अमेरिका पठाइ दिन्छु भन्दै डेढ करोड रूपैयाँ ठगेपछि…

काठमाडौं । पछिल्लो समय सुविधा सम्पन्न देशमा पठाइदिन्छु भनेर ठूलो परिमाणमा पैसा ठग्नेहरु बढेका छन् । अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशमा सहज रुपमा पठाइदिन्छु भन्दै सर्वसाधारणबाट पैसा उठाउने र पछि सम्पर्कविहीन हुने गिरोहहरु बढेका छन् । यस्तै, एउटा घटना बाहिरिएको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार यस्ता तीन जनालाई प्रहरीले पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने २४ वर्षीय मनिषराज खड्का, रूकुम पश्चिम मुसिकोट नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय मधु कुमार खड्का र ३४ वर्षीय बिरेन्द्र खड्का रहेका छन् । उनीहरूले अमेरिका पठाइदिछु भन्दै २ जना पीडितहरूबाट १ करोड ४४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषराजलाई काठमाडौं महानगरपालिका-९ बाट तथा मधु कुमार र बिरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-८ बाट पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : दोस्रो दिन तोरणको अग्रता कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन तोरण विक्रम शाही ४–अन्डर ६८ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन् । समग्रमा ११–अन्डर १३३ सहित उनले निरज तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन् । धरानका प्रो निरजले दिनकै उत्कृष्ट स्कोर कार्ड निकाले । ५–अन्डर ६७ सहित समग्रमा ८–अन्डर १३६ को स्कोरमा दोस्रो स्थानमा रहे । समग्रमा २–अन्डर १४२ को स्कोर बनाएका टंकबहादुर कार्की र दिनेश प्रजापति तेस्रो स्थानमा उक्लिए । दुवैले समान इभन–पार ७२ मा दोस्रो दिनको खेल सकाए । नेपाल नम्बर एक भुवन नगरकोटी, रमेश अधिकारी र जय राम श्रेष्ठ समग्रमा १–अन्डर १४३ सहित संयुक्तरुपमा पाँचौ स्थानमा रहे । भुवनले २–अन्डर ७०, रमेशले १–अन्डर ७१ र जयरामले १–ओभर ७३ को स्कोर दर्ज गरे । पहिलो दिनका लिडर तोरणले फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गरे । उनले ३–अन्डर ३३ मा फ्रन्ट नाइनको खेल सकाए । पहिलो होलमा बोगी प्रहार गरे पनि दोस्रो, तेस्रो,सातौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गरे । ब्याक नाइनमा १–अन्डर ३५ को स्कोर निकाले । १०औँ र १२ औँ होलमा बोगी खेपे पनि तोरणले कम ब्याक गर्दै १३औँ, १७औँ र १८औँ होलमा एक/एक सट बचाए । दिनकै उत्कृष्ट स्कोर निकालेका निरजले बोगी रहित खेले । फ्रन्ट नाइनमा ४–अन्डर ३२ को लोभलाग्दो प्रदर्शन गर्दा ब्याक नाइन १–अन्डर ३५ मा सके । यो क्रममा उनले ५ होलमा बर्डी प्रहार गरे । तेस्रो होलमा एक सट बचाएका उनले यसपछि पाँचौँदेखि सातौँ होलमा लगातार तीन बर्डी प्रहार गरे । यसपछि १२औँ होलको बर्डीले ५–अन्डरको स्कोर तयार पार्दै लिडर तोरणलाई दबाब दिएका छन् । एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुन विश्वकर्मा र डिफेन्डिङ च्याम्पियन सदभाव आचार्य इभन– पार १४४ सहित संयुक्त रूपमा शीर्षस्थानमा छन् । आज राहुलले ३–अन्डर ६९ को स्कोर निकाले । दोस्रो, तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरेका उनले आठौँ होलमा बोगी खेपे । फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । यसपछि ११औँ र १२औँ होलमा एक÷एक सट बचाए । ४–पारको १४औँ होलमा इगलको सफलता प्राप्त गरे । तर १३औँ, १६औँ र १७औँ होलको बोगीले ब्याक नाइन १–अन्डर २५ मा पुरा गरे । सदभावले भने इभन–पार ७२ को स्कोर गरे । ३६ होलको समाप्तीमा १३–ओभर १५७ स्कोर गरेका २२ प्रोफेसनल र ४ एमेच्योर गरी कुल २६ गल्फरले कट बनाएका छन् । प्रोतर्फ भुवन कुमार रोक्का, प्रदीप कुमार लामा, सुनील केसी,  दीपक मगर, भुबहादुर गुरूङ,  बलभद्र राई, धनबहादुर थापा, रवि खड्का, सुरेश तामाङ, शिव राम पौडेल, भीमसेन चौलागाई र राजेन्द्र श्रेष्ठ प्रधानले कट बनाए । एमेच्योरतर्फ राहुल र सदभावसँगै बाबु पौडेल र कवि थापाले कट बनाए । प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख  र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ स्थानसम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

