हिमालय एयरलाइन्सको दोश्रो उडान कोलम्बोमा, हप्तामा तीन उडान भर्ने

काठमाडौं, ३ असोज । हिमालय एयरलाइन्सले दोश्रो नियमित गन्तव्यका रुपमा श्रीलंकाको राजधानी कोलम्बोमा उडान भर्ने भएको छ । अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्सले २०७२ साल चैत ३१ कोलम्बोबाटै पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । जेठ १८ गतेदेखि कतारको राजधानी दोहामा पहिलो नियमित उडान भरिरहेको हिमालयले दोश्रो गन्तव्यका रुपमा कोलम्बोलाई छानेको हो । हिमालय एयरलाइन्सका महाप्रबन्धक राजुबहादुर केसीले हप्ता तीन उडान भर्ने जानकारी दिए । हिमालयले मंगलबार, बिहिबार र शनिबार कोलम्बो उडान भर्नेछ । बर्षेनी ३० हजार श्रीलंकाली नेपाल आउने गरेको र १५ हजार नेपाली श्रीलंका जाने गरेको महाप्रबन्धक केसीले जानकारी दिए । त्यस बाहेक ट्रान्जिट पोइन्टका रुपमा पनि धेरैले श्रीलंका र नेपाललाई प्रयोग गरिहरको उनले बताए । हिमालयले नियमित उडान सुरु गरेपछि ठुलो मात्रामा श्रीलंकाली पर्यटक नेपाल आउने दावी समेत उनले गरे । ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास गरी १५८ सीट क्षमताको विमान एअरबस ३२०–२०० बाट हिमालयले श्रीलंका उडान गर्नेछ । एक तर्फी भाडा ३० हजार तोकिएको छ भने दुई तर्फको शुल्क ५० हजार रुपैंयाँ लाग्नेछ । हिमालय एयरलाइन्सले तेश्रो उडान गन्तव्यका रुपमा भारतको नयाँ दिल्ली उडान भर्ने योजना बनाएको पनि महाप्रबन्धक केसीले विकासन्युजलाई जानकारी दिए । केही महिना पछि हिमालयले  भारतको नयाँ दिल्ली, चीनको ल्हासा, चेंगदु र बेइजिङ उडान भर्ने तालिका बनाएको उनले बताए । संयुक्त लगानीमा सञ्चालित एअरलाइन्समा ५१.०१ प्रतिशत लगानी नेपालीको छ भने ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ ।

लोकसेवा आयोगमा पाँच हजार ८१२ माग गरिएकोमा चार लाख बढीकाे आवेदन

काठमाडौं, ३ असोज । लोकसेवा आयोगमा सरकारी सेवातर्फको आवेदन दिनेको सङ्ख्या माग गरेको भन्दा कैयौँ गुणा दरखास्त दिनेको सङ्ख्या बढ्ने गरेको पाइएको छ । आयोगले माग गरेको भन्दा सङ्ख्याको अनुपातमा धेरै नै आवेदन दिने गरेको आयोगकी सूचना अधिकारी गीता हुमागाईंले जानकारी गराए । उनका अनुसार गतवर्ष माग गरिएका पाँच हजार ८१२ माग गरिएकामा चार लाख ४३ हजार ७४१ जनाले आवेदन फाराम भरेका थिए । उनका अनुसार शाखा अधिकृतमा ५५० मा ३९ हजार ४०५, नायब सुब्बामा ५१२ मा एक लाख १० हजार २९२, खरिदारमा एक हजार दुईमा एक लाख ३९ हजार १६२, स्टाफ नर्स १९४ मा १७ हजार ५६८, अनमी दुई हजार ६० मा ४३ हजार ५८२, अहेब एक हजार ३६० मा पाँच हजार २२३ र सहायक महिला विकास निरीक्षक १३४ मा ४१ हजार ५०२ जनाले दरखास्त फाराम भरेका थिए । “सरकारी सेवातर्फ आकर्षण बढेकाले आयोगबाट खुलाइने पदमा आकर्षण बढेको छ”, उनले भने – “जसले गर्दा माग गरिएका सङ्ख्याभन्दा कैयौँ गुणा आवेदन दिने गरेका छन् ।” उनका अनुसार २०७१ सालमा आयोगले विभिन्न पदमा तीन हजार ७०३ को सङ्ख्यामा दरखास्त माग गरेकामा चार लाख ७७ हजार ४३५ जनाले आवेदन दिएका थिए । सरकारले यसरी आयोगमार्फत गरिने दरखास्तबाट वार्षिक करिब रु १८ करोड राजस्व सङ्कलन गर्ने गरेको छ । गतवर्षको आवेदनको सङ्ख्याबाट करिब रु १८ करोड नौ लाख ९७ हजार ७२५ राजस्व सङ्कलन हुने गरेको आयोगका लेखापाल सूर्यप्रसाद शर्माले जानकारी गराए । उनका अनुसार सरकारले आयोगबाट सहसचिव, उपसचिव, शाखाअधिकृत, खरिदार सरह र बढुवा फारामबाट उक्त राजस्व सङ्कलन गर्ने गरेको छ । उनका अनुसार गतवर्ष आयोगले शाखा अधिकृतदेखि खरिदारसम्म सात पदमा दरखास्त माग गर्दा सरकारले रु १७ करोड ३४ लाख ९१ हजार ८०० र सहसचिव, उपसचिव तथा बढुवा फारामबाट रु ७५ लाख पाँच हजार ९२५ राजस्व सङ्कलन गरेको छ । आयोगको तथ्याङ्कअनुसार २०७१ सालमा आयोगबाट माग गरिएका दरखास्तबाट सरकारले करिब रु १८ करोड ७५ लाख ११ हजार राजस्व सङ्कलन गरेको थियो । आयोगले सहसचिव एक हजार ५००, उपसचिव एक हजार २००, शाखा अधिकृत एक हजार, नायब सुब्बा ४००, खरिदार, स्टाफ नर्स ४००, अनमी, अहेब र सहायक महिला विकास निरीक्षक ३०० रुपैयाँ दरखास्त फाराम शुल्क तोकेको छ । यसैगरी आयोगले दरखास्त गर्दा सङ्कलन गरिएको राजस्वभन्दा करिब दुईगुणा बढी खर्च परीक्षामा लाग्ने गरेको छ । उनका अनुसार परीक्षा सञ्चालनमा करिब रु ३० करोड ५९ लाख २४ हजार ३९० खर्च हुने गरेको छ । जबकि दरखास्त आवेदनबाट रु १८ करोड नौ लाख ९७ हजार ७२५ मात्र सङ्कलन हुने गरेको छ । विज्ञापन, प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका, शैक्षिक सामग्री, परीक्षा सञ्चालन, कोडिङ, उत्तरपुस्तिका परीक्षणलगायतमा खर्च हुने गरेको छ । शर्माले विभिन्न पदको विज्ञापन गर्दा मात्र रु तीन करोड खर्च लाग्ने गरेको बताए । आयोगले उत्तरपुस्तिका परीक्षण गर्नेलाई १०० पूर्णाङ्कको सय रुपैयाँ दिने गरेको छ । रासस

