सबै आवेदकले माग गरेजति पाए सानिमा लार्ज क्याप फण्डको इकाई
काठमाडौं । सानिमा लार्ज क्याप फण्डको ईकाई शुक्रबार बाँडफाँड भएको छ । गत माघ ९ गतेदेखि १५ गतेसम्म निष्काशन गरिएको उक्त फण्ड आज(माघ २३ गते) शुक्रबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । उक्त फण्डमा रितपूर्वक आवेदन दिने सबै आवेदकले आफुले माग गरेजति इकाईहरु पाएका छन् । क्यापिटलका अनुसार १० करोड ६ लाख ११ हजार ६० इकाईहरु रितपुर्वक आवेदन दिने आवेदलाई माग गरे बमोजिम बाँडफाँड गरिएको छ । १० रुपैयाँ अंकित दरको १२ करोड इकाईहरु मध्ये बीज पुँजीको रुपमा १६.१६ प्रतिशत अर्थात १ करोड ९३ लाख इकाई कोष प्रवद्र्घक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई बाँडफाँड गरिएको छ । र, बाँकी रहेको १० करोड ६ लाख ११ हजार ६० इकाईहरु रितपुर्वक आवेदन दिने आवेदलाई माग गरे बमोजिम बाँडफाँड गरिएको छ । फण्डको प्रतिइकाई मूल्य १० रुपैयाँ अंकित दरको १० करोड इकाईहरु निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमा निष्काशन अवधी भित्र माग गरेभन्दा अधिक इकाई खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।
चन्द्रागिरी हिल्सको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर माघ २३ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर आइतबार (माघ २५ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल सीजीएच दिइएको छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९६.६९ रुपैयाँ र अधिकतम २९०.०७ रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि नक्सालको ग्लोबल आईएमई क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । सम्बन्धित समाचार चन्द्रागिरी हिल्सकाे सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
ग्रीनलाइफ हाइड्रोको आईपीओ आजदेखि भर्न पाइने
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर(आईपीओ) आजदेखि भर्न पाइने भएको छ । कम्पनीले आज(माघ २३ गते) देखि सर्वसाधारणमा ३४ लाख ९६ हजार ४०० कित्ता सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानिय बासिन्दाका लागि जारी गरी बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता सेयर साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । र, बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि इच्छुक सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आज(माघ २३ गते)देखि छिटोमा माघ २७ गतेसम्ममा आवेदन दिन पाइने व्यवस्था रहेको छ । यदि सो अवधिसम्ममा माग गरे अनुसार आवेदन नपरेमा फागुन ७ गतेसम्म बिक्री खुलाको म्याद थपिने छ । इच्छुक आवेदकले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेबसाइट तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ । हाल कम्पनीको अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैया, जारी पुँजी १ अर्ब ८० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ३ लाख ६० हजार रुपैयाँ पुगेको छ । र, सर्वसाधारण तथा कर्मचारीहरुको लागि छुट्ट्याइएको सबै सेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपेयाँ नाघ्ने छ।