स्रोत नखुलेको ९५ लाख १७ हजार पाँचसय सहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सय रुपैयाँसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका- १ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोर्दी गाउँपालिका- ३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, 'काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा आइतबार दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार उनीहरूको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।' स्रोत खुल्न नसकेको उक्त रकमसहित पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।
कार्ल्सवर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न, लामाले जिते कार्ल्सवर्ग कोपनहेगन ट्रीप
काठमाडौं । कार्ल्सवर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा 'कार्ल्सवर्ग गल्फ क्लासिक' प्रतियोगिता सम्पन्न भएको छ । एकदिवसीय गल्फ प्रतियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् । प्रतियोगिताका विजेताहरुलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए । 'कार्ल्सवर्ग गल्फ क्लासिक’ प्रतियोगिता–२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित काल्र्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कार स्वरूप पाए । त्यस्तै, ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टि लामाले रनरअपको उपाधि जिते । त्यसैगरी महिला तर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छन् भने सिनियर तर्फ ३३ अंकसहित अर्जुन कुमार कार्की विजयी भए । त्यस्तै, सुस्मिता खड्का महिला तर्फ उपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले ’ कोल्जेस्ट टु द पिन’ अवार्ड जिते भने प्रकाश गुरुङले 'लङगेस्ट ड्राइभ’ को उपाधि जितेका थिए । त्यसैगरी, मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए । सबै विजेताहरूलाई ट्रफी र कार्ल्सवर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
कक्षा १२ को परीक्षामा सहभागी भइन् ७३ वर्षीया सूर्यवती खनाल
काठमाडौं । माध्यमिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आइतबारदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जानकारी दिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६२ र मनाङ–मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको छ । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् । त्यसैगरी, आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कूल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परीक्षका लागि फर्म भरेको अध्यक्ष शर्माले जानकारी दिए । यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ । यसैबीच, काठमाडौं तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिएकी छन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन् । प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुन् । उनले एसइई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन् । उनका श्रीमान विद्यालयका शिक्षक हुन् ।