१८ अर्बको मोबाइल किन्छन् नेपाली, ३ बर्षमा बजार १८३ प्रतिशतले वृद्धि

काठमाडौं, ३ असोज । झट्ट सुन्दा पत्याउन मुस्किल पर्छ तर गत बर्ष नेपालीले १८ अर्ब १९ करोड रुपैयाँको मोबाइल खरिद गरेका छन् । आर्थिक वर्ष २०७२/७३ मा नेपालले १८ अर्ब १९ करोड ७६ लाख ८५ हजार ९ सय ७२ रुपैयाँ मुल्य बराबरका ४९ लाख ९० हजार ९ सय ४२ वटा मोबाइल सेट आयात गरेको हो । यो संख्या तीन बर्ष अघि अर्थात आर्थिक वर्ष २०७०/७१ को भन्दा १८३ दशमलब ७३ प्रतिशतले बढि हो । सो आर्थिक वर्षमा जम्मा ९ अर्ब ९० करोड ५४ लाख ४ सय ५६ रुपैंयाँ मुल्यका ३१ लाख २२ हजार ४ सेट मोबाइल नेपाल भित्रिएका थिए ।  त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा १३ अर्ब ४ करोड ४० हजार २ रुपैंयाँ मुल्यका ३८ लाख ९१ हजार ६ सय २० वटा मोबाइल आयात गरिएका थिए । नेपाल दुर सञ्चार प्राधिकरणले दुई करोड ९४ लाख ८९ हजार ७ वटा मोबाइलका सिम सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । जबकी नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । सो तथ्यांकलाई हेर्ने हो भने नेपालको कुल जनसंख्या भन्दा पनि बढि सिम कार्ड बिक्रि भएको छ । ४४ लाख चिनियाँ मोबाइल यसरी नेपाल भित्रिएका मध्ये ४४ लाख ६२ हजार ३ सय ६२ वटा मोबाइल सेट चिनबाट आयात गरिएका छन् । यी मोबाइलको मुल्य १३ अर्ब ९२ करोड ४५ लाख रुपैंयाँ पर्छ । ४ लाख ३४ हजार ६ सय ४५ वटा मोबाइल सेट भियतनामबाट ल्याइएका छन् । ती मोबाइलको कुल मुल्य ३ अर्ब ९६ करोड रुपैंयाँ पर्छ । त्यस्तै, भारतबाट ८९ हजार ४ सय ३५ वटा मोबाइल सेट २६ करोड ६० लाख रुपैंयाँमा आयात गरिएका छन् । अमेरिकाबाट ३२० वटा मोबाइल ३७ लाख ४१ हजार रुपैंयाँमा आयात गरिएको छ । बेलायतबाट २१६ वटा मोबाइल ४१ लाख ४९ हजार रुपैंयाँमा नेपाल भित्रिएका छन् । नेपालले ४५ वटा मुलुकबाट मोबाइल आयात गरिरहेको छ ।