दुई अर्ब लगानी थप्दै क्वेष्ट फर्मास्यूटिकल्स, प्रिमियम मूल्यमा आईपीओ ल्याउने
काठमाडौं । व्यापार र सेवा मूलक व्यवसायको तुलनामा उद्योग चलाउनु नेपालको सन्दर्भमा निकै कठिन काम हो । तर संघर्षशील उद्यमीहरु पछि हटेका छैनन् । नयाँ नयाँ उद्योग खोल्ने, भएको उद्योगको क्षमता विस्तार गर्ने कार्य जारी राखेका छन् । यस्तै उद्योग मध्ये एक हो क्वेष्ट फर्मास्यूटिकल्स प्रा.लि । औषधि उत्पादक कम्पनीहरु मध्ये अब्बल उद्योगको रुपमा स्थापित यो उद्योगले विरगञ्जमा नयाँ प्लान्टहरु लगाउँदै छ । ‘हामी इन्जेक्टएवल औषधि उत्पादमा जोड दिदैछौं’ क्वेष्ट फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक उमेशलाल श्रेष्ठ भन्छन्–‘हामी नेपालमै अहिलेसम्म उत्पादन नै नभएका थप ५/६ ओटा नयाँ उत्पादनहरु ल्याउने तयारी गरिरहेका छौं ।’ गर्भनिरोधकको औषधि, दमको औषधि, थाइराइडको औषधि, सेक्स हर्मोन, पेड्नीसोलोन, अंकोलोजी तथा एन्टी क्यान्सर लगायत नेपालमा उत्पादन नहुने र पूर्ण रुपमा विदेशमा भर पर्नुपर्ने औषधिहरु उत्पादन गर्ने कम्पनीको तयारी छ । नयाँ उत्पादन ल्याउन कम्तिमा २०० करोड रुपैयाँ थप लगानी हुने कम्पनीको प्रारम्भिक अनुमान छ । नयाँ योजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । श्रेष्ठले औषधि उद्योगमा काम गरेको ४२ वर्ष भयो । उमेरले ६ दशक छोएको छ तर उनको जोश र जाँगरमा कमी छैन । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत रहेका श्रेष्ठ भन्छन्–‘महासंघको काममा पनि त्यत्तिकै दौडधुप हुन्छ । पहिला जस्तो धेरै काम गर्न सकिदैन । तर, हामीले युवा पुस्तालाई जिम्मेवारी दिईसकेका छौं । जो दैनिक १२/१४ घण्टा खटेर काम गर्छन् । दे वर्क भेरी हार्ड ।’ उमेशलाल श्रेष्ठ क्वेष्टमा हाल करिव ६०० जना कर्मचारी छन् । २० वर्षको इतिहास बोकेको यस कम्पनीमा कर्मचारीले कहिल्यै हड्ताल गरेका छैनन् । ‘हामी प्रोफेशनली काम गर्छौ । कर्पोरेट कल्चर छ । युवाहरुले नयाँ नयाँ आईडिया ल्याउँछन् । हामी त्यसलाई रिफाइन गरेर कार्यान्वयनमा लैजान्छौं’ कम्पनीको कार्यशैलीबारे उनले संक्षेपमा बताए । ‘हामीले म्यानेजम्याट युथलाई ह्याडओभर गरिसक्यौँ । स्वामित्व त त्यसै पनि हस्तान्तरण भईहाल्छ’ उनले भने–हामी ५ वर्ष भित्रमा पब्लिकमा जान्छौ ।’ प्रिमियम मूल्यका सेयर निष्काशन गरिने ‘कम्पनीको ड्यूडेलिजेन्स अडिट गर्ने तयारी भईरहेको र डीडीए रिर्पोटको आधारमा प्रिमियम मूल्य तय गरि साधारण सेयर सार्वजनिक निष्काशन गर्छौ’ श्रेष्ठले भने–‘मलाई यस कम्पनीको नेटवर्थ थाहा छ । तर यसको ब्राण्ड भ्यालु मूल्यङ्कन गर्न कठिन छ । यसको लामो विधि हुन्छ । हुनसक्छ यसको ब्राण्ड भ्यालु ५ सय करोड वा १ हजार करोड वा २ हजार करोड रुपैयाँ बराबर आउँला ।’ कम्पनीको हालको पुँजी, नाफासहितको ब्यालेन्ससिटबारे उनी खुलेनन् । तर प्रष्ट वक्ताको स्वभाव उनले देखाईहाले । ‘क्वेष्टको ब्यालेन्ससिट २/३ वटा छैन । कर कार्यालयबाट लिनुहोस् । मैले कति कर तिरेको छु, त्यो पनि हेर्न सक्नुहुन्छ, मेरो कम्पनीहरुले कति कर तिर्छ, त्यो पनि हेर्न सक्नुहुन्छ । गर्नुपर्ने ठाउँमा मैले रिपोर्टिङ गरेको छु । जहाँ जरुरी छैन त्यहाँ किन भन्ने ? पब्लिक भएपछि तपाईले नमागे पनि हामी सार्वजनिक गर्छौै ।’ कम्पनीको व्यापार वृद्धि हरेक वर्ष २५ प्रतिशतभन्दा माथि रहेको उनले बताए । ‘सुरुसुरुमा हाम्रो ग्रोथ १५०/२०० प्रतिशत पनि थियो । पछिल्लो वर्षमा हाम्रो प्रतिवर्ष २५ प्रतिशतले वृद्धि भहिरहेको छ’ उनले भने–‘चालु आर्थिक वर्षमा करिव २०० करोड रुपैयाँ बराबरको कारोबार हुनसक्छ । सन् २०२६ सम्ममा वार्षिक कारोबार १३ सय करोड पुर्याउने कम्पनीको लक्ष्य छ ।’ हाल नेपालको औषधि बजार करिब ४ हजार ५ सय करोडको छ । नेपाली औषधि उत्पादकहरुले बजारको ५० प्रतिशत हिस्सा लिएका छन् । केही उद्योगहरुले औषधि निर्यात पनि थालेका छन् । ‘हामी अहिले नै निर्यात गर्छौ भनेर भन्दैनौं । तर हामीले बनाउँदै गरेका नयाँ फ्याक्ट्रीहरु लरतरो छैन, कुनै पनि बेला निर्यात गर्न सक्ने क्षमताका उद्योग हुनेछ’ उनले आफ्नो चाहाना र क्षमता दुबै व्यक्त गरे । क्वेष्टले तत्कालका लागि कम्पनीले निर्यातभन्दा पनि देश भित्रकै बजार हिस्सा बढाउने योजना बनाएको छ । जुन जुन औषधिमा नेपाल ओभर डिपेन्डेन्ट छ त्यहि त्यहि औषधि उत्पादनलाई कम्पनीले प्राथमिकतामा राखेको छ । उद्योग विस्तारपछि किन पुँजीबजारमा ? सामान्यतय कुनै पनि कम्पनीले क्षमता विस्तार तथा बजार विस्तारको लागि सेयर निष्काशन गर्छ र बजारबाट पुँजी संकलन गर्छ । तर क्वेष्टले उद्योगको क्षमता विस्तारपछि सेयर निष्काशनको तयारी गरेको छ । किन ? हामीले प्रश्न गर्यौं । ‘बैंक, बीमा कम्पनीको आईपीओमा जस्तो उद्योगको आईपीओमा सर्वसाधारण लगानीकर्ताको भीड हुन्न । त्यसैले हामी राम्रो उद्योग चलाएर, पब्लिकको पूर्ण विश्वास जितेर सेयर निष्काशन गर्छौं’ उनले भने–‘केही उद्योगहरुले सर्वसाधारणलाई सेयर बेचेर भागे । त्यसका नकारात्मक असर नयाँ उद्योगलाई परिरहेको छ ।’ आफू समेत प्रमोटर भएको फ्ल्योर हिमालयन कम्पनी लिमिटेडको सेयर निष्काशन गर्दा ८० प्रतिशत मात्र बिक्री भएको तितो अनुभव पनि उनले सुनाए । ‘१०० को सेयर ९००मा बेच्न सकियो भने १०० करोडको सेयर निष्काशन गर्दा ९० करोड पैसा आउँछ । यस्तो पुँजीले उद्योगलाई वित्तीय रुपमा बलियो बनाउँछ’ पुँजी बजारमा जान चाहानुको अर्को उदेश्यबारे उनले प्रष्ट पारे । पुँजी थपिएपछि फेरी उद्योगको क्षमता विस्तार गर्न सकिने उनको भनाई छ । गत वर्षको बजेटमा १०० करोडभन्दा धेरै पुँजी भएका प्राइभेट कम्पनीहरुलाई पब्लिकमा जान प्रेरित गर्ने सरकारी नीति आयो । हालका प्राइभेट कम्पनी पब्लिक भएमा त्यस्तो कम्पनीलाई आयकरमा १० प्रतिशत फिर्ता दिने सरकारको नीति छ । सरकारले नयाँ नीति ल्याउनुपूर्व नै कम्पनीको बोर्डमा पब्लिक कम्पनी बन्ने विषयमा छलफल भएको उनले बताए । ‘सरकारले ट्याक्समा १० प्रतिशत रिबेट दिने भनेपछि लोभले हामी पब्लिक बन्न खोजेको होइनौं । हामी मोर ट्रास्परेन्ट हुन चाहान्छौं । बिजनेसलाई मोर प्रोफेसनल बनाउँदैछौ । नेपाली औषधि उद्योगलाई अन्तराष्ट्रिय स्तरको उद्योग बनाउन चाहान्छौं’ उनले भने । विदेशीसँगको साझेदारीको प्रयास कम्पनीले विदेशी साझेदारीमा एन्टी क्यान्सर तथा अंकोलोजी प्रडक्ट तयार गर्न चाहेको छ । ‘नेपाल जस्तो सानो बजार भएको देशमा वित्तीय साझेदारी भित्र्याउन सजिलो छैन । हामी टेक्निकल पार्टनरसीप खोजिरहेका छौं । रोयल्टी तिरेर ५/१० वर्ष उत्पादन गर्ने, त्यसपछि आफैले नयाँ ब्राण्ड बनाउने विधि पनि हुनसक्छ’ उनले आफ्नो सोच सुुनाए । ‘हामी जनरल प्रडक्टहरु कम बनाउँछौ । मैले जति सक्दो विश्वमा आएको नयाँ प्रडक्टहरु ल्याउने प्रयास गरिरहेको छु । मैले पुराना प्रडक्टहरुलाई थोरैमात्र राख्ने गरेको छु । विषेश गरी डाइबेटिजका, बल्डप्रेसर, कोलेस्टरल निरोधका औषधिहरु बनाउँछौं । जटिल प्रकारका रोग निरोधका औषधि उत्पादन गर्न ठूलो पुँजी र नयाँ प्रविधिको आवश्यक हुन्छ’ उनले भने । नेपालको औषधि उत्पादनमा चीन र भारतको तुलनामा २५देखि ३० प्रतिशत उत्पादन लागत बढी छ । ‘कच्चा पदार्थ, भाडा र नदेखिने खर्चहरु धेरै हुन्छन् । विदेशमा ३ दिनमा काम हुने फाइल नेपालमा ६ महिनासम्म अडकेर बस्छ । यो थाहा पाएपछि विदेशी भाग्छ’ विदेशी साझेदारी भित्र्याउन गरेको प्रयासबारे अनुभव सुनाए । भारतमा औषधि उत्पादकलाई ३५ शीर्षकमा अनुदान दिएको छ । नेपालमा यस्तो सुविधा छैन । तर नेपाल सरकारले औषधिका कच्चा पदार्थ र मेसिन लगायतका बस्तु आयातमा करिब २ प्रतिशत मात्र कर लगाएकोमा उनी खुशी छन् । ‘जे जे भएपनि नेपालमा बन्ने औषधिको गुणस्तर पनि राम्रो छ र मूल्य पनि सस्तो छ’ उनले भने ।
