सेनेगलविरुद्ध नर्वेको जित, हालान्डको २ गोल
काठमाडौं । फिफा विश्वकपमा नर्वेले सेनेगललाई ३-२ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाएको छ । नर्वेका लागि अर्लिङ हालान्डले दुई गोल गरे । हालान्डको यो दोस्रो विश्वकप खेल हो । उनले हालसम्म चार गोल गरिसकेका छन् । नर्वेका कुनै पनि खेलाडीले विश्वकप इतिहासमा ४ गोल गरेका छैनन् । खेलको पहिलो हाफको अन्त्यतिर वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फुलब्याक मार्कस पेडर्सेनले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४८औँ मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट थ्रु पासमा दौडिँदै हालान्डले गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए । सेनेगलका इस्मालिया सारले खेलको ५३ औं मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याए । पहिलो गोल गरेको १० मिनेटमै पुनः गोल गर्दै हालान्डले नर्वेलाई ३-१ ले अगाडि बढाए । सारले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गरे । खेलको अन्तिम क्षणमा उनले बराबरी गोल गर्ने उत्कृष्ट अवसर पनि पाए सदुपयोग भने गर्न सकेनन् । दोस्रो जितसँगै नर्वे समूह ‘आई’ बाट फ्रान्ससँगै नकआउट चरणमा पुगेको छ । उता सेनेगलले भने अन्तिम समूह खेलमा इराकलाई हराउनै पर्ने अवस्था छ ।
फ्रान्सको सहज जितमा एम्बाप्पेको २ गोल
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह‘आई’ अन्तर्गतको खेलमा फ्रान्सले इराकलाई पराजित गर्दै अकआउट चरणमा स्थान बनाएको छ । खेलमा फ्रान्सले ३-० को जित निकालेको हो । आँधीका कारण खेल पहिलो हाफपछि २ घण्टा स्थगन गर्नुपरेको थियो । खेलमा फ्रान्सका लागि केलियन एम्बाप्पेले २ गोल गरे । यससँगै उनी विश्वकपमा सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा पुगेका छन् । उनले १६ गोल गरिसकेका छन् । खेलको १४ औं मिनेटमा गोल गर्दै उनले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५४ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । खेलको ६६ औं मिनेटमा ओसामाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३० को जित सुनिश्चत गरे । खेलमा इराकले दुई राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । फ्रान्स समूह ‘आई’मा दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ भने इराक अंकविहीन रहँदै पुछारमा रहेको छ।
अस्ट्रियाविरुद्ध अर्जेन्टिनाको २ गोल, मेसीले बनाए नयाँ कीर्तिमान
काठमाडौं । अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत सोमबार राति भएको खेलमा अस्ट्रियालाई २–० ले हराएको छ । दुबै गोल कप्तान लियोनेल मेसीले गरेका हुन् । खेलको सुरुवाती ९ औँ मिनेटमा मेसीले पेनाल्टी सदुपयोग गर्न नसके पनि बाँकी समयमा उनले उत्कृष्ट पुनरागमन गरे । ३८ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो गाेल गरेसँगै उनले जर्मनीका मिरोस्लाभ क्लोसको १६ गोलको कीर्तिमान पछि पार्दै १७ गोल पुर्याएका थिए । खेलको अन्तिम समय अर्थात् इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे । दुई गोल गरेसँगै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानलाई थप उचाइमा पुर्याएका छन् । उनले विश्वकपमा गरेको कुल गोल सङ्ख्या १८ पुगेको छ । डालसस्थित रंगशालामा उपस्थित समर्थकहरू यो ऐतिहासिक क्षणपछि उत्साहले झुमेका थिए । जारी विश्वकपमा मेसीले ५ गोल गरिसकेका छन् । यसअघि पहिलो खेलमा अल्जेरियालाई ३–० ले हराउँदा मेसीले ह्याट्रिक गरेका थिए ।