मुलकभरका शिवालयमा भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौं । आज शिवरात्रि पर्वका अवसरमा मुलुकभरका शिवालय तथा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । शिवरात्रिको दिन भगवान् शिवको पूजाआजा र भजनकीर्तन गरी उपवास बसेमा मनोकामना पूरा हुने जनविश्वाससहित आज बिहानैदेखि शिवालयमा दशनार्थीको घुइँचो लागेको हो । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका कैलालीको धनगढीस्थित बेहडाबाबा मन्दिर, शिवपुरी उत्तररामेश्वरम् ज्यार्तिलिङ्गधामलगायत शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको बेहडाबाबा मन्दिरमा व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । आज मन्दिर परिसर नजिक मेलाको पनि आयोजना गरिएको भन्दै मेलामा कैलालीका साथै छिमेकी जिल्लाका बासिन्दा तथा भारतबाट पनि दर्शनार्थी आएका उजले बताए । उनका अनुसार मन्दिर परिसरमा नेपालीका साथै भारतीय व्यवसायीले केही दिनअघिदेखि यहाँ विभिन्न पूजाका सामग्रीको व्यापार गर्दै आएका छन् । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा महाशिवरात्रि पर्वका दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । बेनी बजारबाट तीन किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाममा बिहानैदेखि म्याग्दीसहित विभिन्न जिल्लाबाट आएका भक्तजनहरूले पूजा एवं दर्शन गरिरहेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीे जानकारी दिए । महाशिवरात्रि पर्वका अवसरमा आज रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवा शिवालय मन्दिरमा पूजा आराधना गर्न लामबद्ध भक्तजन । उनका अनुसार गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको छ । जिल्लाको बेनी शिवालय मन्दिरमा रहेको एक सय आठ शिवलिङ्गको पूजा गर्न पनि आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ । झापाको अर्जुनधारा नगरपालिकास्थित पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा पूजाआराधाना तथा दर्शन गर्न आएका श्रद्धालु भक्तजनको भीड । पहाडी जिल्ला लमजुङमा रहेका विभिन्न महादेव मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रि पर्वमा शिव भगवान्को पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वासले जिल्लाका करपुरेश्वर, इशानेश्वर, करापुटार, त्रिशक्तिलगायत महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको हो । महाशिवरात्रि पर्वका अवसरमा आज रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवा शिवालय मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको भीड । काठमाडौं महानगरपालिका-१६ स्थित तारकेश्वर धाममा महाशिवरात्री पर्व मनाउन आएका भक्तजन। यहाँ लमजुङसहित गोरखा, तनहुँ, कास्की, बागलुङ, काठमाडौंलगायत जिल्लाबाट भक्तजन दर्शनका लागि आएका इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले जानकारी दिए । उनका अनुसार यहाँ ठाडो बत्ती बाल्ने, दूध चढाउने, सामूहिक व्रतबन्ध, शिवमहापुराण वाचन, लोकगीत प्रतियोगिता, करापुटारे ठाडोभाका, रक्तदान, ठेलो प्रतियोगिता, भलिबल प्रतियोगिता, कृषि मेला, हस्ताकला प्रदर्शनी, एक सय आठ धारामा स्नान, दर्शन गर्नेलगायत कार्यक्रम भइरहेका छन् । काठेखोला गाउँपालिका–७ रेशस्थित ओदानेश्वर शिवालयमा महाशिवरात्री पर्व मनाउन आएका भक्तजन । शिवरात्रिका अवसरमा सप्तरीको शम्भुनाथ महादेवसहित विभिन्न शिवालयमा बिहानैदेखि हिन्दू धर्मावलम्बीहरूको पूजापाठ र दर्शन गर्नेको घुइँचो लागेको छ । आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मिठाई तथा फलफूलसहित महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा शिव मन्दिरमा पूजाआजाका लागि लामबद्ध छन् । साथै जिल्लाको महादेवा गाउँपालिकास्थित शिवमन्दिर, हनुमानगर कङ्कालनी नगरपालिका–२ सकरदहीमा रहेको महादेव मन्दिर, कञ्चरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिर, बोदे बरसाइन नगरपालिका–५ स्थित हरिशङ्कर महादेव मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । त्यसैगरी, महोत्तरीको सदरमकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा आज महाशिवरात्रिका अवसरमा पूजा तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको महाशिवरात्रि पूजा समारोह समितिका अध्यक्ष जितेन्द्र साहले बताए । दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रि पर्वको दिन बुधबार विश्वकै अग्लो दावी गरिएको त्रिशुल हेर्न आएका भक्तजनको घुइँचो । उनका अनुसार भक्तजनको सहज दर्शनका लागि महिला, पुरुषको फरकफरक लाइनको व्यवस्था गरिएको छ । साथै सुरक्षा लागि जिल्लामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवा खटिएका उनले जानकारी दिए । यहाँ महोत्तरीसहित धनुषा, सिरहा, सर्लाही, सिन्धुलीसहित छिमेकी मुलुक भारबाट पनि दर्शनार्थी आउने गर्छन् । महाशिवरात्रिका दिन आज पोखराको केदारेश्वर मन्दिरको शिवलिङ्गमा जल,दूध र बेलपत्र चढाउँदै भक्तजन ।