अर्थमन्त्रालयले २८ हजार कर्मचारीको एक महिनाको तलब सुविधा खोस्यो
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको एक निर्णयका कारण करिब २८ हजार कर्मचारीले एक महिनाको तलब गुमाउन पुगेका छन् । अर्थमन्त्रीको निर्देशनपछि अर्थ सचिवले जारी गरेको एक निर्देशनले ४० वटा सरकारी संस्थानमा कार्यरत २८ हजार भन्दा बढी ४ सय ५ जना कर्मचारीको एक महिनाको तलब गुमेको हो । हाल देशभर ४० वटा सरकारी संस्थान, कम्पनी, कोष, बैंक लगायतका संस्थामा नेपाल सरकारको सेयर स्वामित्व छ । त्यसमा कुल २८ हजार ४ सय ५ जना कर्मचारी काम गरिरहेका छन् । अर्थ मन्त्रालयको सचिवस्तरिय निर्णय मार्फत २०७५ चैत १४ गते पत्र लेखेर सरकारी स्वामित्व भएका कुनै पनि संस्थान, कम्पनी, बोर्ड, समितिहरुलाई बार्षिकोत्सवका अवसरमा कर्मचारीहरुलाई अतिरिक्त तलब नदिन भनेको हो । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, बीमा समिति, नेप्से, निक्षेप तथा कर्जा सुरक्षण कोष, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सिडिएस एण्ड क्लियरिङ, राष्ट्रिय बीमा संस्थान, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, राष्ट्रिय बीमा कम्पनी, नेपाल पुनर्बिमा कम्पनीलाई बार्षिकोत्सवका अवसरमा कर्मचारीलाई अतिरिक्त तलब नबाढ्न भनेको हो । यी निकायहरुले प्रत्येक बार्षिकोत्सवका अवसरमा आफ्ना कर्मचारीहरुलाई एक महिना तलब दिँदै आएको थियो । ‘हामीले बर्षेनी एक महिनाको अतिरिक्त तलब पाउँदै आएका थियौं, त्यसले कर्मचारीको ठूलो गर्जो टर्ने गरेको थियो, तर यसपाली अर्थ मन्त्रालयको निर्देशनले त्यो सुबिधा कटौती भयो, हाम्रा लागि ५१ औं बार्षिकोत्सव खल्लो भयो’, बीमा समितिका एक कर्मचारीले भने । बीमा समितिको कर्मचारी युनियनका नेताहरु बार्षिकोत्सवको अवसरमा पाउँदै आएको एक महिनाको तलब उपलब्ध गराउन अनुरोध गर्दै दैनिक अर्थ मन्त्रालय धाईरहेका छन् । त्यस्तै, नेपाल दुर सञ्चार प्राधिकरणका कर्मचारीले समेत बार्षिकोत्सवका अवसरमा पाउँदै आएको एक महिनाको अतिरिक्त तलब नपाएपछि अर्थ मन्त्रालय धाईरहेका छन् । अर्थ मन्त्रालयले आफू मातहतका मात्रै नभएर सरकाररी स्वामित्व भएका सबै सार्वजनिक संस्थान, कम्पनी, बोर्ड, समितिहरुलाई अतिरिक्त तलब सुबिधा वितरण नगर्न सम्बन्धित मन्त्रालय मार्फत परिपत्र गरेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम, खाद्य संस्थान लगायतका सबै