वीरगञ्जमा निषेधाज्ञाको अवधि थप

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)को समय बढाएको छ ।  आइतबार मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर मध्यरात १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।  पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ः०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२ः०० बजेसम्मका लागि बढाएको जानकारी दिए ।  दुई समुदायबीच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो। 

तस्बिरमा हेर्नूहोस चिसाेपानीमा १० वर्षदेखि भग्नावस्थामा रहेका घर तथा होटलहरू

काठमाडौं । विसं २०७२ वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गयो । उक्त भूकम्प र त्यसपछिको पराकम्पमा परी ८ हजार ६ सय ५४ जनाले ज्यान गुमाए ।  २२ हजार ३०९ जना घाइते हुनुका साथै ५ लाख ११ हजार ३९० घर ध्वस्त भए र २ लाख ८६ हजार ७६७ घर आंशिक रूपमा क्षतिग्रस्त भए । भत्किएका धेरै घरको पुनःनिर्माण सम्पन्न भए पनि चिसाेपानीमा भने हालत उस्तै छ । त्यहाँका घर तथा होटलहरू अझै पनि भग्नावस्थामा रहेका छन् । भूकम्प गएको १० वर्ष पुग्दैछ तर ती संरचनाको पुनःनिर्माण हुन सकेको छैन । नुवाकोटका शिवपुरी गाउँपालिका–१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ३ को सिमानामा चिसाेपानी पर्दछ । त्यस क्षेत्रका कुल २५ घर भूकम्पले क्षति गरेको थियो । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज

ज्योतिषीय अध्ययन, अनुसन्धान गर्न ज्योतिषहरूले मागे बजेट

काठमाडौं । वेदका ६ वटा अङ्गमध्ये सबैभन्दा महत्त्वपूर्ण अङ्गका रूपमा रहेको ज्योतिष क्षेत्रमा थप अध्ययन, अनुसन्धान गरिनुपर्नेमा जोड दिइएको छ । विश्व ज्योतिष महासङ्घको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै धर्मशास्त्र एवं ज्योतिष क्षेत्रका विद्वानले अध्ययन, अनुसन्धानका लागि स्रोतको व्यवस्था गरिनुपर्नेमा पनि सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले ज्योतिषमा गणित नमिल्दा सही फलादेश नहुने भएकाले सही गणित गर्ने गरी अध्ययन, अनुसन्धान र गणित गर्न आवश्यक यन्त्र तथा विधिको विकास गरिनुपर्ने बताए ।  समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले ज्योतिष क्षेत्रलाई अनुगमन एवं मूल्याङ्कन गर्ने गरी आवश्यक बजेट र कानुनको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । ज्योतिष शास्त्रलाई धर्मशास्त्रबाट अलग गर्नु नहुने पनि उहाँको भनाइ थियो । ज्योतिषी काम गर्नेले साधना, अध्ययन र अनुसन्धान गरिरहनु पर्ने राष्ट्रिय धर्म सभाका अध्यक्षसमेत रहेका उनले सुनाए ।  समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले नेपालका धर्म, कर्म, संस्कार र संस्कृति राष्ट्रियताका प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्ने बताए । वाल्मीकि विद्यापीठ, ज्योतिष विभागका प्राडा माधवप्रसाद पाण्डेयले ज्योतिष शास्त्रीय मूल्य र मान्यताअनुसार नै नेपालमा ज्योतिषको अभ्यास गरिनुपर्ने आवश्यकता औंल्याए । शास्त्रीय आधारबिना गरिएका कामका बारेमा गर्नेले नै जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।  महासङ्घका अध्यक्ष लोकराज पौडेलले २३ देशका प्रतिनिधिको उपस्थितिमा समारोह हुन लागेको जानकारी दिए । महासङ्घको प्रधान कार्यालय अहिले नेपालमै रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरी त्यसलाई यहीँ स्थायी बनाउन सबैको सहयोग आवश्यक रहेको उनले सुनाए ।  दक्षिण एसियाली ज्योतिष महासङ्घका सभापति लक्ष्मण पन्थीले विश्व ज्योतिष महासङ्घ, दक्षिण एसियाली ज्योतिष महासङ्घ र नेपाल ज्योतिष परिषद् लगायत नेपालमा क्रियाशील ज्योतिषीय संस्था मिलेर विसं २०८२ जेठ १०-१२ गतेसम्म धनकुटाको भेडेटारमा अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलन २०८२ आयोजना गर्न लागिएको जानकारी गराए ।  कार्यक्रममा नेपाल ज्योतिष परिषदका अध्यक्ष सहदेव विष्ट, महिला ज्योतिष सङ्घका अध्यक्ष रतिदेवी श्रेष्ठ लगायतले यस क्षेत्रको विकासमा सरकारी र सरोकार भएका निकायले ध्यान दिनुपर्ने विचार राखेका थिए ।