खुशीयाली साट्न देशका प्रमुख शहरमा एनसेल मेला हुने, भाद्र ३० गतेबाट सुरु
काठमाडौं, १६ भदौ । देशकै अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले देशका विभिन्न ५ शहरहरुमा एनसेल मेलाको आयोजना गर्ने भएको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाँडपर्वको अवसर पारेर नारायणघाट, पोखरा, बुटवल, धरान र बिर्तामोडमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड स्थानिय स्तरमा चिनाउन एनसेल मेला गर्न लागेको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला यही भाद्र ३० गते नारायणघाट (नारायणी किनार) मा आयोजना गरिने छ । यो मेला असोज १ गते पोखरा (प्रदर्शनी केन्द्र, नयाँ बजार), असोज ३ गते बुटवल (सिद्घेश्वरी मैदान, दीपनगर) र असोज ६ गते धरान (पब्लिक हाई स्कुल मैदान) मा आयोजना हुनेछ र असोज ८ मा बिर्तामोड (सुगम पेट्रोल पम्प मैदान) मा आयोजना पश्चात मेलाको समापन हुनेछ । प्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझसम्म चल्ने एनसेलले जनाएको छ । चर्चित कलाकार तथा संगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन् । यसदेखि बाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् । मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुतीहरु रहने छन् । त्यसैगरी, युभि एन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । मेलामा बालबालिका लगायत सबै उमेरका लागिविविध कार्यक्रमहरु समाबेश गरिएका छन् । बालबालिकालागि इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्नेछन् । गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् । “हाम्रा आदरणीय ग्राहकमाझ पुगी खुसीयाली साट्न र सबैसँग चाडपर्वको शुभकामना आदानप्रदान गर्न एनसेल मेला आयोजना गर्न लागिएको हो,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “विविध आकर्षक कार्यक्रमहरु समावेश गरिएको यो मेलामा आउने दर्शकले भरपुर मनोरन्जन पाउने कुरामा हामी विश्वस्त छौ र सबैलाई आफ्ना परिवारजन, आफन्त र साथीभाईसंग रही खुसी साट्न थप उर्जा दिने विश्वास लिएका छौ ।”
जापानमै लुके नौ गैरखेलाडी, क्रिकेटका नाममा मानवतस्कर
काठमाडौं १५, भदौ , काठमाडौं–क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं फर्कने टिकट जापानबाटै रद्द गराएको खुलेको छ । १५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ । अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् । ती गैरखेलाडीले पहिलै नै बुकिङ गरिसकेको आफ्नो फर्कने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको छ । गत १५ जुलाईमा जापानमा आयोजना भएको होण्डा कप क्रिकेट प्रतियोगितामा सहभागि हुन गएका १८ जनाको टोली जापान गएको थियो । त्यो टोलीमा सातजना क्रिकेटर, दुइजना पदाधिकारी र नौ जना गैरखेलाडी थिए । सोही गैरखेलाडी जापानमै लुकेर बसेका हुन । जापानमै लुकेका गैरखेलाडी रामसुर बुढा सञ्जिव बुढा रोमी सरङ्कोटी राना सूर्य बानियाँ नरेन्द्र बुढा सुन्दरकुमार ओली श्यामकुमार पुन डेन्डी शेर्पा लक्ष्मण छन्त्याल अन्नपूर्ण पोष्टबाट
हेलिकोप्टर चढेर मन्त्री स्कूल उद्घाटनमा, हेलिकोप्टर अवतरण हुँदा वृद्ध घाइते
काठमाडौं १५, भदौ । वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरेर गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब एक सय ५० किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेको भवन उद्घाटन गर्न मन्त्री गौचन एकलाख रुपैयाँ बढी तिरेर हेलिकोप्टर चार्टर गरेर पुगेका हुन् । उनी मङ्गलबार दिउँसो एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगेका थिए । मन्त्री चढेको हेलिकोप्टर अवतरण हुँदा हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ताप्ले ९ का ९० बर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । स्थानीय कलाधर भट्टका अनुसार वृद्धको टाउकोमा चोट लागेको छ । गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने सन्तुष्ट छैनन् । ‘भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन’ माओवादी केन्द्रका गाउँ संयोजक समेत रहेका भट्टले भने, ‘आफू उद्घाटन गर्दै हिड्दिन भन्ने प्रधानमन्त्रीले मन्त्रीलाई यस्तो तडकभडक गर्न दिनु ठिक भएन ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई नियन्त्रणमा राख्न नसकेको समेत उनले टिप्पणी गरे । अर्का स्थानीयबासी रज्मदिन मियाँले असन्तुष्टि व्यक्त गरे । ‘एक करोड ५५ लाख खर्च गरेर विद्यालय भवन बनाइदिने संस्थाका अध्यक्ष, उपाध्यक्ष सबै गाडीमा आएका छन् । तर मन्त्री एक घण्टा बस्न हेलिकोप्टरमा आउनु भयो’ मियाँले भने, ‘हेलिकोप्टर उडाउने पैसाले मन्त्रीले कुनै गाउँको विद्यालय भवन बनाउन सहयोग गरेको भए राम्रो हुनेथियो ।’अन्नपूर्ण पोष्टबाट ।