एक करोडभन्दा बढीको लगानीमा रिसोर्ट सञ्चालन

म्याग्दी । म्याग्दी रघुगंगा गाउँपालिका–३ स्थित घुमाउने तालमा एक युवाले जिल्लामै पहिलो स्विमिङपुलसहितको रिसोर्ट सञ्चालनमा ल्याउन लागेका  छन् ।   वडा नं– ३ पिप्ले घर भएका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने घुमाउने तालमा कालीगण्डकी रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् । करिब ३० रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर चन्दले रिसोर्ट सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कार्यलाई तीव्र दिएका छन् । सञ्चालनमा आएपछि यो जिल्लाकै पहिलो स्विमिङ पुलसहितको रिसोर्ट हुनेछ । अहिले पाहुना बस्ने कोठा, गार्डेन, पार्किङ, स्विमिङ पुललगायत पूर्वाधार निर्माणको कार्य भइरहेकोे सञ्चालक चन्दले बताए । उनकाअनुसार, अहिलेसम्म रिसोर्ट निर्माणका लागि  ८० लाख रूपैयाँ बढी लगानी भइसकेको छ भने पूर्वाधार निर्माणले पूर्णता पाउँदासम्म  साढे १ करोड रूपैयाँ लगानी पुग्नेछ । ‘‘मैले यहाँ सञ्चालनमा रहेको रेस्टुरेन्ट खरिद गरी त्यसमा थप सेवा सुविधा उपलब्ध गराउनका लागि पूर्वाधार निर्माण गर्न लागेको हुँ, जिल्लामा उत्कृष्ट सेवा सुविधासहितको रिसोर्ट सञ्चालन गर्ने अवधारणअनुसार काम अगाडि बढाएको छु, अब छिट्टै यसलाई सञ्चालनमा ल्याउने तयारी गरेको छु,’’–उनले भने । ‘अर्गानिक र हाईजनिक’ परिकारको केन्द्र बनाउने मुख्य लक्ष्यसहित रिसोर्ट सञ्चालन गर्न लागेका चन्दले ग्राहकलाई हाँस, माछा, कुखुरा, खसी, बँदेललगायतसँगै स्थानीय उत्पादनको स्वाद चखाउने जानकारी िदए । शुरु शुरुमा हरेक महिना एक दिनदोहोरी साँझसमेत राख्ने उनकाे याेजना छ । बेनी–जोमसोम आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस रिसोर्टमा जिल्लामै पहिलो पटक स्विमिङ पुलको आनन्दसमेत लिनसक्ने व्यवस्था गरिनेछ । पाहुनलाई स्थानीय उत्पादनको स्वाद चखाउने लक्ष्यका साथ कुखुरा, हाँस र माछापालन व्यवसायलाईसमेत सँगसँगै अगाडि बढाएको चन्दले बताए। माछापालनका लागि तीनवटा पोखरी निर्माण गरिएका छन् । अहिले १२ हजार भुराबाट माछापालन व्यवसाय शुरु गरेका छौं, उहाँले भन्नुभयो – कमनकार्प, ग्रासकार्प र सिल्भर कार्प जातका माछापालन शुरु गरेका छौं । यसका लागि थप ४० हजार माछाको भुरा मगाएको पनि उहाँले जानकारी दिनुभयो । यसका साथै चन्दले अहिले दुईसय कुखुरा पाल्नुभएको छ भने ३०० हाँस पाल्ने योजनासहित आकर्षक खोरसमेत निर्माण गरेका छन् । चार वर्षसम्म कोरियामा बसेर फर्किएपछि आफ्नै ठाउँमा केही गरौँ भन्ने अठोटका साथ रिसोर्ट सञ्चालन गर्न लाग्नुभएका उहाँले कोरियामा हाँसको आकर्षक परिकार बनाउन सिकेको सीपलाई आफ्नो रिसोर्टमा पनि उपयोग गर्ने योजना रहेको बताए। ‘‘४० देखि ५० जनासम्म न्यूनतम रुपमा बास बस्नसक्ने गरी रिसोर्टको क्षमता विस्तार गर्दैछु, मिटिङ हल र पार्टी प्यालेससहितका सुविधा यहीबाटै प्रदान गर्ने गरी पूर्वाधार निर्माण भइरहेको छ’’– चन्दले भने । जीवनको महत्वपूर्ण समय वैदेशिक रोजगारीमा बिताउनु भएका चन्दले विदेशबाट आर्जन गरेको स्रोत, साधन र सीपलाई आफ्नै ठाउँमा रोजगारमूलक क्षेत्रमा लगानी गर्ने योजनाअुनसार रिसोर्ट सञ्चालन गर्न लागेका हुन्। वैदेशिक रोजगारीको सिलसिलामा कतार, मलेसिया, कोरियालगायतका मुलुकमा युवा अवस्थाको ऊर्जाशील समय खर्चिएका चन्दले आफ्नो रिसोर्टमा १० जनाभन्दा बढीले रोजगारी पाउने जानकारी दिएका छन् । अब दुई हप्ताभित्रै रिसोर्ट सञ्चालनमा ल्याउने तयारी गरिएको पनि उहाँले बताउनुभयो । रासस

