यता अध्ययनपछि सरकारले औद्योगिक ग्राम स्थापनाका लागि स्वीकृत प्रदान गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “अर्को साता सम्झौताका लागि उद्योग मन्त्रालयले बोलाएको छ”, उनले भने, “औद्योगिक ग्राम बन्ने निश्चित भयो, यही वर्ष काम शुभारम्भ गर्छौँ ।” सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको लगानी तथा समन्वयमा औद्योगिक ग्राम बन्नेछन् । स्थानीय तहको मागअनुसार प्रदेश सरकारले औद्योगिक ग्रामको स्वीकृतिका लागि सङ्घीय सरकारसँग सिफारिस गरेको थियो । औद्योगिक ग्रामका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाले वडा नं १३ कालाखोलामा जग्गा व्यवस्थापन गरेको छ । “झण्डै ८५ रोपनी सार्वजनिक जग्गा छ, अपुग भएमा किनेर भए पनि थप्छौँ”, नगरप्रमुख पौडेलले भने । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पहाडी क्षेत्रमा औद्योगिक पूर्वाधार निर्माणका लागि १०० रोपनी जग्गा आवश्यक पर्छ । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पुर्याउने विश्वास लिइएको छ । कृषि, पशुपालन, खनिज र वनजन्य उत्पादनका हिसाबले अग्रणी मानिने ताराखोला गाउँपालिकामा पनि औद्योगिक ग्राम बन्ने भएपछि गाउँले उत्साहित छन् । वडा नं १ अमरभूमि, भुस्कातमा औद्योगिक ग्रामका लागि जग्गा छनोट गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले बताइ । “विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढ्दैछ”, उनले भने, “यही वर्षदेखि पूर्वाधार निर्माणको काम अघि बढ्ने हाम्रो विश्वास छ ।” माटो परीक्षणलगायत आवश्यक प्राविधिक अध्ययनपछि जग्गा छनोट गरिएको थियो । गण्डकी प्रदेश सरकारले गत वर्ष नै औद्योगिक ग्रामका लागि जग्गा खोजी गर्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरेको थियो । अन्य स्थानीय तहले समयमै जग्गा व्यवस्थापन गर्न नसक्दा औद्योगिक ग्रामका लागि यो वर्ष छनोटमा पर्न नसकेका हुन् । सङ्घ र प्रदेश सरकार दुवैको नीति र कार्यक्रममा सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने उल्लेख छ । स्थानीय तहले जग्गाको जोहो गरेपछि सङ्घ र प्रदेश सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि लगानी गर्नेछन् । औद्योगिक ग्राममा खानेपानी, बिजुली, ढल निकास, घेराबार, प्रवेशद्वार, प्रदर्शनी, बिक्री र भण्डारणकक्षलगायत भौतिक पूर्वाधार निर्माण गरिनेछ । “झण्डै रु २० देखि २५ करोडसम्मको पूर्वाधार निर्माण हुने कुरा आएको छ”, ताराखोला गाउँपालिकाका अध्यक्ष घर्तीमगरले भने । मन्त्रालयसँग हुने सम्झौतापछि बजेट र लगानीबारे स्पष्टता आउने उनको भनाइ छ । निजी क्षेत्रलगायत अन्य सरोकार भएका पक्षसँगको समन्वय र सहकार्यमा औद्योगिक ग्राम सञ्चालनमा ल्याइने स्थानीय तहका पदाधिकारीले बताएका छन् । यो वर्ष बागलुङसँगै पर्वत, कास्की, स्याङ्जा, लमजुङ, गोरखा र तनहुँमा गरी ११ स्थानमा औद्योगिक ग्राम निर्माणको काम अगाडि बढाइएको छ । यस्तै गण्डकी प्रदेशअन्तर्गत नवलपुरको कावासोती र कास्कीको भोटेपोखरीमा औद्योगिक क्षेत्र निर्माणका लागि सङ्घीय सरकारले अनुमति दिएको छ । औद्यागिक ग्राममा साना तथा मझौला उद्योग रहनेछन् भने औद्योगिक क्षेत्रमा ठूलो लगानीका उद्योग स्थापना गरिनेछ । रासस
