म्यानपावरको ठगी आँटः ३ दाजुभाइबाट साढे १५ लाख खाइदिए, नक्कली कागज थमाएर दुतावास पठाए
काठमाडौं । विदेश पठाइदिन्छु भन्दै म्यानपावर कम्पनी गल्फ रिक्रुमेन्टका संचालक कृष्णबहादुर तामाङले एकै परिवारका ३ दाजुभाइसहित ४ जनाको साढे १५ लाख रुपैयाँ ठगी गरेका छन् । तामाङले ओखलढुंगाका विष्णुबहादुर कार्कीका ३ दाजुभाइ र उनका साथी अजय परियारको साढे १५ लाख रुपैयाँ ठगी गरेका हुन् । वैदेशिक रोजगार विभागमा भेटिएका कार्की र परियार विभागका महानिर्देशकको प्रतिक्षामा थिए । वैदेशिक रोजगारीमा लागि चेक रिपब्लिक पठाउने भन्दै गल्फ रिक्रुटमेन्टका संचालक तामाङले विष्णुसहित उनका भाइहरु विक्रम र सन्तोष तथा साथी अजय परियारबाट १५ लाख ५० हजार रुपैयाँ लिएको कार्कीले जानकारी दिए । तर, पैसा लिए पनि उनीहरु विदेश जान पाएका छैनन् । तामाङले आफूले पैसा मात्रै लिएनन्, विष्णुका भाइहरुलाई अन्तरवार्ताको लागि भन्दै प्लेनबाट भारतको राजाधानी नयाँ दिल्ली पनि पठाए । चेक रिपब्लिककको दुतावास नेपालमा नभएकोले अन्तरवार्ताका लागि नयाँ दिल्ली जान भनिएको विष्णुले बताए । ‘तपाईंहरु विदेश जाने कन्फर्म भयो, चेक रिपब्लिकको दुतावास नेपालमा छैन, अन्तरवार्ताको लागि नयाँ दिल्ली जानुपर्छ भने, अनि भाइहरु विक्रम र सन्तोष दिल्लीमा रहेको चेक रिपब्लिकको दुतावास पुग्दा पो हामीलाई दिएको कागजात नक्कली रहेको र आफूहरु ठगिएको थाहा पायौं,’ विष्णुले भने । यसरी ठगिएको थाहा पाएपछि पीडितले संयुक्त रुपमा गत १६ साउनमा विभागमा उजुरी गरेका थिए । विभागले ४० दिनभित्रमा समाधान गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेपनि आजसम्म समस्याको समाधान नभएको अजय परियारले बताए । यसरी फसे विष्णु कार्की बुबाको माध्यमबाट २०७५ साल जेठ महिनामा म्यानपावर व्यवसायी कृष्णबहादुर तामाङ्गसँग जोडिए । तामाङ्ग गल्फ रिकुमेन्टका संचालक थिए । ओखलढुंगा घर भएका विष्णु कार्कीका बुबालाई तामाङ बैदेशिक रोजगारीका नेपालीलाई विदेश पठाउँछन् भन्ने थाहा थियो । पीडक तामाङ र पीडित दुबै पक्ष ओखलढुंगा जिल्लाको छिमेकी गाउँपालिकाका बासिन्दा हुन् । छिमेकी गाउँका तामाङले विष्णुका बुबासँग चेक रिपब्लिकमा कामको लागि राम्रो अवसर आएको हुँदा तीनै जना छोरालाई रोजगारका लागि पठाउन आग्रह गरेका थिए । सबै बुझ्दा उनलाई राम्रै लाग्यो । आफ्ना तीन जना छोरासँगै छोराका साथी अजय पनि सँगै जाने भए । र, त्यसको लागि तामाङले मागेअनुसार सुरुमै प्रतिव्यक्ति १÷१ लाख रुपैयाँका दरले रकम पनि बुझाए । तामाङले पैसा माग्दै गए । र, ४ जनाले नै गरी १५ लाख ५० हजार रुपैयाँ बुझाए । यस्तो रकम बुझाएपछि तामाङले अन्तरवार्ताको लागि भन्दै दिल्ली पठाएका थिए । वैदेशिक रोजगारी जाने क्रममा म्यानपावरबाट ठगिएको भने यो पहिलो उजुरी हैन । पछिल्ला दिनहरुमा विभागले नयाँ रोजगारका गन्तव्य खोज्नुका साथै अनलाइनबाटै ई–स्टीकर, ई–टोकन तथा मेसेजिङ्ग प्रणाली लागू गरे पनि ठगीको संख्या भने घटेको छैन । अघिल्लो वर्षको अनुपातमा म्यानपावरबाट ठगीमा परेका पीडितका उजुरी ३५ प्रतिशत बढेका छन् । गत आर्थिक वर्षको यो समयसम्म ५ सय ४८ वटा उजुरी दर्ता भएका थिए भने यस वर्षको सोही अवधिभित्र ७ सय ५३ वटा उजुरी विभागमा परेका थिए । म्यानपावर मर्ज भएपछि झन समस्या विष्णु कार्कीसहित पीडितले रकम बुझाएको गल्फ रिक्रुमेन्ट म्यानपावर अहिले अस्तित्वमा छैन । सो म्यानपावर साधनासँग मर्ज भयो । कार्की परिवार र परियारसँग पैसा लिने गल्फका कृष्णबहादुर तामाङ अहिले सम्पर्क विहिन