गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ, निजगढ विमानस्थल बन्छ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताएका छन् । ट्राङ्क्विलिटी स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उनले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । राजनीतिक तथा कूटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा सत्यता नरहेको उनको भनाइ छ । मन्त्री पौडेलले नीतिगत त्रुटी मूलभूत कारण भएको उल्लेख गर्दै यसलाई सच्याउने कार्य भइरहेको उनले बताए । पौडेलले भन्नुभयो, ‘घरमै बसेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ । यसका लागि काठमाडौँ जान पर्दैन ।’ मन्त्री पौडेलले जहाजमा केवल नेपाली श्रमिकलाई विदेश लैजाने र घर ल्याउनेभन्दा पनि पर्यटक (यात्रु) ल्याउन प्रवर्द्धनका कार्यक्रम गर्न आवश्यक रहेको बताए । भविष्यमा निजगढ विमानस्थल पनि बन्नुपर्ने उनको भनाइ छ ।
पोखरामा ५ अर्बको आयोजना, तर लेकसाइडमै खानेपानी संकट
काठमाडौं । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गराएका छन् । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा गएको टोलीले शुक्रबार संस्थान पुगेर लेकसाइड क्षेत्रमा खानेपानी समस्याबारे जानकारी गराउँदै तत्काल समाधानको माग गरेको हो । अध्यक्ष सुवेदीले देशकै प्रमुख पर्यटकीय गन्तव्यमा खानेपानी अभाव हुनु चिन्ताजनक रहेको बताए । ‘पर्यटनको राजधानी भनिने पोखराको मुख्य पर्यटकीय क्षेत्रमा आधारभूत आवश्यकता नै पूरा हुन नसक्नु दुःखद विषय हो,’ उनले भने । पर्यटन व्यवसायी रहनुभएका होटल सङ्घका केन्द्रीय सदस्य भरतराज पराजुलीले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को करिब ५ अर्ब रुपैयाँ लगानीमा पोखरा खानेपानी सुधार आयोजना सम्पन्न भए पनि अपेक्षित सेवा नपाएको गुनासो गरे । ‘पोखरामा आगामी २० वर्षसम्म खानेपानी अभाव नहुने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो। तर अहिले धारामा पानी नआउँदा व्यवसायी र सर्वसाधारण दुवै आक्रान्त बनेका छन्,’ उनले भने, ‘हामीले दैनिक ट्याङ्करबाट पानी किनेर होटल सञ्चालन गर्नुपरेको अवस्था छ । पर्यटकीय राजधानीलाई कम्तीमा नियमित खानेपानी सेवा त आवश्यक छ ।’ आयोजना अन्तर्गत मर्दीखोलाबाट पोखरासम्म पानी ल्याइए पनि मुख्य प्रसारण पाइपको क्षमता अपर्याप्त हुँदा समस्या देखिएको संस्थानका इन्जिनियर लक्ष्मण पाण्डेले बताए । समस्या समाधानका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले आवश्यक बजेट व्यवस्था गरी ठूलो क्षमताको पाइप जडान गर्नुपर्ने व्यवसायीको माग छ । पोखरा खानेपानी सुधार आयोजनाले दैनिक ४ करोड १० लाख लिटर पानी शुद्धीकरण गरी वितरण गर्ने लक्ष्य राखेको छ । तर हाल पोखरामा दैनिक ८ करोड लिटरभन्दा बढी खानेपानीको माग रहेको बताइएको छ । पोखराको मुख्य स्रोत मर्दीखोला हो, जहाँबाट पानी पुरुञ्चौरस्थित प्रशोधन केन्द्रमा ल्याई शुद्धीकरण गरिन्छ । त्यसपछि २० इन्च व्यासका चारवटा पाइपमार्फत वितरण गरिन्छ । आयोजनाअन्तर्गत २० लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरिए पनि हाल पोखरा-५ पस्र्याङ र पोखरा-११ फूलबारीस्थित ट्याङ्कीबाट मात्र वितरण भइरहेको छ । पोखरा-१५ कोलपाटनस्थित ट्याङ्की भने प्राविधिक कारणले अझै सञ्चालनमा आउन सकेको छैन । पर्यटन क्षेत्रको प्रमुख केन्द्र लेकसाइड मै खानेपानी सङ्कट गहिरिँदै जाँदा यसको असर पर्यटन व्यवसाय र पोखराको छविमाथि पर्न सक्ने भन्दै व्यवसायीले सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका हुन् ।
एनसेल एपबाट बस र हवाई टिकट बुकिङमा छुट, साहसिक गतिविधिमा ८ हजारसम्म बचत
काठमाडौं । एनसेल र ट्राभल प्लेटफर्म ट्रिप टर्बोबीच साझेदारी भएपछि अब एनसेलका ग्राहकले बस तथा आन्तरिक हवाई टिकट बुकिङदेखि साहसिक गतिविधिसम्ममा आकर्षक छुट पाउने भएका छन् । दुवै कम्पनीबीच भएको सहकार्यअनुसार ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने एनसेल ग्राहकले ट्रिप टर्बोमार्फत यात्रा र मनोरञ्जनसम्बन्धी सेवामा विभिन्न छुट तथा अफर प्राप्त गर्न सक्नेछन् । ग्राहकले एनसेल एपबाटै डिजिटल माध्यममा यी सेवाहरू प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । सहकार्यअन्तर्गत ग्राहकले साहसिक तथा मनोरञ्जनात्मक गतिविधिमा अधिकतम ८ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस्तै, पहिलो आन्तरिक हवाई टिकट बुकिङमा २०० रुपैयाँ र त्यसपछिका प्रत्येक उडानमा १४० रुपैयाँ छुट पाइनेछ । बस टिकट बुकिङमा भने १११ रुपैयाँ छुट उपलब्ध हुनेछ । यी अफरहरू एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गत रहेको ‘ट्रिप टर्बो’ सेक्सनमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उक्त सेक्सनमार्फत ग्राहकले यात्रा, मनोरञ्जन र साहसिक गतिविधिसम्बन्धी छुट तथा सुविधाहरू सहज रूपमा खोज्न र प्रयोग गर्न सक्नेछन् । साझेदारीबारे एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कनेक्टिभिटीसँगै यात्रा र लाइफस्टाइलसँग सम्बन्धित थप मूल्य ग्राहकसम्म पुर्याउने उद्देश्यले ट्रिप टर्बोसँग सहकार्य गरिएको बताए । उनका अनुसार यसले ग्राहकलाई यात्रा तथा अन्य गतिविधिमा बचत गर्दै थप सहज र किफायती अनुभव प्रदान गर्नेछ । एनसेलले पछिल्ला वर्षहरूमा आफूलाई डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा विकास गर्ने रणनीति अघि बढाएको छ । कम्पनीका अनुसार एनसेल एपमा नयाँ सेवा र साझेदारका अफरहरू एकीकृत गर्दै ग्राहकलाई परम्परागत दूरसञ्चार सेवाभन्दा बाहिरका थप सुविधा उपलब्ध गराउने प्रयास भइरहेको छ । ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट, बस टिकट, होटल बुकिङ, होलिडे प्याकेज तथा ग्राहकको आवश्यकताअनुसार तयार गरिएका यात्रा सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार यो साझेदारीले ग्राहकलाई थप सुविधा, विकल्प र डिजिटल अनुभव उपलब्ध गराउनेछ ।