विद्यार्थी र सर्वसाधारणका लागि निःशुल्क आँखा शिविर, किसान साकोसको सह्रानीय काम
काठमाडौं । पाँच पटकसम्म अन्तर्राष्ट्रि स्तरको गुणस्तर (एक्सेस ब्राण्ड) प्राप्त गरी एसिया प्रसान्त क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल किसान साकोसको आयोजनामा दुई दिवशीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । संस्थाका केन्द्रीय कार्यालय रहेको गैंडाकोट नगरपालिका वडा नं.८ अन्तर्गत कालिका नमुना माविसँगको समन्वय र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालसँगको प्राविधिक सहजीकरणमा शिविर सञ्चालन गरिएको थियो । जेष्ठ ९ र १० गते सञ्चालित आँखा शिविरमा पहिलो दिन विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आँखा परीक्षण र निःशुल्क चस्मा वितरण गरिएको थियो भने दोस्रो दिन साविक गैंडाकोट नगरपालिका क्षेत्रका आमनागरिकहरुको आँखा परीक्षण गरिएको थियो । विद्यालयस्तरमा संस्थाको उपस्थिति र बालबालिकाहरुको दृष्टि स्वस्थ राख्ने उद्देश्यले विद्यालयलाई लक्षित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जय राज तिमिल्सीनाले बताए । ‘हामी समुदायका सबै क्षेत्रमा संस्थाको उपस्थिति प्रभावकारी बनाउन चाहन्छौं । हाम्रो प्राथमिकता हाम्रो समुदायको समग्र विकास हो । संस्थाको स्रोत र क्षमताले भ्याएसम्म आन्तरिक स्रोत एवम् सहकार्य मार्फत स्थानीय आवश्यकताका आधारमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जानेछौं,’ तिमिल्सीनाले भने । विद्यालयको एकदेखि दश कक्षासम्म अध्ययनरत १ हजार ४०० विद्यार्थीको आँखा परीक्षण गर्दा ६३ जनाको आँखामा समस्या देखिएपछि ५१ जनालाई निःशुल्क चस्मा र औषधि उपलब्ध गराइएको थियो भने १२ जनालाई थप परीक्षणका लागि अस्पताल रिफर गरिएको छ । दोस्रो दिन ३५२ जना स्थानीय समुदायका व्यक्तिहरुको आँखा परीक्षणको क्रममा अधिकांशमा आँखा सुख्खा हुने, चिलाउने, पिरो हुने र दृष्टिमा समेत समस्या देखिएको थियो । परीक्षण गराइएका मध्ये १७ जनाको आँखामा मोतियाविन्दु देखिएकोले संस्थाले भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क शल्यक्रियाको व्यवस्था गर्ने बताइएको छ । त्यस्तै सामान्य समस्या रहेका व्यक्तिहरुलाई निःशुल्क औषधि उपलब्ध गराइएको थियो । संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा उद्घाटन भएको आँखा शिविरमा गैंडाकोट–८ का वडा अध्यक्ष प्रेम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई शुभारम्भ गर्दै प्रमुख अतिथि सापकोटाले किसान साकोसले महत्वपूर्ण र आवश्यक कार्यक्रम गरेकोमा वडा कार्यालय सदैव साथमा रहने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा सापकोटाले सबै सरोबारवाला पक्षहरुलाई आफ्नो विद्यालय छनोट गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा विद्यालयका बालबालिकाहरुका साथै स्थानीय जेष्ठ नागरिक र गृहिणीहरुको उल्लेख्य सहभागिता रहेको थियो । समृद्ध सदस्य, दिगो साकोस परिकल्पना अनुरुप अगाडि बढेको किसान साकोसले, समुदाय आधारित एवं विद्यार्थी लक्षित कार्यक्रमहरु विभिन्न समयमा गर्दै आई रहेको छ । गैंडाकोट नगरपालिका वडा नं. ८ का ९८ प्रतिशत घरपरिवारबाट संस्थामा सदस्यता कायम रहेकोले पूर्ण घर सदस्य वडा समेत घोषणा गरेको जनाइएको छ । यस अगाडि यसै वडामा प्रतिपरिवार दुई बोट कुरिलोका बिरुवा वितरण गरिएको थियो भने टोलटोलमा फोहर संकलनका लागि डस्टबिनको व्यवस्था गरिएको छ । झण्डै चार अर्बको वित्तीय कारोबार गरिरहेको किसान साकाेसले हाल ८४ हजार सदस्य र ११ हजार बाल बचतकर्ता सहित ९५ हजार जनालाई प्रत्यक्ष सेवा दिइरहेको छ ।
सूर्य नेपाल च्यालेन्ज प्रो–एमको उपाधि रामे मगरको टिमलाई
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रोफेशनल खेलाडी रामे मगरको टिमले जितेको छ। रोयल नेपाल गल्फ क्लबमा रामेको टिमले १ सय २४ अंक सहित उपाधि जितेको हो । एमेच्योर गल्फरहरू सत्यजङ्ग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गरे । प्रो भुवन नगरकोटीको टिमले १ सय १७ अंक सहित दोस्रो स्थान प्राप्त गरेको छ । टिमका एमेच्योर खेलाडीहरु रविन्द्र पुरूष ढकाल, मुक्ति सेन गुरूङ र तारा कार्की चित्रकारले समान ३९ स्कोर गरेका थिए । यस्तै प्रो रमेश अधिकारीको टिम १ सय १४ स्कोर सहित तेस्रो भयो । एमेच्योर खेलाडीहरु स्वप्निल भट्टराईले ३९, फुन्सुक नोर्बु लामाले ३८ र स्वदेश गुरूङले ३७ स्कोर गरे । महिलातर्फ अञ्जली योञ्जनले ३९ स्कोरमा राष्ट्रिय टिमकी खेलाडी तारा कार्की चित्रकारलाई काउन्ट ब्याकमा हराउँदै ट्रफी जितिन् । यसैगरी झलेन्द्र भट्टराईले लङ्गेस्ट ड्राइभ र फुन्सुक नोर्बु लामाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते । प्रो-एममा कुल ९० एमेच्योर गल्फरको सहभागीता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे । हिजो सम्पन्न सूर्य नेपाल च्यालेन्जको उपाधि धरानका प्रो शुक्र बहादुर राईले कोर्स रेकर्ड सहित जितेका थिए । उनले समग्रमा १७-अन्डर २ सय ५५ को प्रभावशाली स्कोरमा निरज तामाङलाई ४ स्ट्रोकले हराउँदै उपाधि आफ्नो नाममा लेखाएका थिए । अब सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत आठौं तथा अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर जुन १० देखि १३ सम्म गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रो-एम जुन १४ मा हुने बताइएको छ ।
बिहे घरमा झडप : बेहुला-बेहुली पक्षबीचको विवादमा पाँच जना घाइते
काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–६ कदमहास्थित एक बिहे घरमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । शुक्रबार राति करिब ११ : ३० बजे विवाहको विधि चलिरहेको बेला डिजेमा नाचगान भइरहेका दौरान दुवै पक्षबीच विवाद सुरु भई झडपमा परिणत भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मदिरा सेवनपछि झगडा चर्किँदा दुवै पक्षबाट व्यक्तिहरू घाइते भएका छन् । घाइतेहरूमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी (बेहुली पक्ष), विराटनगर–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी (जन्ती पक्ष) रहेका छन् । प्रहरीका अनुसार झडपमा तीन जनाको टाउकोमा गम्भीर चोट लाग्दा टाँका लगाउनुपरेको छ । घाइते सबै जनालाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ। उनीहरू सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।