नेपाल टेलिकमले ल्यायो विन्टर अफर, डाटा र भ्वाइस प्याकेजमा छुट
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरूको सुविधा र आवश्यकतालाई मध्यनजर गर्दै ‘विन्टर अफर २०८२’ सार्वजनिक गरेको छ । यसअघि सञ्चालनमा रहेको अटम अफरलाई निरन्तरता दिँदै टेलिकमले विभिन्न आकर्षक भ्वाइस, डाटा तथा कम्बो प्याकेजहरू विन्टर अफर अन्तर्गत उपलब्ध गराएको हो । टेलिकमका अनुसार एनटु–एनटु भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याकेज, अनलिमिटेड तथा कम्बो प्याकेजहरू यथावत् रूपमा उपलब्ध छन् । साथै, सजिलो अनलिमिटेड प्याकेज, अर्ली अनलिमिटेड प्याकेज, रेन्टलसहितका पोस्टपेड प्याकेज तथा सामाजिक सञ्जाल प्याकेजहरू पनि विन्टर अफर अन्तर्गत समावेश गरिएको छ । त्यसैगरी, नेपाल टेलिकमले फरक क्षमता भएका व्यक्तिहरूका लागि विशेष प्याकेज, नमस्ते वाइफाइ प्रयोगकर्ताहरूका लागि बन्डल प्याकेज तथा एफटीटीएच सेवाअन्तर्गतका प्याकेजहरू पनि निरन्तर उपलब्ध गराएको जनाएको छ । हाल पोस्टपेड मोबाइल सेवामा उपलब्ध ‘सजिलो अनलिमिटेड प्याकेज’ लाई रिकरिङ प्याकेजको रूपमा निरन्तरता दिइएको छ । यस अन्तर्गत ग्राहकले प्रत्येक महिना प्याकेज नविकरण गर्नुपर्ने झन्झट नहुने र प्याकेज स्वतः नविकरण हुने व्यवस्था गरिएको छ । उक्त प्याकेज 1415*2*4# डायल गरी, नेपाल टेलिकम एप तथा टेलिकमको वेबसाइटमार्फत पनि लिन सकिनेछ । नेपाल टेलिकमका अनुसार विन्टर अफर अन्तर्गतका प्याकेजहरू माघ ११ गतेदेखि आगामी ९० दिनसम्म उपलब्ध रहनेछन् । विभिन्न प्याकेजको जानकारी लिन *1415# डायल गर्न सकिनेछ भने नेपाल टेलिकम एप र www.ntc.net.np मार्फत विस्तृत विवरण प्राप्त गर्न सकिनेछ । ग्राहकको सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै ल्याइएको विन्टर अफर आकर्षक हुने विश्वास नेपाल टेलिकमले व्यक्त गरेको छ ।
इसेवा १७औँ वर्षमा प्रवेश, सुरक्षित र भरपर्दो सेवामा प्रतिबद्ध
काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी सन् २०१० जनवरी २५ देखि औपचारिक सेवा सुरु गरेको इसेवाले डिजिटल भुक्तानीको सुरुवातदेखि डिजिटल अर्थतन्त्रको विस्तारसम्मको १६ वर्षे यात्रा पूरा गर्दै १७औँ वर्षमा प्रवेश गरेको हो । ‘सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ सेवा प्रदान गर्दै आएको इसेवाले आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने माध्यमका रूपमा आफूलाई विकास गर्दै आएको छ । हाल इसेवाले टपअप, युटिलिटी बिल भुक्तानी, हवाई टिकट, होटल बुकिङ, बिमा खरिद, चलचित्र टिकट, कर्जा, लगानी लगायतका सेवाहरू प्रदान गर्दै हरेक नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्मका रूपमा आफूलाई स्थापित गरेको छ । १७औँ वार्षिकोत्सव तथा इन्नोभेसन डेका अवसरमा आयोजित कार्यक्रममा बोल्दै इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्रीले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायकका रूपमा इसेवाका सेवाहरूलाई अझ उत्कृष्ट, सुरक्षित र भरपर्दो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले नियामक निकाय, प्रयोगकर्ता, समाज तथा सबै सरोकारवालासँग सहकार्य गर्दै डिजिटल वित्तीय सेवाको विस्तारमार्फत समाजमा सकारात्मक योगदान दिन इसेवा प्रतिबद्ध रहेको बताए । त्यसैगरी, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवाले सधैँ सबैलाई समेट्दै सँगै अगाडि बढ्ने मूल मन्त्रका साथ सेवा प्रदान गर्दै आएको जानकारी दिए । उनले इसेवाको १७ वर्षे यात्राले नेपाली कम्पनी पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रमाणित गरेको उल्लेख गरे । 'आज हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने फिनटेक कम्पनीका रूपमा स्थापित हुँदै गएका छौँ । यस उपलब्धिलाई हामी गन्तव्य होइन, भविष्यका नवप्रवर्तनहरूको आधारका रूपमा लिएका छौँ,' खड्काले भने । इसेवाले आफ्नो १७ वर्षे यात्रामा सहज, सुरक्षित र द्रुत भुक्तानी सेवा तथा वित्तीय समावेशितालाई मूल लक्ष्यका रूपमा अघि बढाउँदै आएको छ । प्रयोगकर्ता–केन्द्रित नवप्रवर्तनमार्फत सबै वर्गको डिजिटल अर्थतन्त्रमा सहभागिता बढाउने, प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टका लागि भुक्तानी अनुभव सरल बनाउने र डिजिटल नेपाल निर्माणमा ठोस योगदान पुर्याउने प्रतिबद्धता इसेवाले व्यक्त गरेको छ ।
एआई चिप विवादबीच चीन जाँदै जेन्सेन हुआङ, बजार जोगाउने प्रयास ?
काठमाडौं । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ फेब्रुअरीको मध्यतिर पर्ने चन्द्र नववर्ष (लुनार न्यू इयर) अघि आउने केही दिनमै चीन भ्रमण गर्ने तयारीमा छन् । यस विषयमा जानकारी भएका दुई स्रोतले सीएनबीसीलाई उक्त कुरा बताएका हुन् । यो भ्रमण यस्तो समयमा हुन लागेको हो, जब अमेरिकी चिप निर्माता एनभीडीयाले चिनियाँ बजारमा बिक्री गर्न सक्ने क्षमताबारे प्रश्नहरू कायमै छन् । एक समय एनभीडीयाको डेटा सेन्टर व्यवसायबाट आउने कुल आम्दानीको कम्तीमा पाँचौं हिस्सा चीनबाटै आउँथ्यो । अमेरिकी निर्यात प्रतिबन्धका कारण एनभीडीयाले आफ्ना सबैभन्दा उन्नत चिपहरू चीनमा बिक्री गर्न पाएको छैन । अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) विकासमा प्रयोग हुने चिप्समा बेइजिङमाथि आफ्नो अग्रता कायम राख्ने उद्देश्यले वाशिङ्टनले यी प्रतिबन्ध लगाएको हो । एक स्रोतका अनुसार हुआङ सोमबार बेइजिङमा आयोजना हुने एनभीडीयाको कम्पनी पार्टीमा सहभागी हुने अपेक्षा गरिएको छ । यात्रा योजनाबारे प्रत्यक्ष जानकारी भएको व्यक्तिका अनुसार हुआङले चीनका सम्भावित खरिदकर्ताहरूसँग भेटघाट गर्ने र अमेरिकी स्वीकृत एनभीडीया चिप्स चिनियाँ बजारमा आपूर्ति गर्दा देखिएका