देशभर ११ लाख २३ हजार सुकुम्बासी, भूमिहीन सुकुम्बासीको संख्या १ लाख ६७ हजार

काठमाडौं । भूमि समस्या समाधान आयोगले नेपालमा देशैभरि जम्मा ११ लाख २३ हजार ६५० सुकुम्बासी रहेको जनाएको छ ।  आयोगले वडास्तरमा संकलन गरी प्रारम्भिक रूपमा तयार पारेको तथ्याङ्कमा सुकुम्बासीहरूको उक्त संख्या देखिएको हो । आयोगका अध्यक्ष हरिप्रसाद रिजालका अनुसार सुकुम्बासीहरूको कुल संख्या बुझ्न सजिलो होस् भन्ने उद्देश्यले विभिन्न उपसमूहमा विभाजन गरिएको छ ।  सुकुम्बासीहरूलाई अव्यवस्थित वसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । देशभरमा ८ लाख ६७ हजार ३५५ जना अव्यवस्थित बसोबासी रहेको तथ्याङ्कले देखाएको छ । आयोगका अध्यक्ष रिजालका अनुसार यस्ता बसोबासीलाई व्यवस्थापन गर्ने मापदण्डसमेत आयोगले बनाइसकेको छ ।  ‘अव्यवस्थित वसोबासीको हकमा अहिले उहाँहरू जहाँ बसिरहनुभएको छ, सोही स्थानमै उहाँहरूलाई उपलब्ध गराइनेछ । यसवापत यस्ता अव्यवस्थित बसोबासीले आफू बसेको जग्गामा राज्यले तोकेको राजस्व तिरेपछि उक्त जग्गा आफ्नो बनाउन सक्नेछन्,’ उनले भने । देशभरको कुल तथ्याङ्कमा भूमिहीन दलितको संख्या ८८ हजार ५०९ रहेको छ । उनीहरू बसेको स्थानको जग्गा उनीहरूलाई नै दिइने अध्यक्ष रिजालले बताए ।  तर उक्त जग्गा बाढी, पहिरो जोखिमयुक्त, विद्यालय, वा कसैको निजी जग्गा परेमा त्यसको वैकल्पिक व्यवस्थापन पनि गरिने जनाइएको छ । भूमिहीन सुकुम्बासीहरूको संख्या १ लाख ६७ हजार ८०६ रहेको छ । उनीहरूको पनि उपयुक्त स्थान खोजी व्यवस्थापन गर्ने गरी आयोगले गृहकार्य गरिरहेको छ । नेपालमा सबैभन्दा धेरै भूमिहीनको संख्या भएको जिल्ला कैलाली रहेको छ। अध्यक्ष रिजालका अनुसार १ लाख ३० हजार सुकुम्बासी कैलालीमा रहेका छन् । दोस्रोमा रुपन्देही रहेको छ जहाँ ७६ हजार ६५७ जना सुकुम्बासी रहेका छन् । तेस्रोमा दाङ रहेको छ जहाँ ७० हजार ३८९ जना सुकुम्बासी रहेको आयोगले उपलब्ध गराएको तथ्याङ्कले जनाएको छ । झापामा ५१ हजार ८८८ जना सुकुम्बासी रहेका छन् । यसैगरी बाँके र बर्दियामा क्रमशः ४६ हजार ५५२ जना र ४५ हजार ६०८ जना सुकुम्बासी रहेका छन् ।

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, भक्तजन दर्शन गर्नबाट बञ्चित

पर्वत । पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ । मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको छ । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिए । उनका अनुसार जेठ अन्तिम सातादेखि नै शालिग्राम शिला डुबानमा परेको हो । यतिबेला नियमित वर्षा भएकाले कालीगण्डकीमा पानीको सतह ह्वात्तै बढेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् भने नियमित पुजापाठ र दर्शन गर्न आउने भक्तजन पनि शालिग्राम शिला दर्शन गर्नबाट बञ्चित बनेका छन् । सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव र कालीगण्डकी उच्च बहावले शिला परिक्रमा स्थलसमेत पूर्णरुपमा क्षतविक्षत बनेको स्थानीय तिलक पराजुलीले बताए । पवित्र शालिग्राम शिलासँगै शालिग्राम क्षेत्रका सत्तल लगायतका सबै संरचना डुबानमा परेका छन् । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन जालीसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जान रोक लगाइको छ । कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ५ तर्फको बजार क्षेत्रका झण्डै २०० व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् । गत वर्ष साउनमा आएको बाढी बजारसम्म पुगेपछि एक घर भत्किनुका साथै आधा दर्जन घर विस्थापित बनेका थिए । कालीगण्डकी नदीलाई बहाव परिवर्तन नगरेसम्म जोखिम कायमै रहिरहने गल्याङ–५ का अध्यक्ष घनश्याम भट्टराईले जानकारी दिए । उनका अनुसार गुल्मीतर्फबाट बहाव लगेर शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने उनको माग रहेको छ । शालिग्राम शिला अवस्थित स्थानको नजिकमा रहेको स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले आवश्यक समन्वय गरेर सेतीवेणी क्षेत्रको संरक्षण गर्नुपर्ने विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिए । रासस

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

काठमाडौं । डिशहोमको रमाइलो टिभीले धार्मिक टेलिभिजन श्रृंखला रामायण नेपाली भाषामा प्रसारण गर्ने भएको छ । असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे उक्त श्रृंखला प्रशारण हुने कम्पनीले जनाएको छ । ‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज पहिलो पटक सन् १९८७–१९८८ मा भारतको डीडी नेसनल च्यानलबाट प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत यो श्रृंखलामा संगीत रविन्द्र जैनले संयोजन गरेका थिए । प्रसारणको समयमा रामायण ले भारतमा ८२ प्रतिशत दर्शक संख्यासहित ऐतिहासिक कीर्तिमान बनाएको थियो । बीबीसीका अनुसार, यो श्रृंखला ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको थियो र विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूले पुनः प्रसारण गरेका थिए । कोरोना लकडाउनको समयमा सन् २०२० मा पुनः प्रसारण हुँदा एकै दिन ७ करोड ७० लाख दर्शकसहित विश्वकै सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रम बन्न सफल भएको थियो । डिशहोमले आफ्ना ग्राहकका लागि रमाइलो टिभीमार्फत यो ऐतिहासिक कथा नेपाली भाषामा प्रसारण गर्ने व्यवस्था गरेको हो । हाल रमाइलो टिभी डिशहोमका ग्राहकहरूको लागि मात्र उपलब्ध रहेको र ग्राहकहरूले यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद र अन्य मनोरञ्जन कार्यक्रम पनि रमाइलो टिभीबाट हेर्न सक्ने डिशहोमले जनाएको छ ।