२७ औं पोखरा सडक महोत्सव पुस १३ देखि, स्थानीय कृषिउपज, हस्तकला तथा घरेलु सामग्रीको प्रवर्द्धन हुने

पोखरा । पोखराको लेकसाइड क्षेत्रमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औं संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने भएको छ । आगामी जनवरी १ तारिखमा रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड क्षेत्रमा करिब तीन दशमलव पाँच किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने आयोजकले आइतबार (आज) इटहरीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । रेवान पोखराका संयोजक वसन्त गौतमका अनुसार ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको महोत्सवले खाना, संस्कृति र सङ्गीतको प्रवर्द्धनका साथै पोखराको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । एक समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन नेपाली पर्यटक भारतको गोवा र थाइल्याण्ड जाने प्रचलन रहेकामा पोखरा सडक महोत्सवले ‘अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य’का रूपमा पोखरालाई स्थापित गर्न सफल भएको उनले बताए । ‘हाल यो महोत्सव पोखराको पहिचान र पर्यटन प्रवर्द्धन क्षेत्रमा ‘ब्रान्ड’का रूपमा अघि बढिरहेको छ’ उनले भने । विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्ला विभिन्न आन्दोलनजस्ता चुनौतीका बाबजुत पनि महोत्सव निरन्तर आयोजना हुँदै आएको संयोजक गौतमले बताए । उनले प्रत्येक सङ्कटपछि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनःरुत्थान गर्न तथा ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश विश्वसामु प्रवाह गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखे । पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईले महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउँदै स्थानीय कृषिउपज, हस्तकला तथा घरेलु सामग्रीको प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।  क्रिसमस र नयाँ वर्षको अवसरमा विदेशी पर्यटकलाई नेपालमै आकर्षित गरी विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने उनको भनाइ छ ।  यस वर्ष पोखरा महानगरपालिकाद्वारा घोषणा गरिएको ‘पोखरा भ्रमण वर्ष २०२५’ सँग सहकार्य गर्दै महोत्सव आयोजना हुन लागेको आयोजकले जनाएको छ ।  महोत्सवका प्रमुख आकर्षणमा नेपालका विभिन्न जातजातिका सांस्कृतिक झाँकी र नृत्य, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारसहितका खानाको फुड फेस्टिभल (खाना महोत्सव), ख्यातिप्राप्त कलाकारद्वारा कला प्रस्तुत, लोकदोहोरी, फेवातालमा ‘बोट रेस’, ‘वेटर रेस’, रस्साकस्सी, पर्यटनसम्बन्धी ‘टक सो’, वृत्तचित्र तथा फोटो प्रदर्शनी रहेका संयोजक गौतमले जानकारी दिए । महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सह–प्रायोजकमा बोटलर्स नेपाल (तराई) लिमिटेड, दि नेपाल डिस्टिलरी प्रालि, यति डिस्टिलरी प्रालि र नेपाल टेलिकम रहेका छन् । बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक रहेको आयोजकले जनाएको छ ।

राजधानीमै छैन पर्यटक बसको बसपार्क, सोह्रखुट्टे सडकमै पार्किङ

काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौंमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन् ।       मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकबाट पर्यटक बस गुड्न बाध्य भएका हुन् ।      विगत तीन दशकदेखि काठमाडौंको कान्तिपथ सडकलाई पर्यटक बसपार्कका रुपमा सञ्चालन गर्दै आए पनि विसं २०७५ असार १६ गतेदेखि उक्त बसलाई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेको सडकबाट सञ्चालन गरिएको थियो । महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो ।      कान्तिपथबाट सोह्रखुट्टे सडकमा पर्यटक बसपार्क सरेको सात वर्ष बितिसक्दा पनि पर्यटक बसपार्कका लागि छुट्टै स्थान नहुँदा सडकबाटै पर्यटक बस गुड्न बाध्य भएका छन् । हाल पर्यटक बस काठमाडौंदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी  र जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन् ।      सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ः०० बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष भीष्म न्यौपाने सरकारले पर्यटक बसलाई उपेक्षा गरेको बताउँछन् ।      'सरकारले पर्यटनमार्फत मुलुकको अर्थतन्त्रलाई उकास्ने भनिरहेको छ, तर पर्यटक बसका लागि पार्किङ गर्न छुट्टै बसपार्क नहुँदा समस्या परेको छ',  उनी भन्छन् । राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको भए पनि नेपालमा भने विकास नगरेको अध्यक्ष न्यौपाने बताउँछन् ।      कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगे पनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ ।       हाल काठमाडौंबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् । उक्त सवारीसाधनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका छन् ।      टिवानका पूर्वध्यक्ष एवं बाबा एड्भाञ्चर प्रालिका सञ्चालक प्रह्लाद लोहनी पर्यटक बसको बसपार्क निर्माणका लागि टिवानले पहिलेदेखि नै सम्बन्धित निकायमा झकझक्याउँदै आए पनि हालसम्म बसपार्क निर्माण हुन नसकेको बताउँछन् ।  सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न नसकेको उनको भनाइ थियो ।      व्यवसायीले हाल बिहान ५ः०० देखि ७ः०० बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् । रासस

जीवन विकास लघुवित्तको १४.७३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । मंसिर २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जससमध्ये सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात वितरण गरिने संस्थाले जनाएको छ।