पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव, ५ करोड रुपैयाँ बजेट फिर्ता
काठमाडौं । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने प्रयास सफल हुन सकेन । अस्थायी ‘फ्लड लाइट’ राखेर उद्घाटन खेल सञ्चालन गरिए पनि मैदानमा पर्याप्त प्रकाश नपुगेका कारण अन्य प्रतियोगिता दिउँसोकै समयमा सार्नुपर्यो । आयोजक सहारा क्लब पोखराले पहिलोपटक पोखरामा रात्रिकालीन फुटबलको अनुभव दिलाउन गरेको उक्त प्रयासले अन्तर्राष्ट्रिय स्तरको पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ जडानका लागि सम्बन्धित निकायलाई सकारात्मक दबाब भने पुगेको क्लबको ठहर छ । ‘रात्रिकालीन फुटबल प्रतियोगिता खेलाउन हामीले प्रयास गर्यौं, तर पहिलोपटक भएका कारण केही प्राविधिक समस्या पनि रहे, खेलाडी र दर्शकबाट प्रकाश नपुगेको गुनासो आयो,’ क्लबका अध्यक्ष केशवबहादुर थापाले भने, ‘निजी क्षेत्रको क्लबले अस्थायी रूपमा भए पनि फ्लड लाइट राखेर प्रतियोगिता सञ्चालनको प्रयास गर्नु आफैँमा महत्वपूर्ण छ, यसले राज्यका सम्बन्धित निकायमा पनि सकारात्मक दबाब पुगेको हामीले महसुस गरेका छौँ ।’ अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालनका लागि पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अनिवार्य रूपमा राख्नुपर्ने उनले बताए । ठूलो धनराशि खर्चेर बनाइएको उक्त रङ्गशालामा ‘फ्लड लाइट’ जडानको योजना अझै कार्यान्वयनमा आउन सकेको छैन । तत्कालीन भौतिक पूर्वाधार विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले गत मङ्सिरमा रङ्गशाला निरीक्षणका क्रममा पनि ‘फ्लड लाइट’ जडानको योजना अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए । ‘पोखरा रङ्गशालामा फ्लड लाइट जडानको माग पटकपटक उठ्दै आएको छ, विभिन्न कारण देखाउँदै अहिलेसम्म जडान गरिएको छैन,’ सहारा क्लबका अध्यक्ष थापाले भने, ‘अब बन्ने नयाँ सरकारले फ्लड लाइटका लागि योजना र बजेट ल्याउँछ कि आशा गरौँ ।’ खेल क्षेत्रमा रहेको केन्द्रीकृत मानसिकताका कारण पनि राजधानीबाहिर खेल पूर्वाधारको अवस्थामा अपेक्षित सुधार आउन नसकेको अध्यक्ष थापाको भनाइ छ । ‘फ्लड लाइट’ नहुँदा पोखरामा रात्रिकालीन खेल गतिविधि सञ्चालन गर्न नसकिएको उनले बताए । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को मान्यता पाउन पनि रङ्गशालामा ‘फ्लड लाइट’ अनिवार्य हुनुपर्ने व्यवस्था छ । १६ हजार ५०० दर्शक क्षमताको स्तरीय रङ्गशाला भईकन पनि ‘फ्लड लाइट’ नहुनुलाई खेल क्षेत्रका पदाधिकारी दुःखद मान्छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले बजेट अभावमा पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ जडान हुन नसकेको जनाएको छ । ‘फ्लड लाइट’का लागि करिब १२ करोडको लागत अनुमान गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले केही वर्षअघि ‘फ्लड लाइट’का लागि छुट्याएको ५ करोड रुपैयाँ बजेट कोभिड-१९ महामारीका कारण काम हुन नसकी फिर्ता भएको थियो । देशकै ठूलो र सुविधायुक्त यस रङ्गशालाको सञ्चालन तथा व्यवस्थापनमा सङ्घ र प्रदेश सरकारबीच सहकार्य हुनुपर्ने आवाज खेल क्षेत्रमा उठ्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरको भएर पनि ‘फ्लड लाइट’ नहुँदा पोखरा रङ्गशालाको उपयोगिता खुम्चिएको भन्दै चिन्ता व्यक्त हुने गरेको छ । