अब आईपीओमा कम्तिमा ५० कित्ता आवेदन दिनुपर्ने

काठमाडौं ।  प्राथमिक बजारमा ‘बुक बिल्डिङ्ग’ विधि लागू भएको छ । नेपाल धितोपत्र बोर्डको साउन २२ गते बसेको बैठकले ‘बुक बिल्डिङ् निर्देशिका, २०७७’ लागू गरेको हो । यससँगै अब बुक बिल्डिङ् मार्फत सार्वजनिक निष्काशन गरेको कम्पनीको धितोपत्र खरिदमा सर्वसाधारणले कम्तिमा ५० कित्ता सेयरको लागि मात्र आवेदन दिन पाउने भएका छन् । साथै, बाडँफाँड हुने धितोपत्र संख्या पनि न्युनतम ५० कित्ता हुने छ  । अन्यको हकमा भने पुरानै नियम अनुसार न्युनतम १० कित्ताको लागि आवेदन दिन पाइने र बाँडफाँड हुँदा न्युनतम १० कित्ता सेयर पाइने बोर्डले जनाएको छ। साथै, यस सम्बन्धि विभिन्न व्यवस्थाहरू लागू गरिएकाे छ । जसमा संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम संचालन गर्नुपर्ने छ । न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने छ । संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ । बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने छ । कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने व्यवस्था रहेको गरेको छ । स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली संचालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउञ्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत् धितोपत्रका लागि आवेदन माग गर्न सक्नेछ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने व्यवस्था गरेको छ । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा हुने बोर्डको अपेक्षा रहेको छ । निष्काशनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने, निष्काशनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिवृद्धिमा सहयोग पुग्ने समेत बोर्डको अपेक्षा रहेको छ । साथै, ठूला संस्थागत लगानीकर्ताले गरेको धितोपत्रको मागका आधारमा सर्वसाधारण लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने, दोस्रो बजारको शुरुवाती कारोबार मूल्य निर्धारण गर्न सहज हुने तथा लगानीकर्तालाई लगानी विविधिकरण गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको छ । [pdf id=232118]

समाज लघुवित्तको आईपीओ भदौ ४ गतेदेखि भर्न पाइने, कति दिने आवेदन ?

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ आगामी ४ गतेदेखि भर्न पाइने भएको छ । संस्थाले सो दिनदेखि ८६ लाख रुपैयाँ बराबरको अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ८६ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कूल ८६ हजार कित्ता साधारण सेयर मध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ १८ गते हुनेछ ।

सिटी एक्सप्रेसद्वारा ‘हरेक कारोबारमा आकर्षक उपहार’ याेजनाका विजेताहरु घोषणा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदी स्थित सेवाग्राहीहरुलाई लक्षित गर्दै साउदीकै ईनाज बैंक एल बिलाडसँगको सहकार्यमा सुरु गरेकाे योजनाको विजेता घोषण गरेको छ । यस योजना अन्तर्गत ४५ जना बिजेताहरुले सिसटी म्याक्स सपिङ भाउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा रहेको थियो । सोही योजना अनुरुप साउदीमा कार्यरत बिकास थडराई, गोविन्द नेपाली , पूर्णबहादुर रिमाल, होम राज सापकोटा र किस्मत सार्किले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् । यस कोभिड-१९ महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २ हजार साउदी रियाल प्राप्त गरेको छन् ।