आइसिटी अवार्डमा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक, पब्लिक भोटिङ सुरु

काठमाडौं । आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसल इन्नोभेसन आइसिटी अवार्डका उत्कृष्ट ५ घोषणा गरिएको छ । उत्कृष्ट ५ छनौटका लागि मंसिर १ गते बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो । अवार्डका सेमिफाइनलिष्टहरू १४ जना विज्ञ जुरीसमक्ष प्रिजेन्टेसन तथा स्पिड डेटिङमा सहभागी भएर प्रस्तुति दिएका थिए । उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा बसियो सर्भिसेस प्रालि, क्रिमसन टेक प्रालि, फ्यान्टासी गेम्स प्रालि, जियोभेसन नेपाल प्रालि र हेल्थ याद आयो प्रालि रहेका छन् । यसैगरी प्रडक्ट आइसिटी अवार्डअन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा एपीआईएमएस म्यानेजमेन्ट सिस्टम, ईनिर्माण, जिकवच, खातापाना वेब र कोइली रहेका छन् । त्यस्तै, राइजिङ स्टार इन्नोभेसन विधामा बालि विज्ञान, डा फिस, हाइपर्स, स्पीकअप नेपाल र राइट अन एआई परेका छन् । साथै यसै वर्षदेखि थप भएको सोसल इन्नोभेसन विधामा कताहो, ईकागजपत्र, जियोकृषि, एलएमसी अलर्ट र सफा नेपाल पर्न सफल भएका छन् । आइसिटी अवार्ड २०२४ का यी ४ विधाहरूमा ३०० बढीको नोमिनेसन प्राप्त भएको थियो । यसअघि स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनलिष्टहरू छनौट गरिएको थियो । सेमिफाइनलिष्टहरूले मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट र गत कात्तिक २९ र ३० गते भएको टेकस्पायर स्टार्टअप आईडिया फेस्ट २०२४ मा सहभागी हुने अवसरसमेत प्राप्त गरेका थिए । उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरु भएको छ । पब्लिक भोटिङ हाम्रो पेमार्फत गर्न सकिने छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा जुरीको मूल्यांकन र पब्लिक भोटका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ । साथै अवार्डका सेमिफाइनलिष्टहरू पब्लिक च्वाइस आइसिटी अवार्ड २०२४ मा सहभागी हुन पाउनेछन् । हाम्रो पेबाटै आफूलाई मन पर्ने सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने छ । सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ । सर्वोत्कृष्टहरूलाई आउँदो पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान गरिने छ । यसैगरी, आइसिटी अवार्ड २०२४ अन्तर्गत अन्य व्यक्तिगत र संस्थातर्फका विधाहरूमा पनि छनौट प्रक्रिया जारी रहेको छ । व्यक्तिगततर्फ प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्ड तथा संस्थागततर्फ डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा छनौट प्रक्रिया सञ्चालन भइरहेको छ । साथै साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा पनि छनौट प्रक्रिया चलिरहेको छ । यस विधामा सार्क राष्ट्रबाट १०० बढीको आवेदन प्राप्त भएको थियो भने सर्वोत्कृष्ट छनौटको लागि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट जुरी सदस्यहरु रहेका छन् । यसबाहेक सातै प्रदेशका एक-एक स्टार्टअपलाई प्रोभिसियल स्टार्टअप आइसिटी रिकग्निसनसमेत प्रदान गरिने छ । यसले मोफसलमा स्टार्टअप प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसका लागि सातै प्रदेशमा केही समय अगाडि स्टार्टअप मिटअपसमेत आयोजना गरिएको थियो । सन् २०१६ बाट लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको यो नवौं संस्करण हो । सर्वोत्कृष्ट छनौटका लागि ६ महिनासम्म निरन्तर सञ्चालन हुने यस कार्यक्रम सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित छ । अवार्डमा १४ जना विज्ञ जुरी सदस्यहरु रहेका छन भने १३ जनाको विशिष्ट सल्लाहकार समिति रहको छ । ६ महिनासम्म विभिन्न २५ बढी जुरी मिटिङ र दर्जन बढी प्रि-इभेन्टहरू हुने गरेका छन् ।

एनपीएलको टिकटिङ पार्टनर ‘खल्ती’मा अनलाइन टिकट खुला

  काठमाडौं । नेपालको डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महाउत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्नेछ । क्रिकेटप्रेमीहरूले खल्ती एपमार्फत सजिलैसँग टिकट काट्न सक्ने छन् । पहिलो दिन प्लेअफ र त्यसपछिका खेल हुने दिनबाहेक प्रतिदिन साधारण टिकटको मूल्य ३०० रुपैयाँका साथै भिआइपी टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ । प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ । फ्यानहरूले सबै खेलको एकमुष्ठ सिजन पास पनि लिन सक्नेछन्ः साधारणको मूल्य ४ हजार ४८० रुपैयाँ र भिआइपी टिकटको मूल्य ८ हजार २४० रुपैयाँ रहेको छ । मंसिर १५ बाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुन गइरहेको एनपीएलमा विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी हुनेछन् ।

जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए र युनिसेफ नेपालबीच लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका लागि सहकार्य