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालनका लागि रङ्गशालामा फ्लड लाइटलगायत अन्तर्राष्ट्रिय मापदण्डका पूर्वाधार आवश्यक पर्छ । पोखरामा रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्न सकेमा रङ्गशालाबाट राज्यले पनि लाभ लिने र खेल गतिविधि बढ्दा यहाँको आर्थिक क्षेत्र पनि चलायमान हुने जनाइएको छ । साँझ र रात्रिपख खेलकुद प्रतियोगिता सञ्चालन गर्दा जागिरे र कामकाजी व्यक्तिले समेत खेलबाट फाइदा लिन सक्नेछन् । प्रतियोगिता मात्रै नभएर रात्रिकालीन खेल अभ्यासका लागि पनि रङ्गशालामा ‘फ्लड लाइट’ अत्यावश्यक रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष दीनानाथ बरालले बताउनुभयो । यो विषय उठ्ने गरे पनि राज्यका खेल सम्बद्ध निकायले बेवास्ता गर्ने गरेको उहाँको भनाइ छ । तीन वर्षअघि पोखरामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअघि नै बत्ती जडान गर्ने राखेपको प्रतिबद्धता पनि त्यो बेला पूरा हुन सकेन । १ अर्ब २८ करोड रुपैयाँको लगानीमा ६ वर्षअघि पोखरा रङ्गशाला निर्माण गरिएको थियो । हाल १६ हजार ५०० दर्शक क्षमता रहेकामा त्यसलाई बढाएर २० हजार पुर्याउने सरकारको योजना छ ।
१२ किलो २३० ग्राम गाँजासहित ३ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन् । यसैगरी, भरतपुर महानगरपालिका–१८ लाहुरेचोकबाट चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित सोही महानगरपालिका–२३ का २९ वर्षीय सोम पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो ।
मानव सेवा आश्रमले गरायो २ हजार ८०० बढीलाई पारिवारिक पुनर्मिलन
राम थापा काठमाडौं । मानव सेवा आश्रम सडक आश्रित मानवको उद्धारसँगै पारिवारिक पुनर्मिलनको माध्यम बनेको छ । परोपकारी संस्थाका रुपमा वि.सं २०७३ देखि औपचारिक सेवा सुरु गरेको मानव सेवा आश्रममार्फत हालसम्म २ हजार ८०० जनाभन्दा बढीलाई पारिवारिक पुनर्मिलन गराइएको हो । मकवानपुरको हेटौंडामा केन्द्रीय कार्यालय रहेको आश्रमका कास्कीसहित २१ जिल्लामा ३० सेवा केन्द्र छन् । सडकबाट उद्धार गरेर आश्रममा ल्याइएका व्यक्तिको पारिवारिक पुनर्मिलनलाई पहिलो प्राथमिकता दिने गरिएको आश्रमका सह-कोषाध्यक्ष सुमिरा लामाले बताए । पारिवारिक पुनर्मिलन सम्भव नभएकालाई आश्रममै राखेर रेखदेख र पालनपोषण गर्ने गरिएको उनको भनाइ छ । ‘सडकबाट बेवारिसे अवस्थामा उद्धार गरिएका व्यक्तिलाई पारिवारिक पुनर्मिलन गराउन सकियो भने त्यो हाम्रो महत्वपूर्ण उपलब्धि हुन्छ,’ सह-कोषाध्यक्ष लामाले भने । मानव सेवा आश्रमले हजारौँको सङ्ख्यामा सडक आश्रित मानवको उद्धार गरेकोमा हालसम्म २२ सयभन्दा बढी उपचारपछि स्वैच्छिक रुपमा आश्रमबाट बाहिरिएको उनले बताए । देशभर रहेका सेवा केन्द्रमा हाल दुई हजारभन्दा बढी अशक्त, बेसहारा र अभिभावकविहीनहरूले आश्रम लिइरहेको उनको भनाइ छ । आश्रमले नेपाललाई सडक आश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवर्द्धन महाअभियान’ सञ्चालन गर्दै आएको छ । कोही नागरिक सडकमा आश्रित हुनु नपरोस् भनेर झण्डै एक दशकअघि मानव सेवा आश्रम स्थापना गरिएको थियो । छोटो अवधिमै देशका विभिन्न जिल्लामा आश्रममा सेवा केन्द्र विस्तार गरिएको हो । सेवा केन्द्र विस्तारसँगै आश्रमका आफ्नै भवनलगायत संरचना बन्ने क्रम सुरु भएको छ । गण्डकी प्रदेशमा पनि कास्की, बागलुङ, लमजुङ र गोरखा शाखाको भवन निर्माणाधीन अवस्थामा छ । सरकारी निकाय, विभिन्न सङ्घसंस्था र अन्य दाताहरुको सहयोगमा आश्रमका भवन बनिरहेका हुन् । आश्रमले सडक आश्रित मानवहरुको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ । ‘सबैका लागि खाना, नाना र छाना’ को आदर्श वाक्यसहित नेपाललाई सडक आश्रित मानवरहित राष्ट्र बनाउने महाअभियानमा मानव सेवा आश्रम जुटेको हो । आश्रमले तत्कालीन योजनामा आश्रमका भवन निर्माण, सडक आश्रित मानवरहित नेपाल घोषणा, मानवता अध्ययन केन्द्र स्थापना र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माणलाई अघि सारेको छ । मध्यकालीन योजनामा वि.सं २०८७ भित्र मानव सेवा आश्रमलाई मानवता, परोपकार र सामाजिक विषयको अध्ययन तथा अवलोकन गन्तव्यका रुपमा विकास गर्ने र सातै प्रदेशमा मानसिक स्वास्थ्य लाभ केन्द्र (अस्पताल) स्थापना गर्ने लक्ष्य लिइएको छ ।