छन् । साधनाको व्यवस्थापन नमराज तामाङले सम्हालेका छन् । मर्जर भएसँगै गल्फ रिकुमेन्ट म्यानपावरको खातामा रहेको ४ लाख रुपैयाँ साधना म्यानपावरमा आएको छ । बाँकी रकम गल्फका कृष्णबहादुरसँगै रहेको साधनाले बताउने गरेको छ । कृष्णबहादुरले लिएको पैसा व्यक्तिगत भएकोले संस्थागत रुपमा दायित्व आफूमा नसर्ने नमराजले बताए । ‘गल्फले ४ लाख रुपैयाँ दिन बाँकी रहेको देखिन्छ, त्यति पैसा दिने हो भने म तयार छु, अरु रकम लिनुपर्नेछ भने कृष्णबहादुरको व्यक्तिगत लेनदेनको कुरा हो, उहाँसँगै कुरा गर्नुपर्छ, म र साधनासँग जोडिने विषय होइन,’ नमराजले भने । ऋण तिर्नका लागि गाँउको जग्गा नै बेच्नु पर्यो ३ भाइ छोरा विदेश पठाउँन विष्णुका बाबुले गाउँमै २५ प्रतिशत व्याजमा ऋण लिएका थिए । ऋण लिएर बुझाएको पैसा कृष्णबहादुरले खाइदिए । साहूँले ताकेता गरेपछि ओखलढुंगाको चम्पादेबीमा रहेको आफ्नो जग्गा जमिन बेचेर ऋण तिरेको विष्णु कार्कीले बताए ।
अब स्वरोजगारले समेत नागरिक लगानी कोषमा रकम जम्मा गर्न पाउने
काठमाडाैं । स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत रकम कट्टी गरी जम्मा गर्न पाउने भएका छन् । सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भई कार्यान्वयनमा आएपछि त्यस्तो व्यवस्था लागू हुने भएको छ । त्यस्तो व्यवस्था लागू भएपछि इञ्जिनीयर, चिकित्सक, कानून व्यवसायी, लेखापरीक्षकलगायतका पेशा व्यवसाय गर्ने व्यक्ति वा उनीहरुसँग आबद्ध रहेका अस्थायी वा सेवा करारमा रहेका व्यक्ति तथा अन्य व्यवसाय, रोजगारीबाट आयआर्जन गर्ने तथा वैदेशिक रोजगारीमा संलग्नलाई समेत कोषमा रकम जम्मा गर्न पाउने छन् । विद्यमान व्यवस्थामा स्वरोजगार व्यक्तिले कोषमा रकम जम्मा गर्न पाउने व्यवस्था थिएन । सरकारी वा निजी व्यावसायिक प्रतिष्ठानमा कार्यरत कर्मचारीले मात्र कोषमा कोष कट्टी गर्दै आएका छन् । नयाँ व्यवस्थापछि कोषमा स्वरोजगार व्यक्तिले समेत सहजै रकम जम्मा गर्न पाउने छन् । नागरिकको सामाजिक सुरक्षाको हकलाई सुरक्षित गर्न तथा निजी क्षेत्रका स्वरोजगारमा रहेका व्यक्तिलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउन त्यस्तो व्यवस्था गर्न लागिएको हो । विशेषगरी वैदेशिक रोजगारीमा गएका युवाले पठाउने विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको र त्यसले आर्थिक वृद्धिमा कुनै योगदान नगरेको विवरण सार्वजनिक भइरहेको बेला कोषमा रकम जम्मा गर्न पाउने व्यवस्था हुन लागेको हो । यसले कोषको कोष अभिवृद्धि गर्न तथा आर्थिक विकासका लागि समेत मार्गप्रशस्त गर्ने छ । व्यक्तिगत रुपमा समेत कोषमा रकम जम्मा गर्न पाउने व्यवस्थाले नागरिकलाई नै थप सुविधा दिनेछ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ विषयक अध्ययनमा समेत विप्रेषणको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको उल्लेख छ । नागरिक लगानी कोषमा वैदेशिक रोजगारीमा जाने व्यक्तिले समेत पैसा जम्मा गर्न पाउने व्यवस्थाले विप्रेषण आयलाई आर्थिक विकासमा लगाउनसमेत मद्दत पुग्ने देखिन्छ । सरकारले प्रस्तुत गरेको ‘नागरिक लगानीकोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि बहस जारी छ । सङ्घीय संसद्को अर्थ समितिमा कोषलाई बढी व्यावसायिक, बढी पारदर्शी एवं लगानीमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल जारी रहेको समितिमा सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । यस्तै सरकारले कोषलाई पूँजी बजारको लगानी प्रवद्र्धनका लागि परिचालन गर्ने