इलाममा चिया प्रशोधन: सहकारीले भ्याउँदैनन्, निजीले पाउँदैनन्
काठमाडौं । पूर्वी इलाममा चिया प्रशोधन कारखाना नुहुँदा किसानलाई समस्या भएको छ । इलामका विभिन्न ठाउँमा उत्पादन हुने चिया प्रशोधनका लागि चिया प्रशोधन कारखाना नहुँदा किसानहरुलाई समस्या भइरहेको हो । जिल्लाको सबैभन्दा बढी चिया उत्पादन हुने क्षेत्र सुर्योदय नगरपालिका हो । सो नगरपालिकाका अधिकांश किसानहरु सहकारीमा आवद्ध छन् । ती किसानहरुले आफुले उत्पादन गरेको चियालाई प्रशोधन गर्नको लागि चिया प्रशोधन काराखानाको अभाव देखिएको बताएका छन् । जिल्लाको सबैभन्दा बढी चिया उत्पादन हुने क्षेत्र सुर्याेदय नगरपालिकाकाे पनि कन्याम हो । कन्याममा रहेका किसानहरुले उत्पादन गरेकाे चिया अर्थात कच्चा पदार्थ प्रशाेधन गर्नको लागि कारखानाको अभाव रहेको बताएका हुन् । कन्याम चिया सहकारी संस्थाका अध्यक्ष ख्यामराज प्रधानले सहकारीमा आवद्ध १ सय ६५ सेयर सदस्य र अन्य त्यस ठाउँका किसानहरुले उत्पादन गरेको चिया प्रशोधन गर्न कारखानाको अभाव रहेको बताए । उनका अनुसार किसानहरुले वार्षिक ९ लाख केजी चिया उत्पादन गर्छन् । ‘हामीसँग करिब साढे ५ लाख केजी प्रशोधन गर्ने क्षमताको कारखाना छ, अन्य कच्चा पदार्थ हामी निजी कारखानाहरुलाई दिन्छौं, यस पटक १ लाख ११ हजार मेट्रिक प्रशोधन गरिएको थियो,’ किसानहरुले चिया उत्पादन गरेपनि त्यसकाे प्रशाेधन गर्ने कारखानकाे अभाव छ, हामीसँग प्रयाप्त कारखाना नहुँदा सहकारीहरुले उत्पादन गरेकाे चिया निजी कारखानालाई बुझाउनु पर्ने अवस्था छ, ’ उनले भने । यस्तै, उनले सहकारीमा आवद्ध किसानहरुले बढी चिया भएर प्रशोधन केन्द्र नै अभाव हुने भए पनि निजी क्षेत्रलाई भने प्रशाेधन गर्ने चियाको अभाव हुने बताए । ‘निजी क्षेत्रबाट सञ्चालित कारखानाहरु ठूलो क्षमताका छन्, सहकारीबाट सञ्चालित साना क्षमताका छन्, सहकारीले उत्पादन गरेको चिया प्रशोधन नै गर्न नसकेर निजी कारखानामा दिन्छौं, निजीले ठूलो क्षमताका भएर चिया नै पाउँदैनन्,’ उनले भने । हाल सो क्षेत्रमा सहकारीबाट सञ्चालित ४ उद्योग सहकारीबाट र ५९ वटा उद्योगहरु निजी क्षेत्रबाट सञ्चालित छन् । समग्र जिल्लामा भने १ सयभन्दा बढी चिया कारखाना छन् । इलामका विभिन्न क्षेत्रका अधिकांश कृषकहरूले चियाखेती गर्दै आएका छन् । जिल्लामा उत्पादन भएको चियालाई प्रशोधन गर्ने ठूलो क्षमताको कारखाना नहुँदा कृषकहरू मर्कामा पर्दै आएका थिए । तर, सहकारीमा आवद्ध किसानहरुले अहिले पनि निजी कारखानाहरुलाई बुझाउनु परेको अवस्था छ । प्रशोधन केन्द्रबाट ग्रिन टी, ह्वाइट टी, गोल्डेन टी, ब्ल्याक टीलागयतका तयारी चिया उतपादन हुने गरेको प्रधानको भनाई छ । सन् २००९ देखि चिनियाँ उपकरण ल्याएर प्रशोधन गरेपछि ग्रीन, ह्वाइट र उलङजस्ता स्पेशियालिटी टी को उत्पादन भएको र ती चिया भारतबाहेक अन्य बजारमा पुग्दा फाइदा पुगेको चिया उद्योगी बताउँछन् । चिया उत्पादनका लागि पूर्वी नेपालका इलाम, पाँचथर र धनकुटा जिल्ला प्रख्यात मानिन्छन् ।
इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्विजिशन) गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच माघ २६ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा इन्फिनिटी लघुवित्तको तर्फबाट बलराम विष्ट र नेपाल एग्रो लघुवित्तको तर्फबाट विवेक श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । नवलपुरको गैनडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्तले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८, विन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने लागेको हो । नेपाल एग्रोको जिल्ला कार्यक्षेत्र १० वटा रहेको छ ।
शिवम् सिमेन्ट्सको नाफा १६ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ २०३ रूपैयाँ बढी
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आवको पहिलो ६ महिनामा खुद नाफा १६.१३ प्रतिशतले बढाएको छ । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आवको सो अवधिमा सो मात्रा अर्थात ८ करोड १९ लाख रुपैयाँले नाफा बढाउन सफल भएको हो । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको अपरिष्किृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ५० करोड ७७ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीले ४ अर्ब २९ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जसमध्ये बिक्री आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने अन्य आम्दानी ३ करोड ४८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले कुल ४ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीको कुल खर्च घटेर ३ अर्ब ५८ करोड रुपैयाँमा झरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २६.८० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०३.८३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तीको मूल्य २८६.४४ रुपैयाँ रहेको छ ।