हिमालय एअरलाईन्सको काठमाण्डौं र दमामबीच सीधा उडान शुरु, ३० किलोसम्म लगेज निःशुल्क

काठमाडौं । हिमालय एअरलाईन्सले काठमाण्डौं र साउदी अरेबियाको दमाम शहरबीच सिधा उडान थालेको छ । काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमामको लागि पहिलो उडान शुक्रबार राती २२ः३०मा उडेको थियो । उत्साहपूर्ण यात्रु संख्याका साथ उडेको सो उडान दमाम स्थित किङ्गफाहाद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार स्थानीय समय अनुसार बिहान पौनै एकमा अवतरण गरेको छ । नेपाल तथा साउदी अरेबियाबीच सीधा उडान गर्ने हिमालय एअरलाईन्स नेपालको पहिलो वायुसेवा कम्पनीे हो । एअरलाईन्सलले काठमाण्डौं-दमाम-काठमाण्डौंबीच दैनिक उडान भर्ने जनाएको छ । हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठल यसपालीको चाडपर्व र जाडो याममा धेरै भन्दा धेरै नेपालीले आफ्नो देश आउन सीधा उडानको सेवा प्राप्त गर्न सक्ने गरि हिमालय एअरलाईन्सले यस उडानको शुभारम्भ गरेको बताए । यस उडानले साउदी अरेबियामा विभिन्न पेशामा संलग्न करिब ५ लाख नेपालीलाई सुलभ भाडादरमा सीधा उडानको सुविधा प्रदान गर्ने उनले बताए । एअरलाईन्सले इकोनोमीक्लासको लागि ३० के.जी र बिजनेस क्लास को लागि ४० के. जी निःशुल्क ब्यागेज सुविधाको व्यवस्था गरिएको जनाएको छ ।

दशैंअघिका लागि विमानको ९० प्रतिशतभन्दा बढी सीट बुकिङ

काठमाडौँ । दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ भनेर नखुलाउने वायुसेवा कम्पनीले दसैँ आउनु तीन साताअघि नै लगभग सीट बुकिङ सकिएको जनाएका छन् । एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका प्रवक्ता घनश्याम आचार्यका अनुसार दशैँका लागि ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको छ । लामो गन्तव्यका बुद्ध, यति, तारा, सौर्य, श्रीलगायत एयरलाइन्सको अधिकांश टिकट सकिएको छ । “दशैँका लागि गाडीजस्तो विमानको अग्रिम बुकिङ हुँदैन, जुनसुकै समयमा टिकट बुकिङ हुनेहुँदा चाडैँ टिकट सकिएको हो । सेवाग्राहीको मागअनुसार वायुसेवा कम्पनीले दशैँमा उडान थप गर्नेछन्”–उनले भने । सामान्य अवस्थामा १०० वटा उडान हुने गर्थे भने दशैँमा १५ देखि २० प्रतिशत उडान थपिने प्रवक्ता आचार्यको भनाइ छ । उहाँले दशैँमा यात्रु चाप बढी हुने भए पनि एकतर्फी मात्रै यात्रु भरिने हुँदा विमान कम्पनीले थोेरै मात्र उडान थप्ने गरेको बताए । विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएका यति एयरलाइन्सको दशैँका लागि ७० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएको छ । कम्पनीका व्यवस्थापक भीमराज राईले दशैँका लागि करिब करिब टिकट बुकिङ सकिएको र मागअनुसार उडान थप्ने योजना रहेको बताए। यतिले एक एटीआर र छ जेटस्ट्रिम विमानबाट उडान भर्दै आएको छ । बुद्ध एयरकी बजार व्यवस्थापक बिनिता थापाका अनुसार कम्पनीको पनि अधिकांश टिकट बुकिङ भइसकेको छ । बुद्धले एटीआर ४२–३२० र एटीआर ७२–५०० सहित नौ वटा विमानले विभिन्न १० गन्तव्यमा उडान भर्दै आएको छ । तुम्लिङटार, जनकपुर, सिमरा, भरतपुरमा शत प्रतिशत र विराटनगरलगायत छोटा गन्तव्यमा ७० प्रतिशतको हाराहारीमा टिकट बुकिङ भएको बुद्ध एयरले जनाएको छ । केही महँगो भए पनि सुलभ र छिटो यातायातका रुपमा रहेको विमान चढेर गन्तव्यमा पुग्ने यात्रुको औधी चाहना हुन्छ, धेरैको त बाध्यता नै पर्छ । तर, दशैँको मुखमा विमानबाटै गन्तव्यमा जानुपर्ने बाध्यतामा रहेका यात्रुले टिकट पाउन सास्ती हुने गरेको छ, यो नयाँ समस्या भने हैन । हरेक वर्ष दशैँका बेला यस्तै समस्या आउने गरेको व्यवसायी तथा सेवाग्राही बताउँछन् । वायु सेवा जस्तै सडक यातायातका साधनको पनि समस्या उही छ । अहिले हेलिकोप्टरसहित २० वटा निजी वायुसेवा कम्पनीले अन्तरिक उडान भर्दै आएका छन् । रासस