भएको छ । शेयर बजारको विकास र विस्तार गरी ‘मार्केट मेकर’ को भूमिकामा कोषलाई स्थापित गर्ने लक्ष्यका साथ काम गर्ने योजनामा सरकार रहेको अर्थमन्त्री डा युवराज खतिवडाको भनाइ छ । मन्त्री खतिवडाका अनुसार मार्केट मेकरका लागि सहायक कम्पनी स्थापना गरिनेछ । त्यसले नै पूँजी बजारमा मार्केट मेकरको काम गर्छ । त्यसका लागि कोषको चुक्ता पूँजी रु तीन अर्ब रहने व्यवस्था गरिएको छ । यस्तै जारी पूँजी रु आठ अर्ब रहनेछ । नयाँ विधेयकअनुसार कोषमा नेपाल सरकारको २३.३४ प्रतिशत हिस्सा रहनेछ । राष्ट्रिय बीमा संस्थानको ३१.५ प्रतिशत, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको १५ र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व रहने प्रस्ताव गरिएको छ । लगानीकर्ताको हितका लागि स्थापना गरिएको कोष वाणिज्य बैंकजस्तो नरहेको र ट्रष्टी पनि नभएको अर्थमन्त्री डा खतिवडाको भनाइ छ । कोषले सङ्कलन गरेको रकमको सुरक्षित लगानी गर्ने विषयलाई प्रमुख प्राथमिकता दिएको छ । यस्तै कोषले कुनै कम्पनी वा सङ्गठित संस्थाबाट जारी हुने ऋणपत्रमा लगानी गर्दा मात्रै २५ प्रतिशतसम्म मात्रै लगानी गर्नुपर्ने व्यवस्था नयाँ विधेयकमा गरिएको छ । कोषले लगानी गरेको वा कोषबाट लिएको कुनै व्यक्ति वा सङ्गठित संस्थाले कोषलाई कुनै हानिनोक्सानी गरेमा वा कोषलाई तिर्न अटेर गरेमा कानूनबमोजिम कालोसूचीमा राख्न सक्ने व्यवस्था गरिएको छ । कालोसूचीमा राखिएको व्यक्ति सङ्गठित संस्थाले कालोसूचीबाट हटेको दुई वर्षसम्म कुनै ऋण दिने, ठेक्कापट्टा दिने वा हिस्सेदार बनाउने वा कुनै प्रकारको लगानी गर्न नपाउने विधेयकमा व्यवस्था छ । कोषले नेपाल वायु सेवा निगमका जहाज खरिदका लागि रु १२ अर्ब ऋण लगानी गरेको छ । यस्तै कोषमा रकम जम्मा गर्नेलाई विभिन्न प्रकारका सुविधा दिनेका अलावा शेयर बिक्री प्रबन्धकको कामसमेत गर्दै आएको छ ।रासस
शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि शुरु भएको प्राविधिक रोजगार मेलाको उद्घाटन गर्दै उनले शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुने बताएका हुन् । “सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न प्राविधिक विद्यालयको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । सरकारले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजका प्राचार्य निर्मलप्रसाद न्यौपानेले मेलामा रोजगारदाता र रोजगार खोज्नेहरुको मिलन गराउने उद्देश्य रहेको बताएका छन् । “रोजगारदाताले सही र दक्ष रोजगार पाउन सकून् भनेर मेला आयोजना गरेका हौँ”, उनले भने । कलेज व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गजुरेल, सिटिइभिटीका निर्देशक शिवहरि ढकाल, नेपाल इन्जिनीयरिङ काउन्सिलका उपाध्यक्ष अनराज सिलवाललगायतले बेरोजगार युवालाई रोजगार बनाउन बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीले कलेजले महत्वपूर्ण काम गरेको उल्लेख गरे । आजदेखि शुरु भएको रोजगार मेलामा नेपाटप, सिप्रदी, अशोक ली लैड, पञ्चकन्या, युनाइटेड वायर, केवलजस्ता २५ भन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता रहेको छ । विसं २०१८ मा स्थापना भएको बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजले मेकानिकल, इलेक्ट्रिकल, सिभिल, प्लम्बिङ, अटोमोबाइललगायत विषयमा १६ हजारभन्दा बढी विद्यार्थीलाई दक्ष बनाइसकेको छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजले यसभन्दा अगाडि विसं २०७३ मा उक्त मेला आयोजना गरेको थियो ।रासस