काठमाडौं । विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्याउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरे । कार्यक्रमको उद्घाटन जोन्टाका अध्यक्ष बिना रानाले गरेकी थिइन् । उनले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन् । युनिसेफ नेपालकी डेप्यूटी रिप्रेजेन्टेटिभ टू नेपाल जी ह्युन राह, युएनएफपीए नेपालकी लैगिंक तथा मानव अधिकार विशेषज्ञ, कमला विष्ट, कलाकार प्रकाश सपुत, र एसडीजी स्टुडियोले “शिरमै फुर्के रिबन” शीर्षकको संगीत भिडियो सार्वजनिक गरे । यो भिडियो किशोर किशोरीहरूलाई बालविवाहका असरबारे सचेत गराउन युएनएफपीए र युनिसेफ नेपालले संयुक्त रूपमा बनाएका हुन् । नेपालमा बालविवाह अझै पनि लैङ्गिक समानता र महिला तथा किशोरीहरूको सशक्तिकरणको लागि प्रमुख चुनौती बनेको छ । यहाँ तीनमध्ये एक किशोरी १८ वर्षभन्दा पहिले नै विवाह गर्छन्, जसले गर्दा उनीहरुको स्वास्थ्य, शिक्षा, र आर्थिक अवसरमा गम्भीर असर पार्छ । महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले भने, ‘बालविवाह मानव अधिकारको उल्लङ्घन हो र यसलाई समाधान गर्न विभिन्न क्षेत्रको सहकार्य आवश्यक छ ।’ महिला नेतृत्वमा रहेका संस्थाहरू र महिला सशक्तिकरणका कार्यक्रमहरुले लैङ्गिक हिंसाविरुद्ध अग्रणी भूमिका खेल्दै आएका छन् । यी संस्थाहरूले महिलाहरू र किशोरीहरूको वास्तविक आवश्यकता बुझेर दीर्घकालीन परिवर्तन ल्याउन सक्छन् । महिला अधिकारकर्मी तथा यूनाइटेड नेशनकी सीइडीएडब्ल्यु, कमिटी सदस्य बन्दना रानाले भनिन्, ‘महिलाहरू र किशोरीहरूको विविध आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने संस्थाहरूले लैङ्गिक समानता प्रवर्धन गर्न र स्थायी परिवर्तन ल्याउन सक्षम छन् ।’ निजी क्षेत्रले पनि बालविवाह अन्त्यका प्रयासहरूमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । स्रोत, प्लेटफर्म र आफ्नो प्रभावमार्फत, नेपाली व्यवसायहरूले लैङ्गिक समानता तथा बाल संरक्षण प्रवर्धन गर्ने निती आफ्नो कार्यस्थलमा समावेश गर्न सक्छन् । साथै, आर्थिक सशक्तिकरणका कार्यक्रमहरूद्वारा किशोरीहरू र महिलाहरूलाई बालविवाहको विकल्प उपलब्ध गराउन सक्छन् । यस कार्यक्रममा आफ्नो धारणा राख्दै एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एण्ड सिएसआर, विशाखा लक्ष्मी खड्काले भनिन् ‘नेपालको एक अग्रणी निजी क्षेत्रको रूपमा एनसेल समावेशी र समानतामा आधारित समाज निर्माणप्रति प्रतिबद्ध छ । एनसेलमा हामी लैङ्गिक हिंसाको अन्त्य गर्नु केवल सामाजिक आवश्यकता मात्र नभइ सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास राख्छौं । यस किसिमको विभिन्न क्षेत्रको साझेदारीहरूको माध्यमबाट, हामी यस सामूहिक प्रयासलाई प्रोत्साहन गर्न, समुदायलाई सशक्त बनाउन सक्ने वातावरण निर्माणतर्फ काम गर्न चाहन्छौं ।’ बालविवाहको मूल समस्याहरू, जस्तै गरिबी, शिक्षा अभाव, र सीमित आर्थिक अवसरलाई समाधान गर्न महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्र, र अन्य सरोकारवालाहरूको एकीकृत दृष्टिकोण आवश्यक छ । यस सहकार्यद्वारा बालविवाह अन्त्य गर्न सबै पक्षले आफ्नो अनुभव र स्रोत प्रयोग गरी योगदान गर्न सक्छन् । जोन्टा क्लब काठमाडौंकी अध्यक्ष बिना रानाले भनिन्, ‘लैङ्गिक हिंसा अझै पनि गम्भीर समस्या हो, जसलाई बालविवाहको बढ्दो दर र जलवायु परिवर्तनका खतराहरूले थप जटिल बनाएको छ । ‘जोन्टा सेज नो टु भायोलेन्स अगेंस्ट वुमन’ अभियानमार्फत, हामी महिलाहरू, किशोरीहरू र समाजको उज्ज्वल भविष्य निर्माण गर्न प्रतिबद्ध छौं । २०१८ देखि जोन्टा इन्टरनेशनलले युएनएफपीए–युनिसेफ ग्लोबल प्रोग्राम टु इन्ड चाइल्ड म्यारिजलाई समर्थन गर्दै आएको छ । युनिसेफ, युएनएफपीए, र एनसेल फाउन्डेसनसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छ ।’