एसएलसी परीक्षाको नतिजा अपराह्न ३ बजे प्रकाशित हुँदै, रिजल्ट यसरी हेर्न सकिनेछ

भक्तपुर, असार  २ गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भने, “बिहीबार मध्याह्न बोर्ड बैठक आह्वान गरेका छौँ, प्राविधिक समस्या नआएमा बिहीबार अपराह्न ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्छौैँ ।” गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा यस वर्षदेखि अक्षराङ्क अर्थात् ग्रेडिङ प्रणालीमा हुनेछ । परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पूरकतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए । नौ ग्रेडिङमा परीक्षाफल एसएलसीको ८२ वर्षे इतिहासमा यस वर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी गराए । उनले ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको जानकारी दिए । नियमित, प्राविधिक र पूरक परीक्षामा संलग्न सबै विद्यार्थीको नतिजा अक्षराङ्क पद्धतिअनुसार प्रकाशन गरिनेछ । पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएका कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ । वेबसाइट www.moe.gov.no, www.doe.gov.np, www.slcresult.soce.gov.np, www.slc.nt.ntc.net.np नेपाल टेलिकमको PQM\N, CDMA, Postpaid,Prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी sms बाट नजिता थाहा पाउन PQM\N, CDMA, Postpaid,Prepaid  मोबाइलको मेसेज बक्समा गएर  slc<space>  सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको पनि व्यवस्था गरेको छ । ‘लेटर ग्रेडिङ’ प्रणालीमा नतिजा प्रकाशन हुने र कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि ‘डी’ र ‘इ’ गे्रड ल्याउने विद्यार्थीका लागि साउनमा मौका परीक्षा सञ्चालन गरिने भएको छ । मौका परीक्षा दिनैपर्ने अनिवार्य व्यवस्था भने नगरिएको र स्वेच्छिक रुपमा मौका परीक्षा दिन चाहनेले परीक्षा दिन सक्ने छ ।

एनसेलले ल्यायो ‘नाईट एसएमएस प्याक’

काठमाडौं, ३२ जेठ । एनसेलले ‘नाईट एसएमएस प्याक’ नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कुनै पनि एनसेलका नम्बरमा हरेक दिन बेलुका १० बजे देखी विहान ६ बजे सम्म मात्र रु ५ (कर बाहेक) मा १०० एसएमएस पठाउन सक्नेछन् । नाईट एसएमएस प्याक असार १० बाट लागु भई ३ महिनाको अवधिसम्म संचालनमा रहने कम्पनीले जनाएको छ । “बढ्दो संचार आवश्यकतालाई ध्यानमा राखी एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि यो ‘नाइट एसएमएस प्याक’ योजना ल्याएका हौं ” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यसले हाम्रा ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पु¥याउने विश्वास लिएका छौ ।”

होटल क्षेत्रमा लगानी बढेपनि पर्यटक नबढेकोमा हानको चिन्ता

काठमाडौं, ३२ जेठ । होटल संघ नेपालले होटल क्षेत्रमा लगानी बढेपछि विदेशी पर्यटकको संख्या नबढेकोमा चिन्ता व्यक्त गरेको छ । संघका अध्यक्ष बीके श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीको टोलीले पर्यटन मन्त्री आनन्द पोखरेलसँग यस्तो गुनासो गरेको हो । भेटमा अध्यक्ष श्रेष्ठले वर्तमान परिस्थितिमा होटल उद्योगमा दिन प्रतिदिन लगानी बढेको भएपनि नेपाल भित्रिने पर्यटनको संख्यामा वृद्धि हुन नसकेको बताएका थिए । सरकारले पर्यटन प्रवद्र्धनका लागि विशेष पहल कदमी नगरेमा खरबौं लगानी जोखिममा पुग्ने उनले बताएका थिए । संघले आगामी जुलाई महिनामा चीनको राजधानी बेइजिङ तथा सांघाईमा नेपाल पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गर्न लागेको पनि जानकारी गराएको थियो । भेटमा त्यस्तै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु खासै हुन नसकेको स्वीकार्दै होटल संघ नेपालले चीनमा आयोजना गर्न लागेको कार्यक्रममा सरकारले सहयोग गर्ने बताएका थिए । सो मेलाले नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सघाउने उनले विश्वास व्यक्त गरेका थिए । भेटमा संघका प्रथम उपाध्यक्ष अमरमान शाक्य, महासचिव विनायक शाह, कार्यसमिति सदस्य प्रविन बहादुर पाण्डे र कार्यकारी निर्देशक प्रवेश अर्यालको सहभागिता रहेको थियो ।