म्याग्दी नदीमा बाढीको सूचना दिने प्रविधि जडान

म्याग्दी, ३ जेठ । म्याग्दी जिल्लाको देवीस्थान गाविसको फेदीमा आइतबार बाढी आउनुभन्दा पूर्व सूचना दिने प्रविधि जडान गरिएको छ । धौलागिरी हिमालको फेदीबाट जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी खोलामा आउन सक्ने बाढीबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले समुदायमा आधारित सूचना प्रणाली जडान गरिएको हो । बहुसरोकारवाला वन कार्यक्रम (लिभर्ड)को आयोजना, सङ्गम म्याग्दीको सहयोग एवम् ‘सस्टेनेबल इको इन्जिनियरिङ’को प्राविधिक सहयोगमा जडान गरिएको प्रविधि समुदायलाई हस्तान्तरण गरिएको छ । नदी किनारमा राखिएको पानीको सतह मापन गर्ने स्वचालित सचेतक उपकरणले सङ्केत प्रशोधन गरेर रेडियो ट्रान्समिटरमार्फत नजिकैको बस्तीमा राखिएको रेडियो रिसिवरलाई पठाउने सङ्केत उपकरणले प्रशोधन गरेर साइरन (घन्टी) बजाएर खतराको सूचना दिने प्राविधिक नरेन्द्र बज्राचार्यले जानकारी दिए । पहिलो सतहमा पानी बगे खासै आत्तिनु नपर्ने, दोस्रो सतहमा बगे सामान्य सचेत हुनुपर्ने र निरन्तर घन्टी बजेमा खतरा हुने भएकाले तटीय क्षेत्रका तल्लो बस्ती, सुरक्षाकर्मी र सञ्चारमाध्यमलाई सूचना प्रवाह गरेर पूर्व तयारी गर्ने संयन्त्र तयार गरिएको छ । उक्त प्रणालीले एक/एक मिनेटको अन्तरालमा सङ्केत गर्ने र तेस्रो सतहमा बगे खतराको चेतावनी दिने भएकाले बाढीबाट बच्न सावधानी अपनाउन सकिने प्राविधिक बज्राचार्यले बताए । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास संस्था (इसीमोड)ले विकास गरेको यस्तो प्रविधि नेपालमा यसअघि म्याग्दीको बाबियाचौर, भुरुङ तातोपानी, बागलुङको खुङ्गा गाविसको हुन्द्राफेदी र महोत्तरीको जलेश्वरस्थित रातुखोलामा जडान गरिएको प्राविधिक बज्राचार्यले बताए । प्रमुख जिल्ला अधिकारी केशव आचार्यले तटीय क्षेत्रमा रहेका मानव बस्तीमा बाढीले पु¥याउने सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणाली उपयोगी हुने विश्वास व्यक्त गरे। हिमताल फुट्ने, हिमपहिरो, पहिरो, भीषण वर्षा, बाढी र नदी थुनिएको अवस्थामा नदीमा बाढी आउने जोखिम रहेको छ । पछिल्लो पटक विसं २०५८ मा म्याग्दी नदीमा आएको बाढीले तटीय बस्तीका झोलुङ्गेपुल, व्यक्तिका घर, बाटो, विद्यालय भवनलगायत भौतिक संरचनामा ठूलो क्षति गरेको थियो । “बर्खायाममा भीषण वर्षा हुँदाको रातिको समयमा टर्च बालेर खोलामा कति बाढी आयो भनेर छिनछिनमा हेर्न जानुपर्ने अवस्था थियो” दरवाङका बासिन्दा वीरबहादुर कार्कीले भने “पूर्व सूचना प्रणाली जडान भएपछि ढुक्क भएर सुत्न पाउने भएका छौँ ।” रासस

हिमालय एयरलाइन्सको असार १ गतेदेखि काठमाडौं–दोहा नियमित उडान

काठमाडौं, २० जेठ । हिमालय एयरलाइन्सले असार १ गतेदेखि काठमाडौं–दोहा नियमित उडान भर्ने भएको छ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले मंगलबार काठमाडौंबाट दोहा पहिलो उडान गरेको हो । हिमालय एयरलाइन्सको विमान त्रिभुवनअन्र्तराष्ट्रिय विमानस्थलबाट राति ११ बजे उडेर कतारको स्थानीय समय अनुसार ०१:३० बजे हामद अन्र्तराष्ट्रिय विमानस्थल, दोहामा अवतरण गरेको थियो । एयरलाइन्सले कतारमा बस्ने र रोजगारीकालागि कतार पुगेका लाख नेपालीहरुलाई सहज रुपमा सेवा दिने लक्ष्य राखेको छ । कम्पनीका अनुसार एअरलाइन्स्ले आगामी पाँचवर्ष भित्र पन्ध्रवटा एअरबस जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ । एअरलाइन्सले केही समयपछि लामो दुरी उडान भर्ने जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना बनाएको कम्पनीको विज्ञेप्तिले जनाएको छ । एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले उक्त उडान सँगै कार्यतालिका बमोजिमको अन्र्तराष्ट्रिय उडान शुरु भएको बताएका छन् । साथै ग्राहकहरुलाई आगामीदिनमा अझ बढी प्रभावकारी सेवादिने प्रतिबद्धता पनि जनाएका छन् । कम्पनीले ८ बिजनेस क्लास तथा १५० इकोनोमी क्लास क्षमताको एअर बस ३२०–२१४ विमानले पुरै सिट भरेर सफलतापूर्वक उडान गरेको कम्पनीले जनाएको छ । एअरलाइन्स्ले पहिलो दुई साता, ३ दिन उडान गर्ने छ भने असार १ गते देखि दैनिक उडान गर्ने विज्ञेप्तिमा जनाइएको छ ।

तिहारमा रानी पोखरी तयार हुने, सर्वसाधारणका लागि सधै खुल्ला

काठमाडौं, १९ जेठ । गत बैशाख १२ गतेको महाभूकम्पमा परि भत्किएको रानी पोखरी आगामी तिहारबाट सञ्चालनमा आउने भएको छ । ६ करोड २९ लाख रुपैंयाँ लागतमा पुननिर्माण भैरहेको रानी पोखरी आगामी भाइटीकादेखि सञ्चालनमा ल्याउन लागिएको हो । राष्ट्रय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले भने– आगामी तिहारभित्रै रानी पोखरी सञ्चालनमा ल्याउने गरि निर्माण भैरहेका छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पनि तिहारसम्ममा रानी पोखरी तयार हुने बताए ।‘तिहारसम्ममा रानी पोखरीको पहिलो चरणको निर्माण सम्पन्न हुनेछ, त्यसपछि त्यो सर्व साधारणका लागि निरन्तर खुल्ला रहनेछ ।’, कार्कीले भने । तत्कालिन राजा प्रताप मल्लले १६७० सालमा पुत्र वियोगमा परेकी रानीलाई वियोग भुलाउन रानीपोखरी निर्माण गरेका थिए ।