पोखरा फाइनान्सको खुद नाफा साढे ७१ प्रतिशतले बढ्यो, अधिकांश सुचकमा सुधार

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा पोखरा फाइनान्सको खुद नाफा ७१.५३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आवको सो अवधिमा संस्थाको नाफा बढेर ९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । संस्थाले प्रकाशित गरेको चालु आवको दोश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको अधिकांश सुचकमा सुधार भएको छ । वित्तीय संस्थाको खुद व्याज आम्दानीमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.८० प्रतिशतले वृद्धि भई १९ करोड ६२ लाख रुपैयाँ कायम भएको छ भने सञ्चालन मुनाफामा ७० प्रतिशतले वृद्धि भई १३ करोड ८४ रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा वित्तीय संस्थाको निक्षेप ८ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ भने कर्जा लगानी ७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा वित्तीय संस्थाको प्रतिसेयर आम्दानी २१.१२ रुपैयाँ रहेको छ । पोखरामा प्रधान कार्यालय रहि सञ्चालित यस वित्तीय संस्थाले देशभर कुल २३ वटा शाखामार्फत आफ्नो सेवा प्रवाह गरिरहेको छ । सम्भाव्य स्थानको पहिचान गरी शाखा सञ्जाल विस्तार गर्दै जाने लक्ष्य यस वित्तीय संस्थाले लिएको छ ।

सुपरमादी हाइड्रोले ३१ करोडको सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । सुपरमादी हाइड्रोपावर कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरको ३१ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्न लागेको हो । सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सो क्रममा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सुपरमादी हाइड्रोपावरका तर्फबाट अध्यक्ष पुष्पज्योति ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले गण्डकी प्रदेश कास्की जिल्ला स्थित साविक नामाजुङ्ग र पार्चे गा.वि.स हालमादी गाउँपालिका अवस्थित मादीखोलामा निर्माणाधिन सुपरमादी जलविद्युत आयोजनामा (४४ मे.वा.) लगानी गर्न सो मात्राको सेयर जारी गर्न लागेको हो । सुपरमादी हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६५ साल माघ ३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो । कम्पनीको गण्डकी प्रदेश, कास्की जिल्लाको मादीगाउँपालिका (तत्कालिन नामाजुङ्ग र पार्चे गा.वि.स.) मा बहने मादीखोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिब ६५ प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, आगामी २०७८ साल पुस महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।

नेपालकै पहिलो म्युचुअल फण्डको राफसाफ तथा फछ्र्यौट अब ‘टी प्लस टू’ मा हुने

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपालकै पहिलो खुलामुखी याेजना “एनआईबिएल सहभागिता फण्ड” को राफसाफ तथा फछ्र्यौट टी प्लस टूमा हुने भएको छ । हाल ‘टी प्लस थ्री’ प्रणालीमा राफसाफ तथा फछ्र्यौट हुँदै आएको उक्त फण्डकाे इकाई आज(माघ १४ गते) देखि भने ‘टी प्लस टू’ प्रणालीमा अर्थात एकदिन छिटाे हुने भएको हो । हालै नेपालको धितोपत्र बजारमा धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र ‘टी प्लस थ्री’ कायम गरिएको अभ्यासलाई समेत दृष्टिगत गर्दै क्यापिटलले आजैदेखि नयाँ व्यवस्था लागू गरेको हो । साथै, यस योजनाको विवरण पुस्तिकामा सो चक्रलाई कार्य प्रणाली तथा दक्षतामा अभिवृद्धि गर्दै घटाउँदै लगिने क्यापिटलले इकाईधनीलाई जानकारी गराएको छ । “एनआईबिएल सहभागिता फण्ड” नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी म्युचुअल फण्ड हो ।