निकायहरुलाई बार्षिकोत्सवका अवसरमा एक महिनाको अतिरिक्त तलब वितरण गर्न रोक लागेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले कार्यभार सम्हालेपछि सरकारी स्वामित्वका संस्थान, कम्पनी, बोर्ड र समितिहरुको वित्तिय अनुशासन र कार्य प्रगतिबारे गम्भिर चासो राख्दै आएका थिए । उनले त्यस्ता ठाउँमा काम गर्नेहरुको कमजोर कार्य सम्पादनका कारण सरकारी लगानीको प्रतिफल न्युन प्राप्त भएको, नियामकिय क्षमतामा प्रश्न उठेको लगायतका आरोप लगाउँदै आएका थिए । उनले आर्थिक मितव्ययितका लागि अतिरिक्त सेवा सुबिधा दिन रोक लगाएको बताउँदै आएका छन् । यति मात्रै नभएर अर्थ मन्त्रालयले अब आफु मातहतका निकायहरुले आर्थिक विनियमावली बनाउँदा आफ्नो अनुमति समेत अनिवार्य गरेको छ । ४० वटा सार्वजनकि संस्थान अस्थित्वमा छन भने ३७ वटा सञ्चालनमा रहेका छन् । यीमध्ये २१ वटा संस्थानमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ भने १९ वटामा अधिकांश स्वामित्व रहेको छ ।
भाटभटेनीको सेयर बेचेर सबै नेपालीलाई व्यापारमा जोड्ने योजना, ५० हजार जनाले रोजगारी पाउने
काठमाडौं । ‘भाटभटेनी सुपरमार्केटमा दैनिक एक लाख भन्दा बढी मान्छे पुग्छन् । कम्पनीले दैनिक ४० हजार बिल जारी गर्छ। अचेल दैनिक पुग नपुग ५ करोड रुपैयाँ बराबरको व्यापार हुन थालेको छ’ भाटभटेनी सुपरमार्केट प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले थपे-‘आर्थिक वर्ष २०७४/७५ मा १५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । चालु आर्थिक वर्षमा १८ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य छ । हरेक साल २५ प्रतिशतले व्यापार वृद्धि भईरहेको छ ।’ शुक्रबार बिहान पूजापाठ गरी भाटभटेनीको १६औं आउटलेट सातदोबाटोमा खोलेपछि आगान्तुकहरुबाट बधाई थाप्न गेटमा बसेका गुरुङले विकासन्यूजसँगको कुराकानीमा महत्वपूर्ण बिजनेस तथ्यहरु खुलस्त पारे । ‘राजश्व योगदानका आधारमा नेपालको टप थ्री कम्पनी बनाउने लक्ष्य लिएको छु । ५० हजार भाई-बहिनीलाई रोजगारी दिने लक्ष्य राखेको छु । यसमा ९० प्रतिशत महिलाहरु राख्ने मेरो चाहना छ । आगामी १५ वर्ष अर्थात २०९० सालसम्म हामी हाम्रो लक्ष्यमा पुग्नेछौं’ गुरुङले जोशिलो कुरा गरे । ४५ हजार स्क्वायरफिट क्षेत्रफल भएको भाटभटेनीको सातदोबाटो स्टोर निर्माण गर्न करिब ५५ करोड लगानी लागेकाे उनले बताए । यसमा १७५ जनाले रोजगारी पाएका छन् । गुरुङका अनुसार योे स्टोर ठूलाे होइन । ‘भाटभटेनीका १६ मध्ये यो सबैभन्दा सानो स्टोर