१ लाख लगानीबाट १६ करोडकाे सम्पत्ति जाेडिन् सबिताले, अब ‘कीर्तिपुर होजियरी’काे ब्राण्डिङ गर्ने
काठमाडाैं । सफल व्यवसायी बिलगेट्सले भनेका छन्- ‘ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ ।’ हो, यो भनाई काठमाडौं कीर्तिपुरकी सबिता महर्जनसँग पनि ठ्याक्कै मिल्छ । संघर्षका पाटा र बाटाहरु पृथक किसिमका हुन्छन् । तिनै पाटा र बाटाहरुलाई आत्मसाथ गरी आफ्नो कामलाई निरन्तरता दिए सफल बन्न सकिन्छ भन्ने यो भनाई सबिताको जीवनमा पनि लागू हुन्छ । २०३६ सालमा काठमाडौंको कीर्तिपुरमा जन्मिएकी सबिताका संघर्षका भित्रिपाटाहरु अनगिन्ती छन् । अहिले सबिता ४० वर्षकी भइन्। तर, उनमा आफ्नो कामप्रतिको लगाव झुकाव भने निरन्तर बढ्दै गइरहेको छ । कामप्रति जति लगाव झुकाव छ त्यति नै शालिनता, भद्रता छ सबितामा । उनी आफ्नै व्यापार व्यवसाय गरेर जति उदाहरणीय बनेकी छिन् , त्यति नै गाउँलेहरुलाई सहयोग गरी नाम कमाउन सफल भएकी छिन् । हाल उनी कीर्तिपुर नगरपालिकाको महिला उद्यमी समितिकी उपाध्यक्षको रुपमा काम गरिरहेकी छिन् । सबिता महर्जनको जीवनमा समस्या, चुनौती र अवरोधहरु आए । तर, ती समस्या र चुनौतीहरुलाई उनले एउटा अवसर र सिकाईका रुपमा लिँदै अगाडि बढ्दै गइन् । डेढ लाखमा होजियरी उद्योग समिता महर्जनले वि.सं २०६७ साल चैत महिनामा ‘कीर्तिपुर होजियरी इन्डस्ट्री’ शुरु गरिन् । त्यो समय सबिताको लागि निकै चुनौतिपूर्ण थियो । उनी भन्छिन् ‘म त्यो समय सम्झन पनि चाहँदैन, न घरपरिवारले साथ दिए, न बैंकले ऋण पत्यायो । तर, मैले आँट गरें र अहिले यो अवस्थामा पुगेँ ।’ उनले शुरुमा करिब डेढ लाख रुपैयाँ खर्च गरेर होजियरी उद्योग सञ्चालन गरिन् । अहिले उनले व्यवसाय गरेको पनि ९ वर्ष बितिसक्यो । हाल उनले त्यही व्यवसायबाट करौडौंको सम्पत्ति जोडेकी छिन् । मैले हालसम्म १६ करोड रुपैयाँ आम्दानी गरिसकेकी छु, गार्मेन्ट फ्याक्ट्रीमा ४० जना नियमित काम गर्ने कामदार छन्, घरमै बसेर बुनाइको काम गर्ने ३ सय जना छन्’ उनले भनिन् । भनिन्छ नि- ‘जो घोडा चढ्छ उही लड्छ ।’ हो, यस्तै सबिताले पनि आफ्नो जीवनमा धेरै हण्टर ठक्करहरु खाईन् । लामो समयको संघर्षपछि हाल उनी आफ्नो समाजमा एक सफल उद्यमीका रुपले चिनिएकी छिन् । उनी उद्योगमा उत्पादित सामाग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि पहल गरिरहेकी छिन् । उनी हाल विभिन्न ब्राण्डका कपडा उत्पादन गर्दै आएकी छन् । बजारमा चर्चित शेर्पा ब्राण्ड उनकै उद्योगबाट उत्पादित ब्राण्ड हो । आफ्नै ब्राण्ड बजारमा ल्याउनका लागि आर्थिक समस्याका कारण पछाडि परेकी सबितामा आजभोली एक किसिमको उत्साह थपिएको छ । कीर्तिपुर होजियरी ब्राण्ड ल्याउने योजनामा गायक भक्तराज आचार्यले आफ्नो गीतमार्फत भनेका छन्- ‘हजार सपनाहरुको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरी भएर आउँछ ।’ कति सन्देश दिन खोजेको छ यी हरफहरुमा । यस्तै, उद्यमी सबिता महर्जनसँग पनि धेरै सपना छन् । जसलाई उनी पुरा गरेरै छोड्ने प्रतिज्ञा गर्छिन् । सबिताको एउटा ठूलो सपना छ । त्यो सपना हो कीर्तिपुर होजियरीको ब्राण्ड बजारमा ल्याउने । उनी आफ्नै होजियरीको ब्राण्ड बजारमा स्थापित गर्ने सोचमा छिन् । हाल उनको उद्योगमा महिनाको कम्तिमा ५ हजार स्विटर उत्पादन हुन्छन् । धेरै युवाहरुलाई प्रत्यक्ष रोजगारी दिने उनको अर्को सपना छ । यसै होजियरीलाई ठूलो उद्योग बनाएर धेरै मानिसकाे माग अनुसारकाे ब्राण्ड नेपाली बजारमा ल्याउने उनकाे सपना छ । विभिन्न डिजाइनका कपडाको अर्डरअनुसार उत्पादन गर्दै आएको उक्त उद्योगमा हातले बुनेका सामानको माग बजारमा पनि बढ्दै गएको उनी बताउँछिन् । सिलाई बुनाइले फेरिएको जीवन सबिता महर्जन घरकी पहिलो सन्तानका रुपमा जन्मिएकी थिइन् । मध्यम परिवारमा जन्मेकी उनी सानैदेखि केही गर्नु, आफ्नै खुट्टामा उभिन सक्नुपर्छ भन्ने भावनाकी थिइन् । कीर्तिपुरकै जनसेवा माद्यामिक विद्यालयबाट वि.स २०५० सालमा एसएलसी दिएकी उनले सानै उमेर देखिनै सिलाई बुनाइको काम गर्ने गर्थिन् । कक्षा ७ मा पढ्दै उनले घरमा सिलाइ बुनाइको काम गर्ने गरेको सुनाइन् । ‘म सानैदेखि केही सीप सिक्नुपर्छ भन्ने मानसिकतामा थिएँ, त्यति बेलै गाउँघरका दिदीबहिनीहरुलाई सिलाइ बुनाइ सिकाउँथेँ ’ उनले भनिन् । महर्जनले यो क्षेत्रमा काम गरेको २५ वर्ष भयो । त्यो समयमा छोरीलाई पढाउनुहुन्न, राम्रो घरकेटालाई रोजेर विवाह गराइदिने चलन थियो, त्यतिबेला म आफ्नो लागि खर्च आफै जुटाउने हुँदा घरबाट विवाहको दबाब नआएको उनले बताइन् । एसएलसी पास गरेलगत्तै उनले घरेलु तथा साना उद्योगबाट दिईने तालिम लिइन् । उनी काम गर्दै सिक्दै गइन् । उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट दक्ष श्रमिकको सम्मानसहित पाइन् । यो सम्मानले पनि उनको जीवनका एउटा इँटा थपियो । उनको कामप्रति लगाव झुकाव बढ्दै गयो । कामसँगै उनले पढाईमा पनि निरन्तरता दिइन् । उनले पद्मकन्या क्याम्पसमा आईए अध्ययन शुरु गरिन् । पढाईसँगसँगै उनले कलंकीको एक निट वयरमा काम शुरु गरिन् । २०५७ सालमा स्नातक तहको अन्तिम वर्षको परीक्षा सकिएसँगै उनको विवाह पनि भयो । जतिखेर उनी २१ वर्षको थिइन् । उनको जीवन अब कीर्तिपुरकै विकास महर्जनसँग जोडियो । हरेक महिलाले आफ्नो श्रीमान आफ्नो काममा साथ दिओस् । आफूलाई सहयोग गरोस् भन्ने नै हुन्छ । सबिताले पनि त्यस्तै सोचेकी थिइन् । तर उनलाई परिवारबाट सहयाेग भएन । घर परिवारको सहयोग विना नै उनले आफ्नो सिलाई, बुनाईको काममा निरन्तरता दिइन् । आफ्नो काम सँगसँगै उनले सामाजिक काममा पनि हात हालिन् । समाजमा असाय मानिसहरुलाई सहयोग गर्ने, सीप सिकाउने काम पनि गरिन् । महिलाले घर तथा खेतीपाती र घरलाई व्यवस्थित बनाउने हो भन्ने गलत मानसिकता बोकेको समाजमा महिलालाई आफूले चाहे बमोजिकको कार्य क्षेत्रमा स्थापित गर्न असाध्यै गाह्रो हुने उनको भनाइ छ । आफ्नो कामका साथै लक्ष्य चुम्नका लागि उनी निरन्तर लागि रहिन् । महिलालाई हरेक क्षेत्रमा आफूलाई स्थापित गर्नका लागि धेरै चुनौतीको सामना गर्नुपर्ने अवस्था छ । सानो रकमका लागि कर्जा लिन बैंक जाँदा पनि उद्यमी महिलाको मात्र नभई सहायको हस्ताक्षरको खोजी बैंकिङ्ग क्षेत्रमा नै हुँदा एकल महिला उद्यमीलाई कर्जा लिनका लागि गाह्रो भईरहेको उनको भनाई छ । अझै पनि महिलाले केहि गर्न सक्दैनन् भन्ने मानसिकता बोकेको समाजले असहज वातावरण सिर्जना गरेको छ ।