पछिल्ला प्राविधिक तथा आपूर्ति–सम्बन्धी चुनौतीहरूबारे छलफल गर्नेछन् । ‘द इन्फर्मेसन’ ले गत साता स्रोतहरूलाई उद्धृत गर्दै चीनले एनभीडीयाको एच २०० एआई चिप्स स्थानीय रूपमा किन्ने अनुमति अनुसन्धानजस्ता सीमित प्रयोजनका लागि मात्रै दिने जनाएको थियो । उक्त रिपोर्टबारे बिहीबार सोध्दा चीनको वाणिज्य मन्त्रालयले यस विषयमा आफूलाई जानकारी नभएको बताएको छ । ब्लूमबर्गले यस साता सुरुमा नै हुआङको चीन भ्रमणको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो । यद्यपि, एनभीडीयाले कार्यकारी तहको यात्रा योजनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । हुआङले गत वर्ष मुख्यभूमि चीन कम्तीमा तीन पटक भ्रमण गरेका थिए, जसमा जनवरीमा चन्द्र नववर्षको अवसरमा गरिएको भ्रमण पनि समावेश छ । अमेरिकाले सन् २०२२ को अक्टोबरमा पहिलो पटक चीनतर्फ उच्चप्रदर्शन कम्प्युटिङ र एआई चिप निर्यातमा कडा प्रतिबन्ध लगाएको थियो । तत्कालीन राष्ट्रपति जो बाइडेन प्रशासनअन्तर्गत अमेरिकी वाणिज्य मन्त्रालयले राष्ट्रिय सुरक्षा कारण देखाउँदै यस्तो निर्णय गरेको हो । त्यसपछि सन् २०२३ र २०२४ मा प्रतिबन्ध थप कडाइ गरिँदै लगियो । एनभीडीयाले चीनका लागि छुट्टै रूपमा विकास गरेका ए ८०० र एच ८०० जस्ता चिपहरू पनि पछिल्ला संशोधित नियमले प्रतिबन्धको दायरामा पारे । यसै क्रममा सन् २०२५ को अन्त्यतिर अमेरिकी सांसदहरूले एनभीडीया जस्ता कम्पनीलाई चीनमा शक्तिशाली एआई चिप बिक्री पूर्ण रूपमा रोक्ने उद्देश्यसहित थप कानुनी पहल अघि बढाए । यद्यपि ती प्रस्तावहरू कानुन बने/नबने पनि, व्यवहारमा निर्यात लाइसेन्स नपाउने अवस्था झन् जटिल बन्यो । उता सन् २०२६ को जनवरीमा चीनले पनि प्रतिक्रिया स्वरूप एनभीडीयाका एच २००जस्ता उन्नत एआई चिपहरूको आयातमा अवरोध सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी पक्षबाट सीमित अनुमति भए पनि चिनियाँ भन्सार र नियामक निकायले ती चिपहरू भित्रिन नदिएको बताइएको छ । एनभीडीया सन् १९९३ अप्रिल ४ मा स्थापना भएको हो । यो कम्पनी अमेरिकी इन्जिनियर जेन्सेन हुआङ र उनका दुई सह–संस्थापकले सुरु गरेका थिए । सुरुआतमा गेम खेल्न प्रयोग हुने ग्राफिक्स चिप बनाउने कम्पनी एनभीडीया अहिले एआई र डेटा सेन्टरका लागि अत्याधुनिक चिप बनाउने विश्वकै अगुवा कम्पनी बनेको छ । एनभीडीयाले सन् १९९९ मा अमेरिकी सेयर बजार नासडाकमा सूचीकृत हुँदै सर्वसाधारणका लागि सेयर कारोबार सुरु गरेको थियो । हाल एआई प्रविधिको माग तीव्र रूपमा बढेसँगै एनभीडीयाको व्यापार र सेयर मूल्यमा ठूलो उछाल आएको छ । सन् २०२६ को सुरुवातसम्म एनभीडीयाको बजार पूँजीकरण ९मार्केट क्याप० करिब ४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसले एनभीडीयालाई विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरूमध्ये एक बनाएको छ ।