हो । अरु सबै स्टोर १ लाख स्क्वायरफिट भन्दा ठूला छन्’ गुरुङले प्रष्ट्याए । ३ वर्षभित्र साधारण सेयर निष्काशन जति ठूलो व्यापार त्यति ठूलो तनाव । भाटभटेनी भित्र धन मात्र पक्कै छैन । ऋण पनि छ । भाटभटेनीले बैंकबाट कर्जा कति लिएको छ ? व्याज खर्च कति छ ? हामीले प्रश्न गर्यौ । तर उनले गुमाउरो जवाफ दिए, समाचारको हेडलाइन बन्ने गरी । ‘३ वर्षपछि हामी पब्लिक कम्पनीमा जान्छौं । सर्वसाधारणका लागि सेयर निष्काशन गर्छौ । त्यस पश्चात सबै आर्थिक गतिविधि त्रैमासिक रुपमा सार्वजनिक गरौँला’, गुरुङले भने-‘त्यसपछि हामीले आयकर समेत देखाउने छौं ।’ हाल पनि भाटभटेनीले करमा एक अर्ब भन्दा बढी योगदान गरेको उनले चर्चा गरे । ‘आयकारमा केही तिरेका छौं, टिडीएस, भ्याट लगायत शीर्षकमा धेरै कर तिरेका हुन्छौं’ उनले करको अंक नभनी शीर्षक मात्र भने । किन पब्लिक कम्पनी ? ‘मैले जति राम्रो गर्न सके, मेरा सक्सेसर (हुर्काउदै गरेको नेतृत्व)ले त्यति नै राम्रो गर्न सक्छन् भन्ने हुँदैन । यो व्यवसाय गर्न म जति खटे आगामी दिनमा अरु पनि त्यति नै खट्छन् भन्ने छैन’ उनले थपे-‘यो संस्था हजारौं वर्षसम्म रहोस् भन्ने मेरो चाहना हो । हजारौँ वर्ष संस्था चलाउन एक्लै सम्भव नहुने मलाई महसुुश भएको छ । पश्चिम मुलुकमा एउटै संस्था १५ सय वर्षदेखि चल्दै आएका उदाहरण समेत छन् । संस्थालाई दीर्घकालिन रुपमा अगाडी बढाऔं भन्ने सोचसहित पब्लिक कम्पनी बनाउने सोच बनाएको छु ।’ अर्थशास्त्र अध्ययन गरेका गुरुङले आयको वितरणको लागि पनि पब्लिक कम्पनी हुनुपर्नेमा जोड दिए । ‘अब सबै नेपाली व्यापारी बन्नुपर्छ । सर्बसाधारणको समेत सेयर लगानी भएपछि भाटभटेनीको व्यापारमा धेरै नेपाली संलग्न हुनेछन्’ उनले भने । भाटभटेनीको पुँजी संरचना र सर्वसाधारणका लागि निष्काशन गरिने सेयर पुँजीबारे अहिले निश्चित नभएको बताए । हालसम्म भाटभटेनीमा उनको एकल सेयर लगानी छ । ३ वर्ष भित्रमा २५ वटा स्टोर बनाउने योजना उनले सुनाए । सुनसरीमा ३ लाख स्क्वायर फिटमा नयाँ स्टोर हुनेछ । यस्तै, धनगढी, सुर्खेत, जनकपूर, वीरगंज र विर्तामोडमा गरेर हामीले २५ वटा स्टोर पुर्याउने योजना बनाउका छाैं । नेपाली हिस्सा बढ्दै सुरुवाती चरणमा भाटभटेनीमा ९० प्रतिशत सामान विदेशबाट आयात गरेका हुन्थे । १० प्रतिशत मात्र नेपाली उत्पादन हुने गरेकाे थियाे । अहिले भाटभटेनीमा नेपाली बस्तुले ३० प्रतिशत र विदेशी बस्तुले ७० प्रतिशत हिस्सा लिएको गुरुङले जानकारी दिए । ‘नेपाली वस्तुलाई बढी स्थान दिने चाहाना छ । हाम्रो पहिलो चाहाना नै नेपाली ग्राहकको लागि नै हो । नेपाली धनी नभई हाम्रो स्टोर धनी हुन सक्दैन । नेपाली धनी हुनको लागि भाटभटेनीमा पनि नेपाली बस्तु बिक्री हुनुपर्छ भन्ने लाग्छ’ गुरुङले भने । हाल भाटभटेनीमा दाल, चामल, गेडागुडी, फलफुल, बेकरी, विस्कुट, चाउचाउ, चकलेट लगायत स्थानीय उत्पादन हुन्छन् । ३५ वर्षको उपलब्धि उनले ३५ वर्षअघि नेपाल बैंकको स्थायी जागिर छोडेर ग्रोसरी व्यवसाय शुरु गरेका थिए । भाटभटेनीमा हालसम्म २० अर्ब रुपैयाँ भन्दा बढी लगानी भईसकेको उनले बताए । यहाँ हाल करिब ६ हजार ५ सय जनाले रोजगारी पाएका छन् । बस्तु उत्पादक तथा आपूर्तिकर्ताको लागि पनि भाटभटेनी सुपरमार्केट महत्वपूर्ण बजार हो । भाटभटेनीमा २५ सय भन्दा बढी बस्तु आपूर्तिकर्ता छन् । त्यसमा करिब ४५० नेपाली सप्लायर्स रहेका छन् । खोटाङ् जिल्लाको सामान्य किसान परिवारमा जन्मे हुर्केका मीनबहादुर गुरुङ नेपालको व्यवसायिक क्षेत्रमा पायोनियर नै बनेका छन् । भाटभटेनी सुपरमार्केट शुरुवातसँगै यसलाई उचाईमा पुर्याउने कार्यमा उनले जुन सफलता हासिल गरेका छन् त्यो सबै क्षेत्रका व्यवसायीहरुको लागि प्रेरणादायी नै रहेको छ । अरु क्षेत्रमा पनि लगानी विस्तार सुपरमार्केट बाहेक गुरुङले काठमाडौं स्टील उद्योगमा ठूलो लगानी गरेका छन् । चन्द्रागिरी केबलकारमा २५ प्रतिशत सेयर लगानी गरेका छन् । अजोड इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, विभिन्न बैंक र जलविद्युत कम्पनीमा उनले ठूलो लगानी गरेका छन् । चन्द्रागिरी केबलकार, जलविद्युत कम्पनीहरुमा आईएमई ग्रुपसँग साझेदारी गरेका मीनबहादुर गुरुङले रियल स्टेट बिजनेशमा कालु गुरुङसँग साझेदारी गरेका छन् । निन्द्रा बाहेकको समय व्यापारमा ‘सफलता चुम्न मिहेनत गर्नैपर्छ । म दैनिक १६ घण्टा काम गर्छु । म निदाएको बेला भन्दा अन्य बेला काम नै गरिरहेको हुन्छु’ श्रीमती सावित्री गुरूङसँगै उभिएर उनले भने-‘मैले दाल, चामल, कपडा बेच्छु । वकिलले बोली बेच्छन् । त्यस्तै तपाईहरु समाचार बेच्नु हुन्छ । कुनै पनि पेशामा लाग्दा आफ्नो धर्मभित्र, कर्मभित्र ईमान्दार हुनुपर्छ, सफलता पाइन्छ’ उनले भने । ‘संसार धेरै माथि पुगिसकेको छ । अमेरिका, चीनले आफ्नो आर्थिक पाटो मजबुद बनाएका छन् । उनीहरु धनी भएकाले विश्वमञ्चमा उनीहरुको फूर्ती धेरै देखिन्छ । नेपाली पनि धनी हुने हो भने हाम्रो पनि फूर्ती अर्कै हुनेछ । सबैले आर्थिक हैसियत मजबुत बनाउन आवश्यक छ भन्ने लाग्छ’ उनले अरुलाई प्रेरित गर्न खोजे ।